Logo

हतियारसहित २ पक्राउ



Spread the love

३१ असार, इलाम – इलाम नगरपालिका–३ मकैबारीमा चार नाल भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको सन्दकपुर गाउँपालिका–१ बस्ने ३५ वर्षीय रामकुमार राई र २७ वर्षीय मीनकुमार फागो रहेका छन् ।

इलाम र पाँचथरको सीमा क्षेत्रमा शङ्कास्पद गतिविधि भएको सूचनाको आधारमा इलाम जिल्ला प्रहरी कार्यालय र पाँचथर जिल्लाको पौवास्थित इलाका प्रहरी चौकीको संयुक्त टोलीले चार नाल बन्दुक र त्यसमा प्रयोग गरिने बारुद, फलामका टुक्रालगायत खरखजना बरामद गरेको हो ।

गस्ती टोलीले उनीहरूको गोठमा खानतलासी गर्दा राईको गोठमा बारुद भरिएको बन्दुक एक नाल बन्दुकसहित फलामका टुक्रा तथा बारुद फेला पारेको थियो भने फागोको गोठबाट बारुद भरिएको एक नाल बन्दुक र खाली दुई नाल बन्दुकसहित सोमा प्रयोग हुने बारुदलगायत खरखजना बरामद गरेको इलाम जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका व्यक्तिमाथि हातहतियार मुद्दामा इलाम जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्