Logo

असिना पीडित कृषकलाई रु १० लाख राहत



Spread the love

२६ असार, पोखरा – पोखरा महानगरपालिकाले असिना पीडित कृषकहरुलाई राहत वितरण गरेको छ । विसं २०७६ वैशाख १६ देखि जेठ १५ गतेसम्म विभिन्न समयमा परेकोे असिना तथा हावाहुरीले कृषकको मकै, तरकारी तथा सुन्तला लगायतका फलफूलमा क्षति पुर्याएको थियो ।

महानगरका ३३ वडाका पीडित कृषकहरुलाई बुधबार एक कार्यक्रम आयोजना गरी महानगरप्रमुख मानबहादुर जिसी तथा प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले राहत स्वरुप आर्थिक सहयोग प्रदान गरेका थिए ।

कृषक तथा कृषि समूहमा आबद्ध गरी राहत वितरणबाट ४०० जना कृषक लाभान्वित भएको र रु १० लाख आठ हजार १८० वितरण गरिएको महानगरले जनाएको छ ।

एक रोपनी जमीनमा लगाइएको तरकारी, मैक तथा अन्य बालीनाली क्षति पुगेकोमा रु एक हजार ५००, एकदेखि तीन रोपनीसम्म दुई हजार ५००, तीनदेखि पाँच रोपनीसम्मको लागी रु चार हजार, पाँच रोपनीभन्दा माथि रु सात हजार र समूह सहकारीलाई रु १५ हजार राहत स्वरुप प्रदान गरिएको महानगर कृषि महाशाखा प्रमुख मनहरप्रसाद कडरियाले बताए ।

त्यसैगरी प्लाष्टिक घरको लागि एकदेखि दुई घरमा पुगेको क्षतिको लागि रु पाँच हजार तथा दुईभन्दा बढी घरमा क्षति पुगेकोमा रु १० हजार राहत स्वरुप उपलब्ध गराइएको उनले जानकारी दिए ।

महानगरको वडा नं ८ ले वडास्तरीय बजेटबाट रु छ लाख तथा वडा नं ७ ले एक लाख ६५ हजार यसअघि नै पीडितलाई सहयोग गरेको महानगरले जनाएको छ ।

असिना तथा हावाहुरी लगत्तै किसानहरुको क्षतिको विवरण सङ्कलनको लागि उनीहरुलाई वडा कार्यालय तथा कृषि कार्यालय निवेदन दिन आग्रह गरिएको र वडाबाट सिफारिस भएर आएका निवेदनलाई स्थलगत अनुगमन गरी उत्पादन र संरचनामा पुगेको क्षतिको आधारमा राहत वितरण गरिएको प्रमुख कडरियाले बताए ।

राहत वितरण गर्दै महानगरप्रमुख जिसीले असिना, हावाहुरी लगायतका प्राकृतिक विपत्तिमा राहतभन्दा पनि कृषकलाई कृषि बीमातर्फ आकर्षित गर्ने महानगरको योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्