Logo

स्वर्गको अर्को नाम ‘सल्यान’ (फोटो कथा)



Spread the love

बामदेब के.सी.

दाङको तुल्सीपुरबाट डेढ घण्टाको बस यात्रामा पुग्न सकिने कर्णाली प्रदेश अन्तर्गतको सुन्दर पहाडी जिल्ला हो- सल्यान । यहाँ विभिन्न किसिमका जडिबुटी, अदुवा, सुन्तला, कागतीका साथै तरकारी उत्पादन हुने गर्छ । सल्यानको सुन्तला र अदुवा गुणस्तरका हिसाबले देशकै उत्कृष्ट मानिन्छ । यहाँको सुन्तला र अदुवा संकलनका लागि व्यापारीहरु बाहिरी जिल्लाबाट गाउँमै पुग्ने गर्दछन् ।

प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटनका हिसाबले थुप्रै सम्भावना रहेको सल्यान उचित प्रचार प्रसार र पर्यटकीय सम्पदाहरुको संरक्षण, सम्वर्द्धनको अभावमा छाँयामा परेको जिल्ला हो ।

प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटनका हिसाबले थुप्रै सम्भावना रहेको सल्यान उचित प्रचार प्रसार र पर्यटकीय सम्पदाहरुको संरक्षण, सम्वर्द्धनको अभावमा छाँयामा परेको जिल्ला हो । दाङको तुलसीपुरबाट राप्ती राजमार्ग हुँदै पुग्न सकिने सल्यानको कपुरकोटस्थित देशकै चर्चित तरकारी बजार केन्द्र सल्यानको प्रवेशद्वार हो । यहाँको तरकारी काठमाडौं, नारायणगढ, वुटवल, नेपालगञ्ज, दाङलगायतका ठाउँहरुमा पुग्ने गर्दछ ।

जिल्लाको बीच भागबाट नै बगेको शारदा नदीले यहाँको सुन्दरता बढाउनुका साथै शारदाका फाँटहरुमा धानबालीका लागि सिचाइको सुविधा प्रदान गरेको छ । राप्ती राजमार्ग सल्यान हुँदै रुकुमसम्म पुगेको छ । त्यस्तै, सुर्खेत हुँदै भेरी नदीको तिरैतिर भएर पश्चिम सल्यानको सल्लीबजारबाट पनि सल्यान प्रवेश गर्न सकिन्छ । यो सडक सुर्खेत हुँदै जाजरकोटसम्म पुग्ने गर्दछ ।

इतिहासमा सल्यानः

कुनैबेला सल्यान वाइसे राज्यभित्र पर्ने राज्य थियो ।

त्यस बेला सल्यानमा सैन्य परिवारले सोशान्त राज्य चलाएको थियो । नेपाल एकिकरण अभियानमा पृथ्वीनारायण शाहसँग सल्यानका राजा कृष्ण शाहको मित्रता थियो । त्यसैले सल्यानी युवराज रणभिमशाहसँग पृथ्वीनारायण शाहले आफ्नी छोरी विलासकुमारीलाई बिवाह गरिदिए । बिवाह पछि छिल्ली बिजौरी देखि पश्चिम दाङ क्षेत्रको जमिन छोरीलाई कुशविर्ता दिए । पृथ्वीनारायण शाहको सल्यान प्रतिको नीति कायम राख्दै भिमसेन थापाले पाल्पा विजय गरेपछि सल्यान एकिकरण गर्ने काम थाले ।

वि.सं. १८६९ भाद्र ३ गते सल्यान पनि नेपालमा एकिकरण भएको थियो । राणाकालिन अवस्थामा हालको रुकुम, रोल्पा र दाङ जिल्लाको अधिकांश भु-भाग सल्यान जिल्लामा थियो । त्यसबेला सल्यान गौडामा चौथो दर्जाको बडाहाकिम रहने ब्यवस्था थियो ।

लाटा कामी
वि.सं. १९७५ तिर सल्यान, खलङगामा कामी परिवारमा जन्मेका अनपढ लाटाकामीले आफ्नै बलबुद्धि र साहसले एयरगनदेखि वाष्पशक्तिद्वारा उड्ने टेलिकोप्टरसमेत बनाएर सबैलाई आश्चर्य चकित पारेका थिए ।

२००७ सालको क्रान्तिका बेला थुप्रै बन्दूक बनाई क्रान्तिकारीलाई सहयोग गर्ने वैज्ञानिक लाटा कामीले रबरका टाइप बनाउने टाइप राइटरमा सुधार गर्ने, घन्टाघरको जस्तो ठूलो घडी, नयाँ आयाम थप्न, ढल्काएर हेर्दा मात्रै नेपालको नक्सा देखिने अनौठो खुकुरी, बन्दुक, पेस्तोल नयाँ-नयाँ ढंगका बनाउने कार्य गरेका थिए ।

उनले वाफद्वारा आगो फुक्ने मेशिन बनाउनमा सफलता हासिल गरेपछि वाष्प शक्तिद्वारा चल्ने हेलिकोप्टर समेत बनाएका थिए । यति ठूलो वैज्ञानिक प्रतिभा भएका लाटा कामी पनि नेपाली शासकको हेलचेक्र्याइले गर्दा अन्ततः अन्धो भए । औषधोपचारको समेत सुविधाबाट बञ्चित भई २०३७ सालमा दाङमा उनको अत्यन्त दुःखद निधन भयो । उनलाई सल्यानका विभूति उपनामले चिनिन्छ ।

प्रमुख पर्यटकीय स्थल

खैराबाङ्ग भगवतीको मन्दिरः

सल्यान जिल्लाको सदरमुकामबाट २० किलो मिटर टाढा रहेको शारदा नगरपालिका (साविककाे हिवल्चा गा.वि.स.) मा अवस्थित खैराबाङ्ग भगवती मन्दिर जिल्लाको ठूलो शक्ति पीठ हो । ३ घण्टाको ठाडो उकालो हिडेर पुगीने यो मन्दिरमा भूवनेश्वरी देवीको मूर्ति रहेको छ । त्यहाँ घटस्थापना देखि पूर्णिमासम्म ठूलो मेला लाग्ने गर्दछ । यहाँ आएर पुजा गर्दा चिताएको कुरा हुन्छ भन्ने जनविश्वास रहेको छ । सो मेलामा सल्यान लगायत छिमेकी जिल्ला रुकुम, दाङ लगायत अन्य ठाउँबाट पनि भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । यो मन्दिर जिल्लाको ठूलो र प्रसिद्ध मन्दिर पनि हो ।

छत्रेश्वरी मन्दिरः

सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका (साविकको छायाक्षेत्र गा.वि.स.) मा अवस्थित यस मन्दिर रहेको स्थानमा सतीदेवीको शेष रहेको सबै अङ्ग पतन भएको मानिन्छ । यहाँ सर्वप्रथम अष्टभैरवले पूजा–आराधाना गरेकाले यहाँ कुनै अवसरमा पनि बली चढाइदैन । यो नेपालका सबै शक्तिपीठहरुमध्ये बली नचढाइने एकमात्र शक्ति पीठ हो ।

कुपिण्डे दहः

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा अवस्थित कुपिण्डे दह प्राकृतिक सुन्दरता र मनोरम दृश्यहरूले सजिसजाउ गन्तव्य हो । यो तालले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रङ्ग बदल्छ । हरियाली रुख विरुवा, सुन्दरबस्ती र सल्यानी संस्कृतिको जनजीवनले जो कोहीलाई पनि कुपिण्डे दह पुग्दा आनन्दको महसुस गराउँछ ।

वरिपरि मिलेका पहाड, हरियो जंगल र बीचमा नीलो आकाशझैं उत्तर दक्षिण फैलिएको दह साँच्चिकै प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । त्यसैले गर्दा ग्रामीण पर्यटनका लागि गन्तव्य बनेको छ कुपिन्डे दह । यस दहमा आएर डुङ्गा सयर गरेर घुम्न पाउँदा ग्रमीण पर्यटक छुट्टै आनन्द महसुस गर्छन् ।

कुपिण्डे दहको किनारमा बराहको मन्दिर छ । सल्यानको मात्र नभएर बराह मन्दिरमा पूजा गर्न रुकुम, सुर्खेत र जाजरकोटका मानिस पनि पुग्ने गर्छन् ।

मोखला शिव गुफाः

सल्यान जिल्लाको पिपलनेटा गा.वि.स. मा अवस्तिथ शिव गुफा कती लामो छ भन्ने कुरा अहिले सम्म पनि थाहा हुन सकेको छैन । यस गुफामा भगवान शिवको मुर्ती रहेका छ भने यस गुफामा यस वरपरका मानिसहरु पुजापाठ तथा विवाह गर्नका लागि यस गुफामा आउने गर्दछन् ।

कमलाक्षीः

सल्यान जिल्लाको लक्ष्मीपुरमा श्री कमलाक्षीको मन्दिर रहेको छ । यस स्थानमा सतीदेवीको बायाँ करङ पतन भएको विश्वास गरिन्छ । यस स्थानमा सर्वप्रथम योगामार्गीहरुले पुजा–आराधना गरेको विश्वास गरिन्छ । एउटा पहाडको रुपमा रहेको यो मन्दिरमा करङका आकृतिहरु देख्न पाईन्छ ।

कला-संस्कृति
सल्यान जिल्लामा झ्याउरे नाच, टप्पा, सेरेङ्गे नाच, सोरठी, लाखे नाच प्रचलित छ । पुरुषले महिलाको कपडा लगाएर मादलको तालमा पुराना पौराणिक कथाहरूमा आधारित गीतहरू गाएर सोरठी नाच आजभोलि कमै सुनिन थालेको छ । त्यस्तै टप्पा सल्यान जिल्लाको प्रचलित गीत भएर होला, यसलाई सल्यानी टप्पा पनि भनिन्छ । सोरठी लोक साहित्यको सल्यान जिल्ला परिचित जिल्ला हो ।लोक नाचहरूमा दुर्वोधता पाइँदैन, दिक्क लाग्दो र उराठिलो भावना जाग्दैन । यही नै यसको विशेषता हो । त्यस्तै सल्यान लाखे नाच लाखेको मुकुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो र यो नाच सल्यानका विभिन्न ठाउँमा कृष्ण जन्माष्टमीको अवसरमा नाच्ने गरिन्छ । कृष्णले कंशमाथि बिजय प्राप्त गरेको कथालाई लिएर यो नाच नाचिन्छ ।

हेर्नुहोस् ! सल्लेरी कोलाजका लागि फोटो जर्नालिस्ट बामदेब के.सी.ले कैद गरेको सल्यान जिल्लाको मनमोहक सुन्दरताः

प्रतिक्रिया दिनुहोस्