Logo

रमेश मल्लसँग किताबका कुरा !



मानिस जस्तो देखिन्छ, त्यो नहुन सक्छ । या जे होइन त्यो देखिन सक्छ । मानिसलाई नाङ्गो आँखाले देखेकै भरमा पहिचान गर्न सकिँदैन । व्यक्तिको भिन्नभिन्न स्वभाव हुन्छन्, रुची हुन्छन्, सपना हुन्छन । सोहि अनुरुप उसको फरक(फरक आयाम हुन्छ, व्यक्तित्व हुन्छ। व्यक्ति आफ्नो व्यक्तित्व विकासका खातिर कुन विचारधारा, कुन परिवेश र कुन समयबाट गुज्रीआएको छ, त्यसअनुरुप नै ऊ देखिने गर्दछ ।

भारतीय सुप्रसिद्ध शायर निदा फाजलीको एक शेर छ,

हरेक आदमी मे होते है दश बिस आदमी
जिसको भी देखाना हैं कहीँ बार दिखाना !

सल्लेरी खबर आफ्नो स्थापना काल देखि नै विभिन्न आम गुनासो, चासो र छलफलहरूलाई सम्बन्धित व्यक्ति, निकाय र संस्थासम्म र्पुयाउने लक्ष्य लिएर अगाडी बढिरहेको छ । ’सकारात्मक सोचका लागि परिवर्तन’ भन्ने मर्मलाई आत्मसाथ गर्दै अघि बढिरहेको सल्लेरी खबरले  यस अघि ’जनप्रतिनिधिसँग सल्लेरी खबर’ नामक विशेषाङ्क ल्याएको थियो । जसले निरन्तरता पाइरहेकै छ ।

यस समय हामी फरक क्षेत्रमा संलग्न व्यक्तिसँग फरक विचार क्षेत्रमा छलफल गर्ने उद्देश्यका साथ ’राजनीतिक व्यक्तित्वसँग जिन्दगीका कुरा’ नामक नयाँ स्तम्भ लिएर उपस्थित भएका छौँ ।

यस अन्तर्गत हामीले यस स्तम्भको पहिलो शृङ्खलामा राजनीतिक व्यक्तित्व रमेश मल्लसँग साहित्य र किताबका बारेमा कुराकानी गरेका छौँ । प्रस्तुत छ ’रमेश मल्लसँग गरिएको किताबका कुरा’ सम्पादित अंश स्

तपाइको बाल्यकालीन पठनपाठन कस्तो रह्यो ? 

सामान्यतया स्कुल जाने एउटा उमेर हुन्छ । समय हुन्छ । त्यस समय, त्यस उमेरमा  गाउँकै स्कुलतर्फ झोला बोकेर पढ्न गइरहेका दाइको पछि पछि लागेर म  स्कुल पुगेको हुँ । त्यति बेला अहिलेजस्तो ३, ४ वर्षमै स्कुल पुग्ने मोन्टेश्वरी भन्ने हुँदैन थियो । ५,६ वर्ष नपुगीकन स्कुलले भर्ना लिदैंन थिए । तर त्यति बेला म ४ वर्षको मात्रै थिए । ४ वर्षको उमेरमा नै म स्कुल पुगे । दाइको पछि लागेर कक्षागत गीतहरू गाउँदै हिँडियो । सरहरूले कक्षा कसरी उकाले कुन्नि ? तर म सुइँसुइँ कक्षा उक्लँदै गएँ ।

जब ७ कक्षामा पुगे । हामी (दाइ र म) पढिरहेको स्कुल विद्यार्थी सङ्ख्याको अभावको कारण प्रा.वि. तहमा र्झयो । कक्षा पाँच भन्दा माथि पढाइ नभएपश्चात् मैले एक वर्ष कक्षा छाडे । अर्को वर्ष चौरजहारी गए र मैले सात कक्षामा भर्ना भएँ । सात कक्षामा चौरजहारी पढ्दाखेरि मेरो उमेर १२ वर्षको थियो । ७ देखि १२ कक्षासम्म मैले रुकुम चौरजहारीमै पढेँ ।

बाल्यकालमा पाठ्यक्रमबाहेकका पुस्तकहरू पनि पढियो ? 

पाठ्यक्रमबाहेक किताबहरू त्यति बेला हामीकहाँ उपलब्ध हुँदैन थियो । तर मेरो घरमा मुख्यतः रसियन पब्लिकेसन र किम इल सुङका जुच्छेविचारधारा सम्बन्धि कोरियन पुस्तकहरू हुने गर्थे । पञ्चायतकालीन त्यस समयमा बुबा वडा अध्यक्ष हुनुहुनुहुन्थ्यो । उहाँले कम्युनिस्ट विचारधाराका एक बाकस किताबहरू जम्मा गर्नुभएको थियो  । ती किताब अहिले पनि घरमै छन् । रातो गाता भएका ती किताब त्यतीबेला पढ्नलाई भन्दा राम्रो लागेर(पढ्ने रहर त होइन) पल्टाउँथे । सानो छँदा मलाई ती पुस्तक पढ्नलाई होला भन्ने थाहा थिएन ।

चौरजहारी गइसकेपछी यो पढ्ने कुरा हो भन्ने थाहा भयो । चौरजहारीमा विद्यालयको वातावरण नै वामपन्थीमय थियो । हामीलाई पढाउने शिक्षकहरू कम्युनिस्ट विचारधाराको हुँदा त्यहाँको वातावरण नै त्यस्तै थियो । विद्यार्थी आन्दोलनको पनि केन्द्र थियो त्यो । त्यसैकारण पनि म अखिल र वामपन्थी राजनीतिको नजिक आइपुगें ।

तपाइले पढेको पहिलो पुस्तक ?

जनयुद्ध सुरु हुनु भन्दा अघि ’चम्किलो रातो तारा’ नामक नेपालीमा उल्था गरिएको चिनियाँ उपन्यास पढेको थिए । यस पुस्तक नै मैले पढेको पहिलो पुस्तक हो । त्यसको साथै झुण्ड्याउदा झुण्डाउदै भन्ने उपन्यास यी पुस्तकका कथावस्तुले मलाई क्रान्तिकारी राजनीतिमा लाग्न प्रेरित गरेको हो । विद्यार्थी कालमै मैले पढेको अर्को पुस्तक माक्सिम गोर्कीको ’आमा’ हो । त्यसपछि ’नयाँ घर’ पढेँ  ।

वामपन्थी विचारधाराप्रति आकर्षण हुनुको कारण यिनै पुस्तकहरू थिए ?

हजुर । कोर्सबुकलाई छाडेर वामपन्थी धारबाहेक अन्य विचारधाराको पुस्तकहरू त्यति बेला पढेको मलाई सम्झना छैन । त्यति बेला अन्य विचारधारा बोकेका पुस्तकको उपलब्धता नै थिएन । हामी (साथीहरू) जनादेश पत्रिका नियमित पाठक थियौँ । चौरजहारीमा हुलाकको माध्यमबाट ढिलै भए पनि जनादेश वितरण हुने गर्दथ्यो । त्यति बेला एउटा लाइन(वामपन्थी विचारधाराको) समाती सकिएको थियो । हामी हरेक हप्ता कुनै न कुनै आन्दोलनमा पुगिरहेको हुन्थ्यौं । चौरजहारी स्कुल खाली गरेरै जुलुसमा निस्कन्थ्यौँ । काठमाडौं बानेश्वरमा भारतीय पुलिस पुग्यो भन्दा हामी चौरजहारीलाई उथलपुथल बनाउँथ्यौं । बजार बन्द गर्न अपील गथ्यौं । राष्ट्रियता, जनतन्त्र र जनजिविका तथा जनवादी शिक्षाको विषयमा हामी त्यतीबेलै प्रखर भैसकेका थियौं ।

समग्रमा वामपन्थी राजनीतिबाट अखिलको आन्दोलनबाट स्कुले जीवनमै देश र जनातको मुक्तिको आन्दोलनप्रति आकर्षित भएँ । हामीले देशभक्ति के हो, राष्ट्रियता के हो भन्ने कुरा प्रारम्भिक रुपमा त्यहाँबाट सिक्यौँ ।

शान्ति प्रक्रियामा प्रवेश गर्नु पुर्व युद्धका समयमा झोला भरी किताब बोकेर हिँडियो । त्यति बेला माओवादी आन्दोलन र विचारको अलावा बिपीको समाजवाद के रहेछ भनेर बुझ्न तर्फ लाग्यौँ । मदन भण्डारीको जबजका कुरा पनि आए । त्यति बेला राजनीतिक दर्शनकै कुरा धेरै खोजियो  ।

’शान्ति प्रक्रियामा युद्धका समयमा झोला भरी किताब बोकेर हिँडियो ।’ भन्नुभयो । यस बारे अझ चर्चा गरौँ न..?

हो हामीले आाजको भन्दा हिजो नै बेशी मेहेनेतकासाथ पढियो । कम्युनिष्ट साहित्यमा गहिरो रुची थियो । माक्र्स ऐगेंल्सका अलावा उहाँहरु भन्दा पुर्वका दार्शनिक, अर्थशास्त्री र समाजशास्त्रीको बारेमा पनि त्यतीबेला देखि नै अध्ययन अध्यापन थालियो । पार्टी स्कुल विभागको सदस्य भएर पार्टी भित्र थुप्रै स्कुल संचालन गरियो । कहिले विद्यार्थी त कहिले शिक्षक भएर हप्तौं सम्म पार्टी स्कुलमा सहभागी बनियो । सोभियत समाजवाद, लेनिन र स्तालिन मात्र पढिएन, कार्ल काउत्सकी, रोजा तथा क्रुप्सकायाहरु पनि पढियो । माओसंग डा. सनयात सेन, च्याङ काईसेक पनि पढियो । ल्युसाओचि र देङ स्याओपीन पढियो । अल्बानियाका अनबर होग्जादेखि पेरुका गोञ्जालो पनि पढियो ।
एकपटक हामीले १५ दिने शैक्षिक हडतालको घोषणा गरेका थियौँ ।  हाम्रा धेरै साथीहरू बेपत्ता भएको स्थितिमा यत्रो आन्दोलन घोषणा हुँदा पनि सरकार वार्ता गर्न तयार भएन । तर, निजी क्षेत्रका साथीहरू हामीसँग वार्तामा जानु भयो (बर्दियामा) ।  ’हामी  आउँदा के कोसेली लिएर आउँने ?’ भन्ने सन्देश छोड्नु भएको रहेछ । हामीले बजारमा आएका नयाँ पुस्तकहरु भन्ने सन्देश पठायौं । उहाँहरुले केही पुस्तक लिएर वार्तास्थलमा आउनुभयो ।

कुन, कुन पुस्तकहरू थिए होला ती ?

त्यतेखेर बजारमा आएका केही उपन्यास जस्तै नारायण वाग्लेको पल्पसा क्याफे, सरुभक्तको पागलबस्ती तथा अरु प्रगतिशील साहित्यका पुस्तकहरु र दार्शनिक किताबहरु थिए ।

कस्ता पुस्तकहरू थिए ती ?

मैले माथि नै भनिसकें, केही साहित्यीक र बढि दार्शनिक पुस्तकहरु थिए ।

पढ्नु मात्रै हुन्थ्यो कि लेख्नु पनि हुन्थ्यो ?

हामी लेख्ने पनि गथ्यौं । त्यति बेला नेपालमा पठन संस्कृतिको खासै विकास भएको थिएन । तर हामी सामाजिक रुपान्तरण महान अभियानमा भएकोले हाम्रो पढाई मिसनमा केन्द्रीत थियो । हामीले युद्धका बिचमा विभिन्न साहित्यको रचना गथ्यौं । कहिलेकाहींं हामीले प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्दथ्यौं । हामीले लेखेका कथा, कविता तथा संस्मरणहरू विभिन्न पत्रिकाहरूमा प्रकाशित हुन्थे ।  परिवर्तनवादी धारामै रहेर सबै खाले लेख तथा रचना सिर्जना हुन्थे ।

लोककथा वा धार्मिक कथाहरू चाहिँ पढ्नुभएन  ?

सानो छदाँ गाउले हजुरबासँगको संगतमा प्रशस्त लोक कथा सुनियो । त्यसमा पनि अकबर र विरबलको कथा दैनिक जस्तै सुनिन्थ्यो । मैले रामायण करिब करिब कण्ठ पारेको थिए । मेरो घरमा भएको नेपाली रामायणका श्लोकहरू मलाई कण्ठ जस्तै थिए ।  रामायणबाट नै पुस्तक पढाईको सुरुवात भयो भन्दा हुन्छ  । त्यसै गरी गाउँमा स्वस्थानी व्रतकथा पनि पढ्ने र सुनाउने गरिन्थ्यो ।

उसो त दर्शन र आदर्शका हिसाबले कम्युनिस्ट घोषणापत्रको पनि खुब चर्चा गरिन्छ । तपाईँ यसबारे कस्तो धारणा छ ?

विचारधाराका  हिसाबले कम्युनिस्ट पार्टीको घोषणा पत्र हामीले पढ्नै पर्ने पुस्तक हो । सन् १८४८ मा कार्लमाक्र्सले आफ्ना अनन्य मित्र फेंडरिक ऐगेल्सको साथमा कम्युनिस्ट पार्टीको घोषणापत्र लेखे । यसमा माक्र्सले प्रकृतिमा मानव अस्तित्वमा आएदेखि प्रकृतिसंगको मानवको एकता र संघर्ष तथा समाजमा वर्गको उदय, कारण र परिणामको विषद व्याख्या गरेका छन । शोषणको मुल जड के हो र त्यसको समाधान के हो भन्ने विषयलाई व्याख्या गर्दै मान्छेले मान्छेमाथिको श्रमको शोषण र त्यसको उन्मुलनसम्बन्धि आफ्नो धारणालाई द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवादी धारणाद्धारा स्पष्ट गरे ।
यसका अलावा माक्र्सको मुख्य कृति पुँजी, ऐगेल्सको परिवार, नीजि स्वामित्व र राज्यको उत्पत्ती, लेनिनको राज्य र क्रान्ति, माओका संकलित रचनाहरु, सैन्य रचनाहरु, राहुल सांकृत्यायनका पनि धेरै पुस्तकहरू पढ्यौँ । राहुलले पनि धेरै हिन्दी क्रान्तिकारी पुस्तकहरू लेखेका छन् । गोर्की र लु सुनका क्रान्तिकारी साहित्य लगायत थुप्रै साहित्य पढियो ।

नेपालमा चाहिँ कसलाई पढ्ने ? 

लेखकहरू समकालीन समाजमा आलोचनात्मक तथा क्रान्तिकारी धाराको प्रतिनिधित्व गर्ने र  समकालीन राज्यको संस्थापनमा विश्वास गर्ने हुन्छन् । क्रान्तिकारी समाजमा हुर्केको भएर होला मलाई त्यसै विचारधाराका लेखकहरू मन पर्छन् । एक जनाको नाम लिँदा अरूको अन्याय हुन्छ होला ।

अन्याय नहुने सर्तमा नाम लिनुपर्दा ?

साहीत्यमा कृष्ण सेन इच्छुक, रिषिराज बराल, इश्वरचन्द्र ज्ञवाली हामीले जानेमानेका नाम हुन । इच्छुकको उचाई त अब अरुले चुम्न संभव नै छैन । उनले आदर्शको वेदीमा बलि चढन तयार भैसकेका छन । तत्कालीन समाजका प्रतिनिधिमा देवकोटा, भुपी र समहरु पनि छन ।
आजको सन्दर्भमा मलाई मनपर्ने लेखक युग पाठक, खगेन्द्र सङ्ग्रौला र आहुतीहरु हुन, वैचारीक रुपमा हाम्रा मतभिन्नताहरु आ आफ्नै स्थानमा राख्नु पर्छ होला ।

खगेन्द्रलाई त अराजक लेखक भनिन्छ नि ?

उसो त सुरु सुरुमा म पनि खगेन्द्र संग्रौलालाई अराजक लेखक भन्ठान्थे ।  उनको लेखनीमा त्यस्तो देख्थे । सुरुवातमा  खगेन्द्र सङ्ग्रौला हाम्रा आलोचक नै हुन् भन्ने सोच्ने म पछि खगेन्द्र र हामीमा तारतम्य छ भन्ने कुरामा पुगे  । कहिले कुनै पात्र मन पर्नु र कुनै दिन सोही पात्र मन नपर्नु परिवर्तनको स्वाभाविक नियम पनि हो ।

आहुतीको बारेमा बोल्नुपर्दा ?

उनी विश्लेषक भएको मलाई मन पर्छ । कुनै कुराको गहिराइमा पुग्दा कहिलेकाहीँ उनी त्यतै हराउँछन् । यो चाही समस्या हो । नत्र भने नेपाली समाजको प्रगतिवादी कोणबाट गरिएका कतिपय उनका विश्लेषणहरू हेदार्, नेपालमा जातीको उत्पत्ति र विकास सम्बन्धि उनको विष्लेषण हेर्दा वर्ण व्यवस्थाबारे उनको अध्ययन गहिरो लाग्छ । सोही विषयमा बढी कलम चलाए जस्तो लाग्छ । समग्रमा भन्नुपर्दा उनको लेखन पीडित वर्ग, क्षेत्र र समाजमा पछि परेकाहरूको बारेमा भएकाले मन पर्छ ।

तपाईको प्रश्नको चुरोमा पुग्दा चाहीँ मलाई नेपाली समाजको आमुल परिर्वनकारी धारा पढौं जस्तो लाग्छ । माओवादी आन्दोलनको प्रगतिवादी धारा, प्रचण्डका राजनैतिक दार्शनिक विचारहरु, किरणको संघर्षको दर्शन र बाबुरामको नेपाली समाजको अर्थ राजनैतिक विश्लेषणलाई मार्गदर्शनलाई जोडेर माओवादी दिशानिर्देशनमा हामी अगाडि आयौं । हाम्रो मुख्य पढाई पनि यही नै थियो । अहिले भने नेपालमा समाजवाद उन्मुुख जनताको जनवाद पढ्नु पर्ने भएको छ । त्यसको लागि नेकपाको राजनैतिक दस्तावेज र यसका निर्देशनहरुलाई प्राथमिकतामा राखेर पढ्नु पर्ने भएको छ । युगान्तकारी परिवर्तनको विगत इतिहासका लिखित र अलिखित पानाहरु पढदै र पढाउदै नेपाली समाजको सुन्दर चित्र कोर्नु पर्नेछ ।

(सम्पादकीय नोटः  फरक क्षेत्रमा संलग्न व्यक्तिसँग फरक विचार क्षेत्रमा छलफल गर्ने उद्देश्यका साथ ‘राजनीतिक व्यक्तित्वसँग जिन्दगीका कुरा’ नामक नयाँ स्तम्भ लिएर उपस्थित भएका छौँ । यो पहिलो श्रृङ्खला हो । यस सम्बन्धी तपाईंका केही सल्लाह, सुझाव एवं प्रतिक्रिया छन् भने कृपया हामीलाई [email protected] को ठेगानामा पठाइ दिनुहोला । आउनुहोस् ! सकारात्मक परिवर्तनको यात्रामा हातेमालो गरौं । धन्यवाद !!!)

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्