Logo

भगवान शिवको आँसु हो रुद्राक्ष ?



Spread the love

काठमाडौं । भगवान शिव तथा रुद्राक्ष एकअर्काको पर्याय हुन् । रुद्राक्षमा साक्षात् भगवान शिवको वास हुने गर्दछ । यो संस्कृतको ‘रुद्र र अक्ष’ बाट बनेको हो । शाब्दिक अर्थमा यो भगवान शिवको अश्रु जलबिन्दु मानिन्छ । नेपाली शब्दसागर शब्दकोषमा रुद्राक्ष शब्दलाई “लामा-लामा हरिया केशर हाँगामा-फूल सेता हुने स्याउले एक ठूलो जातको रुख र त्यसैको साना ओखर वा तिमिला खाले काँडे फल” भनेर परिभाषित गरिएको छ ।

रुद्राक्षको उत्पत्तिका बारेमा पौराणिक कथा अनुसार भगवान शिवले महाबली दैत्य सुरलाई नाश गर्न लामो समयसम्म चिन्तन गरी आँखा खोल्दा शिवको सूर्यमुखी आँखाबाट बगेको आँसुका थोपा निस्की विभिन्न ठाउँमा छरिन गए । यिनै छरिएका आँसुका थोपा वृक्षमा परिणत हुन गएकाले शिवका आँसुका उपजलाई रुद्राक्ष वृक्षहरू भनेर नामाकरण गरियो ।

‘रुद्राक्ष रहस्य’ नामक पुस्तकका अनुसार रुद्राक्ष २७ मुखीसम्म हुन्छ भनेका छन् भने हालैको खोजअनुसार संसारभरि ३८ मुखीसम्म रुद्राक्ष पाइएको खोजकर्ताले बताएका छन् तर सामान्यतः १ देखि १४ मुखीसम्म मात्र सर्वसुलभ उपलब्ध हुन्छन् । एकमुखी र नौ मुखीदेखि १४ मुखी रुद्राक्ष निकै दुलर्भ मानिन्छ । हरेक रुद्राक्षमा कुनै न कुनै अधिष्ठाता ग्रह तथा देवताको वास हुने जनविश्वास रही आएको छ ।

धा‍र्मिक विश्वाश अनुसार एकमुखी रुद्राक्ष भगवान शिव, द्विमुखी श्री गौरी-शंकर, त्रिमुखी तेजोमय अग्नि, चतुर्थमुखी श्री पंचदेव, षष्ठमुखी भगवान कार्तिकेय, सप्तमुखी प्रभु अनन्त, अष्टमुखी भगवान श्री गणेश, नवममुखी भगवती देवी दुर्गा, दसमुखी श्री हरि विष्णु, तेह्रमुखी श्री इंद्र तथा चौधमुखी स्वयं हनुमानजीको रूप मानिन्छ । विभिन्न आकारका रुद्राक्ष धारणबाट फल पाइन्छ । अमला आकारको रुद्राक्ष धारण गर्दा सबै अरिष्ट नाश हुन्छ । बयर आकारका रुद्राक्षले सुख र सौभाग्य बढाउँछ । लालगेडी आकारको साना दाना भएको रुद्राक्षबाट सबै मनोरथ पूरा हुन्छन् भनिएको छ । रातो, कालो, सेतो र पहेँलो रङको पनि रुद्राक्ष हुने हुँदा कालो रङ्गको रुद्राक्ष सबैभन्दा राम्रो मानिन्छ । यस्तै जुन रुद्राक्षमा प्वाल नपारीकन धागो छिराउन सकिन्छ त्यो सबैभन्दा राम्रो र सर्वश्रेष्ठ मानिन्छन् ।

विज्ञहरुको  भनाई अनुसार रुद्राक्षको माला धारण गर्नाले मानिसको शरीरमा प्राणको नियमन भै कैयौ प्रकारका शारीरिक तथा मानसिक विकारबाट रक्षा हुने गर्दछ । यस्को माला लगाउनाले हृदयविकार तथा रक्तचाप आदि रोगहरुमा विशेष लाभ हुन्छ ।

आउनुहोस् जानौं कुन कुन रुद्राक्ष धारण गर्दा के-कस्ता फाइदाहरु हुनेछन् :

एकमुखे रुद्राक्ष

यसको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ । यसलाई शिवको प्रतीक मानिन्छ । अत्यन्तै दुर्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ । विश्वासीहरूका अनुसार, यसलाई धारण गरे सुखशान्ति, समृद्धि, ऐश्वर्य र बुद्धि मिल्छ । चरक संहितामा औषधीका रूपमा यसबारे उल्लेख भेटिन्छ । सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराणको रुद्राक्ष महात्म्यमा उल्लेख छ ।

लोकश्रुति अनुसार, एउटा बोटमा यस्तो रुद्राक्ष १२ वर्षमा तीनवटा मात्र फल्छन् । जसमध्ये एउटा आकाश र अर्को पातालमा जान्छ भने तेस्रोचाहिँ धर्तीमा रहन्छ । यो शिवरात्री, पूर्णिमा वा विशेष दिनमा मात्र प्राप्त हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।

द्विमुखी रुद्राक्ष

सबै प्रकारका कामनालाई पूरा गर्ने तथा दाम्पत्य जीवनमा सुख, शान्ति, एकाग्रता, यश प्रदान गर्ने ,अर्धनारीश्वरको रुपमा यसलाई धारण गर्ने गरिन्छ ।

द्वीमुखी रुद्राक्षले आँखाको खराबी, किड्नीको बिरामी एवं स्त्रीजन्य रोगलाई निर्मुल पार्दछ ।

त्रिमुखी रुद्राक्ष

यसलाई ब्रम्ह स्वरूप तथा देवता मंगलको रुपमा परिभाषित गरिएको छ । विभिन्न सरुवा  रोग, स्त्रीजन्य रोग निवारण गर्न त्रिमुखी रुद्राक्षको अहम भूमिका रहन्छ ।

यसलाई धारण गर्दा वास्तुदोष, आत्मविश्वास वृद्धि तथा ज्ञान एवं ऐश्वर्य प्राप्त हुने विश्वास गरिन्छ  ।

चतुर्थमुखी रुद्राक्ष

यसलाई देव ब्रम्हा तथा ग्रह बुधको रुपमा लिइन्छ । यसलाई धारण गर्दा सम्मोहन शक्ति प्राप्त हुने विश्वास गरिन्छ । चतुर्थमुखी रुद्राक्ष धारण गर्दा नाक, कान, घाँटी, दम लगायतको रोग निधान हुने बताइन्छ ।

धर्म, अर्थ काम तथा मोक्ष प्रदान गर्न पनि यस रुद्राक्षलाई धारण गर्नु हितकारी मानिन्छ ।

पञ्चमुखी रुद्राक्ष

यसमा भगवान रुद्र तथा बृहस्पतिको वास हुन्छ भन्ने जनविश्वास रहीआएको छ । यसलाई धारण गर्नाले मृगौला सम्बन्धि रोग,  डायबिटीज, मोटोपन, पोलियो जस्ता रोगहरुको निदान गर्दछ ।

सुख प्रदान गर्न ,सन्तान सुख प्राप्ति गर्न चाहनेहरुले  पञ्चमुखी रुद्राक्ष धारण गर्नु हितकर मानिन्छ ।

षष्ठमुखी रुद्राक्ष
यसको अधिष्ठाता भगवान गणेश एवं कार्तिकेय हुन् । यसको  ग्रह देवता शुक्र हो । यसलाई धारण गर्नाले दाद, कोढ, नपुंसकता, पत्थरी, किडनी तथा मूत्र रोग निवारण हुने आमविश्वास रहेको छ ।

पापहरुवाट मुक्ति तथा सन्तान सुख प्रदान गर्नका लागि षष्ठमुखी रुद्राक्ष धारण गर्नु हितकर मानिन्छ ।

सप्तमुखी रुद्राक्ष
यसमा सप्त नागको वास रहन्छ। यसको सप्त ऋषि तथा अनंग देवता अधिष्ठाता हुन् । यसमा  ग्रह शनि विराजमान रहन्छन् । शारीरिक दुर्बलता,  चिन्ता, हड्डी सम्बन्धि रोग, क्यान्सर अस्थामा, एवं मानिसिक कमजोरीको निदानका लागि यसलाई धारण गर्नु फलदायी रहनेछ ।

दरिद्रता हटाउने  शनिश्वरको स्वरुपमा सप्तमुखी रुद्राक्षको वर्णन गरिएको भेटिन्छ।

अष्टमुखी रुद्राक्ष
यसमा कार्तिकेय, गणेश, अष्टमातृका, अष्ट वासुको वास रहन्छ। यसको ग्रह राहु हो । यसलाई धारण गर्दा अशान्ती, सर्पभय, चर्म रोग, गुप्त रोग आदि निर्मुल हुनेछ।

अष्टमुखी रुद्राक्षले लामो आयु तथा सकारात्मक ऊर्जा प्रदान गर्ने आमविश्वास रहीआएको छ ।

नवममुखी रुद्राक्ष
यसमा नौ दुर्गा तथा भैरवको वास हुन्छ । यसलाई धारण गर्दा ज्वरो, नेत्र रोग, कर्ण रोग, सन्तान प्राप्ति, साथै विभिन्न, संक्रामक रोगहरु निदान  हुने गर्दछ।

नवममुखी रुद्राक्षले  शक्ति प्रदान गर्ने साथै मृत्यु भय बाट मुक्त गर्ने बताइन्छ।

दसमुखी रुद्राक्ष
यसमा भगवान विष्णु, १० दिक्पाल तथा दश महाविद्या देवताको वास रहन्छ । सम्पूर्ण ग्रह देवता हो । यसलाई  धारण गर्नुले नवग्रह शान्त रहनेछ भने कफ सम्बन्धि, हृदय रोग सम्बन्धि कष्टहरु निर्मुल हुनेछ ।

दसमुखी रुद्राक्षले शान्ति तथा सौन्दर्य प्रदान गर्ने विज्ञहरु बताउँछन् ।

एघारमुखी रुद्राक्ष
सम्पूर्ण ११ रुद्र यसमा वास रहन्छ । यसलाई धारण गर्दा सम्पूर्ण ग्रह प्रसन्न हुने धार्मिक अनुयायीहरु बताउँछन् । स्त्रीजन्य रोग, वीर्य सम्बन्धी रोग साथै स्न्यायु सम्बन्धि रोगहरुको निदानका लागि यस्लाईद धारण गर्ने गरिन्छ ।

एघारमुखी रुद्राक्षले विजय दिलाउने, ज्ञान तथा भक्ति प्रदान गर्ने बताइन्छ।

बाह्रमुखी रुद्राक्ष
यसमा भगवान तथा ग्रह सुर्यको वास रहन्छ । यसलाई धारण गर्दा  तेजस्वी तथा ऐश्वर्य वृद्धि हुने जनविश्वास रहीआएको छ। यसले टाउको दुख्ने, रुघाखोकी लाग्ने, आँखासम्बन्धि रोग, हृदयसम्बन्धि रोग तथा मुत्राशय सम्बन्धि रोगबाट छुटकारा दिलाउँछ ।

बाह्रमुखी रुद्राक्षले धन प्राप्ति प्रदान गर्ने बताइन्छ ।

तेह्रमुखी रुद्राक्ष

यसमा इन्द्र, कुवेर,पितृदेवता, कामदेव तथा सम्पूर्ण ग्रहको वास रहन्छ । यसलाई धारण गर्दा आकर्षण-वशीकरण, सुन्दरता, समृद्धि आदि प्राप्ति हुनेछ। यसले  मूत्राशय, नपुंसकता, गर्भ  सम्बन्धि रोग, किड्नी, लिभर सम्बन्धि समस्याबाट छुटकारा दिलाउँछ ।

तेह्रमुखी रुद्राक्षले  शुभ वा लाभ प्रदान गर्ने बताइन्छ  ।

चौधमुखी रुद्राक्ष

यसमा भगवान श्रीकण्ठ तथा हनुमानको वास रहन्छ । यसलाई धारण गर्दा  तन्त्र-मन्त्र, टोने-टोटके, भूत-प्रेत, पिशाच-डाकिनी आदि बाट रक्षा मिल्नेछ ।यसले  निराशा, बेचैनी, भय, क्यान्सर, भूत-प्रेत सम्आबन्दिधि विभिन्न बाधाअड्चनहरूबाट आश्चर्यजनक लाभ प्रदान गर्दछ ।

चौधमुखी रुद्राक्षलाई सम्पूर्ण पाप नष्ट गराउने हनुमानको प्रतीक को रुपमा धार्मिक अनुयायीहरु परिभाषित गर्दछन्।

रुद्राक्षका अन्य फाइदाहरु:

  • रुद्राक्षको शरीरमा स्पर्शले उत्तेजना, रक्तचाप तथा हृदय रोग आदिलाई नियंत्रित गर्दछ ।
  • रुद्राक्षलाई पिंधेर महको साथमा लगाउँनाले दादमा लाभ हुन्छ ।
  • रुद्राक्षलाई पिंधेर दुधको साथमा अनुहारमा लगाउँनाले अनुहारको डण्डिफोर नष्ट हुन्छ ।
  • रुद्राक्षको फललाई पिंधेर लगाउँनाले दाह (जलन) मा शान्ति हुन्छ। सितलता प्राप्त हुन्छ ।
  • यदि बच्चाको छातिमा कफ जमेको छ भने रुद्राक्ष घोटेर महमा मिलाएर ५-५ मिनट को अन्तरालमा रोगी बच्चालाई चटाउनाले उल्टीद्वारा कफ निस्कन्छ र बच्चालाई एकछीनमा निको महसुस हुन्छ ।

 

उपरोक्त वर्णन रुद्राक्षको सामान्य परिचय हो । रुद्राक्ष धारण गरेर जीवनमा अत्याधिक लाभ प्राप्त गर्नुहोस् ।

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्