Logo

ज्ञानमा कर लगाउनु भनेको नागरिकलाई ज्ञानमा सिमितता ल्याऊ भन्नु हो



Spread the love

आमा सरोदा देवी तामाङ र बुवा टिएस तामाङकी कान्छी सन्तानका रुपमा हेटौंडामा जन्मिएकी बिना थिङ तामाङ हाल काठमाडौंको बुढानिलकण्ठमा बस्छिन् ।शिक्षा संकायमा स्नातकोत्तर बिना थिङ पेशाले शिक्षक हुन् । हाल उनी काठमाडौंको श्री जय भद्रकाली आधारभूत विद्यालयमा अध्यापन गर्छिन् । ‘रातो घर’ कविता संग्रह र ‘छुकी’ कथा संग्रह गरी तामाङका दुई पुस्तक प्रकाशित छन् भने बिना अर्को संग्रहको तैयारीमा छिन् ।

तामाङ डाजाङमा कोषाध्यक्ष, विश्व नेपाली साहित्य महासंघ नेपाल च्याप्टरमा महासचिव र बाग्द्वार साहित्य समाज कोषाध्यक्ष भुमिका निर्वाह गरिरहेकी बिनाले बहुभाषिक राष्ट्रिय कविता गोष्ठी २०७० मा प्रथम, बाह्रखरी कथा प्रतियोगिता २०७६ मा प्रथम र अन्तरराष्ट्रिय अनलाइन साहित्यिक प्रतियोगिता तृतीय पुस्कार प्राप्त गरेकी छिन् ।

मुलतः बिना महिला, जनजाति अझ त्यसमाथी हिजोको दिनमा राज्यले हेपेका वर्गको पक्षमा कलम चलाउँछिन् ।

प्रस्तुत छ उनै बिना थिङ तामाङ सँग सल्लेरी खबरको विशेषांक सल्लेरी कोलाजका लागि अन्शु खनालले गरेको कुराकानीः

अन्शु- सर्वप्रथम बाह्रखरीले आयोजना गरेको कथा प्रतियोगितामा प्रथम हुनुभएकोमा बधाई । कथा लेखनको यात्रा कस्तो हुदैंछ । संग्रहको तयारीमा हुनुहुन्छ ?

बिना- धन्यवाद ! परिस्थिति सधैं अनुकुल रहँदैन । यसले लेखनमा केही हद सम्म डिस्टर्ब गर्छ । अलिअलि कथामाथि काम पनि गर्दैछु । संग्रहको तयारीमा छु । तर कथा प्रतियोगितामा प्रथम भएपछि म माथि चुनौति थपिएको महशुस भएको छ । कथाको स्तरीयता ध्यान दिनु परेकोले कथा संग्रह निकाल्ने समय अलि पछि धकेलिएको छ ।

अन्शु- नेपाली साहित्यमा १० वर्षे जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, संविधान ईत्यादी राजनीतिक घटनाक्रमले पारेको प्रभाव र दिएको उपलब्धि के कस्ता छन् ?

बिना- साहित्य समाजको दर्पण हो । यो भनाईलाई नकार्न पनि सकिदैन । समाजको अवस्था कस्तो छ ? बनोटमा कहाँ त्रुटी भयो ? कसरी सामाजिक रुपमा मानिसको हैसियत विभाजित हुदै गयो ? यी सबमाथि प्रश्न गर्दै न्याय र समानताको लागि कलात्मक चेतका साथ आवाज उठाउने भनेकै साहित्यले हो । त्यसैले समाज विकासक्रममा घट्ने घटनाहरुले मानिसको मस्तिष्कमा, ह्रदयमा हलचल ल्याउँछ । उकुसमुकुस गराउँछ । त्यसले मानिसलाई सृजनशिल बनाउँछ ।

अब जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनले पारेको प्रभावको कुरा गर्नुपर्दा नेपालमा कतिले शाहदात प्राप्त गरे, कति घरबार बिहिन भए, कति वेपत्ता भए त्यो भयावह छ । निर्दोष जनताले अनाहकमा आफ्नो उमेरको बहिखाता बन्द गर्नुपरेको यथार्थ हाम्रो अघि छर्लङ्गै छ । तर यसले दिएको सबै भन्दा महत्वपूर्ण उपलब्धि भनेको आवाजविहिनहरुको मुद्धालाई केन्द्रमा ल्याएको छ । सिमान्तकृत समुदायलाई केही हदसम्म भएपनि राज्यलाई सम्बोधन गर्न बाध्य बनाएको छ । हिजो जो राज्यको पिंधमा थिए तिनीहरुलाई मूलधारमा ल्याउन उल्लेख्य भूमिका निर्वाह गरेको छ । महिला, दलित, जनजाति, मधेसी, मुस्लिम लगायतले आफ्नो हक अधिकार सुनिश्चित गराउन सडकमा उत्रिन सक्ने हिम्मत प्रदान गरेको छ ।

अहिलेको पहिचानको मुद्धा यसैको उपज हो । जो साहित्यमा प्रष्टसँग आईरहेको छ । मानिसहरु निर्धक्क आफ्ना समस्या, आफुमाथि भएका अन्यायको बारेमा कविता, गीत, कथा, उपन्यासका माध्यमबाट भनिरहेका छन् । यदि यी आन्दोलनहरु नभईदिएको भए अहिले पनि नेपाली साहित्य शृङ्गारिक रचना र सत्तासीनहरुको स्तुतिगानमै सिमित रहन्थ्यो ।

अन्शु- भनिन्छ, प्राय महिला लेखकहरु केवल महिला विषयमा मात्र सिमित भएर लेख्छन्, यो कति सम्म सत्य हो ? तपाई यो विषयमा के भन्नुहुन्छ ?

बिना- लेखन सहज कुरा होइन । झन् महशुन नै नगरिएका, नभोगिएका विषयमा लेख्नु भनेको लहडीपन हो । सोचनीय विषय यो छ कि के को लागि लेख्ने ? कस्को लागि लेख्ने ? किन लेख्ने । यसमा मतभेद पनि पाईन्छ । भन्न खोजेको जहाँ आफुलाई असुरक्षित महशुस हुन्छ, जुन कुरा प्राप्तीको लागि अझै लड्नु छ त्यसको लागि लेखन महत्वपूर्ण माध्यम हो । महिलालाई हेर्ने दृष्टिकोण अझै पनि फेरिएको छैन । महिलामाथिको हिंसा झन् चर्को हुदैं गएको छ ।

आफ्नो समस्या, आफू माथिको अन्यायको बारेमा अरु कसैले नबोलिदिएपछि बाध्यात्मक अवस्थामा महिलाहरुले आफ्नो लेखनको विषय बनाएको हुन् । यसमा अरुले अनावश्यक हो हल्ला, रुवावासी गर्नुको तुक नै छैन । यसो भन्नुको अर्थ यो पनि होईन कि महिलाले महिला विषयमा मात्र केन्द्रित हुनुपर्छ । महिलाहरुले राजनीति, शिक्षा, खेलकुद लगायतका सामाजिक विषयमाथि पनि कलम चलाईरहेका छन् ।

अन्शु- लेखकको भूमिकामा रहँदा तपाईले उठाउने मूल मुद्धाहरु कस्का र के के हुन् ?

बिना- माथि नै उल्लेख गरिसकें कि जो आफै उत्पीडनमा परेका छन् उनीहरु स्वयंले नै न्यायको लागि आवाज उठाउने हो । अरु कसैले बोलिदिनेवाला छैन । कसैले बोल्छ भने त्यो क्षणिक हो । निरन्तर लाग्ने भनेको सरोकारवाला नै हो । त्यसैले म महिला, जनजाति त्यसमाथी हिजोको दिनमा राज्यले गरेको चरम दमनको शिकार बनेका पुर्खाका सन्तती हुँ । त्यसैले मेरो लेखनमा तिनै कुराहरु समेटिन्छन् । यसलाई कसैले जातिवादी लेखन देख्छन् भने त्यो उनीहरुको समस्या हो ।

अन्शु- लेखन यात्रामा महिला लेखक भएकै कारण भोगेका केही असहजता-सहजता ?

बिना- एकजना पुरुष मित्र हुनुहुन्छ । उहाँ लेखनमा समर्पित हुनुहुन्छ । लेखनको समयमा उहाँको कोठा भित्रबाट बन्द हुन्छ । परिवारका कुनै पनि सदस्यले उहाँलाई डिस्टर्ब गर्दैनन् । आवश्यक्ता अनुसारको तातो चिसोको व्यवस्था परिवारले उपलब्ध गराउँछन् । कहिलेकाँही उहाँ लेखनकै निमित्त भनेर भ्याली बाहिर हप्तौं समय व्यतित गर्नुहुन्छ ।

एकाग्रता लेखनको अनिवार्य शर्त हो । वातावरण दोस्रो शर्त हो । यस्तोमा उहाँले पाउनुभएको जस्तो वातावरण कुनै महिला लेखकले पाउनु भनेको एकदमै अपवादमा पर्न जान्छ । अब मैले यो भन्दा बढी महिलालाई लेखनमा पर्ने असहजता भनिरहनु नपर्ला । महिलाको भूमिका बिहान, दिउँसो, साँझ र रातीमा फरक फरक रहन्छ । लेख्नकै निमित्त भनेर निश्चित समय निकाल्न नसक्नु महिला भएको कारणले मैले भोगेको असहजता हो ।

यद्यपी यदि तपाईंले राम्रो, समसामयिक, अब्बल सृजना गर्न सक्नुभयो भने त्यो प्रकाशित गर्नको लागि समस्या भने म देख्दिन । वास्तवमा भन्नुपर्दा लेखनमा पनि प्रतिस्पर्धा छ । जति प्रतिस्पर्धा पुरुष पुरुष बीचमा छ त्यति महिलाहरुमा हुदैन । किनकी लेखनमा महिलाको उपस्थिति पुरुषको दाँजोमा न्युन छ । जति पनि राम्रा लेख्न सक्ने महिलाहरु हुनुहुन्छ उहाँहरु भिजिविलिटी छ ।

अन्शु- किताबको बारेमा लगाईएको कर बारेमा तपाईको धारणा के छ ?

बिना- कर तिर्नु असल नागरिकको कर्तव्य हो । यद्यपी करको पनि सिमितता र दायरा हुनुपर्छ । किताब ज्ञानको स्रोत हो । ज्ञानमा कर लगाउनु भनेको नागरिकलाई ज्ञानमा सिमितता ल्याउ भन्नु हो । अवरोध खडा गर्नु हो । नेपालको पठन संस्कृति हेर्दा पुस्तक खरीद गर्नकै लागि भनेर रकम विनियोजत गर्ने अभ्यास छैन । किनकी नेपालीहरुको क्रय शक्ति दिन प्रतिदिन घट्दो छ । त्यसमाथि पुस्तकमा कर लगाएपछि बढ्न जाने अतिरिक्त मूल्य पाठकले नै व्योर्होनु पर्छ । जति कम पुस्तक विक्री उति नै कला, साहित्य, संस्कृतिमाथि कुठाराघात हुन्छ ।

अन्शु- पछिल्लो पटक कुन पुस्तक पढ्दै हुनुहुन्छ ? कुन सिनेमा हेर्नुभयो ?

बिना- पछिल्लो समय मेरो रुचि गैर आख्यानका पुस्तकहरुमा बढेर गएको छ । अहिले भने म कुरान अध्ययन गर्दैछु । पछिल्लो पटक हेरेको सिनेमा जाउमे कोल्लेट सेर्राद्धारा निर्देशित सिनेमा ‘द स्यालोज’ हो ।

०००

०००

कविता, कथा तथा सृजनात्मक लेखनमा सक्रिय गोर्खाकी अन्शु खनाल मनोविज्ञानकी विद्यार्थी हुन् ।

प्रतिक्रिया दिनुहोस्