Logo

नेपाललाई विश्वसामु चिनाउने साहित्य, सङ्गीत र कला होः राष्ट्रपति



Spread the love

 

२५ असार, काठमाडाैँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई विश्वसामु चिनाउने विधा साहित्य, सङ्गीत र कला नै भएको बताएकी  छिन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्धारा आज राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७५’ समारोहमा उनले मुलुकलाई विश्वसामु चिनाउने महत्वपूर्ण माध्यम साहित्य सिर्जना भएको बताइन् ।

“नेपाल साङ्गीतिक विविधताबीच प्राकृतिक वैभव र सुन्दरताले सुसम्पन्न देश हो, विश्वप्रसिद्ध सम्पदाहरुले सुशोभित यो मुलुक साहित्य, सङ्गीत र कला सिर्जनाका लागि उर्वरभूमि हो”, राष्ट्रपति भण्डारीले भनिन्, “देशका मौलिक सांस्कृतिक सम्पदा एवम् प्राकृतिक धरोहरलाई विश्वसामु चिनाउने साहित्य सिर्जना एउटा महत्वपूर्ण माध्यम हो, साहित्य र कलाका विविध फाँटमा संलग्न प्रतिभा र सर्जकलाई प्रोत्साहन गर्न सम्बन्धित पक्ष सँधै अग्रसर हुनुपर्छ ।”

उनले नेपाली साहित्यका उत्कृष्ट कृतिलाई नेपाली भाषाका अतिरिक्त अन्तरराष्ट्रिय भाषामा अनुवाद गरेर विश्वसामु पस्कन सकेमा नेपाली कृतिले विश्वव्यापी स्थान पाउने विचार व्यक्त गरिन् । समृद्ध सभ्यताको प्रतीक तथा अमूल्य निधिका रुपमा रहेका लोकसाहित्य तथा संस्कृति, मौलिक शास्त्रीय सङ्गीत संरक्षण र सम्वर्द्धनका लागि सम्बन्धित पक्षले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

राष्ट्रपति भण्डारीले विद्यालय तहदेखि नै सङ्गीत तथा नाटक विधालाई एउटा रचनात्मक क्रियाकलापको विधा बनाउने सके विद्यार्थीको बौद्धिक विकास तथा कला प्रस्फुटनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्