Logo

महोत्तरी कारागार जलमग्न, कैदीको बिचल्ली



Spread the love

३० असार, महोत्तरी । लगातार छ दिनदेखिको वर्षासँगै महोत्तरी कारागार जलमग्न भएपछि कैदीको बिचल्ली भएको छ ।

गत बुधबार मध्यरातदेखि लगातार परेको पानीसँगै कारागार डुबानमा परेपछि कैदीको बिचल्ली भएको हो ।

जिल्ला सदरमुकाम जलेश्वरको गहिरो ठाउँमा रहेको कारागारमा परेको पानी र बाहिरबाट बगेर आएको पानी निकास नहुँदा जलमग्न भएको हो । कारागार परिसर जलमग्न भएपछि कैदीलाई खान, बस्न र सुत्न निकै कठिनाइ भएको छ ।

विसं १९१३ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गरेको १३५ कैदी राखिने क्षमताको कारागारमा अहिले ५२८ जना छन् । कारागार भुइँतल्लामा पाँच फिट पानी भरिएपछि सबै कैदीलाई छ तल्लामा सारिएको छ । माथि खाँदिएर बस्नुपर्दा निकै असहज भएको कैदीले बताएका छन् ।

“हजुर, छ दिनदेखि न राम्ररी खान पाएका छौँ, न निदाउन”, एकजना अधबैँसे कैदीले भने, “जेल काटेर घर फर्कन्छौँ भन्ने आश नै म¥यो ।”

कारागारका पुरुष र महिलाका दुई छुट्टाछुट्टै कक्षमध्ये पुरुषकक्षमा अहिले ४७२ र महिलाकक्षमा तीन आश्रित बालबालिकासहित ४६ गरी ५२८ कैदी छन् ।

क्षमताभन्दा बढी कैदी न्यायिक निकायले पठाएपछि उनीहरुको व्यवस्थापनमा असजिलो हुँदै आएको कारागार प्रशासनले जनाएको छ ।

“कैदीको चापले समस्या पहिलेदेखि नै थियो”, कारागार प्रमुख (जेलर) मकसुधन महासेठले भने , “पछिल्लो पटक पाँच दिनदेखिको अविरल वर्षाले त अस्तव्यस्त नै भएका छौँ ।” कैदी मात्र नभएर कारागारका कर्मचारी र सुरक्षाकर्मीलाई उभिनसमेत ओभानो ठाउँ नभएको कारागार प्रमुख महासेठको भनाइ छ ।

महोत्तरी र धनुषाको संयुक्त कारागार रहँदै आएको यहाँ धनुषाकै कैदी बढी रहेका छन् । एक सय ६३ वर्ष पुरानो कारागार भवनले त्यसयता राम्ररी मर्मतसम्भार नपाउँदा छत तथा भित्ताका इँट्टा र सिमेन्टका टुक्रा झरिरहेर बसाइ सधैँ डरमर्दो हुने गरेको कैदी बताउँछन् ।

कारागारमा शौचालय र खानेपानीका धारा चार/चार वटा मात्र सञ्चालनमा रहँदा दिसापिसाब गर्न र नुहाइधुवाई लागि घण्टौँ पालो पर्खनुपर्ने अवस्था रहेको कैदीको गुनासो छ । सरसफाइ राम्रो हुन नसक्दा धेरैजसो कैदीलाई छाला चिलाउने समस्या रहेको उनीहरुको भनाइ छ ।

यसैबीच मानवअधिकार क्षेत्रमा कार्यरत इन्सेकका जिल्ला प्रतिनिधि अजयकुमार साहले कैदीको बसाइ, खानपिन र उपचारसहितको प्रबन्धसँगै सुरक्षित आवासको प्रबन्धमा सरकार गम्भीर हुनुपर्ने बताएको छ । ( रासस )

प्रतिक्रिया दिनुहोस्