Logo

गोदावरीको बजेट एक अर्ब ५० करोड



Spread the love

२७ असार, काठमाडाैँ – गोदावरी नगरपालिकाले कृषि, पर्यटन र सामाजिक विकासलाई प्राथमिकतामा राख्दै तेस्रो नगरसभामार्फत आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रु एक अर्ब ५० करोड ३६ लाख ६४ हजारको बजेट सार्वजनिक गरेको छ ।

नगरप्रमुख गजेन्द्र महर्जनले उक्त वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नगरपालिकाको सञ्चित कोषबाट नगरस्तरीय बजेट, योजना तथा कार्यक्रमका लागि रु ५० करोड ९९ लाख ६४ हजार, चालू खर्च सामाजिक सुरक्षासमेत गरी रु ६२ करोड ६७ लाख विनियोजन गरिएको छ । नगरपालिकाले चालू आवमा भवन निर्माणका लागि रु पाँच करोड, समपूरकमा रु १० करोड र लैङ्गिक समानतातर्फ रु १५ करोड खर्च गरिसकेको छ ।

आगामी आवमा धापाखेल–झरुवारासी–न्यौपानैगाउँ, घट्टेकुलो–ग्वालिन्दह, टाहाखेल–लेले, टौखेल–लेलिन्थोक, ललितघुम्ती सडक, कुश्लेचौर– छम्पी, तल्लो बरुञ्चुली–देउराली सडकको स्तरोन्नति गर्न योजना अघि बढाइएको छ । नगरपालिकाले अढाई आनाभन्दा कम जग्गा भएका भूकम्प प्रभावित बस्ती एवम पुरानो शहरमा नक्सापासमा सहजीकरण र सरलीकरण गर्ने योजना अघि बढाएको छ । नगरपालिकाले निजी साझेदारी संस्थासँगको सहकार्यमा अर्बुद रोग अस्पताल, नेपाल आर्ट भिलेज तथा युवा, महिला, दलित, आदिवासी र जनजातिका लागि उद्यमशील र रोजगारी सिर्जना गर्न योजना अघि सारेको छ ।

यस्तै नगरपालिकाले हाल निर्माण हुँदै गरेको बहुउद्देश्यीय रङ्गशाला पूर्ण गर्न तथा पर्यटकीय क्षेत्र विस्तारका लागि गोदावरी–फुल्चोकी पदमार्ग निर्माण पूरा गर्ने योजना बनाएको छ । जिल्लाको लेलेमा तरकारी भण्डारण गर्न आधुनिक चिस्यान केन्द्र निर्माण, बालमैत्री नगरपालिका बनाउन बाल क्लब तथा डुकुछाप र लेलेमा एकीकृत बस्ती विकास गर्ने योजनासमेत नगरपालिकाले अघि बढाउने भएको छ ।

कार्यक्रममा सांसद पम्फा भुसालले गोदावरीका जनप्रतिनिधिलाई आगामी दिनमा उत्साहित भएर काम गर्न आग्रह गर्नुभयो । सांसद नवराज सिलवालले बजेट कार्यान्वयनको परीक्षा अब शुरु भएको बताए ।

प्रतिक्रिया दिनुहोस्