Logo

कांग्रेसबाट तीन मन्त्री, रोजाइमा परेनन् गगन



Spread the love

काठमाडौं, २३ जेठ –  अहिलेको सत्ता गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी गरेको छ । पूर्व सहमति अनुसार देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्नको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजिनामा दिएका छन् ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढलाएर कांग्रेसले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई ९ महिनाको लागि प्रधानमन्त्री बनाएको थियो । प्रचण्डले झण्डै १० महिना सरकार चलाए । आलोपालोको सम्झौता अनुसार अब देउवालाई प्रधानमन्त्री बनाउने गठबन्धनको तयारी छ ।

देउवा पनि आफ्नो नेतृत्वको सरकार बनाउन कम्मर कँसेर लागेका छन् ।

देउवाले सरकार गठनको गृहकार्यसँगै कांग्रेस भित्रको बाँडफाँडमा पनि गृहकार्य गरिरहेको स्रोतहरु बताउँछन् ।
नयाँ बन्ने सरकारमा देउवाले अहिलेको सरकारमा मन्त्रीहरु रमेश लेखक, नवीन्द्रराज जोशी र दीपक गीरीलाई सरकारमा लैजाने बताइएको छ । उनले लेखकलाई अर्थमन्त्री बनाएर सरकारमा लैजाने तयारी गरेका छन् ।

रामचन्द्र पौडेल समुहका नेता महेश आचार्यलाई अर्थमन्त्री बनाएर लैजान सम्भावना पनि कांग्रेसमा छ । तर उल्लेखित तीन मन्त्रीलाई दोहोर्याउने मन देउवाले गरेका छन् ।

गृहमन्त्री माओवादीको भागमा परिसकेको छ ।

आफ्नो समुहका लेखक, पौडेल समुहका जोशी र महामन्त्री सशांक कोइरालाको तर्फबाट चाहिँ गीरीलाई दोर्याउने तयारी देउवाले गरेका हुन् । कृष्ण सिटौला समुहका गगन थापा चाहिँ देउवाको सरकारमा नपर्ने सम्भावना देखिएको छ । अर्थमन्त्री पाएमा सिटौला आफै सरकारमा जाने चर्चा पनि छ ।

यसपाली सिटौलाको समुहबाट काठमाडौंका कांग्रेस नेता भिमसेनदास प्रधान मन्त्री बन्ने सम्भावना रहेको छ । सिटौला समुहले एक मन्त्री र एक राज्यमन्त्री पाउँदै छ ।

यसैबीच स्वास्थ्यमन्त्री गगन थापाले आफूले अर्को सरकारमा पनि स्वास्थ्यमन्त्रीकै भूमिकामा काम गर्न चाहेको बताएका छन् । तर कृष्ण सिटौलाले प्रधानलाई नै सरकारमा पठाउने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्