Logo

सुरक्षाकर्मीद्वारा बाँध निर्माण



Spread the love

१ श्रावण, सप्तरी – तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा बाढीले भत्काएको खाँडो खोलाको बाँध सुरक्षाकर्मीले मंगलबार निर्माण गरेका छन् । स्थानीयवासीको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उक्त बाँध निर्माण गरेको हो ।

गाउँपालिकाका अध्यक्ष शतिशकुमार सिंहका अनुसार बाढीले तिलाठीको तीन ठाउँमा झण्डै ३० मिटर बाँध भत्काएको थियो । बाँध भत्काएपछि तिलाठी बस्ती पूरै डुबानमा परेको थियो । बाँध निर्माणमा राजविराजस्थित नेपाली सेनाको भीमदल गण, नेपाल प्रहरी र सशस्त्र प्रहरीको बेल्हीस्थित पोष्टका झण्डै एक सय जना सहभागी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मनोजकुमार यादवले जानकारी दिए ।

यसैगरी वडा नं ७ मन्सापुरमा जिता नदीले कटान गरेको करीब ५० मिटर बाँध निर्माण गरिएको छ । वडाध्यक्ष गुलाबप्रसाद सिंहका अनुसार बाँध निर्माण गर्न गाउँपालिकाले छ हजार बोरा र ४० थान जाली उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्