Logo

मलाई बडो हतार छ !



“कस्तो रहर लागेर रातिराती जान मन लाग्या होला फेरि, हिजोबाट दिनभरी उतै त छेस…..?” भाईले भनेर सकेकै थिएन, म ढोकाबाट निस्किहाले । एकदमै हतार भइरहेको थियो । मलाई आज राती जसरी भए पनि त्यहाँ पुग्नु थियो । त्यहिँ बस्नु थियो।

बेकरी सप भएको मोडको बुटिकमा आज कस्तो डिजाईनको कुर्ता सो मा राखिएको छ -मलाई थाहै भएन,याद गरिनछु।अरुबेला खरिबोटदेखि बनस्थलीसम्मको त्यो बाटोमा धेरै कुर्ता पसलहरु देख्थे- ग्लासको स्लाइड डोरले पारदर्शी पारेका , सजाएर बिक्रीमा राखेका कुर्ताहरु हेर्दै हिडिरहन्थे।

 विष्णुमति छेवैमा “पारिजात होटेल”पो लेखिएको रहेछ । मैले यस्तो हतारमा पनि पारिजातलाई स्मरण गर्न भ्याएँ। साच्चैँ, सडक वारिपारी आजकाल शिरिषका फुलहरु रातै भएर फुल्ने मौसम पनि त आएको छ नि ।

बनस्थली चोकमा पुगेर दुइटा पाइतलासँगै अडाउन नपाउदै चक्रपथ एक्प्रेस मेरो अगाडि धुलो उडाउदै आएर रोकियो। ” ओ , कोटेश्वर, काडाघारी, पेप्सिकोला” भन्दै, लयात्मक स्वरमा बसको ढोकालाई तबलाझै “ड्यामड्याम” बजाउदै खलासी भाइ झ्याम्म झर्यो । म हतारहतार गाडिमा चढे। गाडी उस्तो प्याक थिएन(काठमाडौमा लोकल बसमा, त्यो पनि रातीको समयमा एउटा सिट खाली हुनु त पुरै बस नै खाली भएसरह मानिन्छ । मान्छे कोचाकोच उभिदा त खलासी भाइ-“आउनुस, यता सिट खाली खाली”भन्न भ्याउछन। झन यो गाडिमा त लगभग आधा जत्ती सिट नै खाली थिए।) म सुईँसुईँ पछाडि गए, बस्ने सिट खोज्दै। दुवै सिट खालि भएका सिट पनि खाली नै थिए। तर म चाहिँ दुई सिटमा एउटा सिट मात्रै खाली भएको सिटमा गएर बसे। मेरो साईडमा एकजना मजदुर दाई बस्नुभएको थियो।मलाई त्यही भएर त लाग्यो-मलाई त्यै सिटमा बस्न सहज हुनेछ।

सरासर गए-झोला नखोलेरै बसे।

कहाँ बस्ने होला भनेर म पो अल्झिए त, गाडी त कुदिसकेको थियो। चक्रपथमा । सरररररर ।

मलाई आज वास्तवमै एकदमै हतार थियो। म एकदमै बेचैनी साथ खुट्टा हल्लाउँदै, औला पट्काउदै/गन्दै यताउती पल्याकपुलुक हेर्न थाले। चक्रपथ एकदमै व्यस्त थियो। विष्णुमतीको गन्धले वातावरणमा एकरुपताका साथ् दुर्गन्ध थप्दै थियो। ओहो ! विष्णुमति छेवैमा “पारिजात होटेल”पो लेखिएको रहेछ। मैले यस्तो हतारमा पनि पारिजातलाई स्मरण गर्न भ्याएँ। साच्चैँ, सडक वारिपारी आजकाल शिरिषका फुलहरु रातै भएर फुल्ने मौसम पनि त आएको छ नि। बसपार्कका आकासे पुलहरुमा मान्छेको ताँती (कमिलाको जस्तो) देखिन्थ्यो। सडक वारिपारी जताततै रङ्गिबिरङ्गी लाइटहरु चम्किरहेका थिए।

कहिँ मान्छे चढाउन रोक्छ । कहिँ मान्छे ओराल्न रोक्छ । कहिले जाममा रोक्छ । कहिले यत्तिकै नि रोकिदिन्छ गाडी ।मलाई भने एकदमै हतार छ ।

साईडको मजदुर दाईसँग आँखा जुध्छ मेरो। उहाँको परेला, आखिँभौ भरी धुलो टासिँएको थियो। उहाँ झ्यालबाहिर हेर्न थाल्नुभयो। म उहाँले हेरेकै दिशामा फर्केर उहाँलाई हेर्दै थिएँ। उहाँको कपालको रङ्ग नै खैरो। कपालमा टासिएको धुलो र कपालको रङ्गै छुट्याउन गार्हो। यस्सो हेर्छु -कपालको रङ्ग र ज्याकेटको रङ्ग पनि उस्तै खैरो । माटोको रङजस्तो। अनि रातो कोलार देखिएको थियो-रातो रङ्गको सर्टको । प्यान्ट फेरि उस्तै खैरो। क्या ड्रेसिङ सेन्स छ यार मदजुर दाईको-मनमनै सोचे।

यस्सो घाँटी तन्काएर चप्पलको रङ्ग हेर्छु त-हरियो पो छ त बा ! वा-क्या बात ! गजबको गेटअप । मजदुरहरुको हुलिया यहि नै त हो।

कहिँ मान्छे चढाउन रोक्छ । कहिँ मान्छे ओराल्न रोक्छ । कहिले जाममा रोक्छ । कहिले यत्तिकै नि रोकिदिन्छ गाडी ।मलाई भने एकदमै हतार छ ।

गाडी चक्रपथमा पुगि पो सकेछ । गाडी बल्ल प्याक-प्याक हुँदै थियो ।अघि खाली भएका सब्बै सिट प्राय: भरिसकेका थिए।अझ अघि म पूरा नाच्दै (मेरो हिडाईँलाई नाचँ भन्न मिल्ला ?) हिडिआएको कोलियामा त अहिले खुट्टाहरु
खचाखच भरिएका थिए । यि सबै खुट्टाहरुलाई कहिँ न कहि त जानू छ । कोहिलाई घर । कोहीलाई मन्दिर । कोहीलाई पर..पर । र अझै पर…। सायद अन्तै कतै । मलाई चाहिँ बस हतार थियो। बसबाट म कतिखेर सिनामंगल झरुलाँ भनेर ।

मेरो ओपोजिट सिटमा (जहाँ बस्न अघि म अनकनाएकी थिएँ, तथापी एकपटक त यै सिटमा बसुँ पनि लागेकै हो ।) एकजना मान्छे आएर बस्नुभएछ । तपाईलाई स्वभाविक लागिरहेको होला “एकजना मान्छे आएर बस्नुभयो!”भन्दा। तर भन्नुपर्दा यो गाडिमा मैले धेरै व्यक्तित्व छुट्याउन, खुट्याउन नसकेको मान्छे उहाँ नै हुनुहुन्छ । मैले मेरो साईडको सिटमा बस्नुभएको मजदुर- दाईलाई त चिनेकी थिएँ। तर मैले मेरो ओपोजिट सिटमा बसेको मान्छेलाई चिन्नै सकिनँ। उहाँले शरिरमा दौरा सुरुवाल लगाउनुभएको थियो। टाउकोमा चाहिँ ढाका टोपी पनि। आखाँमा पावरदार जस्तो देखिने चस्मा पनि। अनि रातो खैरो रङको लेदरको जुत्ता। मुटुनेरको कुर्ता/दौरा को गोजिमा दुइटा कलम थिए- रातो, कालो। अनि एउटा सानो डायरी। देख्नेबित्तिकै उहाँ -बुद्दिजिवी छनक आउथ्योँ। शुरुमा उहाँ लेखक हुनुपर्ने अनुमान लगाए। यो अनुमान गर्नुमा उहाँको त्यो हुलिया मात्रै कारण अवश्य होईन। उहाँ म तिर बारबार हेरिरहनु भएको थियो-कारण यो पनि थियो उहाँ लेखक हुनसक्ने अनुमान गर्नुमा।

मलाई आज एकदमै हतार थियो । घरिघरि मोबाईलको स्कृन अन अफ गर्न थाले। चार्ज रनिङ आउट देखाईरहेको थियो।एम्बुलेन्सको जस्तो रातो बत्ती मोबाइलमा पिलिल पिलिल बल्न थालेको थियो। मेरो हतार झन बढ्यो ।

नहास्नुस न ल ! मलाई बारम्बार हेर्दैमा कोहि लेखक नै त बनिहाल्दैन। तर भन्न खोजेको कुरा चाहिँ-उहाँ मलाई पात्र जसरी हेर्दै हुनुहुन्थ्यो । कुनै रोचक पात्र । खुल्ला कालो सुरुवाल, सिम्पल लङ टिसर्ट, अनि खरानी र कालो रङको सलले टाउको कपाल दुखेर कपाल बेरेकी थिएँ) मा फेटा बाधेँकी, छोटो कपाल फेटाबाट अलिअली बाहिर निस्केको, टनाटन गरि पुक्क परेको झोला बोकी प्याटप्याटे चप्पल हल्लाउदै आफ्नो छेउमा बसेकी एउटि फुच्ची जस्ती युवती माथी सबैको नजर पर्नु स्वाभाविक नै मानिदो हो उसो त । तर त्यो अङ्कल(मजदुर -दाइ उमेर को लाग्यो,दाइ भने, उहाँ-अङ्गकल उमेरको लाग्यो-अङ्गकल भने ।) ज्यादै नै नियालेर पटकपटक मै तिर हेरिरहनुभएको थियो। तल देखि माथी सम्म। असहज लाग्यो। तर मलाई आज एकदमै हतार थियो । घरिघरि मोबाईलको स्कृन अन अफ गर्न थाले। चार्ज रनिङ आउट देखाईरहेको थियो।एम्बुलेन्सको जस्तो रातो बत्ती मोबाइलमा पिलिल पिलिल बल्न थालेको थियो। मेरो हतार झन बढ्यो ।

म त्यो अङ्कलले हेरिरहनुभएकै दिशा तिर हेर्दै थिएँ। मदजुर दाईको शरीर माथी परिरहेको छायाँ हेर्दै थिएँ म। बाफ रे बाफ -त्यो अङ्कल त मलाई झन घुरिघुरी हेर्दै हुनुहुदो रहेछ।

मलाई झनक्क रिस उठ्यो। विद्दानहरु त भन्छन-“आफुलाई अरुले जे गर्दा रिस उठछ,त्यै कुरा आफुले अरुमाथी नदोहोर्याउनु !”म विद्दान होईन। म त यस्तो बेलामा झन अरुले आफू माथी गरेको भन्दा आफू ज्यादा गर्न थाल्छु। म फनक्क फर्किएर त्यो अङ्कललाई हेर्न थाले। अहिले त पिताम्बर रङ्गको रुमालले पसिना पुछ्दै रहेछन। मलाई अघि त लेखक मात्रै लाग्या थियो यी अङ्कल, अहिले त पतित ब्रह्ममचारी जस्तो लाग्न थाल्यो ।

घाँटिसम्मको यिनको दारीको जङ्गलमा डढेलो लाईदिउँ झै सनक चढेर आयो ।

पशुपति आयो।
कतिखेर धुम्बाराही, सुकेधारा, चाबहिल कटिसकेछ। कति मान्छे झरे,चढे मलाई था पत्तो भएन । दिमागमा चाहिँ अनेक विचारहरु झर्दै,चढ्दै गर्न थालेका थिए।

अहिलेसम्म सुकेको घाटिँबाट थुक पनि ननिलेको मजदुर दाइ केही नबोली चुपचाप उठेर-आफ्नो मसिनो शरीर मेरो खुट्टा र सिट बिचको स्पेसबाट सजिलै छिराई उत्रीनुभयो।

उभिरहेको निलो जिन्स ज्याकेट लगाएको तन्नेरी आएर त्यो सिट ओगट्यो। मेरो फोन झ्याप्प अफ भइदियो। उफ्फ, मलाई निकै हतार पो छ त। झन अब त फोन नै अफ भयो।

मलाई अघि त लेखक मात्रै लाग्या थियो यी अङ्कल, अहिले त पतित ब्रह्ममचारी जस्तो लाग्न थाल्यो ।

घाँटिसम्मको यिनको दारीको जङ्गलमा डढेलो लाईदिउँ झै सनक चढेर आयो ।

त्यो अङ्कल मतिर अझै हेरिरहनु भएको थियो। ठूलो झोला बोकेर, हतार हतार गरि यो केटि कहाँ जादैछे होलि ? कतै भाग्न पो लागेकि हो कि? भागेर बिहे पो गर्न लागेकी हो कि ? यस्तै सोचिरहनुभएको होला अहिले उहाँले -यो मैले सोचे। किनकि हुनसक्छ -उहाँले मलाई आफ्नी छोरी जस्तो ठान्नुभएको थियो। खै के पो ठान्नुभएको थियो उहाँले मलाई?

बल्ल पो मेरो नजर उहाँको काखको लेदरको झोलामा पर्यो। यो अङ्कल पक्का आफ्नो व्यापारबाट फर्किनुभएको होला भन्ने लाग्यो फेरि। खै को हो उहाँ, मलाई किन  थाहा हुनुपर्यो ?

गाडी गौशालाबाट घुमाएर पशुपतिको तिनवटा गेट क्रस गरेर एअरपोर्ट पुग्न लागेको थियो। पशुपतिको पहेलोँ प्रकाश धुवाँको मुस्लोसँगै हावामा रुमल्लीरहेको देखियो।

मलाई एकदमै हतार थियो। फेरि मोबाइल अन गरेको त आफै स्विच अफ भाको मोबाइल पनि १% चार्ज देखाउदै खुल्यो पो।
म सिटबाट उठे। खलासी उभिएको नेरै- ढोकाछेउ पुगे। भाडा बुझाए। एकछिन उभिएरै गाडिमा हिडिरहे। मलाई सिनामङ्गगलमा उत्रीनु थियो।

एयरपोर्ट कटेर सिनामङ्गल पनि आईसकेछ।

म चक्रपथ एक्प्रेसबाट ओर्लिए। गाडी अलिकति अगाडि रोक्दिएछ। उहीँ लय तालमा “ओ कोटेश्वर, काडाघारी,पेप्सिकोला” भन्दै गाडी अगाडि हुईकियो। म केही कदम पछाडी आएर जेब्रा क्रसिङ्सम्म पुग्नु थियो। अलिकती ज्यादै अगाडी आइगएछु । फेरि केही कदम अगाडि हिनेर जेब्रा क्रसिङसम्म पुगे। मलाई एकदमै हतार थियो। जेब्रा क्रसिङ्बाट सुईसुई बाटो काट्न थाल्दै थिएँ, …म एकदमै हतारमा थिएँ।

एउटा बाईक हुईईईईइएएए… आएर मेरो छेउमा रोक्यो र भन्यो-“बैनी,किन टोलाउदै छौ जेब्रा क्रसिङको बिचमा उभिएर यस्तो राती ?”

धत, म त जेब्रा क्रसिङ्ममै कतिबेर देखि उभिएको उभियै भएछु । त्यो दाइको आवाजले पो झसङ्ग भएँ । र, मलाई बल्ल याद आयो-मलाई बडो हतार छ । जेब्रा क्रसिङमै बाटो काट्दै गर्दा बाईकको ठक्करबाट घाईते भएकी मेरि साथी तीन दिनदेखी केएमसी हस्पिटलमा एड्मिट थिई। म आज राती उसैलाई कुर्न (कुरुवा बस्न) लुगा लिएर हस्पिटल जाँदै थिएँ। म फटाफट हिड्न थाले। ..मलाई एकदमै हतार छ ।

कविता, कथा साथै संस्मरणात्मक लेखनमा सक्रिय केसी 'सल्लेरी कोलाज'को स्तम्भ 'गल्लीको कथा'मा नियमित कलम चलाउँछिन् ।

प्रतिक्रिया दिनुहोस्