Logo

बार्सिलोनासँग जोडिएको ग्याम्पर कप, इतिहासदेखि अहिलेसम्म…



Spread the love

१७ साउन, काठमाडाैँ – फुटबल लगायत अन्य खेलहरूको राजधानी हो युरोप । विभिन्न खेलहरू अत्यधिक मात्रामा नै खेलिने  भएता पनि युरोपमा फुटबल लोकप्रिय छ । वर्षभरी विभिन्न देशमा हुने फुटबल प्रतियोगिताहरू नै हुन् युरोपका विशेषता । दिनमा सदाबहार व्यस्त देखिने युरोपियनहरूको रात्रि भने फुटबलका स्टेडियमले रंगीन बनाउँदै विश्राम दिएका हुन्छन् । युरोपका विभिन्न देशमा अगस्टको दोश्रो साताबाट करीब ९ महिनासम्म निरन्तर फुटबल प्रतियोगिता चल्ने गर्दछ । सोही कारणले अहिले युरोपियन क्लबहरू आफ्नो योग्यताको परीक्षण स्वरूप खेलिने मैत्रिपूर्ण खेलहरूमा व्यस्त छन् ।

युरोपका अन्य क्लबहरू जस्तै स्पेनिस बार्सिलोना पनि आफ्नो योग्यताको परीक्षण स्वरूप जापानमा २ खेल खेलेर स्पेन फर्किसकेको छ । जापानमा खेलेकामध्ये इंग्लिस क्लब चेल्सीसँग हारेको बार्सिलोना जापानिज भिसेल कोबेविरूद्ध जित निकाल्दै स्पेन फर्केर अर्को खेलका लागि तयारीमा जुटेको छ । बार्सिलोनाले अब जोन ग्याम्पर कप अन्तर्गत इंग्लिस क्लब आर्सनलसँग प्रतिस्पर्धा गर्दैछ । जुन खेलको मिति अगस्ट ४ तारिखलाई तय भएको छ ।

केहो ग्याम्पर कप ?

ग्याम्पर कपको पुरा नाम जोन ग्याम्पर ट्रफि हो । यो खेल बार्सिलोनाको घरेलु मैदानमा हरेक वर्ष स्पेनिस ला लिगा शुरू हुनुभन्दा अगाडी तर अगस्टमै आयोजना हुन्छ । यो ट्रफिको नाम भने बार्सिलोना क्लबका संस्थागत सदस्य जोन ग्याम्परको सम्मान स्वरूप राखिएको हो । उनै ग्याम्पर पछि गएर बार्सिलोनाका अध्यक्ष समेत भएका थिए ।

कहिलेदेखि सुरू भयो ग्याम्पर कप ?

सन् १९६६ जोन ग्याम्पर कपको नाम दिइएर बार्सिलोनाको घरेलु मैदानमा यो खेल खेलाउन थालिएको हो । यस कपका संस्थापक भने एन्रिक लाउडेट हुन् । लाउडेट पनि बार्सिलोना क्लबमा संस्थापक सदस्य मध्येका एक थिए । उनी जोन ग्याम्परका साथि अथवा सहकर्मी भएको नाताले संस्थापक सदस्यको सम्मान र उनले क्लबमा पाएको सफलताको झझल्को वर्षेनी युरोपमा झल्कियोस् भनेर यो कप आयोजनाको सुरूवात गरेका थिए ।

विजेताले पाउने ट्रफि कस्तो हुन्छ ?

जोन ग्याम्पर कपको विजेताले कुल ८ सय ग्राम तौल भएको ट्रफि प्राप्त गर्दछ । जसमा निर्मित धेरै हिस्सा चाँदीको हुन्छ । यसको माथिल्लो भागमा केही मात्रामा सुनको समेत प्रयोग गरिएको हुन्छ । यो ट्रफिको तल्लो भाग भने कास(शिशा)द्वारा निर्मित हुन्छ ।

कस्तो छ ग्याम्पर कपको इतिहास ?

ग्याम्पर कप सुरू भएको ३१ वर्ष अर्थात् सन् १९९७ सम्म यस प्रतियोगितामा ४ टोलीको सहभागिता रहने गर्थ्यो । तर, १९९७ पछि प्रतियोगितामा २ टोलीलाई मात्रै समावेश गर्न थालियो । यसको कारण भने समयको अभाव तथा अरू क्लबहरूको लिग सुरूवातको समय भनेर बताइन्छ । यस प्रतियोगितामा विशेषतः स्पेन बाहिरका टोलीलाई आमन्त्रण गरिन्छ । तर, स्पेनिस क्लबहरूले नै पनि बार्सिलोनासँग ग्याम्पर कपमा प्रतिस्पर्धा गरेका छन् । स्पेनिस क्लबमा भ्यालेन्सिया र एथ्लेटिको मड्रिडले यो प्रतिस्पर्धामा सहभागिता जनाएका छन् ।

ग्याम्पर कपको पहिलो विजेता क्लब बार्सिलोना नै हो । उसले जर्मन क्लब एफसि कोल्नलाई ३–१ ले पराजित गर्दै उपाधिमा कब्जा जमाएको थियो । बार्सिलोनाले जोन ग्याम्पर कपमा पहिलो पराजय १९७० मा डाइनामिक मस्कोसँग व्यहोरेको थियो । ५४ औँ पटक लगातार प्रतिस्पर्धा गरेको बार्सिलोना यो कपको सर्वा्धिक सफल टोली हो । बार्सिलोनाले ४१ पटक यो उपाधि जितेको छ । पछिल्लो समय बार्सिलोना ग्याम्पर कपमा २०१२ मा साम्पडोरीयासँग १–० गोलले पराजित भएको थियो ।

ग्याम्पर कपमा उच्च गोलकर्ता र ठूलो गोल अन्तरको जित

जोन ग्याम्पर कपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी अर्जे्न्टिना तथा बार्सिलोनाका वर्तमान कप्तान लियोनल मेसी हुन् । उनले यस प्रतियोगितामा ९ गोल गरेका छन् । मेसी कै नाममा ग्याम्पर कपमा अर्को रेकर्ड पनि छ । मेसी ग्याम्पर कपमा लगातार ५ सिजन गोल गर्ने एक्ला खेलाडी हुन् । मेसीले यस प्रतियोगितामा २०१३ देखि लगातार गोल गरिरहेका छन् । मेसीभन्दा पछि यस प्रतियोगितामा धेरै गोल गर्ने खेलाडी जुआन म्यानुएल एसेन्सी, सिकी बेगिरिस्टेन र ह्रिस्टो स्टचकोभ हुन् । उनीहरू सबैले समान ७र७ गोल गरेका छन् । उनीहरू सबै बार्सिलोनाकै खेलाडी समेत हुन् ।

ग्याम्पर कपमा अहिलेसम्म कै सबैभन्दा ठुलो गोल अन्तरको नतिजा २०१३ मा निस्किएको थियो । ब्राजिलियन क्लब सान्तोष विरूद्ध बार्सिलोनाले ८–० गोल अन्तरको फराकिलो जित दर्ता गरेको थियो ।

यो सिजनको ग्याम्पर कप 

स्पेनिस बार्सिलोनाले यो सिजनको ग्याम्पर कपमा इंग्लिस क्लब आर्सनसँग प्रतिस्पर्धा गर्दैछ । बार्सिलोनाको घरेलु मैदानमा हुने यो खेल अगस्ट ४ तारिखमा हुनेछ । नेपाली समय अनुसार यो खेल ११ः ४५ मा सुरू हुनेछ । आर्सनलको यो ग्याम्पर कपमा दोश्रो सहभागिता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्