Logo

सिनेमामा विचार



केशब गजुरेल

श्यामश्वेत पर्दा भित्र सलबलाउने विचित्रका रङ्गिन पात्रहरू हेर्दा मलाई अचम्म लाग्थ्यो। लाग्थ्यो – कसरी त्यहाँ भित्र छिरे ती मानिस। बिस्तारै त्यो कौतूहल र सिनेमाको प्यास बढ्दै गयो सँगै मेरो उमेर पनि। सिनेमा कसरी बन्छ? त्यहाँ भित्र मानव जाति कसरी छिर्छन्? छिनको छिनमै कपडा कसरी फेर्छन्? भन्ने कुराको छट्पटाहट र प्यास बोकेरै मैले एस.एल.सी हुँदै प्लस टु सके। त्यो छट्पटाहटको भुमरीमा उड्दै उड्दै म ब्याचलरको लागि ओस्कार ईन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज) मा भर्ना हुन पुगे। कलेज पढ्दै गर्दा विश्व सिनेमा जगतका बारेमा अध्ययन हुँदै गयो। सिनेमाको बारेमा अरूका सिनेमा हेर्दै बिस्तारै आफ्नै दृष्टिकोण बन्दै गयो।

सिनेमामा भनेको विचारसँग सम्बन्धित एउटा विराट विषय हो। त्यसैले यसमा फरक फरक मानिस बिच फरक फरक धारण हुने गर्छ। मेरो बिचारमा, एउटा सिनेमा कलेजबाट स्नातकोत्तर हासिल गरेको विद्यार्थीको रूपमा भन्नु पर्दा सिनेमा एउटा विचार सम्प्रेषण गर्ने माध्यम हो। सिनेमामा विचार नै अर्थपूर्ण हुन्छ।

मुलत: साहित्यमा विचार भाषा द्वारा, अक्षर द्वारा सम्प्रेषण हुन्छ। यही कुरा सिनेमामा पनि लागु हुन्छ तर यसो भनिरहँदा सिनेमा र साहित्य एकै हुन् भन्न खोजेको चैँ होइन। मानिसहरू भन्ने गर्छन् कि सिनेमा पनि साहित्य हो तर मलाई त्यस्तो लाग्दैन। हो सिनेमा र साहित्य एकअर्कामा सम्बन्धित विषय (इन्टर कनेक्टेड) हुन्। तर विधा फरक छ। शैली फरक छ। साहित्यमा भाषाद्वारा विचार व्यक्त गर्दा विशिष्ट अभिव्यक्ति हुन्छ तर सिनेमामा भाषासँगै भिज्युल ल्याङ्गोयज जोडिएर आउँछ।

सिनेमा किन बनाइन्छ? यस प्रश्नसँगै विचार र दृष्टिकोण जोडिन्छ। दृष्टिकोण अर्थात् संसार जगतलाई हेर्ने आँखा हो। यसमा प्रस्ट हुँदा विचार जोडिन्छ। त्यसैले जीवन जगतलाई खोतल्ने र दृष्टिकोणमा स्पष्ट हुने क्रममा सिनेमामा विचार स्वतः आउने गर्छ। भौतिकवाद र आध्यात्मिकवाद दुई विपरीत धुर्वका दृष्टिकोण सिनेमासँग जोडिन्छ।

सिनेमाको सिर्जनाक्षेत्रको चयन विचारको रोजाई हो। वास्तवमा सिनेमामा विचार नै प्रगाढ हुन्छ। सिनेमामा निर्देशक वा लेखक बाँचेको युग र समाज प्रतिविम्ब हुँदा नै सिनेमाको सिनेत्वको ऊर्जा उच्च हुन्छ। युगको मर्ममा, समाजको खुसीमा लेखक/ निर्देशकको देश र अन्तरक्रिया नै सिनेमा प्रस्फुटन हो। सामाजिक अभ्यास र द्वन्द्वको गहिराइमा सिनेमाको अर्थ घनिभूत हुन्छ। युगको अस्तिस्त्व र गति अभिव्यक्त गर्न सक्ने निर्देशक नै प्रतिभाशाली निर्देशक हो र उसले युग र समाजलाई विचारमा उत्प्रेरित गर्छ सिनेमाको माध्यमबाट।

निर्देशक र सिनेमा गतिशील विचारको पक्षपाती हुन्छ। यथास्थितिको जडतामा ठिङ्ग्रिएको सिनेमा मूल्यहीन हुन्छ।

सिनेमा क्षेत्रमा भएको अन्धकारको विरुद्ध जुझारु भएर उज्यालोको पक्षमा मत जाहेर गरेर

सिनेमा क्षेत्रलाई उज्यालो बनाउने सिनेमाको विचार वास्तवमा सर्वोत्कृष्ट हुन्छ।

निर्देशक र सिनेमा गतिशील विचारको पक्षपाती हुन्छ। यथास्थितिको जडतामा ठिङ्ग्रिएको सिनेमा मूल्यहीन हुन्छ। सिनेमा क्षेत्रमा भएको अन्धकारको विरुद्ध जुझारु भएर उज्यालोको पक्षमा मत जाहेर गरेर सिनेमा क्षेत्रलाई उज्यालो बनाउने सिनेमाको विचार वास्तवमा सर्वोत्कृष्ट हुन्छ। सिनेमामा दृश्य र ध्वनीको खेल हुन्छ। यो चयन क्षमता र प्रविधिको निपूर्णता हो।

प्रविधि कलात्मक हुनु सिनेमाकै विशेषता भएकाले सिनेमामा पनि प्रविधिको कलात्मक गुम्फन हुन्छ। दृश्य भाषाको खेल भित्र बिम्ब, प्रतीक र अलङ्कार विशिष्टता झल्कन्छ। त्यो विशिष्टता सिनेमाको सुन्दर पक्ष हो। कतिले यही सौन्दर्यमा सिनेमाको अर्थ भेट्छन् तर विचारको जलप नलगाई यो सौन्दर्य चम्किलो बन्दैन। यसमा निर्देशक प्रस्तुतिको बाटो खोज्छ। अनि त्यस बाटामा सम्पूर्ण सिनेमा हिँड्छ। निर्देशकको प्रतिभाको नौलोपन यसमा सहजै देखिन्छ।

सिनेमाको पनि आफ्नै लय हुन्छ। जस्तो कवितामा हुन्छ। त्यो लय भनेको विचार सँगै जोडिएको हान्छ। निर्देशकको विचारसँग। असल बिचारलाई कुशल प्रविधिमा व्यक्त गर्दा सम्प्रेषणको प्रभाव पर्छ। फास्ट कटिङ सिनेमा होस् वा स्लो पेसको सिनेमा होस् त्यो सिनेमाको लयमा लयात्मक सौन्दर्यको खोजी निर्देशकको विचारले नै गर्छ। सिनेमाको आवश्यक तत्त्व हो तर यो नै प्रधान भने हैन। वास्तवमा कुशल र असल निर्देशकले नयाँ लयको सिनेमा जन्माउँछ र सिने युगको नेतृत्व गर्छ।

बुद्धि पक्ष हार्दिकतामा घुलित हुँदा नै सिनेमाले छुन्छ। यस किसिमको सम्बल समाजबाटै लिनुपर्छ। समाजको वर्तमानिक द्वन्द्व नै आजको सिनेमा हो। वर्तमानबाट भागेर, तर्सेर र प्रतिगामी भएर आजको सिनेमा लेखिँदैन र बनाईदैन। आफ्नो उपस्थिति भेडा भेडाको द्वन्द्वमा सीमित पार्नाले सिनेमा विचारबाट टाढिन्छ। यस किसिमको टढाइसँगै तटस्थताका नाममा अमूर्त पक्ष आउँछ र भावात्मक आवेग खज्मजिन्छ। यसले सिनेमाको वैचारिक तीव्रता र उत्कृष्टतामा प्रभाव पार्छ। सिनेमा जीवनजस्तै व्यापक र विविधताले भरिएको तर्क भित्र विचारको विविधता आउने तर्क जन्मन सक्छ।

मेरो विचारमा विषयगत विविधता भनेको वैचारिक विविधता होइन। प्रेम, सङ्घर्ष, मर्म, गरिबी र शोषण आदिको अनुभूतिमा जीवनको विविधता सिनेमामा आउनु स्वाभाविक नै हो।

सिनेमा विचारको यात्रा हो। निर्देशक सिनेमाको संसारमा हराउँदाको लहड मात्र नभएर

यथार्थको बोध गर्ने अभ्यास पनि हो।

निर्देशक अल्लारेपनबाट जति जवान बन्छ त्यति नै वैचारिकतामा उच्च हुन्छ।

सिनेमा विचारको यात्रा हो। निर्देशक सिनेमाको संसारमा हराउँदाको लहड मात्र नभएर यथार्थको बोध गर्ने अभ्यास पनि हो। निर्देशक अल्लारेपनबाट जति जवान बन्छ त्यति नै वैचारिकतामा उच्च हुन्छ। सिनेमाको उचाइ वैचारिकतामा नै उच्च हुन्छ। सिनेमा आफैमा राम्रो वा नराम्रो हुँदैन। दर्शकका स्वादमा भर पर्छ। एउटालाई मन परेको सिनेमा अर्कोलाई मन नपर्न पनि सक्छ। तर चाहे दर्शकलाई राम्रो लागोस् या नलागोस सिनेमामा विचार चैँ हुनुपर्छ। विचार बिनाको सिनेमा खोक्रो आदर्श छाँटेको जस्तै हुन्छ।

०००

०००

समाजमा सकारात्मक परिवर्तनको लागि हरदम तत्पर माउण्ट बुद्ध मिडियाद्वारा सञ्चालित सल्लेरी खबर डट कम सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्