Logo

स्वतन्त्रता गुमाएको सिर्जनाले समाजलाई हित गर्न सक्दैन



मानवतालाई अन्तिम शर्त मानी कवितामा उभिन आइपुगेका नेपाली कविताका माइलस्टोन कवि हुन्- दिनेश अधिकारी । पुराना र नयाँ पुस्ता बीचका सेतू अधिकारी अहिले ६० वर्षीय सेवा निवृत्त जीवन बिताइरहेका छन् । २०१६ साल मंसिर २२ गते काठमाडौंको बत्तीसपुतलीमा जन्मिएका उनले निजामती सेवामा आबद्ध भई २०३८ साल भदौ २८ गतेदेखि ना.सु. पदबाट सरकारी सेवामा स्थायी रुपमा प्रवेश गरेका हुन् । वि.स. २०४१ साल देखि न्याय सेवाका अधिकृत भएका अधिकारी सरकारी वकिलका विभिन्न तहमा करिब २१ वर्ष सेवा गरेपश्चात आफ्नो सेवा प्रशाशन तर्फ परिवर्तन गरि विभिन्न मन्त्रालयमा सचिवको जिम्मेवारीमा रही नेपाल सरकारको सचिवको पदबाट वि.स. २०७१ साल साउनमा सेवा निवृत भएका हुन् ।

समय, समाज र मानिसका अनेकौं आयामहरुलाई अत्यन्तै सुक्ष्म, सरल तर गम्भीर भावद्धारा अभिव्यक्ति दिने कवि अधिकारी पत्नी उषा आचार्य र छोरी लिपी अधिकारीसँग (छोरा शब्द अधिकारी हाल अष्ट्रेलियामा छन्) काठमाडौ स्थित भीमसेन गोलामा बसोबास गर्दै आइरहेका छन् ।

सरल बिम्बात्मक प्रस्तुतिभित्र सामयिक बोधको सहज सम्प्रेषणसहित गम्भीर भाव प्रकाशन गर्नमा अत्यधिक रमाउने नेपाली गीतिलेखनीका लिभिङ लिजेण्ड दिनेश अधिकारी यस श्रावण महिना भरी अन्नपूर्ण रेडियोमा सेलिब्रेटी अफ दि मन्थको रुपमा समेत आउँदैछन् ।

दिनेशहरि अधिकारी:

उनी आफ्नो फर्मल नाम दिनेशहरि अधिकारी हो भनेर धेरैले नचिन्ने बताउँछन् । साहित्यिक र सांगीतिक क्षेत्रमा त उनलाई यस नामले बोलाउने कुनै चरा मुसो नै भेटिदैन । तर जागिरे जीवनमा भने जागिरे साथीहरुले उनलाई दिनेशहरि भनेर नै बोलाउने गर्दथे । उसो त नामको बीचमा हरि उनको सात पुस्ता देखि जोडिंदै आएको हो । उनको जिजु हजुरबुबा लोकहरि, बुढो हजुरबुबा नरहरि, हजुरबुबा दुर्गाहरि र बुबा नन्दहरि हुँदै आउँदा उनले दिनेशहरि नाम वंशजकै आधारमा पाएका हुन् ।

उनलाई आफ्नो नाम लामो लाग्थ्यो । यसकारण उनले हरि हटाए । र, दिनेश राखेँ । उनी ठट्टा शैलीमा भन्छन्,”लेखनमा म यति इमान्दार हुन्छु नि, त्यहाँ हरि (भगवान) को के आवश्यकता ? पेशा, व्यवसाय, जागिर; जहाँ जालझेल छ, षडयन्त्र छ- त्यहाँ चाहि हरिले काम गर्छ (लामो हासो) ।”

“लेखनमा म यति इमान्दार हुन्छु नि, त्यहाँ हरि (भगवान) को के आवश्यकता ?

पेशा, व्यवसाय, जागिर; जहाँ जालझेल छ, षडयन्त्र छ- त्यहाँ चाहि हरिले काम गर्छ ।”

उनी त्यसबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गर्दथे । बबरमहलमा अफिस थियो । उनी बताउँछन्, “सेन्टर्ली लोकेटेड भएको कारण साथीहरु आइरहन्थे । नेमप्लेट हेर्थे । दिनेशहरि अधिकारी देख्थे । ए दिनेश दाइ होइन रहेछ, अर्कै रहेछ भन्दै बाहिर निस्कन्थे ।” नामकै कारण आफूलाई भेट्न आएका साथीभाइहरु नाम पढेर फरक्कै फर्किएको धेरै घटनाका साक्षी हुन्- उनी ।

साहित्यिक/सांगीतिक क्षेत्रमा कसैले ‘दिनेशहरि अधिकारीको गीत/कविता’ भन्यो भने उनी आफैंलाई पनि उनको कुरा भइरहेको होला जस्तो लाग्दैन ।

मेरै गीत बजाईराछ- मेरै नाम भन्दैन !

“तिमी जुन रहरले ममा फुल्न आयौ” र “यो सम्झिने मन छ, म बिर्सु कसोरी” जस्ता कालजयी गीतहरुका स्रष्टा अधिकारीका ५०० भन्दा बढी गीत रेकर्ड भइसकेका छन् । गीतसंगीतको दुनियाँमा दुई किसिमको परिचय हुने बताउँछन् उनी । एउटा क्रियटर । अर्को पर्फमर । क्रियटर भित्र गीतकार र संगीतकार पर्छ । पर्फमर भनेको गायक/गायिका भए ।

गीतसंगीतको दुनियाँमा दुई किसिमको परिचय हुने बताउँछन् उनी । एउटा क्रियटर । अर्को पर्फमर ।

क्रियटर भित्र गीतकार र संगीतकार पर्छ । पर्फमर भनेको गायक/गायिका भए ।

क्रियटरको दुईवटा राइट्स हुन्छ । एउटा नैतिक अधिकार, अर्को आर्थिक अधिकार ।

“आर्थिक अधिकार, हामीले रोयल्टी/पारिश्रमिक पाउने कुराहरु भयो । नैतिक अधिकार, हामीले नाम पाउने कुरा भयो । नैतिक अधिकार हामीलाई सृष्टि रहेसम्म, भाषा रहेसम्म, संगीत रहेसम्म सधैंभरी प्राप्त हुन्छ । हामी बाचुन्जेल र हामी मरेको पचास वर्षपछी सम्म हाम्रो अधिकार रहन्छ ।”

कानुनत: एउटा गायकले एउटा गीत जुन लयमा गाएको हुन्छ, त्यहिँ लयमा अर्कोले सोही गीत १० वर्षसम्म गाउन पाउँदैन । १० वर्षपछि यदि गीतकारको स्वीकृति छ भने त्यो गीत अर्को गायकले गाउन पाउँछ । तर उनका धेरै गीत उनको स्वीकृति बिना नै धेरैले गाएका छन् ।

नारायण गोपालको  आवाजमा रहेको “यो सम्झिने मन छ, म बिर्सु कसोरी” बोलको गीत युट्युबमा हरकोहीले गाइरहेको छन् । उनी आफ्नो गीत यति चर्चित हुँदा खुसी लागेको बताउँछन् । तर उनी त्यतिबेला रुष्ट हुन्छन्, जब उनले लेखेको गीत गाउनेले उनको नाम कतै मेन्सन गर्दैन ।

“नाम पाउने मेरो अधिकार । दाम दिन बदमाशी गरेको छ- बेग्लै पार्ट हो । यसको लडाई आफ्नो ठाउँमा छ।

नाम दिँदा कसलाई नोक्सान  छ ? नाम दिँदा मिडियाले पैसा तिर्नुपर्छ ?

मेरै गीत बजाईराछ- मेरै नाम भन्दैन’ । किन ?”

“यो गीत नारायण गोपालले गएका हुन् भन्छन् तर सो गीत कसले लेखेको हो, कसको संगीत हो, केहि बताउँदैनन् ।” मिडियाको  गैर-जिम्मेवारीपनको कारण आफ्नो अनाहकमा असामयिक मृत्यु भइरहेको उनी गुनासो गर्छन् ।

“नाम पाउने मेरो अधिकार । दाम दिन बदमाशी गरेको छ- बेग्लै पार्ट हो । यसको लडाई आफ्नो ठाउँमा छ । नाम दिँदा कसलाई नोक्सान छ ? नाम दिँदा मिडियाले पैसा तिर्नुपर्छ ? मेरै गीत बजाइरहेको छ – मेरै नाम भन्दैन । किन ?” गायकलाई मेन्सन गर्ने तर संगीतकार र गीतकारको नाम मेन्सन नगर्ने प्रचलनको भत्सर्ना गर्छन् उनी । आफ्नो (गीतकार) असामयिक मृत्यु हुनुको पछाडी मिडियाको दोष देख्छन् । मिडियाको अयोग्यताको कारण आफ्नो नैतिक अधिकार हनन् भइरहेको उनको ठम्याइ छ ।

उनी आफू पनि गीत गुनगुनाउँछन् । गीत लेखिरहँदा गीत मिटरमा बसोस् भनेर उनी गुनगुनाउँछन् । उनले लेखेका गीतहरु  संगीत गर्दा कुनै पनि  संगीतकारले अहिलेसम्म उनलाई ‘यो शब्द बढी भएछ, यो घटी भएछ’ भनेको छैन ।

“यो हटाउनु पर्यो भनेर कुनै संगीतकारले भन्यो भने मेरो गीत मर्छ ।

नयाँ कपडा सिउँनु र पुरानो कपडा कटिङ गरेर फेरी टालटुल गर्नु जति फरक पर्छ,

यहाँ पनि त्यति नै फरक पर्छ । त्यस्तो नहोस् भन्नका लागि म गुनगुनाउँछु ।”

“यो हटाउनु पर्यो भनेर कुनै संगीतकारले भन्यो भने मेरो गीत मर्छ । नयाँ कपडा सिउँनु र पुरानो कपडा कटिङ गरेर फेरी टालटुल गर्नु जति फरक पर्छ, यहाँ पनि त्यति नै फरक पर्छ । त्यस्तो नहोस् भन्नका लागि म गुनगुनाउँछु ।”

त्यस बाहेक वास्तविक अर्थमा भने उनी गीत गाउँदैनन् । उनलाई गायक हुन्छु भन्ने कहिल्यै लागेन ।

उनी आफ्नो ‘सिरानी संगीतकार’ राम थापालाई सम्झन्छन् । उनको पहिलो र दोस्रो गीत संगीतकार थापाले नै गरेका हुन् । उनैको कारण आफू संगीतमा आएको बताइरहँदा उनी आफ्नो स्वर्गीय साथीको सम्झनामा केहि बेर हराउँछन् ।

“म आफूले लेखेको गीत उसलाई सुनाउँथे । उसकै अगाडी गाउँथे ।” ऊ भन्थ्यो, “दिनेश जी तपाई सब्बैथोक गर्नू तर गीत चाँहि नगाउनू । मैले गाइ राख्या ट्युन पनि बिर्सिन्छु ।” उनी अझ अगाडी थप्छन्,” ऊ किन पनि यस्तो भन्थ्यो भने म सबै गीत एउटै लयमा गाउँदो रहेछु (हाँसो) ।”

शिक्षा पद्दतिः

उनको ‘हर्क बहादुर’ शीर्षकको कविता प्लस टुको नेपाली पाठ्यक्रममा समावेश भएको वर्षौं भयो । हर्कबहादुर कविताले सामाजिक स्वीकृति पाउँदा उनी खुसी छन् । “मानवताको महत्व र श्रमको कदर गर्नुपर्छ भनेर सन्देशको रुपमा विद्यार्थी भाइबहिनीहरुलाई यस कविता पढाइदै आइरहिएको छ । म खुसी छु ।”

“मानवताको महत्व र श्रमको कदर गर्नुपर्छ भनेर सन्देशको रुपमा

विद्यार्थी भाइबहिनीहरुलाई यस कविता पढाइदै आइरहिएको छ । म खुसी छु ।”

यस कविताले आफ्नै किसिमको सन्देश दिने उनी बताउँछन् । काले, चाउरे, भरिया, दाउरे, घाँसे, खेतालो, मजदुर, आदि नामले सम्बोधित हर्क बहादुर जस्ताको जीवन भोक र शोकमा डुबेको तर भाषण दिने नेता र त्याग दिने सरकारको ध्यान त्यसतर्फ नगएकोमा दुखित हुँदै आफूले त्यस कविता लेखेको उनी बताउँछन् l

उनी देशको शिक्षा प्रणालीसँग विल्कुल सन्तुष्ट छैनन् । यहाँ एक व्यक्तिले स्नातक गर्न जति खर्च गर्छ- त्यो खर्च ऊ यदि इमान्दार भयो भने उसले जीवनभर कमाउन नसक्ने बताउँछन् उनी । उनी भन्छन्, “व्यावसायिक शिक्षालाई जोड दिँदै रोजगारीको सिर्जना गर्नुतर्फ ध्यान दिनु अहिलेको आवश्यकता हो ।” समाजमा दिनानुदिन बढिरहेको फ्रस्ट्रेशन, आत्महत्या र सामाजिक विकृतिप्रति संकेत गर्दै रोजगारी प्रदायक शिक्षा प्रणाली यस समस्याको गतिलो हल भएको उनको धारणा छ ।

“पीएचडी गर्ने मान्छेको जमात भन्दा हामीलाई रोजगारी पहिले चाहिएको छ ।

रोजगार दिन सक्ने शिक्षा प्रणालीको विकास हुनुपर्यो ।

र, उच्च शिक्षालाई कन्ट्रोल गर्दै लगे हुन्छ ।”

“उच्च शिक्षामा क्रमश: क्रमश: घटाउँदै लगे हुन्छ । पीएचडी गर्ने मान्छेको जमात भन्दा हामीलाई रोजगारी पहिले चाहिएको छ । रोजगार दिन सक्ने शिक्षा प्रणालीको विकास हुनुपर्यो । र, उच्च शिक्षालाई कन्ट्रोल गर्दै लगे हुन्छ ।” उनी हामीसँग दुर दृष्टि र इमान्दारीताको अभावका कारण यो समस्या झाँगीरहेको बताउँछन् ।

राजानितिप्रति उनी मृदभाषी हुन् सक्दैनन् । शैक्षिक योग्यता नै नभएका जनप्रतिनिधिहरुले शिक्षा क्षेत्रको यो हविगत बनाएको आरोप लगाउँछन् !  “देशको नीति बनाउने मान्छे पढ्नुपर्दैन ? शैक्षिक योग्यता नै नभएका मानिसहरुले किन ऐन/नीति बनाउने ? विज्ञता कहाँ गयो ?” उनी राजनीतिक नेतृत्वले विज्ञताको कदर नगरेको बताउँछन् । उनको अनुसार अहिलेको शिक्षानीति मुलुकको आवश्यकतामा आधिरित छैन । मुलुकको आवश्यकतामा आधारित शिक्षा नीति अहिलेको आवश्यकता हो ।

 काठमाडौंमा त्यसबेला आनन्द थियो !

उनी यहिँ काठमाडौं शहरमा जन्मिए । उनको बालापन सर्लाहीको हरिऔन र काठमाडौंमा बराबर जसो बितेको छ । उनको ३३ वर्षीय जागिरे जीवन पनि यहिँ शहरमा बित्यो । ०३७/३८ सालको कुरा- अशेष मल्ल, विष्णु वि.वि. घिमिरे, किशोर खनाल, सोमनाथ खनाल लगायतका साथीहरुसँग उनी धोबीधारा बस्दथे ।

सबै साथीहरु मिलेर ११/१२ बजेसम्म पढ्थे । पढ्दापढ्दै अल्छी लागेपछि उनीहरु भद्रकाली, वीर अस्पताल आसपास घुम्न निस्किन्थे । निकै सुनसान र चकमन्न थिए- ती रातहरु ।

आफ्नो बालापन सम्झन्छन् उनी । त्यसबेला उनको धुम्बाराहीमा घर थियो । उनी भन्छन्, “धुम्बाराही देखि चाबहिल जान डराउथ्यौं हामी । त्यतिबेला खाद्यान्नको लागि ठुलो बजार भनेको चाबहिल थियो । धुम्बाराहीको पिपलबोट भन्दा दक्षिणका भागहरु सबै खेत थिए । घरहरु कहिँ कतै मात्रै थिए । निकै सुनसान थियो । आनन्द थियो काठमाडौंमा- त्यसबेला । “

दुरगामी सोच हामीले राख्न नसेकेको बताउँछन् उनी । “हामीले कहिल्यै पनि सय वर्षलाई सोचेनौं । त्यसबेला स-साना क्षेत्रहरुमा घर थियो । असन, इन्द्रचोक, चाबहिलमा केहि बाक्ला घरहरु थिए । त्यतिबेला नै ढल व्यवस्थापन, घरसम्म आउने जाने बाटो, कति दुरीमा घर बनाउने भनेर सोच्न सकिन्थ्यो । हामीले सोचेनौं । त्यसैको असर स्वरुप एम्बुलेन्स नपुग्ने घर, दमकल नछिर्ने घरको नियती काठमाडौंले अहिले भोगिरहेको छ ।”

“मुलुकको नेतृत्व राजनीतिले गर्छ ।

राजनीतिक नेतृत्वले पहिलो पाइला टेक्या छन् ।

दोस्रो पाइला टेक्ने सम्म बढीमा सोच्या होलान्, तेस्रो पाइलो कहाँ राख्ने थाहै छैन ।

अनि हामी अगाडी कसरी बढ्छौ ?”

उनी ०७२ सालको भूइचालो सम्झन्छन् । त्यति ठुलो जनधनको क्षति हुँदा पनि यस शहरले भूइचालोबाट केहि सिक्न नसकेको उनको ठम्याई छ । त्यतिबेला चर्कोचर्को स्वरमा ‘ओपन स्पेस’को कुरा गरियो । ‘ओपन स्पेस’ बढाउने भनेर जताततै चर्चा पनि भयो । तर परिणाम उही । जनसंख्याको वृद्धि भइरहेको छ, ओपन स्पेस घट्दै गइरहेको छ । उनी त्रसित हुन्छन्- फेरी भुइचालो आयो भने के होला ?

उनी आफ्नो अनुभवको आधरमा भन्छन्, “मुलुकको नेतृत्व राजनीतिले गर्छ । राजनीतिक नेतृत्वले पहिलो पाइला टेक्या छन् । दोस्रो पाइला टेक्ने सम्म बढीमा सोच्या होलान्, तेस्रो पाइलो कहाँ राख्ने थाहै छैन । अनि हामी अगाडी कसरी बढ्छौ ?”

उनी केहि समय चुप लाग्छन् । बोल्न सक्दैनन् र भन्छन्,”यस्तो कुराहरु गरिरहँदा मलाई बडो पिडा हुन्छ । यो चेतनाको पीडा सुम्सुम्याउँने बाहेक मसँग अर्को विकल्प छैन ।”

जीवनशैली/खानपिन:

गत साल उनको खुट्टामा समस्या आएको थियो । अहिले त्यो समस्या छैन । बिहानीपख एक-आधा घण्टा हिड्छन । मर्निङ वाकबाट फर्केर आइसकेपछि सामान्य एक्सरसाइज गर्छन् । नुहाइधुवाइ गर्दाखेरी नौ/साढे नौं बजिसक्छ । त्यसपछि  हलुका चियाखाजा खान्छन् ।

“पत्रिकाहरु आएका हुन्छन्, हेर्छु । बित्दोगल्दो भएको दिन चाँडै खाना खान्छु । त्यसपछि पढ्छु । दिउँसो कहिले बिजुलीको पैसा तिर्न जान्छु, कहिले पानीको बिल तिर्न जान्छु । तरकारी किन्न पनि जान्छु ।”

“मेरो अनुभवमा फुर्सदले सिर्जना आउँदैन । सिर्जनाको अर्कै दुनियाँ छ ।

त्यो कति खेर कसरी क्लिक गर्छ- थाहा छैन । म जबर्जस्ति केहि पनि लेख्दिन ।”

उनलाई लाग्दैन लेखन भनेको फुर्सदमा लेखिने कुरा हो । उनी आफ्नो अनुभव सुनाउँदै भन्छन्, “मेरो अनुभवमा फुर्सदले सिर्जना आउँदैन । सिर्जनाको अर्कै दुनियाँ छ । त्यो कति खेर कसरी क्लिक गर्छ- थाहा छैन । म जबर्जस्ति केहि पनि लेख्दिन ।”

कुनै पनि कुराले क्लिक गरिसकेपछि सर्वप्रथम कविता लेख्ने कि गीत भनेर छुट्टाउँछन् उनी । गीत हो भने मस्तिष्कमै गीत तयार गरिसक्छन्, अनि मात्र लेख्न बस्छन् । तर कविताको हकमा भने क्लिक हुने बित्तिकै लेख्न बस्छन् ।

उनलाई कविता चट्याङ जस्तो लाग्छ । अहिले भर्खर थियो, अहिल्यै नै छैन । त्यो झिल्कोलाई त्यस समय नै समात्न सके मात्र एउटा राम्रो कविता लेख्न सकिने बताउँछन्- उनी । कतिपटक उनले त्यस झिल्कोलाई समात्न सकेनन् । यसकारण उनले निकै राम्रा कविताहरु गुमाएका छन् । त्यसले निकै उदास पनि बनाउँछ उनलाई ।

पहिलेपहिले उनी समसामयिक विषयवस्तुमा उति कलम चलाउँदैनथे । तर आजभोली समसामयिक विषयवस्तुमा पनि लेखिरहेका छन् । उनलाई नेपाली टाइपिङ आउँदैन । उनी आफू लेख्छन् र अर्को व्यक्तिलाई टाइपिङ गर्न दिन्छन् ।

“सिके हुने हो, सिकिनँ । अब जाँगर छैन- त्यो सिक्ने । टाइप गर्न निकै गाह्रो छ मलाई । म नेपाली टाइप गर्न जान्दिनँ ।”

उनी आफ्नो जीवन सामान्य ढंगले यसैगरी बितिरहेको बताउँछन् ।

(यो बताईरहँदा उनको ओठबाट एउटा हाँसो फुत्रुक्क खस्छ !)

अहिलेको पुस्तामा अलि धेरै आक्रोश छ..

उनलाई साहित्यको हर विधा मनपर्छ । तर आफ्नो विशेष रुची भएकाले उनी नयाँ पुस्ताले लेखिरहेका गीत र कवितालाई बढी ध्यान दिएर पढ्छन् । उनी नयाँ पुस्ताका केहि कविको कविताहरुले खुब लोभिन्छन् । नयाँ पुस्ताका दुई दर्जन भन्दा बढी बोट (कवि)हरु हलक्क बढिरहेको देख्छन् उनी ।

तर उनी एउटा सर्त अगाडी सार्छन्,”तर दाना हिजोको भन्दा बढी लाग्न जरुरी छ । किनभने यो पछिल्लो पुस्ता हो ।”

नयाँ पुस्ताले विषयवस्तुको हिसाबले नयाँ लेखिरहेको भने देख्दैनन् उनी । “यो समाज, यो परिवेशले हामीलाई जे दियो, जे सिकायो । जुन कुरामा दुखायो या जुन कुरामा खुसी दियो, त्यहि नै कविताको मूल विषयवस्तु हो ।” उनी अझ अगाडी भन्छन्, “विषयवस्तुलाई आधार मानेर मुल्यांकन गर्न हुँदैन । हामीले लेखेको पनि हामी भन्दा अगाडीकै विषयवस्तु न हुन् (हाँसो) ।”

नयाँ पुस्ताले राम्रो कविता लेखिरहेका छन् । 

प्रस्तुति कस्तो छ, विषयवस्तुगत हिसाबले के लेखिरहेको छ, कहाँ जादैछ

– यो सबै चिजको मुल्यांकन हुन कम्तिमा दुई दशक पर्खिनुपर्छ । 

अघिल्लो पुस्ताले लेखिरहेकै विषयवस्तु लेखिरहेको भएता पनि अहिलेको पुस्तामा अलि धेरै आक्रोश भेट्छन् उनी । यस पुस्तामा शालीन ढंगमा पनि विद्रोह व्याप्त छ भन्छन्  ।

उनी भन्छन्, “म पढिरहेको छु । नयाँ पुस्ताले राम्रो कविता लेखिरहेका छन् । अगाडी बढिरहेका छन् । हरेक पुस्तामा दुइ सय पाँच सयको जमात हुन्छ । सोहि जमात कालान्तरमा निफन्निदै आउने हो ।” प्रस्तुति, विषयवस्तु र विचारका हिसाबले नयाँ पुस्ताको भविष्य निर्धारण गर्न कम्तिमा दुई दशक पर्खिनुपर्ने उनी बताउँछन् । रोप्ने बित्तिकै पाकेन भन्न नहुने उनको धारणा छ ।

“वादको झ्यालखाना भित्र पस्ने बित्तिकै स्वतन्त्रता गुम्छ । र, स्वतन्त्रता गुमाएको सिर्जनाले समाजलाई हित गर्न सक्दैन ।”

जहाँसम्म अघिल्लो पुस्ता हिडेको छ, त्यहाँसम्म सजिलैसँग यो पुस्ता पनि पुग्न सक्छ । उनी भन्छन्-” त्यसभन्दा अगाडी यदि कसैले एक पाइला मात्रै पनि बढाउँछ भने- नेपाली साहित्यको लागि त्यो उसको योगदान हुन्छ ।”

उनी नयाँ पुस्तालाई कुनै पनि वादको झ्यालखानामा कैद नहुन आग्रह गर्छन् । उनी भन्छन्, “वादको झ्यालखाना भित्र पस्ने बित्तिकै स्वतन्त्रता गुम्छ । र, स्वतन्त्रता गुमाएको सिर्जनाले समाजलाई हित गर्न सक्दैन ।”

०००

सम्पादकीय फुटनोटः नेपाली कविता र गीतिलेखनका लिभिङ लिजेण्ड दिनेश अधिकारी प्रति सल्लेरी खबर परिवार असीम सम्मान सहित सादर नमन गर्दछ । यहाँले नेपाली साहित्य र गीतिसंसारमा पुर्याएको योगदान अतुलनीय छ । यहाँलाई करोडौं सुभेक्षा !!!

०००

०००

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्