Logo

इन्जिनियरहरुको दुर्घटना बिमा सुरु



Spread the love

नेपालमा जोखिम कार्यक्षेत्रमा पनि रिस्क लिएर काम गर्दै आइरहेका इन्जिनियरहरुको दुर्घटना बिमा सुरु भएको छ । साउन ३ गते नेपाल इन्जिनियर्स एशोसिएशनले आफ्नो ५७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा करिब १२ हजार १ सय इन्जिनियरको एकै पटक सामूहिक दुर्घटना बीमा गराएर यसको सुरुवात गरिएको जानकारी दिएको छ ।

 

पुर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा एशोसिएशनले सामुहिक दुर्घटना बीमाको बारेमा जानकारी दिएको हो । बिमा रकम प्रतिब्यक्ती रु. १० लाखका दरले रहेको एसोसिएसनका अध्यक्ष प्रा.डा. त्रिरत्न बज्राचार्यले जानकारी दिए । बज्राचार्यले सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा इन्जिनियरको सामूहिक दुर्घटना बीमा गरिएको पनि जानकारी गराए ।

बिमांक बापतको पहिलो किस्ताको रकम इन्जिनियर्स एसोसिएसन आफैँले उपलब्ध गराउने भएको छ । यसै क्रममा यसको सुरुवातको लागि एसोसिएसनले ५० लाख रुपैयाँ उपलब्ध गराएर बिमा कार्यक्रम सुरु गरिएको बज्राचार्यले जानकारी सभामा सुचित गरेका थिए ।

पहिलो चरणमा सुरु गरिएको बिमालाई विस्तार गर्दै लैजाने योजनामा रहेको जानकारी दिँदै अध्यक्ष बज्राचार्यले भने,’जुन स्थानमा हाम्रा इन्जिनियरले काम गर्नुहुन्छ, सोही स्थानमा नै एक प्रकारको समझदारी गरी बीमा रकम उपलब्ध गराउन प्रयास गरिनेछ ।’ प्रगतिशील गठबन्धन बनाएर निर्वाचनमा गएको वर्तमान कार्यसमितिले निर्वाचनका समयमा गरिएको प्रतिबद्धता पूरा गर्न लागेको अध्यक्ष बज्राचार्यको भनाइ थियो । बीमालाई व्यवस्थित र इन्जिनियरको हितको लागि प्रयास गरिने जानकारी दिदै अध्यक्ष बज्राचार्यले आफुहरुले प्रगतिशील गठबन्धन बनाएर निर्वाचनमा गएको वर्तमान कार्यसमितिले निर्वाचनका समयमा गरिएका प्रतिबद्धताहरु पूरा गर्दै अगाडी बढेको जानकारी दिए ।

त्यस्तै, एसोसिएसनका महासचिव ई. छविराज पोखरेलले इन्जिनियरहरुलाई ढुक्कसँग काम गर्न प्रोत्साहन स्वरुप बिमा कार्यक्रमको सुरुवात गरिएको बताए । पोखरेलले भने ‘सकेसम्म कुनै पनि इन्जिनियर दुर्घटनामा नपरून् भन्ने नै हाम्रो कामना छ । काम गर्दै जाँदा दुर्घटना नै परिहालेको अवस्थामा पनि उपचारका लागि सहज होस् भन्ने लक्ष्य राखिएको छ’।

हाल नेपालमा रहेका ५० हजार भन्दा बढी इन्जिनियरमध्य करिब २७ हजार मात्र एसोसियसनमा दर्ता भएको कार्यक्रममा जानकारी गराइएको थियो । त्यस्तै, एसोसिएसनमा आबद्ध नभएका इन्जिनियरलाई समेत संगठित गर्ने र इन्जिनियर्स एशोसिएसनतर्फ आकर्षित गराउनेमा एसोसिएसन कटिबद्ध रहेको जानकारी आयोजकले जनाएको छ ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्