Logo

पर्वतमा नयाँ नियम लागु हुने, १८ वर्ष मुनिकाले मदिरा खरिद गर्न नपाउने



Spread the love

१६ साउन, पर्वत । पर्वत  जिल्लामा मदिरा खरिद विक्री प्रक्रिया व्यवस्थित हुन लागेको छ । मदिराकै कारण जिल्लामा गैरकानुनी क्रियाकलाप बढ्दै गएपछि बुधवार जिल्ला प्रशासन कार्यालयमा बसेको उद्योगी, व्यापारी, होटेल व्यवसायी, मदिरा व्यवसायी, प्रमुख जिल्ला अधिकारीलगायत सरकारी निकायका पदाधिकारीको बैठकले मदिरा बिक्री वितरणलाई व्यवस्थित गर्ने निर्णय गरेको हो ।

“१८ वर्ष नपुगेकालाई मदिरा बेच्न नपाउने र  खुद्रा मदिरा बिक्रेताले साँझ ५ बजेपछि राति १० बजेसम्म मात्र मदिरा बेच्न पाउने,त्यसअघिपछि बेच्न नपाइने” निर्णय भएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताईन । उनका अनुसार कात्तिक १५ देखि माघ १५ गते सम्म राति ९ बजेसम्म र माघ १६ देखि कात्तिक १४ गतेसम्म राती १० बजेसम्म मात्र होटेल सञ्चालन गर्ने पाइनेछ ।

अन्तःशुल्कको स्टिकर नलगाइएका मदिरा बिक्री वितरणमा रोक लगाइने र यसलाई कडाइका साथ कार्यान्वयन गरिने भएको छ । त्यस्तै बजार अनुगमन समितिमा होटेल व्यवसायी सङ्घ र मदिरा व्यवसायी सङ्घका एक/एक सदस्यलाई मनोनीत गरिने भएको छ ।बैठकमा प्रत्येक होटेल व्यवसायीले अनिवार्यरुपमा सिसी क्यामेरा जडान गर्नुपर्ने र सोको जानकारी जिल्ला प्रशासन कार्यालयलाई दिनुपर्ने तथा होटेलमा बास बस्न आउने पाहुनाको यथार्थ विवरण राख्ने निर्णय पनि गरिएको छ । बैठकले गरेका निर्णयलाई तदारुकताका साथ कार्यान्वयन गर्नुपर्ने र निर्णय कार्यान्वयन नगर्नेलाई नियमानुसार कारबाही गरिने पनि प्रजिअ नेपालले जानकारी दिइन् ।

यो नियम सदरमुकाममा मात्र नभई ग्रामीण क्षेत्रका पसलहरुमा पनि लागु हुने प्रहरी उपरीक्षक श्यामु अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्