Logo

फकिर बाबाका गन्थनमन्थन



Spread the love

सपना राति सुुतेको बेलामा अचेत अवस्थामा देखिने कुुरा ।

सपना सार्थक नि हुुन सक्छ, सपना स्वार्थ नि हुुन सक्छ । यो नितान्त व्यक्तिमा भर पर्छ । अधिकांशले सपना देखेकै हुन्छन् । सपना पुरा गर्न भलै लागि नपरुन् तर देख्न छाड्दैनन् । कोही सपना पुरा गर्न दिनरात लागि पनि पर्छन् ।

मेरो त्यस्तो कुनै सपना छैन । जेम्स क्यामरुनले बच्चा बेलामा सपनामा देखेको एलियनलाई फिल्ममा उतारेर आफ्नो सपना साकार पारे । सपना मात्र होइन बिलियन डलर बनाए । यसैगरी क्रिस्टोफर नोलानले पनि दश वर्ष लगाएर इन्सेप्सन बनाई दुनियाँलाई चकित पारे । विश्वका निकै कम प्रतिशत छन्- जो आफ्नो मात्र स्वार्थमा नलागि सामूहिक स्वार्थमा लाग्छन् । नाम तिनैले कमाउँछन् जसले सामूहिक हितको लागि आवाज उठाउँछन् । अरु बाँकीले देख्ने सपना भनेकै फगत न हो ।

बिहान बेलुका मात्र छाक टार्न पाए हुन्थ्यो भन्ने जमात निकै नै खुशी देख्छु । हलिउड बङ्गालो र मर्सिडिज बेन्जको सपना देख्दै बाहिर जानेहरु अधिकांश खाली फर्केको देख्छु । खाडी बाहेकका अन्य युुरोपियन तथा अमेरिकन देशहरुमा जानेहरुको पिआरसम्मको उपलब्धि भएको देखिन्छ । त्यो पनि बुढाबुढी मरुन्जेल काम गर्यो छोराछोरीको लागि मात्र । हुन त हाम्रो नेपालमा बाआमाले सन्तानकै लागि अनेक गरेको देख्न सकिन्छ ।

अब म मेरो सपनाको कुरा गर्छु- कति अरुको सपनाको कुरा गर्नु । आफ्नो भनेको आफ्नै हुन्छ । मेरो त्यति ठुलो सपना छैन । न त मैले कहिल्यै सपना देखेँ । सपना नदेख्नुको कारण पनि छ । जुन कारण अरुमा लागु नहुन सक्छ । केटाहरुले फलानीलाई यसो भन् उसो भन् भनेर पट्याउन खोजेपनि फलानी नपट्टिन सक्छ । कसैमा मिल्दैमा सबैमा लागु नहुन सक्छ ।

मेरो विचारमा सपनाले मानिसलाई बाँध्छ । सपनाले मानिसलाई असीमित हुन दिँदैन । तर सपना नदेख्ने मान्छेको जीवन भने असीमित हुन्छ, एड्भेन्चरस हुन्छ । सपनामा मात्र ध्यान दिनेको जीवनमा ड्रामा बेसी हुन्छ ।

हो मेरो कुुरा नि यस्तै छ । लगभग एलएलसी पछि सबैले आफू भविष्यमा के बन्ने भनेर सोच्न थाल्छन् । अति तीक्ष्ण बुद्धि भएकाहरु त सानैबाट नै लक्ष्य निर्धारण गरेका हुन्छन् । तर मेरो त्यस्तो भएन ।

मलाइ सपना फगत लाग्छ, आफ्नो आफ्नो हेराइ हो । मेरो हेराई अरुलाई मन नपर्नसक्छ । मैले सपना देखिन, खै सपना देख्न हिम्मत चाहिने हो कि के हो बुझ्न सकिनँ ।

मेरो विचारमा सपनाले मानिसलाई बाँध्छ । सपनाले मानिसलाई असीमित हुन दिँदैन । तर सपना नदेख्ने मान्छेको जीवन भने असीमित हुन्छ, एड्भेन्चरस हुन्छ । सपनामा मात्र ध्यान दिनेको जीवनमा ड्रामा बेसी हुन्छ । जीवनमा ड्रामा भन्दा पनि एड्भेन्चर हुनु जरुरी छ । ड्रामा त फिल्मी दुनियाँमा मात्र राम्रो हुन्छ । सपना नभएको मान्छेले हण्डर भने अवश्य नै खान्छ है । मैले त त्यति धेरै हण्डर त खाको छैन । फेरि हण्डर नखाइकन कसरी जीवन एड्भेन्चरस हुनसक्छ र ? केही नगुमाइकन केही पाएको रेकर्ड छ र यो दुनियाँमा ? हण्डर खाने एड्भेन्चर पाउने । वा लाइफ हो तो एइसा ।

सपना र खुशी नितान्त बेग्लै कुरा हुन् । सपना पुरा हुँदैमा खुशी आउने होइन । सपना पुरा गर्ने क्रममा मानिसले यति धेरै खुशी गुमाएको हुन्छ कि सपना पुरा भएपछि उसले आफ्नो खुशी किन्न सक्दैन ।

सपना र खुशी नितान्त बेग्लै कुरा हुन् । सपना पुरा हुँदैमा खुशी आउने होइन । सपना पुरा गर्ने क्रममा मानिसले यति धेरै खुशी गुमाएको हुन्छ कि सपना पुरा भएपछि उसले आफ्नो खुशी किन्न सक्दैन । खै ममा खुशी कति बेला आउँछ भनेर भन्न सक्दिन । जब मैले केही नयाँ कुरा सिक्छु, तब मलाइ निकै खुशी लाग्छ । तर म आफूलाई विद्धान टप्लाउँदिन ।

म एक सामान्य मानिस । सामान्य मानिस भएर बाँच्नुजस्तो मजा अरुमा केही छैन । सिकाइ जन्मेपछि मरुन्जेलसम्म चलिरहने प्रक्रिया हो । अप्रत्यक्ष रुपमा मैले अनेक कुराहरु सिकिरहेको हुन्छु । बाटोमा हिँड्दा होस् या गाडीमा होस्, मेरो नजर एक ठाउँमा बस्दैन । कला र साहित्यतिर ढल्किने मेरो मन सामान्य कुरा देख्दा नै खुुशी लाग्छ ।

सामान्य कुरालाई वास्ता नगर्ने मानिस कहिल्यै पनि खुशी हुन सक्दैन । सामान्य कुरामा पनि धेरै कुरा लुकेको हुन्छ । मैले कहिल्यै आफ्नो कोर्सको किताब मन लगाएर पढिनँ । परीक्षामा पनि तीन घण्टाभन्दा बढि पढेको रेकर्ड छैन । मलाई ती किताबले कहिल्यै पनि आनन्द दिएनन् तर केही किताब भने खुब पढ्थेँ । म साहित्यको विद्यार्थी कोर्समा साहित्यिक गन्थनमन्थन नहुने त कुरै भएन । अघिपछि चुप बस्दा साहित्यको कुरा आउँदा भने मेरो आवाज अलि उच्च हुन्थ्यो । सबैले मलाइ फर्केर हेर्थे ।

मलाई असाध्यै मन पर्ने कुरा- कला र साहित्य । म साथीहरुसित भेटेको बेला आर्टिस्टको बारेमा कुरा गर्छु । मन सितल हुन्छ । दाजुले मलाई हजारबार सम्झाउनुभयो,“भाइ चाहिने कुरा पढ् ! यस्ता फाल्टु कुराले जीवन चल्दैन ।”

मैले भने एक कानले सुनी अर्को कानले उडाउँथे । किनकि मलाई कोर्सले कहिल्यै आनन्द दिएन । मलाइ न त साहित्य कोर्न आउँछ, न त कुनै चित्र कोर्न । न त गितार बजाउन नै । तर धेरथोर तिनीहरुको बारेमा भने थाहा थियो । मलाइ रुचि यस्तो कुरामा भयो कि जसमा मेरो करियर बन्दैन । तर मनलाई भने खुब आनन्द दिन्थ्यो ।

आमा भन्नुहुन्छ,“लोकसेवा पढ् । के पढिस् के तैँले त, दाजु भाउजूले नाम निकाले । तँलाइ अलिकति लाज छैन ?”

म मुसुक्क हाँसेर कुरा टार्थेँ । अरु म के नै गर्नसक्थेँ र ?

माथि बताइसकेको छु कि बिना सपना जिउँदा जीवन एड्भेन्चरस् हुन्छ । तर हण्डर भने धेरै खाएको छैन । खाए भनेँ अवस्य नै बताउनेछु ।

जीवन जिउने क्रममा मास्टर्स पहिलो वर्षमा पढ्दै थिएँ । क्लास लिन थालेको यस्तै छ सात महिना भएको थियो । जाडो बिदामा म घर गएको थिएँ । यसैबेला सदरमुकाममा रहेको एक प्राइभेट बोर्डिङ्गमा माविको लागि नेपाली शिक्षक खोजेको रहेछ । दाजुले फोन गरेर एकचोटि जान त, सेलेक्ट भइस् भने अनुभव हुन्छ । धेरै कुरा सिकिन्छ भने । दाजुको कुरा नकार्न सक्दैनथेँ । दाजुले पनि लगभग दुई वर्ष जति पढाउनुभएको थियो । बुवा पनि शिक्षक नै हुनुहुन्थ्यो ।

डेमो क्लास लिने कुरा भयो, कक्षा नौमा । माघको कुरा हो । पाठ लगभग अन्तिम चरणमा पुगेको थियो । महिला सशक्तिकरण भन्ने संवाद थियो । चालिस मिनेट पढाएर म निस्केँ । पछि सेलेक्ट भएको कुरा आयो । अनि चौध महिना पढाइयो अलिअलि पैसा कमाइयो अलिअलि नाम । मैले विद्यार्थीलाई कोर्सको कुरा मात्र पढाइन । मलाइ थाहा थियो कि, कोर्सको कुरा कति वाक्क लाग्दो हुन्छ । मैले स्कुल पढ्दा गुरुहरुले कोर्स बाहेक कहिल्यै केही पढाएनन् । म चाहन्थेँ कि विद्यार्थीलाई म दुनियाँको हरकुरा सिकाम् । आफ्नो क्षमताले भ्याएसम्म मैले आफ्ना विद्यार्थीलाई कोर्स र कोर्सबाहिरको ज्ञान बाडेँ ।

मेलै धेरथोर पैसा कमाएको थिए । त्यहीं पनि म शिक्षण पेसामा खुशी थिइनँ । पैसाले खुशी दिँदैन भन्ने अमृत त्यहाँबाट थाहा भयो । थेसिस सक्नुछ भन्ने मनशायले राजधानी फर्केँ । यता आएर पनि एक वर्ष यत्तिकै बित्यो । न त थेसिस सकाइयो, न त जागिर पाइयो । जस्तो पायो त्यस्तै जागिर मन नपर्ने ।

चौध महिनामा कमाएको पैसा त छ महिना नहुँदै सकियो तर चौध महिनाले दिएको शून्यता भने सकिएन । म बिहान पाँचदेखि बेलुका पाँचसम्म व्यस्त हुन्थेँ । बीचमा दुुई पटक पन्ध्र मिनेट जति ब्रेक हुन्थ्यो । खाना खाएर म सुत्न खोज्थेँ तर सुत्न सक्दिैनथेँ । म कसरी शून्यवादी भएँ मलाइ नै थाहा छैन ।

निरसले भरिएका छोटा छोटा लेखहरु म फेसबुकमा राख्थेँ । पछि ब्लग खोलेर राख्न थालेँ । जीवन सिसीफसकै कथा हो भनी बुझाउनको लागि मलाई कतै स्कुुलमा पढाउने मेसो मिलेको त होइन ? आफैले आफैलाई प्रश्न गर्थेँ । रातिमा सुत्न नसकेनी अलिकति विद्यार्थीको नमस्कार खाइन्थ्यो, अलिकति विद्यार्थीको गुड मर्निङ । तर मनमा भने शान्ति थिएन । स्कुलमा थेसिस गर्नुछ भनी भागेपनि वर्षदिन बित्दा थेसिसको टुङ्गो थिएन ।

आफूलाई म जोगी भन्ठान्छु तर त्यो प्रोफेसनल खालको जोगी चैँ होइन । म आफूलाई सुकिलो मुकिलो जोगी भन्न रुचाउँछु । देख्दा जोगी नभएपनि जोगीजस्तो मस्त ।

आफूलाई म जोगी भन्ठान्छु तर त्यो प्रोफेसनल खालको जोगी चैँ होइन । म आफूलाई सुकिलो मुकिलो जोगी भन्न रुचाउँछु । देख्दा जोगी नभएपनि जोगीजस्तो मस्त । गनेस पौडेलले भनेजस्तो जोगीको जीवन क्या मस्तीको जीवन । फेरि जोगी भनेर आफ्नो काम कर्तव्यबाट च्यूत भएको भने होइन है ! माथि नै बताइसकेको छु कि सुकिलो मुकिलो जोगी भनेर ।

हर मानिसमा लुसिफरले वास बसेको हुन्छ । लुप्त रुपमा बसेको हुन्छ । जुनसुकै बखत पनि बाहिर आउनसक्छ । मभित्रको लुसिफर पनि बडा अचम्मको छ । जब म साथीहरुको बीचमा हुन्छु तब मभित्रको लुसिफर नियन्त्रित हुन सक्दैन । हप्ताको एकदिन मभित्रको लुसिफरले आफ्नो कब्जामा राख्छ । मभित्रको लुसिफर ज्याक निकोल्सन बन्दछ । मेरो प्रिय कलाकार ज्याक निकोल्सन । जब मभित्रको ज्याक निकोल्सन हावी हुन्छ, तब मैले दायाँबायाँ कतै पनि हेर्दिन । किनभने मभित्रको कुण्ठा यहीं ज्याक निकोल्सन नामक लुुसिफरले खाने गर्दछ । अघिपछि भने मभित्रको ज्याक निकोल्सन शान्त थियो । मभित्रको लुसिफरलाई थाहा छ कि म पेशामा निकै सभ्य हुन्छु ।

मलाइ थाहा छैन किन म आफूलाई ज्याक निकोल्सनको संज्ञा दिन्छु भन्ने । घरीघरी ज्याक निकोल्सनको अभिनय आफूले गर्नसक्छु जस्तो लाग्छ । ममा ज्याक निकोल्सनको अभिनय हाबी भएर पनि यस्तो हुनसक्छ । जे सुकै होस् ज्याक भन्या ज्याक हो । तीनवटा त ओस्कार जित्या छ । दुनियाँ उसको पछि लाग्याछन् । म नाथे को हो र ? आफूलाई सुकिलो मुकिलो जोगी ठान्ने सो कल्ड लुन्याटिक ।

अहो ! म त सपना र खुशीको कुरा गर्दै थिएँ तर बग्दाबग्दै कहाँ आएँ कहाँ ? हुन त मानिसको जीवन बगेरै त जाने हो । सपनामा बग्ने, कल्पनामा बग्ने । पीडामा बग्ने, कैलेकैले रक्सीमा बग्ने । जता बगेपनि बग्ने न हो । लहरो तान्दा पहरो आउँछ भनेझैं म एउटा कुरा लेख्न खोज्छु अरु कुरा पनि आफै आउँछ । मलाइ थाहा छ तँपाइहरु मेरो वकवास गन्थन सुन्दा वाक्क हुनुभएको छ । म आफ्नो शब्दलाई बाँध्न नसक्दा आफैप्रति दुखित छु । मलाइ नाथे बालक सम्झेर माफी दिनुहोला । मौका मिले फेरि भेटौँला । उही सुकिलो मुकिलो फकिर सो कल्ड ज्याक निकोल्सन ।

०००

०००

विकाश मरासिनी सल्लेरी खबरको कला साहित्य ब्युरोमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्