Logo

कृषि फार्ममा पसेको बाढीले ७० लाख बराबरको क्षति पुर्यायो



Spread the love

३१ असार, गोरखा – पालुङटार नगरपालिका–१ साउतेमा रहेको एकीकृत अन्नपूर्ण कृषि फार्ममा गए राति पसेको बाढीले रु ७० लाख बराबरको क्षति पुर्याएको छ । भुसुण्डी खोलाबाट आएको बाढी कृषि फार्ममा पसेपछि त्यहाँ रहेको तीन वटा माछापोखरी रहेका र बाढीले १२ हजार बयस्क माछा बगाएर लगेको सञ्चालक इमबहादुर घिमिरेले जानकारी दिए ।

फार्ममा रहेका पाँच माछापोखरीमध्ये तीन वटामा पूर्णरुपमा क्षति पुगेको उनले बताए । त्यस्तै फार्ममा पालिएका हाँस, कुखुरा र बङ्गुरसमेत बाढीले बगाएको सञ्चालक घिमिरेले जानकारी दिए । “दुई वटा माछापोखरी भने पुनः सञ्चालन गर्नसक्ने अवस्थामा छन्, बाँकी तीन पोखरी थियो कि थिएन भन्ने जस्तै गरी बाढीले भत्काइदिएको छ”, उनले भने ।

गए राति आएको बाढी फार्ममा पसेर सबै बगाएर लगेको भए पनि बिहान मात्र बाढी पसेको थाहा पाएकोे सञ्चालक घिमिरेको भनाइ छ । “बिहान फार्ममा पुग्दा १० बङ्गुर, १२० लोकल कुखुरा र ७५ वटा हाँस पनि बगाएर लगेको रहेछ”, उनले भने । गत माघमा पाँच पोखरीमा कूल ४७ हजार माछाका भुरा हालेको सञ्चालक घिमिरेले जानकारी दिए ।

बजारमा बिक्रीका लागि तयारी अवस्थामा रहेका माछा बाढीले बगाएपछि फार्म सञ्चालक मर्कामा परेका छन् । फार्मभित्र रहेका बङ्गुर, कुखुरा र हाँसको खोरलाई समेत बाढीले क्षति पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्