Logo

शेरबहादुर देउवा नेपालको ४० औं प्रधानमन्त्रीमा निर्वाचित



Spread the love

sher-bahadur-deuba-1व्यवस्थापिका–संसद्ले आज नेपालको ४०औँ प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचित गरेको छ । मंगलबार भएको निर्वाचनमा देउवा प्रधानमन्त्रीका एक्ला उम्मेद्वार हुन् ।

संसद्को आजको दोस्रो बैठकमा भएको नयाँ प्रधानमन्त्री चयनको निर्वाचनमा सो पदका एक मात्र उम्मेदवार देउवाले ३८८ मत प्राप्त गरी निर्वाचित बनेका हुन् । उनको विपक्षमा १७० मत परेको थियो । एक मात्र उम्मेदवार भए पनि प्रधानमन्त्री चयनका लागि हाल कायम सांसदको ५० प्रतिशतभन्दा बढी मत ल्याउन आवश्यक भएकाले मत विभाजन भएको हो ।

हाल संसद्मा कायम कुल ५९३ सांसद रहेकामा आजको मतदानमा ५५८ ले भाग लिएका थिए । ‘सभापति देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस्’ भनी प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव प्रस्तुत गरेका हुन् ।

माओवादी केन्द्र र नेपाली काँग्रेसका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरम, समाजवादी जनता दल, अखण्ड नेपाल पार्टी र नेकपा संयुक्त लगायतका दलले देउवाको पक्षमा मतदान गरेका थिए । देउवाको विपक्षमा नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, परिवार दललगायतले मतदान गरेका थिए । प्रधानमन्त्रीमा विजयी घोषणासँगै सभापति देउवालाई सभामुख ओनसरी घर्ती र सांसद्हरुले बधाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्