Logo

दर्शकहरू फिल्ममा हिरो हैन, विषयवस्तु हेर्न चाहन्छन्



Spread the love

“हिड्दै जाँदा यात्रामा एउटा दोबाटो आइपुग्यो ।

मैले त्यो बाटो रोजें, जुन बाटोमा निकै कमले यात्रा गरिरहेका थिए ।

र, त्यही निर्णयले नै सारा सफर फरक भइदियो ।”

रोबर्ट फ्रस्ट

रोबर्ट फ्रस्टको यो भनाईले बलिउड अभिनेता आयुष्मान खुरानाको सफरलाई संकेत गर्छ । थियटर देखि टेलिभिजन हुँदै बलिउड सम्मको उनको सफरनामाको ग्राफ जो-कोहीका लागि पनि लोभलाग्दो लाग्छ ।

चण्डिगढबाट ठुलो सपनाको बिटो बोकेर मुम्बई छिरेको तन्नेरी सदैब आफुलाई केही अलग बनाउने प्रयास गरिरह्यो । किनकि उसलाई थाहा थियो, केही अलग नहुञ्जेल उसलाई कसैले कहीँ मौका दिनेवाला थिएन ।

चण्डिगढबाट ठुलो सपनाको बिटो बोकेर मुम्बई छिरेको तन्नेरी सदैब आफुलाई केही अलग बनाउने प्रयास गरिरह्यो ।

किनकि उसलाई थाहा थियो, केही अलग नहुञ्जेल उसलाई कसैले कहीँ मौका दिनेवाला थिएन ।

खुराना अक्सर समाजका त्यस्ता विषयवस्तुलाई चित्रित गर्छन्, जुन मध्यम वर्गको दैनिकी हो । त्यसैले पनि उनलाई बलिउडमा ‘मध्यम वर्ग’को सुपरस्टार भनेर समेत सम्बोधन गर्ने गरिन्छ । उनी र उनका फिल्महरूले सजिलै आममानिसको मन-स्पन्दनमा प्रभाव पार्ने सामर्थ्य राख्छन् ।

अभिनेता खुरानाको भर्खरै मात्र ‘आर्टिकल १५’ फिल्म रिलिज भएको थियो । यसले दर्शक-समीक्षक दुबैको राम्रो प्रतिक्रिया पनि पायो । यसअघि उनका ‘अन्धाधुन’, ‘बधाई हो’, ‘शुभ मंगल साबधान’, ‘बरेली की बर्फी’, ‘मेरी प्यारी बिन्दु’, ‘दम लगाके हैसा’, ‘विक्की डोनर’, लगायतका फिल्म रिलिज भैसकेका छन् ।

खुराना भारतका एक मल्टी-ट्यालेन्टेड अभिनेता हुन् । उनी अभिनय सँगसँगै गीत पनि उत्तिकै मिठो गाउँछन, टेलिभिजन होस्ट उस्तै दमदार गर्छन् । ‘एमटिभी रोडिज २००४’, ‘उत्कृष्ट डेब्यु अभिनेता फिल्मफेयर’, ‘फिल्मफेयर उत्कृष्ट गायक’, ‘उत्कृष्ट अभिनेता-क्रिटिक्स फिल्मफेयर’ द्वारा सम्मानित खुरानासँग फिल्मफेयर डट कमका लागि रघुवेन्द्र सिंहले लिएको अन्तरवार्ता सल्लेरी कोलाजका लागि अनुवाद गरिएको छ ।

प्रस्तुत छ, अन्तरवार्ताको सम्पादित अंशः

कमजोर र दुर्लभ चरित्रहरूबाट सिधै फड्को मारेर तपाईले ‘आर्टिकल १५’ मा एक जटिल पुलिसको भुमिका निर्वाह गर्नुभयो नि  ?

तपाईले लगाउने कपडाले तपाईको हाउभाउ नै परिवर्तन हुनपुग्छ । तपाई एकखालको जिम्मेवार महशुस गर्नुहुन्छ । मैले पनि ‘आर्टिकल १५’ मा आफ्नो हाउभाउ आफसेआफ परिवर्तन भएको महशुस गरेको थिए । ‘विक्की डोनर’, ‘अन्धाधुन’ या ‘बधाई हो’ मा म स्वयम परिस्थितिको शिकार बनेको थिए भने ‘आर्टिकल १५’ को सवालमा मलाई ती सबै परिस्थितिको च्याम्पियन बन्नु थियो । फरक त्यही थियो ।

‘आर्टिकल १५’ जस्तो प्रयोगात्मक फिल्मको अफर आउँदा के तपाईं ‘बक्स अफिस कमाइ’ बारे सोचेर केही नर्भस हुनुभएन ?

म सधैं बक्स अफिसबारे सोचिरहेको हुन्छु ।

तर यो फिल्मको मामिलामा चैं मलाई के लाग्यो भने जसरी हुन्छ यो फिल्म बन्नै पर्छ । यो एकदमै महत्वपूर्ण र सान्दर्भिक फिल्म हो । त्यतिमात्रै नभएर यो एक अनुसन्धानमुलक सामाजिक ड्रामा फिल्म पनि भएकाले म एकदमै उत्साहित थिए ।

‘अन्धाधुन’ गर्दा तपाईले के-के कुरा सोच्नु भएको थियो ?

‘अन्धाधुन’ को बेलामा पनि मैले बक्स अफिसबारे केही पनि सोचिनँ । मलाई थाहा थियो, यो केही फरक अन्दाजको फिल्म हुनेछ भनेर । यो बिल्कुल एक प्रयोग थियो ।

म ढुक्क भने थिइनँ कि दर्शकहरूले यसलाई कसरी स्वीकार्नु हुन्छ भनेर । ‘अन्धाधुन’ ले ७५ करोडको व्यापार गर्यो, सबैले मन पराइदिनुभयो । खुसी छु म ।

एउटा अभिनेताको रुपमा तपाईलाई कस्ता विषयवस्तु/कन्सेप्टले सजिलै आकर्षण गर्छन् ?

म सधैं नयाँ कन्सेप्टका फिल्म अभिनय गर्न रुचाउँछु । जुन मेरा अघिल्ला भुमिका भन्दा बिलकुल भिन्दै होउन् । भारत आफैमा बहुसांस्कृतिक देश हो, यहाँ प्रशस्तै रीतिरिवाजहरू छन् । जुन निकै रमाइला छन् । यसबारे थुप्रै फिल्म बन्न सक्छन् ।

तपाईको फिल्मले १०० करोडको व्यापार गरिसकेका छन् । एउटा ‘१०० करोडको हिरो’ हुँदा तपाई प्रति हेरिने दृष्टिकोणमा के चैं परिवर्तन आउँदो रैछ ?

पहिलो र मुख्य कुरा त तपाईंले फिल्म व्यवसायीबाट सम्मान पाउनु हुन्छ । ठुलो मासबाट तपाईले माया पाउनुहुन्छ । ‘विक्की डोनर’ र ‘दम लगाके हैसा’ बाट मैले केवल मेरो चरित्रका लागि प्रशंसा पाएको थिए ।

तर अहिले माया झन बढी पाइरहेको छु । मान्छेले केही गम्भीर रुपमा लिन थालेका छन् । यसो हुँदा के हुँदो रैछ भने तपाईको विचारले प्रभाव पार्दो रैछ ।

‘विक्की कौशल’ र ‘कार्तिक आर्यन’जस्ता प्रयोगात्मक अभिनेताहरू बलिउडमा आइरहेका छन्, के प्रतिष्पर्धा झन्झन् कठिन भैरहेको हो तपाईका लागि ?

मलाई लाग्छ, प्रतिष्पर्धा कठिन भन्दा पनि बढेको चै छ । अहिले आएर फिल्ममा हिरो या स्टार भन्दा पनि ‘विषयवस्तु’ महत्वपुर्ण भैसकेको छ । जहाँ पनि, चाहे त्यो बलिउड होस्, अरु फिल्म उद्योग नै ।

सधैं केही न केही नयाँ अनुहार र नयाँ फिल्महरू बलिउडमा आइरहेका हुन्छन् । मुख्य कुरा को कति इमानदार र नियमित हुनसक्छ भन्ने कुरा रैछ । आफ्नो मनको सुन्दै, आफ्नो स्पेस खोज्नु नै अहिलेको जरुरत हो ।

धेरै हिरोहरूले ‘अन्धाधुन’लाई इन्कार गरेका थिए । ‘बधाई हो’ को भुमिकामा झन् कुन चै स्टारले अभिनय गर्न रुचाउनु ? म आफुले खेलेका फिल्म र मेरो फिल्म सफरनामाप्रति सदा गौरवान्वित छु ।

तपाईंको श्रीमती ताहिराले लामो समयसम्म क्यान्सर विरुद्ध ठुलो संघर्ष गर्नुभयो । यसबेला तपाई आफुले चै के सिक्नुभयो ?

मैले उनीबाट के कुरा चै सिकें भने जिन्दगीमा जतिसुकै अप्ठ्यारा परिस्थितिहरू आए तापनि हामीले हार खान हुँदैन रैछ । जसरी उनले संघर्ष गरिन्, त्यसरी सायदै कसैले गर्न सक्ला । कुनै असजिला गोरेटोहरूमा मन टुट्नु स्वाभाविक हो । तर उनी अलि अस्वाभाविक निक्लिइन् ।

उनी जब किमो गर्न जान्थिन्, उनको चेहरामा मैले सदैब केवल मुस्कान मात्रै देखें । अपरेशन दुखदायी थियो, तर उनले साहस देखाइन् । उनी जबरजस्ती नभएर हृदयदेखि नै हाँसीरहेकी थिइन् त्योबेला ।

के उहाँ तपाईंको हिरो हुनुहुन्छ ?

अवश्य ! उनी मेरो लागि एक असली हिरो हुन् । रियल लाइफ हिरो । उनी मलाई असाध्यै प्रेरित गर्छिन् । उनले मलाई मेरा हरेक अप्ठ्यारा मोडहरूमा धैर्यधारण गर्न हौस्याएकी छिन् ।

उहाँ अब छिट्टै फिचर फिल्म निर्देशक पनि हुँदै हुनुहुन्छ । तपाई कत्तिको खुसी हुनुहुन्छ ?

पक्कै पनि ! म असाध्यै खुसी छु । मेरो चाहना छ कि यो छिट्टै होस् । त्यति मात्रै नभएर एकदिन हामी सँगै मिलेर पनि काम गर्न मिलोस् । मेरो अपेक्षा सदैब रहनेछ ।

प्रस्तुतिः राजन के.सी.प्रमोद

 

प्रतिक्रिया दिनुहोस्