Logo

आज दुर्घटनामा ज्यान गुमाउनेहरू….



Spread the love

१६ साउन, काठमाडाैँ – आज देशभर विभिन्न प्रकृतिका दुर्घटनामा मानिसहरूले ज्यान गुमाए । कतै सडक दुर्घटना तथा कतै अन्य कारणले मानिसहरू मृत्युको शिकार भए । आज देशभर मानिसका मृत्यु हुनेगरी घटेका घटनाहरू यस्ता छन्ः

मकवानपुर
मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भयो । हेटौँडाको बसामाडीमा मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार सौरभ सुवेदी तथा अस्मित सुनारको मृत्यु भएको हो ।

हेटौँडाबाट बसामाडीतर्फ जाँदै गरेको ना३८प ५३३२ नंको मोटरसाइकल र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख १५०० नंको ट्रक महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा–३ बसामाडीमा एकापसमा ठोक्किएको थियो । दुर्घटनामा घाइते भएका उनीहरूको उपाचारका क्रममा ज्यान गएको हो ।

भक्तपुर

भक्तपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । चाँगुनारायण नगरपालिका–८ चरेलीमा गएराति कमलविनायकबाट नगरकोटतर्फ जाँदै गरेको बा १० च ४०२६ नंको बोलेरो गाडी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

मध्यपुरथिमि–३ गठ्ठाघरमा भक्तपुरबाट काठमाडाँैतर्फ जाँदै गरेको ना६त ८६८ नंको ट्र्याक्टरमा सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३–०२–००३ प ५५२९ नंको माटरसाइकल पछाडिबाट ठक्कर खाँदा एकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । । रामेछाप सुनापाती गापा–३ घर भएका २९ वर्षीय रोमन तामाङको ट्रमा सेन्टर काठमाडौँ उपचारका क्रममा मृत्यु भएको प्रनाउ रेवतीरमण पोखरेलले जानकारी दिए ।

हुम्ला

हुम्लाको सर्केगाड स्वास्थ्यचौकीमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान प्रसूतिका लागि सर्केगाड स्वास्थ्यचौकीमा भर्ना भएकी वडा नं ४ साँयागाउँ निवासी २० वर्षीया अनरुपा टमटाको बिहान १० बजे मृत्यु हो । टमटालाई सुत्केरी व्यथा लागेपछि बुधबार बिहान ४ बजे प्रसूतिगृहमा ल्याइए पनि दुर्गम क्षेत्रमा उपकरण नहुँदा मृत्यु भएको स्वास्थ्यचौकी प्रमुख देवेन्द्रवीर मगियाले जानकारी दिए । सुत्केरी व्यथा लागेसँगै उनलाइ स्वास्थ्यचौकीमा पुर्याइए पनि बच्चा जन्माउन नसक्दा आमा र पेटभित्र रहेको बच्चा दुवैको मृत्यु भएको प्रमुख मगियाले जानकारी दिए ।

मोबाइलले लियो किशोरको ज्यान

मोरङको लेटाङ नगरपालिका–३ स्थित त्रिशूली चोकमा चार्ज गरिरहेको मोबाइल चलाउँदा करेन्ट लागेर एक बालकको आज मृत्यु भएको छ ।

प्रहरी कार्यालय विराटनगरको जानकारी अनुसार पदमबहादुर राईका १५ वर्षीय छोरा सौजन राईको आज ओछ्यानमा चार्जमा राखेको मोबाइलमा गेम खेल्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्