Logo

खेलकूदका विजेतालाई सम्मान गरिने



Spread the love

२५ असार, पोखरा – आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा गण्डकी प्रदेशबाट सहभागी भएका विजेता खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्ने भएको छ ।
विसं २०७५ चैत २७ देखि २०७६ वैशाख ११ सम्म प्रदेश नं ५ का विभिन्न स्थानमा सम्पन्न राष्ट्रिय खेलकूदमा प्रथम, द्धितीय र तृतीय हुने खेलाडी तथा प्रशिक्षकलाई प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मान गर्ने भएका हुन् ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिले आज पोखरामा पत्रकार सम्मेलन गरी गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन कार्यक्रममा राष्ट्रिय खेलकूदका विजेता खेलाडीलाई नगद र सम्मानपत्रसहित सम्मान गरिने समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए ।

राष्ट्रिय खेलकूदमा गण्डकीले प्रथममा १८, द्वितीयमा २५ र तृतीयमा ५० गरी ९३ पदक जितेको थियो । व्यक्तिगत प्रतिस्पर्धामा प्रथमलाई १० हजार, द्वितीयलाई सात हजार र तृतीयलाई पाँच हजार तथा समूह खेलबाट प्रथम, द्वितीय र तटृतीयलाई सात हजार, पाँच हजार र तीन हजार नगदसहित सम्मान गरिने क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगीले जानकारी दिए । प्रदेश सरकारले खेलाडी सम्मानका लागि समितिलाई रु ११ लाख ७८ हजार ८०० उपलब्ध गराएको छ ।

यसैबीच क्षेत्रीय खेलकूद विकास समितिले गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यही असार २६ र २७ गते पोखरा रङ्गशालामा हुने प्रतियोगितामा प्रदेशका ११ वटै जिल्लाबाट गरी ९१३ खेलाडीले भाग लिने समितिका अध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगितामा छात्र तथा छात्रा भलिबल, कबड्डी, एथलेटिक्स, कराँते, तेक्वान्दो र उसु खेलका विभिन्न इभेन्ट तथा तौल समूहमा गरी ४८ स्वर्ण, ४७ रजत र ६० कास्य गरी १५६ पदकमा प्रतिस्पर्धा हुने बताइन्छ ।

प्रतियोगितामा प्रथम हुने जिल्लालाई २० हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई १० हजार, ट्रफी र मेडल प्रदानगरिनेछ । विद्यालयस्तरबाट नै खेलाडी उत्पादन गर्ने र उनीहरुको प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म उजागर गर्ने उद्देश्यले प्रत्येक स्थानीय तह हुँदै जिल्लास्तरीय प्रतियोगिताबाट उत्कृष्ट खेलाडी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने व्यवस्था गरिएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी यही असार २९, ३० र ३१ गते काठमाडौँमा आयोजना हुने केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्