Logo

देवकोटाको पालामा यदि युट्युब हुन्थ्यो भने ‘पागल’ कविता स्योर ट्रेण्डिङमा पर्थ्यो



२०६८ को कुरा-  कवि मनु मन्जिलको बानेश्वर स्थित गुरुकुल नाटकघरमा कविता वाचन थियो । मसिनो कालो दारी सहितको अनुहार हलभित्रको दर्शक दिर्घामा थियो । सानै देखि निबन्ध लेखनमा रमाउँदै आएको उक्त अनुहार मनु मन्जिलको कवितामा यसरी हरायो कि डेढ घण्टा मुख बन्द गर्नै बिर्सियो ।

उनी बताउँछन्,“दाइलाई सुनिरहँदा मेरो मुख डेढ घण्टा त आँऽऽऽऽ नै भयो । म ट्वाँ परे । ओह, यस्तो गजब चिज पनि हुँदो रहेछ भन्ने लाग्यो ।”

त्यसपछि उनले निधो गरे । उनलाई पनि केही यस्तै गर्नु छ । “एण्ड द्याट डे आइ डिसाइडेड आइ वान्ट टू डु समथिंग लाइक दिस ।“

टियु टप गर्ने ध्यानमा काठमाडौँ छिरेर अङ्ग्रेजी साहित्यमा रमाई रहेका उनी जङ्गल र लाइब्रेरीमा जतिखेरै भेटिन थाले । मास्टर पढ्न आएका उनी अधिकांश समय फिजिक्स डिपार्टदेखि तलको जङ्गलमा बसेर कविता पढ्न थाले । त्यहीँ बसेर कविता लेखिरहेका हुन्थे उनी । उनले आफ्नो सङ्ग्रहको लागि लगभग आधा जति कविता त्यहीँ बसेर लेखे ।

मास्टर सेकेन्ड इयर सक्काउँदासम्म एउटा पनि पूर्ण कविता लेखेका थिएनन् उनले । एकाएक कविता लेख्न थालेका उनी ५ वर्षको अन्तरालमै स्टार पर्सन भए । सुपर हिट कवि भए । युट्युबमा लाखौँले सुन्न थाले । रेडियो, टिभी देखि स्थानीय/राष्ट्रिय पत्रपत्रिकाहरूको मुख पृष्ठमा उनी नै छाए । साहित्यमा रुचि राख्ने/नराख्ने दुवै युवा पुस्ताको लागि आइडियल पर्सन बनेँ ।

कविताका सचेत पाठकहरूका लागि उनको आगमनले असहजता पनि दिलायो । उनले त्यसलाई पनि सहजताका साथ लिए । फलस्वरूप उनी ‘कविता कन्सर्ट’द्वारा  देशविदेशमा पुग्न थाले । ६ वर्ष (२०७० देखि यता) को अन्तरालमा नेपालमा ४५ शो र विदेशमा १७ शो गरेर उनको ६२ भन्दा बढी शो सम्पन्न भइसकेको छ । ख्यातिको खुड्किलाहरू उक्लिरहेकै बखत उनको ‘सगरमाथाको गहिराई’ प्रकाशनमा आयो । ३६ कविता संग्रहित यस सङ्ग्रहले सन् २०१७ को पदमश्री पुरस्कार प्राप्त गर्‍यो ।

हो, म्याजिकल कवि नवराज पराजुली मेला नेपालको आयोजनामा डेढ महिनाका लागि ‘युरोप कविता कन्सर्ट – २” लिएर अगस्ट १५ बाट सेप्टेम्बर २७ सम्म पुन: युरोपमा हुनेछन् ।

तर उनको यो यात्रा त्यति सजिलो भने थिएन…

उनी पढिरहेका थिए । पढाइरहेका थिए । जागिर खाइरहेका थिए । तर बाहिर कसैलाई पनि थाहा थिएन- उनी कविता पनि लेखिरहेका थिए । कीर्तिपुरमा डेरा थियो । कोठामा बसेर आफूले लेखेको कवितालाई गुन्गुनाइरहन्थे । आफैँलाई सुनाइरहन्थे उनी ।

त्यस समय उनलाई मनु मन्जिलको कविताको नक्कल गरेर आफूले कविता वाचन गरिरहेको भान भयो ।

“कोठाबाट बाहिर आउनु पूर्व नै मैले आफ्नो धुन पकडें ।  त्यसपछि मेरो कविता वाचन आफ्नै खालको हुन थाले ।”

धुन पकडिए पश्चात् उनका कविताहरू तिखारिदै गए । बलियो बन्दै आए । उनले कविता लेखनलाई निरन्तरता दिइरहे ।

यद्दपी त्यस समय उनलाई कुनै पत्रिकाले ठाउँ दिएन । कुनै रेडियोले बोलाएनन् । यति सम्म कि कसैले मन लगाएर उनको कविता सम्म सुनिदिएनन् । उनले युट्युबलाई  विकल्पको रूपमा प्रयोग गरे ।

“पत्रिकाले ठाउँ दिएन । सुनाउने ठाउँ कसैले दिएनन् । कहाँ सुनाउने ? त्यही भएर जहाँ सुनाउन पाएँ, त्यो युट्युबमा सुनाएँ ।“ उनले बताए । उनी बलिया कविता लेख्ने मात्रै होइन त्यसलाई आममानिसको हृदयसम्म पुर्‍याउन कविता पर्फर्म पनि गर्थे/गर्छन् । यसै खुबीले उनलाई नेपाली साहित्य जगतमा प्रष्ट अनुहार बनाइदियो ।

उनी अंगेजी पढाउँथे त्यस बेला । उनको गुरु सनत कुमार बस्ती नेपाली पढाउँथे । एक दिन सनतले उनलाई राष्ट्रकवि माधव प्रसाद घिमिरेको घर लिएर गए । उनले राष्ट्रकवि समक्ष ‘बुवा’ कविता वाचन गरे । उनले त्यस कवितालाई युट्युबमा अपलोड गरे । उनी त्यस समय सम्झँदै अमेरिकानो निल्छन्, र भन्छन्,“कहीँ कविता सुनाउन नपाएको । राष्ट्रकविलाई सुनाउन पाउँदा किन नसुनाउने ? भिडियो रेकर्डेड थियो । कहीँ त पाएन प्लेटफर्म । युट्युबमा हालेँ ।  पिपल लभ्ड द्याट ।”

‘बुवा’ उनको पहिलो रेकर्डेड कविता हो । हालसम्म सो कविता एक लाख ९ हजार पटक भन्दा ज्यादा हेरी सकिएको छ ।

‘बुवा’ कविताले दिलाएको लोकप्रियताकै कारण उनको अन्य ६ कविता युट्युबमा आए । यी कविताहरूको क्रेज पनि उत्तिकै थियो । त्यसपछि पत्रिका उनको समक्ष आयो । रेडियोले अन्तर्वार्ताको लागि ढिपी गर्न थाल्यो । देशभरमा विभिन्न स्थानमा उनको माग बढ्यो । बिस्तारै उनको क्रेज बढिरहेकै थियो ।

उनी तब पो पूर्ण रूपमा बाहिर आए जब उनले आफ्नो कविता सङ्ग्रह सार्वजनिक गरे । उनको पहिलो कविता सङ्ग्रह ‘सगरमाथाको गहिराइ(२०७३)’ विमोचन भयो । उनी बताउँछन्,”मेरो दोस्रो कविता कन्सर्ट सगरमाथाको विमोचनको दिन नै भयो ।” किताब विमोचन पछि उनको क्रेज रोकिएन । सकारात्मक-नकारात्मक दुवै टिप्पणीले उनलाई समाजमा घुलमिल गराइदियो । उनको अनुहार थप स्पष्ट हुँदै गयो ।

मेरो पहुँचले भ्याउनेसम्म म लेखिरहेको छु..

एकातिर उनको क्रेज छ, फ्लोवरहरुको बाढी छ । उनको सिको गर्दै कविता लेख्ने जमातको बाक्लो लाम छ । भर्खर भर्खर कविता लेख्न शुरु गरेकाहरू उनलाई पढ्न थाले, सुन्न थाले । यसै कारण उनीमाथि कविताको ट्रेन्ड बिगारेको, कवितालाई सस्तो बनाएको, कारुणिक गफमा ढालेको, शब्दमा नभई पर्फर्ममा जोड दिएको जस्ता सयौँ आरोपहरू छन् ।

उनी आफै ठ्याक्कै थाहा पाउँदैनन् उनको ट्रेन्ड के हो ?  एकदमै फरक लेखेजस्तो लाग्दैन उनलाई । यसअघि धेरै कविहरूका निकै राम्रो भनेका कविताहरू आफूले केही पनि नबुझेको बताउँछन् उनी ।

“खतरा छ कविता भन्छन् । तर आज सम्म ४/५ जनाले मात्रै बुझेको छ अरे ।

त्यति सुन्दर चिज एक दुई जनालाई मात्रै थाहा हुन् सक्छ र ?”

“खतरा छ कविता भन्छन् । तर आज सम्म ४/५ जनाले मात्रै बुझेको छ अरे । त्यति सुन्दर चिज एक दुई जनालाई मात्रै थाहा हुन् सक्छ र ?” उनी प्रश्न गर्छन् ।

उनलाई सुन्दर लागेको चिज उनको लागि बुझ्न सजिलो थियो । सहजता उनको सुन्दरता हो । आफूलाई जे सजिलो लाग्छ, जे सुन्दर लाग्छ, सोही कुरा नै आफूले लेख्दै आइरहेको उनी बताउँछन् ।

“म आफूलाई सबैभन्दा मज्जा आउने चिज लेख्छु । सुन्दर लाग्ने चिज लेख्छु ।” उनी अझ थप्छन्,”मैले देखेको सबैभन्दा सत्य कुरा, मैले देखेको गडलीनेश, मैले देखेको इश्वरतत्व, मैले देखेको सुन्दर चिज नै म लेख्न खोज्छु । मेरो पहुँचले भ्याउनेसम्म म लेखिरहेको छु ।”

उनको ट्रेन्ड फलो हुनु नराम्रो नभएको बताउँछन् उनी । सुन्दर चीज सबैको रोजाइको विषय बन्छ । सबैको प्यारो हुन्छ । यहाँ पनि यस्तै भयो । उनको ट्रेन्ड फलो हुन थाल्यो । कुनै पनि चिज राम्रो लाग्छ भने त्यसको पछि लाग्नु नराम्रो नभएको उनी बताउँछन् । “यसमा गाँजा खाएको हो ? रक्सी खाएर मातेको हो ? होइन नि । मलाई कुनै चिज सुन्दर लाग्यो । त्यस्तै उहाँहरू पनि उहाँहरूलाई सुन्दर लागेको चिज गर्दै हुनुहुन्छ । यो राम्रो कुरा हो । केही समयपछि आफ्नो नयाँ सुन्दर कुरा भेट्नुहुनेछ ।”

अहिले उनको सिको गरिरहेकाहरूलाई केही समयपछि ‘आफूले लेखेको कविता नवराज पराजुलीको जस्तो पो भएछ कि’ भन्ने हुने उनी बताउँछन् । यस किसिमको सतर्कता सृजनशील व्यक्तिमा आउनेमा उनी ढुक्क छन् । “अहिले पो मलाई सुन्दै छन् । केही समयपछि मदेखि अल्छी लाग्न सक्छ । म अल्छी लाग्दो हुन सक्छु ।”

सृजनशील व्यक्तिले एउटा मात्रै कवि या लेखक समाएर बस्नु निको होइन । सृजनशील मान्छेहरू एक थोक वा एक लेखकसँग एकदम चाँडो बोर हुने उनी बताउँछन् ।  “ठिकै छ- कत्ति नै कविता छन् र मसँग ? त्यसपछि अर्को पढ्छन्, अर्को पढ्छन्,…। नेपाली पढ्छन् । हिन्दी पढ्छन् । उर्दू पढ्छन् । इङ्गलिस पढ्छन् अन्य ट्रान्सलेट भएका पढ्लान् । त्यसपछि उनीहरूले क-कसलाई चाहिँ फलो गर्छन् त ?” उनी प्रश्न गर्छन् ।

कसैले कसैको आइडिया चोर्‍यो, फलानोले फलानोको जस्तो लेख्यो भनिरहनु बेकार सम्झन्छन् उनी ।

“त्यसले कसलाई हार्म गर्छ र ? थाहा पाएपछि पनि गरिरहे त उसैलाई असर गर्छ ।

यसमा हामीले नेगेटिभ सोच्नु पर्ने केही छैन ।”

साहित्यिक सर्कलमा रचना चोर र साहित्य चोरीको चर्चा वर्तमान समयमा झन् बढेको छ । यसै विषयलाई लिएर बेलाबखत रडाको पनि मच्चिरहेकै हुन्छ । उनको सवालमा भने यो कुरा फरक छ । कसैले कसैको आइडिया चोर्‍यो, फलानोले फलानोको जस्तो लेख्यो भनिरहनु बेकार सम्झन्छन् उनी । “त्यसले कसलाई हार्म गर्छ र ? थाहा पाएपछि पनि गरिरहे त उसैलाई असर गर्छ । यसमा हामीले नेगेटिभ सोच्नु पर्ने केही छैन ।” उनी बताउँछन् ।

के थाहा दश वर्ष पछि मलाई मेरै कविता मन पर्दैन कि ?

उनी आफै पनि सुन्छन्, मानिसहरू ‘नवराजको जस्तो कविता, नवराजको जस्तो कविता’ भनिरहेका हुन्छन् । सोही कविताहरू उनी आफैलाई पनि कुनै समयमा गएर मन नपर्न सक्छ । उनको धुनको कविता नै उनले अहिले लेखिरहेका छन् कि छैनन् उनी आफूलाई थाहा नभएको बताउँछन् ।

“के थाहा दश वर्ष पछि मलाई मेरै कविता मन पर्दैन कि ? कविता भएनछ जस्तो लाग्छ कि ?

अहिले मलाई मान्छेहरू तेरो कविता यस्तो भयो उस्तो भयो भनेर जे-जे आरोप लगाईराछन्,

के थाहा म त्यही आरोप लगाईरा हुन्छु कि ?”

“के थाहा दश वर्ष पछि मलाई मेरै कविता मन पर्दैन कि ? कविता भएनछ जस्तो लाग्छ कि ? अहिले मलाई मान्छेहरू तेरो कविता यस्तो भयो उस्तो भयो भनेर जे-जे आरोप लगाईराछन्, के थाहा म त्यही आरोप लगाईरा हुन्छु कि ?”

तर अहिले उनलाई उनकै सबै कविता उत्तिकै मनपर्छ । “आइ लभ अल अफ माई पोईम्स नाउ । आइ सिम्प्ली लभ देम” उनी बताउँछन् ।

उनका अनुसार उनलाई आरोप लगाउनेहरू उनको कवितामा हरकोही अत्यधिक पर्फेक्सन खोजिरहेको छन् । उनी कविता क्षेत्रमा सक्रिय रूपमा देखिएको तीन वर्ष पनि भएको छैन । उनको कविता संग्रह आएको अढाई मात्रै भयो । “हामी एकदम सर्ट सर्ट सोचिरहेका छौँ । लिटरल्ली अढाई वर्ष भयो म बाहिर आएको । अढाई वर्षमा एकदम धेरै जज गर्नु पनि हुँदैन ।  एउटा फुच्चे आयो कविता निकाल्यो । छोड् द्यायो न यार । सिक्दैछ होला ।” उनी लामो हाँसो हाँस्छन् ।

सम पिपल मुभ टू थिंक..

विभिन्न कन्सर्टका लागि देश-विदेश पुगिरहेका छन् उनी । तर यस्ता कन्सर्टहरूले उनलाई थप सृजनशील बनाएको छ । उनी भन्छन्,”मलाई राम्रो राम्रो आइडियाहरू प्लेनमा/ट्रेनमा/बसमा/बाइकमा आउँछन् । मोबाइल झिक्छु- त्यही रेकर्ड गर्छु ।” त्यसरी रेकर्ड गरिएका कविताहरूलाई उनी मुडमा हुँदा टेक्स्टमा उतार्छन् ।

एउटा राइटर्सले ट्राभल गर्न पाउनु भनेको उसको रचनाले पनि ट्राभल गर्नु हो । ट्राभलले जति राइटरलाई रिफ्रेश गराउँछ, उसको क्रियशन पनि उतिकै रिफ्रेश हुन्छ । “इट्स अपरच्युनीटि टू ट्राभल ! एउटा राइटरलाई कति रिफ्रेश गर्छ । कन्सर्ट भएर चाहिँ मलाई लेख्न सजिलो भइराछ ।” उनी बताउँछन् ।

उनी जति नै देश/विदेश घुमे पनि उनका कवितामा ती ठाउँका रहनसहन, स्टाइलको कुराहरू आउन नसक्ने उनी बताउँछन् । उनी कविता लेखिरहँदा प्राय जसो आफ्नै गाउँ पुग्छन् । त्यहीको माटोको गन्धमा हराउँछन् ।

“सपनामा बोल्ने भाषा बोल्दो रहेछ मान्छे कवितामा ।

वास्तविक जीवनमा ठ्याक्क कन्सस्ली बोल्न सक्दैन मान्छे तर कवितामा बोल्छ ।”

उनी जतिखेरै कविता लेख्न भने सक्दैनन् । उनलाई केही कुरासँग जोडिनुपर्छ । त्यसपछि उनी एउटा निश्चित स्टेट अफ् माइन्डमा पुग्छन् । तब मात्रै उनी सृजना कर्ममा लाग्छन् । कविता लेखिरहँदा वास्तविक जीवनमा बोलिने भाषामा अर्को नयाँ भाषा जोडिने गरेको उनी बताउँछन् । उनी अझ थप्छन्, “सपनामा बोल्ने भाषा बोल्दो रहेछ मान्छे कवितामा । वास्तविक जीवनमा ठ्याक्क कन्सस्ली बोल्न सक्दैन मान्छे तर कवितामा बोल्छ ।”

उनलाई बाइक कुदाउन औधी मन पर्छ । कतिचोटी कुदाउँदा कुदाउँदैको बाइक सडक छेउमा अडाएर कविता लेख्न बस्छन् उनी । उनले सगरमाथाको गहिराइका २१ कविता तीन महिनामा लेखी सिध्धाए । उनी तीनै कविताहरू लेखिरहेको पिरियड सम्झँदै भन्छन्– त्यस बेला (२/३ वर्ष अगाडी) दशैंको टाइम थियो । दसैँमा घर जाँदै थिए । काठमाडौबाट बाइक लिएको थिए । रेकर्डर अन थियो । मोबाइलमा बाटो भरि कविता भन्दै हिडीरहें । (हाँसो) ।  रेकर्डलाई घर गएर सारेको मात्रै हो । त्यस्तो मुड पनि चल्छ कहिलेकाहीँ ।”

उनी टसको मस नभइकन एक ठाउँमा बस्ने हो भने कविता सिर्जना गर्न सक्दैनन् । कतै घुम्दा/जाँदा नै सोच्न सकिन्छ । “सम पिपल मुभ टू थिंक । म त्यस्तै छु । मलाई पनि कहीँ गइरहनु पर्छ ।“

युट्युब भनेको पेन्सन जस्तै हो…

उनको ३६ कविता मध्ये १४ कविता अहिले युट्युबमा छन् । ‘नेपाली कविता’ भन्ने बित्तिकै उनका यिनै कविता युट्युबको फर्स्ट ब्यानरमा देखिन्छन् । यस कुराको शान्त खण्डन गर्दै उनी भन्छन्- पुस्तकको सिमितता हुन्छ । कहाँ कहाँ मात्रै पुग्ने भन्ने हुन्छ । अथवा कति टाइम लाग्छ पुग्नलाई भन्ने हुन्छ । थाहा छैन मेरै कविताको चाहिँ रिच किन बढी पुग्छ ? तर मलाई खुसी नै लाग्छ ।”

उनको आफ्नै प्रोफेसनल युट्युब च्यानल छ । उनको सिर्जनाको, उनको ऊर्जाको आर्थिक आम्दानी उनी आफैले पाउनुपर्छ भन्छन् । यसैकारण कसैले विना सर्त क्यामरा तेर्साइरहेको छ भने भिडियो नखिचिदिन उनी आग्रह गर्छन् । उनी अझ अगाडी भन्छन्,“त्यो मेरो बौद्धिक सम्पत्ति हो । मेरो च्यानल छ । म त्यहाँबाट पैसा कमाउँछु । सिम्पल इज द्याट ।” उनी जिन्दगीभर कविता नलेख्न पनि सक्छन् । उनलाई लाग्छ युट्युब भनेको पेन्सन जस्तै हो । जहाँबाट उनी थोरै थोरै आम्दानी पाईरहन सक्नेछन् ।

“म एकदम सियोर छु, त्यो टाइममा युट्युब हुन्थ्यो भने देवकोटाले युट्युबमा हिट दिन्थे ।

अडियो सुनेकै हो त्यति बबाल छ । देवकोटाको कविता स्योर ट्रेन्डिङ हुन्थ्यो होला ।

‘पागल’ ट्रेन्डीङ नम्बर एकमा आइरहन्थ्यो होला ।”

तपाई युट्युबमा बाच्ने कि पुस्तकालयमा भन्ने आरोपको खण्डन गर्दै ‘भिडियो युट्युबमा, किताब पुस्तकालयमा’ भनेर बताउँछन् । युट्युब भर्खर आएकोमा खेद प्रकट गर्दै उनी भन्छन्,“म एकदम सियोर छु, त्यो टाइममा युट्युब हुन्थ्यो भने देवकोटाले युट्युबमा हिट दिन्थे । अडियो सुनेकै हो त्यति बबाल छ । देवकोटाको कविता स्योर ट्रेन्डिङ हुन्थ्यो होला । ‘पागल’ ट्रेन्डीङ नम्बर एकमा आइरहन्थ्यो होला ।”

कवि पराजुलीको युट्युब च्यानलबाट लेटेस्ट कोसेलीः

उनी नयाँ कविता सङ्ग्रहको तयारीमा पनि छन् । उनले १५ वटा नयाँ कविता लेखिसकेका छन् । ती कविता उनले आफ्ना नजिकका साथीभाइ बाहेक कसैलाई पनि सुनाएका छैनन् । उनले यसो गर्नु पछाडिको राज खोल्छन्- “सगरमाथाको गहिराइ आउनुपूर्व नै उनको त्यस किताब भित्र भएका ७ वटा कविता युट्युबमा आइसकेको थियो । तर अब चाहिँ म त्यसो गर्दिन । मलाइ के लाग्छ भने किताब आइसकेपछि कहीँ नसुनेका कविताहरू नै किताबमा आउन् । तर इट डिपेण्डस् किताब कहिले आउँछ ? (हाँसो) ।”

ब्रो ! साउण्ड मिन्स अ लट टू मि यार..

उनी इयरफोन बोक्न कहिल्यै छुटाउँदैनन् । खाली समयमा, आफूसँगै आफू होइरहँदा उनी गीत सुनिरहेका हुन्छन् । गीत गुनगुनाइरहेका हुन्छन् ।

“ब्रो ! साउण्ड मिन्स अ लट टू मि यार” भन्छन् उनी । आफ्ना बारेमा हुने गरेका आलोचना/गाली सुनेर फ्रस्टेट हुनुभन्दा गीत सुन्नु निको लाग्छ उनलाई । “त्यति राम्रो गीतहरू छन् । उता इर्स्याद कामीलले त्यस्तो जादु लेखिराछन् । अब्जित भट्टाचार्यले उस्तै । दाजुहरू बबाल बबाल काम गरिराछन् । यस्तो दामी दामी क्रियशन भइराछ । किन गाली सुनेर बस्नु अरूको ?”, उनी भन्छन् ।

उनका अनुसार कुनै पनि गीत राम्रो/नराम्रो भन्ने हुँदैन । हामीलाई मन पर्ने कि नपर्ने भन्ने मात्र हो । उनी समकालीन नेपाली गीतसङ्गीतसँग खुसी छैनन् । अहिले जस्ता गीतहरू बनिरहेका छन्- ती नराम्रा गीत चाहिँ होइनन् तर उनको टेस्टका होइनन् । यहाँ एकै खाले गीतहरू भएको गुनासो पोख्छन् उनी ।

“ए आजभोलि नाच्ने गीत चाहिन्छ- भन्ने भयो एउटालाई, हरेकलाई नाच्ने गीत चाहियो । डान्सिंग भिडियो चल्छ भनेपछि हरेकलाई त्यही गर्नुपर्ने । किन एउटै चिज गर्नु परेको ? आइ डन्ट नो यो कति लामो चल्छ ?”

१९ वर्षको उमेरमा दिनेश अधिकारीले लेखेका “तिमी जुन रहरले ममा फुल्न आयौँ’ गीत उनको म्युजिकल प्लेयरको टप फाइभ भित्र पर्छ । “कविले लेखेको हो नि त्यो गीत । कविले गीत लेखेको खण्डमा शब्द सुन्दर हुँदो हो, डेप्थ हुँदो हो । त्यही अनुसार सङ्गीत र गायन हुँदो हो । अनि पो नेपाली गीत सुन्दर हुँदो हो ।”

उनी भारतीय गीत-सङ्गीतको प्रसङ्ग पनि जोड्छन् । उनका अनुसार भारतमा दुई खाले गीतहरू भएर ब्यालेन्स भइरहेको छ । “एक बार आजा आजा“ भन्ने गीतले उनलाई कहिल्यै हानेन । तर सोही गायक (हिमेश रेसमिया)को ‘मे जहाँ रहूँ’ ले उनलाई हानिरहन्छ ।

दियर निड्स टू बि राइटर शुड राइट सिनेमा…

नेपाली फिल्म हेरेर उनी भुटभुटिदैनन्, लुटपुटिदैनन्, तर छटपटिन्छन् । उनी त्यस्ता फिल्महरू हेर्छन्- जसमा धेरै लियरहरु छन् । हरेक चोटि भेट्दा अर्को मिनिङ पाइयोस् । धेरैचोटी अल्छी नमानिकन हेर्न सकिने फिल्महरू धेरै चोटि हेरीरहेका हुन्छन्- उनी ।  जहाँ सिधा-सिधा देखाइन्छ । जुन फिल्महरू प्लेन छन् । त्यस्ता फिल्म उनी हेर्दैनन् । “क्यामराको पनि आफ्नै भाषा होस् । त्यहाँको डाइलग पनि पोयटिक होस् । यस्ता फिल्महरू मलाई ठिक लाग्छ ।“ उनी भन्छन् ।

रकस्टार, तमाशा उनका मनपसन्द फिल्महरू हुन् ।

विशाल भारद्वाज, सञ्जय लीला भन्साली, अनुराग काश्यपका कुनै पनि फिल्म छुटाउँदैनन् उनी ।

रकस्टार, तमाशा उनका मनपसन्द फिल्महरू हुन् । यस्तै विशाल भारद्वाज, सञ्जय लीला भन्साली, अनुराग काश्यपका कुनै पनि फिल्म छुटाउँदैनन् उनी ।

नेपाली फिल्मी क्षेत्रमा भएका चिजको नै दुरुपयोग भइरहेको उनी बताउँछन् । “त्यहाँ त्यहाँ ड्रोन युज गरेको देख्छु म, जहाँ चाहिँ ड्रोनको काम नै छैन । यिनीहरूलाई यति थाहा दिनु छ कि हामीसँग ड्रोन छ ।”

सन् २०१८ मा आएको ‘बुलबुल’ फिल्म राम्रो लागेको बताउँदै गर्दा उनी यो पनि सँगसँगै जोड्छन्,“फिल्म त्यति राम्रो छ । तर बिचबिचमा मलाई गीतले डिस्ट्रभ गरिरह्यो । स्टोरीलाई डिस्टर्ब गर्ने गरी गीत आएको छ त्यसमा ।” राम्रो बन्न खोजेको नेपाली फिल्ममा अझै पनि पुरानो धङधङ्ती (गीत हुनुपर्छ भन्ने) बाँकी नै रहेको उनी बताउँछन् ।

उनका अनुसार हामीकहाँ स्टोरी राम्रो छ तर स्क्रिन प्ले राम्रो छैन । एउटा राम्रो फिल्म आइसकेपछी सय वटा त्यस्तै फिल्म बनिरहँदा नेपाली फिल्महरू अर्ग्यानिक हुन नसकेको उनी दुखेसो पोख्छन् । एउटा लेखकले फिल्म लेखेको खण्डमा नेपाली फिल्म निकै माख्लो स्तरको बन्नेमा पनि उनी ढुक्क छन् ।

नर्मली साँझमा वी नेभेर गो टू बाथरुम…

बाल्यकालमा क्रिकेटमा विशेष रुचि थियो उनको । प्लस टू सम्म क्रिकेटको भूत सवार थियो उनमा । एउटा गतिलो ओपनिङ बलर प्लस टू पछि विभिन्न कारणवश कतै लुप्त भयो । बाल्यकालका कुनै पनि कुरा यादगर हुन्छन् । त्यही यादगर कुराहरू आज नवराज पराजुलीका कविता बनेका छन् । स्कुल पढ्दा अब्बल विद्यार्थी रहेका पराजुली गुच्चा खेल्नमा पनि धेरै अगाडि थिए । सानै देखिनै कल्पनामा रमाउने सरल स्वभावका कवि पराजुली उमेरले तीन दशक पार गरे पनि आफू भर्खरको टिनेजर नै जस्तो लाग्ने बताउँछन्  ।

उनलाई पनि थोरबहुत अराजक हुन मन लाग्छ ।

उनी आफ्नो घर झापा पुग्दा बाथरुममा पिसाब फेर्न रुचाउँदैनन् ।

साथीभाइसँग हुँदा बाटोघाटोमा नै पिसाब गर्दा मज्जा आउने बताउँछन् ।

उनलाई पनि थोरबहुत अराजक हुन मन लाग्छ ।  उनी आफ्नो घर झापा पुग्दा बाथरुममा पिसाब फेर्न रुचाउँदैनन् । साथीभाइसँग हुँदा बाटोघाटोमा नै पिसाब गर्दा मज्जा आउने बताउँछन् ।

“घरमा हुँदा नर्मली साँझमा वी नेभेर गो टू बाथरुम- पिसाब फेर्नलाई (लामो हाँसो) ।”

०००

०००

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्