Logo

३ महीनाभित्र ठेक्का तोड्ने सहमति



Spread the love

२० साउन, जाजरकोट – भारतीय कम्पनीको लापरवाहीका कारण तोकिएको मितिमा टेलिफोन टावर निर्माण नहुँदा समस्या भएको छ । निर्धारित समयमा टावर निर्माण नगर्ने कम्पनीलाई तीन महीनाभित्र निर्माण गर्न लिखित कागज गराइएको छ ।

पटक पटक म्याद थप्दा पनि निर्माण कार्य नगरेर अलपत्र पारेको भन्दै नेपाल टेलिकमका अधिकारीको रोहवरमा प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले लिखित कागज गराएका हुन् । जिल्लाका छ ठाउँमा नेपाल टेलिकमका मोबाइल टावर निर्माण कार्य सम्पन्न भइसक्ने समयमा सामग्रीसमेत ढुवानी नहुँदा समस्या हुँदै आएकाप्रति प्रदेशसभा सदस्य सिंहले चासो देखाउँदै लिखित कागज गराएका हुन् ।

मजकोट, शेरी, नायकवाडा, डाँडागाउँ, सक्ला र पैँकलगायतका ठाउँमा मिति तोकेरै निर्माण गर्न कम्पनीलाई सहमत गराइएको छ । मजकोट र शेरीमा अगस्तभित्र, नायकवाडामा सेप्टेम्बरको पहिलो हप्ता, डाँडागाउँमा सेप्टेम्बरभित्र, सक्ला र पैँकमा जतिसक्दो छिटो निर्माण गर्ने निर्माण अप्टर इन्डियन कम्पनीले प्रतिबद्धता जनाएको छ ।

तोकिएको मितिमा टावर निर्माण नगरे ठेक्का सम्झौता तोड्ने र नयाँ ठेक्कामा जाने सहमतिसमेत भएको प्रदेशसभा सदस्य सिंहले बताए । आफू निर्वाचित भएपछि जिल्लाका सबै ठाउँमा मोबाइल टावर निर्माण गर्ने सिंहको चुनावी घोषणापत्रमा भनिएको भन्दै जसरी पनि पूरा गर्ने प्रतिबद्धता जनाए ।

काठमाडौँको बबरमहलमा बसेको बैठकमा वायरलेस सेवा निर्देशनालय निर्देशक सरोजमान सिंह प्रधान, प्रबन्धक मिनु प्रधान, निर्देशक सङ्गीता पहाडी, उपप्रबन्धक अन्नतप्रकाश मल्लिक, अप्टर इन्डिया कम्पनीका व्यवस्थापक भोजराज वडू र सामग्री ढुवानी गर्ने दुर्गेश झाले छिटो टावर सामग्री ढुवानी तथा निर्माण गर्न सहमतिपत्रमा हस्ताक्षर गरे ।

टावरका सामग्री आठ महीनादेखि सदरमुकाम र अन्य ठाउँमा लथालिङ्ग अवस्थामा छन् । कम्पनीले सस्तो दरमा सामग्री बोकाउन खोजेका कारण सामग्री सम्बन्धित ठाउँमा नपुगेको आरोप लाग्दै आएको छ । टेलिफोन टावर नहुँदा अहिले जिल्लाका अधिकांश ठाउँमा समस्या हुँदै आएको छ । केही भएका टावरमा समेत घाम नलाग्दा लोडसेडिङ हुँदै नेटवर्क आउने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्