Logo

सञ्चारउद्यमी धितालको हत्या भएको नौ वर्ष पुरा , अझै पत्ता लाग्न सकेन हत्यारा



Spread the love

७ साउन, दाङ । सञ्चारउद्यमी हेमराज धितालको हत्या भएको नौ वर्ष पुग्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । दाङ तुलसीपुरबाट सञ्चालित रेडियो तुलसीपुरका तत्कालीन अध्यक्ष धितालको हत्या भएको सोमबार साउन ६ गते नौ वर्ष पूरा भएको छ ।

तत्कालीन संविधानसभा चुनावको प्रचारप्रसार गरेर फर्कने क्रममा विसं २०६७ साउन ६ गते धितालको हत्या भएको थियो । काङ्ग्रेसको चुनाव प्रचार सकेर फर्कने क्रममा राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१२ हेमनगरमा अज्ञात समूहले गोली हानी हत्या गरेका थिए ।

त्यही दिनलाई सम्झेर प्रत्येक वर्ष साउन ६ गते देवीप्रसाद धिताल (हेमराज) प्रतिष्ठानले अन्तक्र्रिया कार्यक्रम गर्ने गर्छ । यस्ता कार्यक्रम धितालका परिवार तथा आफन्तलाई खाटो परेको घाउलाई कोट्याउनुभन्दा कुनै उपलब्धि भएको छैन । आफन्तले हेमराजको सम्झनामा आँशु बगाउन थालेको नौ वर्ष भयो । तर, उपलब्धि भने हुनसकेको छैन । हेमराजको हत्या भएको केही दिनमा प्रहरीले ९८ प्रतिशत अनुसन्धान पूरा भएको बताएको थियो, तर त्यही बाँकी दुई प्रतिशतमा अनुसन्धान अड्किएको छ । त्यही दुई प्रतिशत अनुसन्धानको प्रतीक्षामा रहेका छन् आफन्तहरु ।

धितालकी श्रीमती मञ्जु धितालले गहभरि आँशु झाँदै भनिन् “हामीले उहाँलाई गुमाएको नौ वर्ष भयो, तर अझै पनि हत्यारा पत्ता लाग्न सकेको छैन ।” उनले यति भनिरहँदा प्रतिष्ठानले तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा सहभागी भावविह्वल भएका थिए । “१० दिन, एक महीना भन्दाभन्दै नौ वर्ष बितिसक्यो, प्रहरीले हामी घटनाको सत्यतथ्य पत्ता लगाउने कार्यमा अन्तिम अवस्थामा पुगिसकेका छौँ, भन्नुहुन्थ्यो”, उनले भनिन्, “तर अहिलेसम्म पनि पत्ता नलाग्दा हामी परिवारलाई थप पीडा भएको छ ।”

यस विषयमा आफूहरुले अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । “हामीले अहिले नै कसैलाई पनि तँ अपराधी होस्, भनेर भन्न सक्ने अवस्था छैन”, उनले भने, “हामीले प्रमाणाका आधारमा भन्नुपर्छ, यस विषयमा हामीले थप अनुसन्धान गर्नेछौँ ।”

उक्त घटनामा साक्षी कोही पनि नभएको र घटनाको अनुसन्धान गर्ने आधार भनेको आर्थिक कारोवार र शरीरमा रहेको बन्दुकको गोली नै त्यसको प्रमाण भएको भन्दै यसमा केही समयपछि अनुसन्धान गर्ने बताए । उक्त अनुसन्धानको फाइल पनि विसं २०७४ माघमा ‘हेडक्वार्टर’मा पुगिसकेको उनको भनाइ छ । हेमराजकै हत्या भएको स्थानमा केही दिनअघि मात्रै अर्को घटना भएको भन्दै त्यो घटनाको अनुसन्धान सकिएपछि पुनः हेमराजको घटनाको अनुसन्धानलाई अघि बढाउने प्रहरी उपरीक्षक पाण्डेको भनाइ छ ।

हेमराजको मृत्यु भएको दिनमा चर्का–चर्का भाषण गर्न थालेको नौ वर्ष बिते पनि हत्यारा पत्ता नलाग्नु दुःखद् पक्ष भएको प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले बताए । उनले यस घटनाका दोषीलाई पहिचान गरी कारवाहीका लागि सरकारी पक्षबाट आवश्यक पर्ने जनशक्ति खटाउन पहल थाल्ने बताए । “यदि जनशक्ति अभावले अनुसन्धानलाई समस्या भएको हो भने म जनशक्ति व्यवस्था गर्न पहल गर्छु”, उनले भने, “तर यो अनुसन्धानलाई यथाशीघ्र अघि बढाउनुप-यो ।”

त्यस अवसरमा प्रमुख जिल्ल अधिकारी गोविन्द रिजालले अनुसन्धान भइरहेको र पीडितपक्षले पनि पटक–पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइराख्नुपर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस्