Logo

विवादले बजेट पारित हुन सकेन



Spread the love

३० असार, ललितपुर – ललितपुर महानगरपालिकाले मङ्गलबार बजेट पारित गर्ने भने पनि अझैसम्म सहमति जुट्न नसक्दा पारित हुनसकेको छैन । महानगरपालिकाले यही असार १० गते आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि चौंथो नगरसभा मार्फत प्रस्तुत गरिएको नीति तथा कार्यक्रमका १० बुँदा संशोधन हुनुपर्ने यहाँका ६६ नगर सदस्य र २६ कार्यपालिका सदस्यले माग गरेका  छन् ।

महानगरभित्र विसं २०२१ र २०३८ मा नापी भएका तथा नभएका जग्गा पुनः नापी हुनुपर्ने, सामुदायिक विद्यालय र कलेजका पूर्वाधार तथा गुणस्तरीय शिक्षा सुधारका लागि अनुदानको व्यवस्था नभएकाले प्रष्ट उल्लेख हुनुपर्ने, महानगरभित्रका ७० वर्षका वृद्धवृद्धालाई निमोनिया रोग लाग्नै नदिन रोग प्रतिरोधात्मक भ्याक्सिनको व्यवस्था र स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिनुपर्ने लगायतका माग राखिएका छन् ।

यसैगरी अन्य बुँदामा भनिएको छ, “नेपाल सरकारको नीति अनुसार बजेट उत्पादन र रोजगारसँग अन्तरसम्बन्ध हुनुपर्ने भएकाले महानगरले एक वडा एक सामुदायिक रोजगार कार्यक्रमको नीति लिनुपर्ने, महानगरपालिकाको वडा बजेट, विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्र, यी सम्पदा क्षेत्रका मूल सडकतर्फ देखिने घरमा एकै किसिमको रङ्गरोगन हुनुपर्ने र महानगरपालिकाले निर्माण गर्नुपर्ने भौतिक संरचना वडा कार्यालय र शौचालयलाई संशोधित गर्नुपर्छ ।”

महानगर प्रमुखले आफूखुशी योजना बनाएको, वडाले गर्नुपर्ने काम बाँडफाँड नगरेको र बोर्ड बैठक महीनौंसम्म नराखेकाले यी बुँदा संशोधन नभए बजेट पारित गर्न समर्थन नगर्ने वडा नं २१ का वडाध्यक्ष रवीन्द्र महर्जनले बताए । महानगर प्रमुखले आफूहरुको असहमति हुँदाहुँदै बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरेको उनले आरोप लगाए ।

यसैगरी वडा नं ५ का कार्यपालिका सदस्य विकासमान श्रेष्ठले महानगरपालिकाको ३५ प्रतिशत आम्दानी विकास निर्माणमा खर्च गरिने भनिए पनि ३० प्रतिशत भन्दा बढी विकास निर्माणमा खर्च गर्न नपाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्