Logo

प्रधानमन्त्री देउवाको भारत भ्रमणको तयारी सुरु : मिति तोक्न यस्तो दुविधा



Spread the love

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमण नेपाल-भारतबीच विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन समीक्षामा केन्द्रित हुने भएको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । ं परराष्ट्र मन्त्रालय अधिकारीका अनुसार विगतमा भएका सन्धि-सम्झौताको कार्यान्वयन समीक्षा र द्विपक्षीय संयन्त्रलाई सक्रिय बनाउने विषयमा भ्रमणमा छलफल हुनेछ । देउवा अगस्ट तेस्रो साता भारत जाने भनिए पनि ठोस मिति तय भइनसकेको अधिकारीहरू बताउँछन् । भ्रमणका एजेन्डाबारे छलफल गर्न यही साता परराष्ट्र, अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय र भौतिक योजना मन्त्रालयका अधिकारीहरूको बैठक बसेको थियो ।

भ्रमणका एजेन्डा
‘कुन-कुन विषय भ्रमणमा प्राथमिकता दिने भन्नेबारे सामान्य छलफल भएको छ’, बैठकमा सहभागी अर्का एक अधिकारीले भने, ‘भ्रमणका एजेन्डा तय भइसकेका छैनन् ।’ ती अधिकारीका अनुसार भारतीय लगानीमा नेपालमा सञ्चालित परियोजनामा देखिएका समस्या, द्विपक्षीय परियोजना कार्यान्वयनमा आएका समस्यालगायतबारे पनि बैठकमा चर्चा भएको थियो । भारत-नेपालबीच ‘पेन्डिङ’ रहेका परियोजनालाई प्रधानमन्त्रीको भ्रमणमा टुंग्याउन सकिने विषयमा छलफल भए पनि निष्कर्ष निस्केको छैन ।

भ्रमणमा उठाउने मुद्दा
भारतले नेपालको पुनर्निर्माणका लागि वाचा गरेको एक अर्ब अमेरिकी डलर सहायताको परिचालन हुन नसकेको, भारतीय सहयोगमा बन्ने भनिएको नेपाल प्रहरी एकेडेमी बन्न नसकेको, पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार हुन नसकेकोलगायत मुद्दा नेपालले प्रधानमन्त्रीको भ्रमणमा उठाउने अधिकारीहरू बताउँछन् ।

विवादास्पद हैन, सद्भावना भ्रमण
प्रधानमन्त्री देउवा यसपटकको भ्रमण विवादित नबनोस् भन्नेमा सचेत देखिएको सरकारी अधिकारीले बताए । ‘प्रधानमन्त्री आफ्नो भ्रमणमा कुनै पनि विवादास्पद विषयमा सहमति र सम्झौता गर्ने पक्षमा हुनुहुन्न । उहाँले सद्भावना भ्रमण बनाउन निर्देशन दिनुभएको छ’, भ्रमणबारे जानकार एक सरकारी अधिकारीले भने । मुख्यसचिव राजेन्द्र क्षत्रीले परराष्ट्रका वरिष्ठ अधिकारीहरूसँग यही सता भ्रमण तयारीबारे छलफल गरेका थिए ।

भ्रमण मिति​
देउवाका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराईले प्रधानमन्त्रीको भ्रमण तयारी अघि बढेको बताए । ‘तर भ्रमणको यकिन मिति तय भइसकेको छैन । कूटनीतिक च्यानलबाट चाँडै तय हुनेछ’, उनले भने । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको आसन्न नेपाल भ्रमणअघि प्रधानमन्त्रीको भ्रमण गर्ने या पछि गर्ने भन्ने द्विविधाबीच तयारी अघि बढाइएको अधिकारीहरू बताउँछन् । स्वराज क्षेत्रीय संगठन बिमस्टेकको विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिन अगस्ट १० र ११ मा नेपाल आउने तयारीमा छिन् ।

प्रतिक्रिया दिनुहोस्