Logo

गुल्मी पहिरो अपडेटः मृतको संख्या ११ पुग्यो, अझै केही बेपत्ता



Spread the love

७ साउन, गुल्मी – गुल्मीमा पहिरोमा परि मृत्यु हुनेको संख्या ११ पुगेको छ । सत्यवती गाउँपालिका वडा नम्वर ३ र ४ का ३ घर पहिरोमा पुरिँदा ११ जनाको ज्यान गएको हो ।

पहिरोमा परी ज्यान जानेमा वडा नम्वर ४ लिम्घांका एकै घरका ८ जना रहेका छन् । मृत्यु हुनेमा ६५ वर्षीया छल्ली बिक, २८ वर्षीया कम्बु बिक, २५ वर्षीय निर्मला बिक, १२ वर्षीया अञ्जली बिक, १० वर्षीय हेमन्त बिक, ७ वर्षीया शिवानी बिक रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । त्यस्तै २ जनाको शव निकाल्ने कार्य जारी रहेको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए ।

त्यस्तै, वडा नम्वर ३ ठुलो लुम्पेकमा ३ जनाको ज्यान गएको छ भने ३२ वर्षीया तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु र  ६३ वर्षीय दुर्गाबहादुर सिञ्जालीको पहिरोबाट बच्न भाग्ने क्रममा मृत्यु भएको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताएका छन् ।

ठूलो लुम्पेमै रुद्र बिकको घर पनि पहिरोले पुरेको छ । पहिरोमा परी ४० वर्षीया माया बिक र १६ वर्षीय गबि बिक बेपत्ता भएका छन् । अन्य २ जना घाइते भएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्