Logo

अबोध अनुहारहरू (फोटो कथा)



Spread the love

निश्छलता, स्वतन्त्रता, निर्दोषपना, अबोधपना, चंचलता- शब्दकोषकै सुन्दर शब्दहरु हुन् । र, यी शब्दहरु भन्दा निकै सुन्दर हुन्छन्- बच्चाहरु । सभ्यताको उषाकाल हुन् बच्चाहरू । बच्चाहरू युगको गोधुली साँझहरु हुन् । बर्बर समयको उर्वर कालखण्ड हुन्- बच्चाहरु । एउटा अबोध हर्कत । एउटा शान्त लहडीपन । एक पागलपन । एक अनुशासन । साच्चै के-के मात्रै होइनन् यी बच्चाहरु ?

झ्याल नेर बसेर कफी पिउँदै वर्षाको आवाज सुन्नु भन्दा कति हो कति आन्नददायी हुन्छ- बच्चाको साथ समय बिताउनु । उनीहरुको तोते बोली । थोते हाँसो ।  उनीहरुको रुवाइ । उनीहरुको अटेरीपन । उनीहरुको जिद्दीपन ।

तपाइँ बच्चाहरुसँग आफ्नो समय बिताउनुहोस्, तपाइले आफूलाई बिर्सनुहुन्छ । जब कुनै वेगवान नदि समुन्द्रसम्म पुग्छ । उसले आफ्नो गति बिर्सिन्छ । आफ्नो स्वभाव बिर्सिन्छ । यस्तो लाग्दैन यी बच्चाहरु यो उराठ समय किनारको शान्त समुन्द्र हुन् ?

भनिन्छ- संसारमा सात वटा अचम्मलाग्दा चिजहरु छन् । सेभेन वन्डर अफ दि वर्ल्ड । तपाईले कहिल्यै बच्चाको आँखामा हेर्नुभएको छ ? बच्चाको आँखाहरु कति रहस्यमय छन् । उनीहरुको आँखामा कति कौतुहलता छ ।

बच्चाहरु हरबखत केहि केहि जान्न खोजिरहेका हुन्छन् । बुझ्न खोजिरहेका हुन्छन् । सकभर आफैं खोज्छन् उनीहरु आफ्ना प्रश्नका उत्तरहरु पनि । आफै रमाउँछन् त्यसमा । यो बौद्धिक समाज पनि भन्छ-‘उत्तर भन्दा प्रश्न महत्वपूर्ण हो ।’  तपाइँले कहिल्यै बच्चाको प्रश्नहरु सुन्नु भएको छ ? ती प्रश्नहरुको उत्तर दिने प्रयास गर्नुभएको छ ? सायद तपाई ती प्रश्नहरुको उत्तर दिँदा दिँदा हैरान हुने गर्नु भएको छ ।

कति सुन्दर प्रश्नहरु गर्छन् उनीहरु । र, कति कुरूप उत्तर दिन्छौं हामी ।

आकाश किन निलो छ ? – किनकि भगवान विष्णु आकाशमा बस्नुहुन्छ ।

भगवान विष्णु को हुनुहुन्छ ? – उहाँ भगवान हो । ठुलो भगवान ।

ठुलो भनेको के हो ? – राम्रो पढ्नु । ज्ञानी बन्नु । बुद्धिमानी हुनु ।

बुद्धिमानी भएसी के हुन्छ ?  – राम्रो हुन्छ । तिम्लाई सबैले माया गर्छन् ।

आकाशलाई पनि सबैले माया गर्छन ?  – हँ ? (हामी अकमक्कीन्छौँ )

भन्नु न आकाशलाई सबैले माया गर्छन ? – गर्छन् ! (हामी यहाँ आइपुगेर थाक्छौँ )

अग्ला-अग्ला घरहरु बनाएर आकाश घटाईरहेका हामीहरुले कहिले पो आकाशलाई माया गर्यौ ? ठुल-ठुला फ्याक्ट्री खोल्यौं । सवारी साधान चलाइरहेका छौं । मिसाइल, क्षेप्यास्त्र उडाएर आकाश प्वाल पारिरेहका छौं । हामीले कहिल्यै सोचेनौ कि आकाशलाई माया गर्न सकिन्छ । हामीलाई थाहै पनि छैन कि आकाशलाई माया गर्नुपर्छ । हेर्नुहोस् त बच्चाहरु ! बच्चाहरु बाच्न सिकाउँछन् यार ।

कुनै पनि घरमा बच्चा छ भने त्यो घर सधैं हास्छ । भन्न सकिन्छ- बच्चा घरको हाँसो हो ।

कुनै पनि समाजमा बच्चाहरु  छन् भने त्यो समाज सधै मगमगाउँछ  । भन्न सकिन्छ – बच्चाहरु समाजको लागि एक सुन्दर बगैंचा हुन् ।

बच्चाहरु हामीलाई प्रश्न गर्छन् । तर उत्तर आफै दिन्छन । उनीहरुले हामीलाई सिकाउँछन् – बाच्नु भनेको के हो ? जीवन के हो ? सत्य के हो ?  जीवनको रहस्य के हो ? जीवनको सार के हो ?

जस्तै केहि प्रश्नहरु अझ हेरौं:

चराहरु किन उड्छन् ?

खोला किन बग्छ ?

फुल राम्रो किन भएको ?

रातको किन आफ्नो छायाँ हुदैन ?

बत्ति किन उज्यालो बल्छ ?

भात किन खानुपर्छ ?

यो कुकुर कसको हो ? त्यो गाइ कसले छोडेको नि  ?

यो परेवा किन उडेको ?

अह, हामीसँग यी कुनै प्रश्नको जवाफ छैन ।

बच्चाहरु जब धुलोमा खेल्छन् । धुलोको घर बनाउँछन् । धुलैको संसार निर्माण गर्छन् । तर उनीहरु किन्चित डराउदैनन् कि हावा चल्छ, हुरी आउँछ, अनि उनीहरुको घर लड्छ । कति निडर छन् यी बच्चाहरु ।

बच्चाहरु जब पत्कर सोहोर्छन् । त्यसैमाथि पल्टिन्छन् । न उनीहरुलाई टोक्न बिच्छी आउँछ । न उनीहरुलाई डस्न सर्प आयो ।.. कुन हदसम्म आत्मविश्वासी छन् बच्चाहरु ।

हामी नाङ्गै जन्मिएका हौँ । नाङ्गो  भएरै मर्नु छ । तर अहिले ? अहिले हामी छोपिएका छौं । लुकाईरहेका छौं- आफूलाई आफैद्वारा । यसैकारण च्यातिएका छौं । उध्रिएका छौं । तर बच्चाहरु ? कति नाङ्गो छन् उनीहरु । न लाज छ । न इर्ष्या । न कुनै उत्कण्ठा । न कुनै नैराश्यता ।

के हामीलाई थाहा छ ? पृथ्वी पनि नाङ्गो छ । आकाश नाङ्गो छ । प्रकृति नाङ्गो छ । हिमाल नाङ्गो भएरै त्यति सुन्दर छ । नदि नाङ्गो हुँदा नै वेगवान हुन्छ । फुल लाज नमानी फुल्छ – यसैले सुन्दर छ । रुखबिरुवा, किटपतंग, पशुपंक्षी, सबै नाङ्गा छन् । यसैले मधुरसयुक्त छन् ती । सुन्दर छन् ती ।

र, यी सबैसबै भन्दा पनि सुन्दर र नाङ्गा छन्-बच्चाहरु ।

एकअर्कासँग कति रुष्ट छौं हामी यहाँ । एकर्कालाई देखि सक्देनौं ।  जिन्दगिसँग पनि कम्ता गुनासाहरु छैनन् हाम्रा। हामी यी बच्चाहरु हासेको देख्न सक्देनौं । उनीहरु रमाएको हामीलाई पाच्य छैन । उनीहरुको अबोधपनालाई हामी अज्ञानता भनिदिन्छौं । उनीहरुको निश्छलता प्रति हाम्रो कुनै सम्मान छैन ।..साच्चै ! हामीलाई के भएको छ ? के जिन्दगि यति अप्ठ्यारो छ ? दुनियाँ यति कुरूप छ ? जहाँ दुई ओठहरुले  मन देखि खित्का छाड्न सक्दैनन् ?

हो, कहिलेकाही पाउमा ठेस लाग्छ । खोच्चाउदै हिड्न पर्छ । कहिलेकाही टाउकोमा ठेस लाग्छ(टुटिलो उठ्छ) । टाउको मुसार्दै हिड्नुपर्छ । कहिलेकाहीँ दिलमा ठेस लाग्छ । तर बाच्न त पर्छ नै यार ।

यो दुनियाँ हो । धेरै सुन्दर – दुनियाँ । दिस इज दि लक्की प्लानेट यार । यहाँ बाहेक कहा मानिस छन् ? यहाँ बाहेक कहाँ जीवन सम्भव छ ? होलान, जटिल हुनुपर्ने कारणहरु धेरै होलान्- जिन्दगीमा । तर सरल हुनुपर्ने कारणहरु पनि त प्रशस्तै छन् यहाँ ।

कारणहरु भेटिएन ?  आफू वरपरका बच्चालाई हेरौं । बच्चाहरु हासीरहेका होलान ।  बच्चाहरु खेलीरहेका होलान । बच्चाहरु रमाईरहेका होलान् । उनीहरु माटोको घर बनाउँदै होलान । रुखका पातहरुको ओछ्यान लगाउँदै होलान । बादलहरुलाई औंलाले मिलाएर यताबाट उटा, उताबाट यता गर्दै होलान ।  जाऔं, उनीहरुसँगै हासौं । उनीहरुसँगै बाचौं ।…सबै थोक बिर्सेर केहि समय त बच्चा बनौँ यार । एउटा लामो सास ढुक्कले निलौं । एउटा गहिरो रूहाई रोयौं । एउटा लामो हाँसो जोडसँग हासौं ।

कहाँसम्म नै पो पुग्नु छ र ? यहि रोकिउ केहि क्षण । थकाई मारौं एकछिन । टुसुक्क बिसाउ मन । अनि सरर चिसो हावा चलोस । हृदय कामोस न एक राउण्ड । लुग..लुग्..!

“ए अबोध अनुहारहरु ! तिमीहरुले बाच्न जानेका छौं यार । सधै यसैगरि बाचीरह्यो ।”

अ, यार । यी बाटोहरु खुब हतारिएका छन् ।  हतारमा यी बाटोहरु होलान । जाउन् यार । हामी त फुर्सदमा छौं नि है ?”

( ती अबोध अनुहारहरु फेरी एक फेर हासीदिन्छन् ।)

 

फोटोः अनुसन्धान पोखरेल

शब्द: राजु झल्लु प्रसाद

प्रतिक्रिया दिनुहोस्