Logo

गौरीशङ्करलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि



Spread the love

२४ असार, कास्की – जिल्लास्तरीय ११औँ राष्ट्रपति रनिङ शिल्ड अन्तरविद्यालय खेलकूद प्रतियोगिताको उपाधि गौरीशङ्कर माविले जितेको छ । प्रतियोगितामा एथलेटिक्सतर्फ नौ स्वर्ण, तीन रजत र तीन कास्य पदकसहित गौरीशङ्करले दोस्रो पटक उपाधि जितेको हो ।

पोखरा रङ्गशालामा दुई दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा टप्स माविले एथलेटिक्सतर्फ छ स्वर्ण र पाँच रजत तथा छात्रा भलिबलमा स्वर्ण जित्दै दोस्रो भएको छ । कुमुदिनी होम्स एथलेटिक्समा तीन स्वर्ण जित्दै तेस्रो भएको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।

यस्तै छात्रतर्फ तीन स्वर्ण पदक जितेका कुमुदिनीका सागर नेपाली तथा छात्रातर्फ पाँच स्वर्ण हात पारेका गौरीशङ्करका अनिशा भण्डारी प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही रु पाँच हजार पुरस्कार प्राप्त गरे । विजयी विद्यालय र खेलाडीलाई गण्डकी प्रदेश खेलकूद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ, जिल्ला खेलकूद विकास समितिका अध्यक्ष याम गुरुङ, गण्डकी प्रदेश खेलकूद कार्यालयका प्रमुख लक्ष्मणप्रसाद योगीलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा चार गाउँपालिका र पोखरा महानगरपालिकाका २९२ खेलाडी सहभागी थिए । जिल्लास्तरीय प्रतियोगितामा पहिलो र दोस्रो हुने खेलाडी असार २६ गतेदेखि शुरु हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने कार्यालय प्रमुख योगीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्