Logo

५७९ घरधुरीलाई मुआब्जा वितरण



Spread the love

२७ असार, तनहुँ – तनहुँ जलविद्युत् आयोजनाले आयोजनाबाट प्रभावित ६ सय घरधुरी मध्ये ५७९जनालाई मुआब्जा वितरण गरेको छ ।

बाँकी २१ जनाले मुआब्जा लिन बाँकी रहेको र उनीहरुका लागि रु पाँच करोड मुआब्जा दिनुपर्ने अवस्था रहेको तनहुँ जलविद्युत् आयोजनाले जनाएको छ । हालसम्म ९५ प्रतिशत मुआब्जा वितरण गरिएको तनहुँ जलविद्युत् आयोजनाका साइड इञ्चार्ज विदुर अधिकारीले जानकारी दिए ।

उनीहरुलाई मुआब्जा लिनको लागि आग्रह गरिएपनि कसैको जग्गा अंशबण्डाको विवाद भएको, श्रीमान् विदेश रहेका र केही व्यक्तिले मुआब्जा थोरै भएको भन्दै मुआब्जा नलिएका कारण केही मुआब्जा वितरण कार्य रोकिएको हो । विसं २०७३ फागुनबाट जलाशय क्षेत्रबाट प्रभावित भएकालाई मुआब्जा वितरण कार्य थालिएको थियो । कूल ७५ करोड मुआब्जा वितरण गर्नुपर्नेमा ७० करोड वितरण गरिसकिएको छ भने पाँच करोड वितरण गर्न बाँकी छ रहेको अधिकारीले बताए ।

आयोजनाबाट व्यास नगरपालिकाको वडा नं ५ ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र भिमाद नगरपालिकाका क्षेत्र प्रभावित भएका छन् । बाँध प्रभावित क्षेत्रमा स्थानीय विकासको लागि परामर्शदाताले काम शुरु गरिसकेको आयोजनाले जनाएको छ ।

१ सय ४० मेगावाट क्षमताको सो आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने गरी सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका काम भइरहेको छ । दोस्रो प्याकेजका काम गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले आयोजनस्थलमा काम गरिरहेको आयोजनाका प्रशासकीय अधिकृत भोला शर्माले जानकारी दिए ।

सिनो हाइड्रोले अहिले आयोजनास्थलमा कार्यालय भवन, श्रमिक आवास गृहलगायतका संरचना निर्माण, आयोजनाको प्रवेश मार्ग र अन्य संरचनाको सर्वेक्षण, डिजाइनका काम भइरहेको उनले बताए ।

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीले काम शुरु गरेको छ ।

आयोजनाको कूल लागत अमेरिकी डलर ५० करोड ५० लाख रहेको छ । यसमध्ये एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, इआइबीले आठ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणले आठ करोड ७० लाख अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्