Logo

बढ्दो बसाइँ सराइ र खानेपानीका मुलहरूको अभावले धुर्कोटलाई दुर्बल बनाइरहेका छन्



गाउँगाउँमा सिंहदरबार पूर्याउने मूल हेतुका साथ स्थापना भएका स्थानीय तहहरूले गाउँगाउँमा के-कस्ता विकासका कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् त ? जनताको मतद्वारा गाउँको विकास र समृद्धिका लागि भनेर निर्वाचित भएका जन प्रतिनिधिहरूका चुनावताका योजना के-के थिए ? तीमध्ये के-कति पुरा भए र कति बाँकी छन् ? आमजनताका गुनासा र समस्याहरू कतिको पुरा हुँदै छन् ? जनप्रतिनिधिका समस्या चैँ के हुन् ? कुन-कुन कारणले उनीहरूले सोचेअनुसार विकासको गोरेटो कोरिन सकिरहेको छैन ? समाधानको बाटो के ?

यी यस्तै आम-सवालहरू लिएर सल्लेरी खबरले देशैभरीका जनप्रतिनिधि समक्ष पुग्ने लक्ष्य सहित ‘जनप्रतिनिधिसँग सल्लेरी खबर’को यात्रा प्रारम्भ गरेको छ । पहिलो श्रृङ्खलामा हामीले नेपालको ५ नम्बर प्रदेश अन्तर्गत गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाबाट यात्रा शुरु गरेका छौँ ।

 

साबिकका नयाँ गाँउ, पिपल धारा, हाड हाडे, जैसिथोक, वस्तु, धुर्कोट रज स्थल र वाग्ला गरी ७ गा.वि.स.हरू समावेश गराई धुर्कोट गाउँपालिका स्थापना भएको छ । ८६.३२ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस गाउँपालिकाको जनसङ्ख्या २२ हजार  ४ सय ५४ रहेको छ ।

धुर्कोट गाउँपालिकाका सबल तथा दुर्बल पक्षहरू के-के हुन् ? समृद्धिको यात्रामा यस गाउँपालिका कहाँ लम्किँदै छ ? घोषणापत्रका प्रतिबद्धता अनुसार के-कति काम भइरहेछन् र अबको लक्ष्य के ? लगायतका विविध विषय र प्रश्नमा आधारित रहेर हामीले धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलसँग कुराकानी गरेका छौँ ।

सङ्घीय सरकारले गत साल मात्रै हस्तान्तरण गरेको एक्स-रे मिसिन बिग्रिएको कुरा थियो ? खासमा कुरा के हो ? यति चांँडै बिग्रियो ?

सङ्घीय सरकारले गत साल हस्तान्तरण गरेको एक्स-रे मेसिन बिग्रिएको छैन । यसबारे मिडियाले गलत समाचार लेखेको हुन् । धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा गत कार्तिक महिनामा एक्स-रे मेसिन जडान भएको थियो । प्रयोगमा नआएपछि एक्स-रे मेसिन कोठामा ताला लगाएर राखिएको छ ।

के कारणले प्रयोगमा आउन सकेन ?

स्वास्थ्य मन्त्रालयबाट नै विज्ञ टोली आएर यस मेसिन जोड्नुपर्ने थियो । तर, आवश्यक सामानको सहज उपलब्धता नहुँदा एक्स-रे मेसिन जडान रोकिएको हो ।

अर्को कुरा, यहाँ एक्स-रे मेसिन चलाउने जनशक्ति पनि छैनन् । रिपोर्ट हेर्ने डाक्टरको साथै रेडियो ग्राफर पनि नभएका हुँदा एक्स-रे सम्बन्धित कामहरू रोकिएको छ । हामी ताकेता गरिराखेका छौँ । उसो त एक्सरेको लागि कुनै पनि दरबन्दी छैन । स्थानीय स्तरबाटै रेडियो ग्राफर हायर गर्ने व्यवस्थापन समितिले निर्णय गरेको छ ।

शैक्षिक योग्यता नै नभएका व्यक्तिलाई हायर गर्ने निर्णयमा व्यवस्थापन समिति किन/कसरी पुग्यो ?

रिपोर्ट हेर्ने डाक्टर आइसकेपश्चात जनस्तरबाटै चयन गरेर तालिमका लागि पठाउने निर्णय व्यवस्थापन समितिले गरेको हो । १५ दिन यस्ता व्यक्तिहरूलाई तालिममा पठाइयो भने एक्स-रे सेवा दिन सकिँदो रहेछ । डाक्टर आएपछि गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रकै कर्मचारीलाई तालिम दिई एक्स-रे मेसिनको प्रयोग गर्ने योजना बनाएको छ ।

स्वास्थ्य केन्द्रमा दरबन्दीमा रहेका एक डाक्टर कमल अधिकारी एमडी पढ्नका लागि गत असोज महिनादेखि वीर अस्पताल सरुवा भएका छन् । करार सेवामा रहेको डा. सुरज पोख्रेल पनि कार्तिक महिनादेखि स्थायी पदमा नाम निकालेपछि धुर्कोट छाडेका छन् । अहिले नयाँ डाक्टर आइ नसकेको अवस्था हो ।

दुई महिना अगाडि वृद्धवृद्धाहरुको लागि दिवा सेवा केन्द्र स्थापना भएको थियो । अहिले रोकिएको रहेछ नि !

रोकिएको होइन । सञ्चालनमा आएको यस सेवा साउनभरिको लागि स्थगित गरिएको मात्रै हो । वर्षा लागेसँगै विभिन्न ठाउँमा बाढी तथा पहिरो आएको हुँदा वृद्धवृद्धाहरुलाई हिँडडुल गर्न असहज भएको कारण केही समयदेखि संचालनमा आउन सकिरहेको छैन ।

दिवा सेवा केन्द्रमा के-के सुविधाहरु उपलब्ध छन्  ?

दिवा सेवा केन्द्रमा बृद्धबृद्धाले मनोरञ्जन मात्रै गर्दैनन् । दैनिक विभिन्न प्रकारका खाजा समेत खाने गरेका छन् । दैनिक भजन कृतन गर्ने र फलफुल वितरण गरिँदै आइएको छ । भजन–कृतनमा आवश्यक सामाग्रीहरू उपलब्ध गराउने, खाजाको लागि आवश्यक समन्वय गर्ने लगायतका कामहरू जनविकास केन्द्रले गरिरहेको छ ।

यस सेवाका लागि बजेट छुट्टाइ सकिएको छ । हामी निरन्तरतामा कुनै कसुर बाँकी राख्ने छैनौँ ।

केन्द्र ‘बरबोट’को अवस्था कस्तो छ ? भवन निर्माणको कार्यहरू कसरी सञ्चालनमा आइरहेका छन् ?

दुई वर्ष अघि सम्म उल्लेखनीय सेवा सुविधा र भौतिक पूर्वाधारहरू नभएको यस बरबोटमा स्थानीय सरकारको गठन भएको तीन महिना भित्र नै २३ लाख खर्च गरेर एक हल निर्माण भएको थियो । त्यसमा केही असहजता/साँघुरो भएका कारण नयाँ भवनको निर्माण थालेका थियौँ ।

डेढ महिना अघि एक करोड ३५ लाख रुपैयाँमा उक्त भवनको निर्माण सम्पन्न भयो । अहिले नयाँ भवनमा कार्य सम्पादन भइरहेको छ ।

साथै केही समय पश्चात् अर्को ठुलो सभा हल निर्माण हुँदै छ । प्रदेश सरकारको स्वीकृतिमै यो भवन निर्माण हुन लागेको हो । करिब साँढे ३ सय क्षमताको सभा हल निर्माण गर्दैछौं ।

धुर्कोट कोट र विचित्र गुफाको बारेमा केही बताइदिनुहुन्छ कि ?

धार्मिक र पर्यटकीय हिसाबले महत्त्वपूर्ण रहेको यो गाउँपालिकाको मुख्य ऐतिहासिक तथा रमणीय स्थल धुर्कोट कोट विचित्र गुफा हुन् ।

धार्मिक र पर्यटकीय हिसाबले महत्त्वपूर्ण रहेको यो गाउँपालिकाको मुख्य ऐतिहासिक तथा रमणीय स्थल धुर्कोट कोट विचित्र गुफा हुन् ।

नेपाल एकीकरण पूर्वको चौबिसे राज्यमध्ये धुर्कोट राज्यको राजधानी रहेको थियो । जस बेला मल्ल राजाहरूको समय थियो । मल्ल राजाहरूले राज गरेको यस स्थानमा संग्रालय निर्माण हुँदै छ । कोटको तलपट्टि रहेको धुर गाउँको नामबाट धुरको कोट भन्दा भन्दै धुर्कोट भन्न थालिएको हो ।

विचित्र गुफा २०४७ सालमा भेटिएको हो । विचित्र गुफा विचित्रकै छ । हिन्दु धर्मअनुसार वेद, पुराण, यज्ञ, भागवतमा वर्णन गरिएका लगभग सबै देवीदेवताको चित्र गुफाको भित्ताहरूमा देख्न सकिन्छ ।

विचित्र गुफा लामो छ । एउटा सभा हल जस्तो । भित्ताको ढुङ्गाहरूमा चित्र कोरिएको छ । १००/१५० मानिस बसेर सभा गर्न मिल्ने हलुको ठाडो गुफा हो यो ।

यी यस्ता क्षेत्रको संवर्द्धन र संरक्षणका लागि गाउँपालिकाले के-कस्ता पहलकदमीहरू चालेको थियो/चाल्दै छ ?

निर्वाचित भएको पहिलो वर्ष अर्थात् ०७४ चैत्रमा महायज्ञ लगाएर एक करोड २६ लाख उठेको थियो । जसको सम्पूर्ण रकम धुर्कोट कोटको संरक्षण, संवर्द्धन एवं प्रचार प्रसारमा लगाइने छ । यसको साथै सोही स्थानमा मन्दिर निर्माण कार्यले पनि निरन्तरता पाइरहेको छ ।

गुल्मी जिल्ला नेपालभरमै कफीको लागि प्रख्यात मानिन्छ । धुर्कोटमा कफी खेतीको अवस्था कस्तो छ ?

गाउँपालिकाको फलफुल तथा नगदे बाली अन्तर्गत सुन्तला खेती अत्यधिक हुने गर्दछ । यस वर्षबाट कफी खेतीमा अग्रसरता देखाइएको छ । यस वर्ष मात्रै ६ हजार भन्दा बढी कफीका बेर्नाहरू रोपिएको छ । भौगोलिक अवस्थाका कारण उत्पादन कम हुने देखिए तापनि नर्सरी स्थापना गरी कफीको उत्पादनमा जोड दिदैछौं ।

गाउँपालिकामा के-कस्ता सुधारका कार्यहरू भइरहेका छन् ?

उत्पादनमा आधारित कृषि र पशुपालनमा अनुदान, किसानलाई परिचय पत्रको व्यवस्था, ज्येष्ठ नागरिकलाई रेडियो वितरण जस्ता कामहरूको सुरुवात भएको छ । जसले रोजगारीको सिर्जना गर्दै गरिबी निवारणमा प्रत्यक्ष योगदान पुगेको छ । शिक्षा क्षेत्रमा सुधारका सङ्केतहरू देखिएका छन् । तालिम, नमुना वाल कक्षा, करार शिक्षक नियुक्ति, २ दर्जनभन्दा बढी कानुनहरू निर्माण गर्ने लगायतका धेरै उपलब्धिहरू हासिल भएका छन् ।

उत्पादनमा आधारित कृषि र पशुपालनमा अनुदान, किसानलाई परिचय पत्रको व्यवस्था,

ज्येष्ठ नागरिकलाई रेडियो वितरण जस्ता कामहरूको सुरुवात भएको छ ।

जसले रोजगारीको सिर्जना गर्दै गरिबी निवारणमा प्रत्यक्ष योगदान पुगेको छ ।

जनता आवास कार्यक्रम मार्फत गरिब र विपन्नका घरमा टिनका छाना लगाउने, सडकहरूको स्तरोन्नति गरी नियमित सडक यातायात सञ्चालनमा जोड दिइएको छ । कृषि र पशुपालनमा व्यवसायिकता, प्रविधीमैत्री उत्पादनलाई समेत प्राथमिकतामा राखिएको छ । पूर्वाधार विकास निमार्णलाई पनि अगाडि बढाएका छौँ ।

जनता खुसी छन् ?

हाम्रा धेरै जस्तो अभियान मार्फत जनताहरू खुसी हुनुहुन्छ । कुनै ठाउँमा सामान्य रूपमा आलोचना हुने कुरा स्वाभाविक नै हो ।

गाउँपालिकाको सबल पक्षहरू के-के हुन् ?

गुल्मी जिल्ला अग्ला पहाडहरूको जिल्ला भएता पनि धुर्कोट गाउँपालिका वरिपरि भने होचा होचा पहाडहरू छन् । यसले विकास निर्माणको काममा सहजता दिलाई रहेको छ । शिक्षाको सवालमा पनि गुल्मी जिल्लाको अग्रणी स्थानको रूपमा धुर्कोट रहँदै आएको छ ।

र, दुर्बलताहरू ?

गाउँपालिका भित्र यथेष्ट मात्रामा पानीको मुहान नहुँदा खानेपानीको समस्या विकराल रहेको छ । यहाँको मुख्य समस्या पिउने पानी हो । यस बाहेक बसाइँ सराइ समस्याले पनि गाउँपालिकालाई गांँजीरहेको छ ।

खानेपानीको समस्या न्यूनीकरणका लागि के कस्ता कामहरू भइरहेका छन् ?

गुल्मी जिल्लामा खानेपानीको अभाव खेपेका विभिन्न गाउँवासीले “धुर्कोटमा जस्तै काकाकुलको अवस्था भयो” भनेर कुनै समय उदाहरण दिने गर्दथे ।

यसै समस्यालाई मध्यनजर गर्दै ‘एक घर, एक धारा’ अभियान मार्फत गाउँपालिकामा रहेका ५ हजार घरधुरी मध्ये १२ सय घरधुरीमा यस २ वर्षमा पिउने पानी पुगिसकेको छ ।

धुर्कोटलाई मासुमा आत्मनिर्भर बनाउनु भएछ । गज्जबको कुरा । मासु निर्यातको अवस्था कस्तो छ ?

धन्यवाद । गाउँपालिकाको आयस्रोत वृद्धिको लागि बाख्रा पालन अत्यन्त फलदायी र उपयुक्त रहेको छ । आर्थिक विकासमा धुर्काेट गाउँपालिकाले लिएका नीति तथा कार्यक्रममा युवाहरूको व्यवसायिक कृषि र पशुपालनमा आकर्षण बढ्दो छ ।

हाल ४५ वटा फर्महरू संचालन गरी व्यवसायिक रूपमा लागिरहेको अवस्था छ । गाउँपालिकाको तथ्याङ्क अनुसार धुर्कोटमा बाख्रा फार्म ६४ वटा, कुखुरा फार्म २१ वटा, गाईभैंसी पालन फार्म ६ वटा, घाँस फार्म २ वटा, बङ्गुर फार्म २ वटा, समूह सहकारी १५ वटा र मासु पसल ७ वटा छन् । धुर्कोट गाउँपालिकाभित्र वार्षिक ४ सय ३३ मेट्रिक टन मासु खपत हुन्छ भने ४५ मेट्रिक टन निर्यात हुने गरेको छ ।

गाउँपालिकामा खपत हुने बाहेक बढी भएको मासु सदरमुकाम तम्घास र प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा निर्यात हुने गरेको छ । निर्यात गरिएको खसी बोकाको मासुबाट वार्षिक १ करोड ३३ लाख सम्म आम्दानी हुने गरेको छ ।

तपाईको सामान्य खानपिन कस्तो रहन्छ ?

खानपिनको कुरा गर्दा सामान्य दालभात तरकारी नै खाइन्छ । हप्तामा एक दुई छाक मासु खाने गर्छु । मासु खाँदा कहिले कुखुरा, कहिले खसी खाइन्छ । समग्रमा यस्तै रहन्छ मेरो खानपान ।

स्वास्थ्य सम्बन्धी जटिलता ?

ग्यास्ट्रिकको समस्या छ मलाई । यस कारण पनि म खानामा मसाले दार, चिल्लो, चिप्लो खाना खान रुचाउँदिनँ ।

अन्त्यमा के भन्नुहुन्छ ?

धुर्कोट गाउँपालिकाको समग्र विकासका लागि गर्नुभएको सहयोग, रचनात्मक सल्लाह र सुझावको लागि आम नागरिक, समाजसेवी, बुद्धिजिवी, सञ्चारकर्मी, शिक्षक, कर्मचारी, जनप्रतिनिधिहरू लगायत सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको छु । यो कार्यकाल भित्र धुर्कोट गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने लक्ष्य रहेको छ ।

(सम्पादकीय नोटः विकास र समृद्धिसँगै आम जनताका मुहारमा खुसीका रंग फैलाउने जिम्मेवारी लिएर निर्वाचित भएका जनप्रतिनिधिका अनुभूति, समस्या र तिनको समाधानको बाटो समेट्ने हेतुका साथ ‘जनप्रतिनिधिसँग सल्लेरी खबर’ शुरु गरिएको छ ।  यो पहिलो श्रृङ्खला हो । यस सम्बन्धी तपाईंका केही सल्लाह, सुझाव एवं प्रतिक्रिया छन् भने कृपया हामीलाई [email protected] को ठेगानामा पठाइ दिनुहोला । आउनुहोस् ! सकारात्मक परिवर्तनको यात्रामा हातेमालो गरौं । धन्यवाद !!!)

०००

०००

समाजमा सकारात्मक परिवर्तनको लागि हरदम तत्पर माउण्ट बुद्ध मिडियाद्वारा सञ्चालित सल्लेरी खबर डट कम सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्