Logo

नेपालमै जापानी खाना ‘रामेन’, के हो रामेन, कति पर्छ मूल्य ?



Spread the love

७ साउन, काठमाडाैँ – अब नेपाली भूमिमै जापानी खाना “रामेन“को स्वाद लिन पाइने भएको छ । जापानमा प्रचलित खाना “रामेन“ ‘होक्काइदो नेपाल विजनेश ग्रुप’ले सहज रूपमा उपलब्ध गराउने भएको हो । यस परिकारलाई नेपालमा भित्र्याउन सो उत्पादन गर्ने प्रविधिका लागि २ करोड ७५ लाख खर्च भएको होक्काइदो ग्रुपका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिएका छन्

के हो रामेन ?

रामेन एक नेपाली बजारमा पाइने जस्तै तर फरक गुण र विशेषता भएको चाउचाउ जस्तै देखिने खाना हो । जापानमा प्रचलित भए पनि यसको उत्पत्ति भने उत्तरी चिनमा भएको थियो । रामेन जापानको लोकप्रिय खाना हो । यो नेपालमा प्रचलित खाना थूक्पासित मिल्दोजुल्दो हुन्छ । खानाको स्वाद भने फरक हुन्छ । लामो नूडल्सलाई आठ घण्टा लगाएर बनाइएको सुपमा तरकारी, अण्डा र मासु प्रयोग गरिएको हुन्छ ।

कस्ले ल्यायो नेपालमा रामेन ?

नेपालमा जापानी प्राचीन रामेन ‘होक्काइदो नेपाल विजनेश ग्रुप’ले नेपालमा भित्र्याएको हो । काठमाडौँका २ दुई रेष्टुरेन्टमा यो खानाको स्वाद लिन पाइन्छ । जापानमा नै लामो समयदेखि रेष्टुरेन्ट सञ्चालन गर्दै आएका अर्घाखाँचीका अर्जुन अधिकारीसहित ४ जनाको समूहले सो परिकार नेपालमा ल्याएको हो ।

नेपालका कुन-कुन स्थानमा पाइन्छ रामेन ?

पहिलो चरणमा बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्ट र काठमाडौँ गेष्ट हाउसमा रामेनको परिकार उपलब्ध हुनेछ । पोखरा, बुटवल, भैरहवालगायत स्थानमा यसको विस्तार गर्ने योजना रहेको अधिकारीले बताएका छन् । काठमाडौँमा २७ भन्दा बढी जापानी रेष्टुरेन्ट सञ्चालनमा छन् । तीमध्ये १२ रेष्टुरेन्टमा रामेन पाइन्छ ।

कस्ले बनाउँछ नेपालमा रामेन ?

जापानका प्रसिद्ध रामेन सेफ(पकाउने व्यक्ति) माचुमुराले नेपालमा रामेनको प्रशिक्षण तथा प्रवर्द्धन गर्दै आएका छन् । जापानमा विभिन्न परिकार बनाएर अनुभव बटुलेका पुरनबहादुर चौधरी नेपालमा रामेनका मुख्य सेफ रहेका छन् ।

कहाँबाट आउँछ रामेन उत्पादन गर्ने कच्चा पदार्थ ?

रामेनको कच्चा पदार्थ गहुँ, जौ र फापर भैरहवालगायत स्थानमा उत्पादन गर्न थालिएको छ । रामेनका लागि ७० प्रतिशत कच्चा पदार्थ नेपालकै हुने र बाँकी जापानबाटै ल्याइनेछ ।

कति पर्छ रामेनको मूल्य ?

नेपालमा प्रति रामेन ५५० रूपैयाँ पर्ने बताइएको छ । जापानमा रामेन ५०० देखि ७०० जापानी येनमा पाइन्छ ।   रामेनको परिकार नेपालमा पाइने भएपछि नेपाल भ्रमण वर्ष सन् २०२० को सन्दर्भमा जापानका पर्यटकलाई नेपालको बसाइँ अवधि लम्ब्याउनसमेत सहयोग पुग्ने अपेक्षा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्