Logo

रातको कथा



Spread the love
कृष्णप्रसाद अर्याल

उसले फ्याट्ट सोधिदियो- दिनभर के गर्छस् त नि अचेल ?
कस्तो असजिलो प्रश्न सोधिमागेको । अब के गर्छु भन्नू !
त्यस्तो कुनै नोकरी पनि त छैन ।

उसलाई भनेँ- मोबाइल साइलेन्टमा राखेर कोठाको कुनै कुनामा राख्छु बिहान उठेर । केही समयमा मोबाइल कहाँ राखेँ भन्ने बिर्सिन्छु अनि दिनभर धुमपत्ताल तरिकाले त्यही मोबाइल खोज्छु । बिस्तरा खाटबाट तल फ्याँकेर खोज्छु । झोलाबाट मैला कपडा निकालेर खोज्छु । त्यति बेला एउटा फाइदा पनि हुन्छ । एउटा चाहिँ अलिक नम‌ैलो जस्तो लुगा भेटिन्छ । औसतमा हेर्दा । खोज्दा किताबको र्याक पल्टिन्छ । रिसमा उसलाई एक लात्ती हान्छु । फेरि खुट्टा दुख्छ । बसेर एक छिन खुट्टा सुम्सुम्याउँछु । एकछिनमा फेरि मोबाइल खोज्छु । साँझ पख भेटिन्छ मोबाइल । दिन सजिलै कट्छ ।

मोबाइल साइलेन्टमा राखेर कोठाको कुनै कुनामा राख्छु बिहान उठेर । केही समयमा मोबाइल कहाँ राखेँ भन्ने बिर्सिन्छु अनि दिनभर धुमपत्ताल तरिकाले त्यही मोबाइल खोज्छु । साँझ पख भेटिन्छ मोबाइल । दिन सजिलै कट्छ ।

अर्को दिन फेरि हिजो मोबाइल खोज्दा बिगारेका सामान मिलाउँछु । दिन सजिलै कट्छ ।

मनबाट एउटा प्रश्न उठेर दिमागतिर हिँड्यो ।

किन सोध्दैन उसले रात कसरी कटाउँछस् ? भनेर । साच्चिकै मान्छेहरू रातको बारे कुनै प्रश्न खडा गर्दैनन् । कतै मान्छेहरूलाई लाग्दो हो कि रात ‘छु मन्त्रमै’ कटिजान्छ । किन मान्छेले रातलाई प्रश्न खोसिएका आँखाले हेर्छन् ? किन वास्ता गर्दैनन् रातलाई ? किन कुनै प्रश्न गर्दैनन् रातमाथि ?

या ‘निशा सर्वभूतानां तस्यां जाग्रति संयमी’ । लाग्दो हो रात भनेको संयमीको हो । रातको बारे सोध्ने, सोच्ने सबै ठेक्का उनैलाई छ । हामीलाई दिन छदैँछ । हाम्रा दिन छदैँछन् । रातको हामीलाई ‘छु मतलब’।

रातको बारेमा प्रश्न गर्नु भनेको अँध्यारो विरुद्ध बोल्नु हो । कस्तो गाह्रो छ, अँध्यारो विरुद्ध बोल्नु । अँध्यारो छ र त हाम्रो छाया छ । दिनभर घाममा हिंडिरहदा कति बेला अघि, कति बेला पछि एउटा निन्याउरो छाया हिँड्छ । कसैलाई कसैसँग हिँड्न फुर्सत नभएको बेला छाया हिँडिदिन्छ । हामीलाई यसैले पुगिसरी छ ।

रात पनि गज्जप जाति चीज हो । कसैको रहस्य कसैलाई बताउँदैन । रातभर जे गर तिमी, बिहान उसले कसैलाई बताउने वाला छैन । यस्तो निको चीजमाथि प्रश्न चिह्न उठाउनु पनि त भएन ।

म रातभर नसुतेको कुरा उसले बिहानै दगुर्दै क्षितिजनिर पुगेर घामलाई भनिदिँदो हो त मलाई कस्तो अफ्ठेरो परिजान्थ्यो । घामले बिहानै रुखका पात, घरको छानो, नदीको बेग, चराको पखेटा सबै सबैलाई भन्थ्यो होला । पातको शीतलाई त अझ लय हालेर सुनाउँथ्यो होला । आधा सुन्दासुन्दै शीत सुकिजान्थ्यो । घाम मुस्कुराउँथ्यो होला । रात साच्चिकै निको छ । कसैलाई केही भन्द‌ैन ।

म हिजो राति कति कोल्टे फेरेँ भन्ने सबै सङ्ख्या राखेको छ रातले । तर कसैलाई भन्दैन । हिजो रातभर मेरै बिस्तारामा थियो रात । अबेरसम्म मैले के के कुरा गरिबसेँ रातसँग । रातलाई मैले उसको फोटो पनि देखाइदिएँ । उति बेलै उसले कता कताबाट थाहा पाएछ । भन्यो- ऊ त मस्त निदाइरहेकी छे यति बेला !

थाकेर एउटा दिन पल्लो खाटमा भुसुक्क निदाइरहेको थियो । म र रात रातभर जागा बस्यौँ । बिहानीपख मलाई निद्रा लागेछ । निदाएछु । म बिउँझिदा रात थिएन मेरो कोठामा । दिन भनेँ उठेर आँखा मिचिरहेको थियो ।

मैले पनि आँखा मिच्दै भनेँ- हाइ डे, गुड मर्निङ । ऊ उज्यालो हाँस्यो ।

ooo

एक दिन आफैलाई एक नजर तलदेखि माथिसम्म हेरेको थकथक लाग्यो ।

हैन, नोकरी नगरी भएन । लाजको पसारो पो भयो त ।

शरीरमा आफ्नो दामले किनेको एउटा लुगा मात्रै रहेछ । भित्री वस्त्र मात्रै ।

टिसर्ट उसको गिफ्ट । पाइन्ट पनि उसले किन्देको । वनियान साथीको गिफ्ट हानेको ।

घडी, त्यो थोरै पनि समय नदिने मान्छेले दिएकी । पर्स उसले किनिदिएकी । पर्समा राखेको फोटो अर्कै मान्छेको । पर्सको कुनामा सुकेको बेरङ फुल झन् खै ! कसले पो दिएको हो । बिर्सेँ ।

पाइतालाबाट नशा नशामा वैराग चढेर माथि शिरतिर उकालो हिँड्यो । आफैलाई हेर्दा पसिना आउन थाले । म आँगनबाट कोठीमा पुगेँ । ह्वातहुत्तै कपडा खोलेँ । एउटा गम्छा बेरेर बाहिर निस्किएँ ।

आमा कराउनु भो फेरि,”खेताँ गएर भँगेरा धपाउला भनेको ! नागो भएर बसेछ फेरि । धान भ्याइसके ज्याम्पुरीले !”

आङमा पुराना कपडा भिरेँ । झोलामा अघि खोलेका टिसर्ट र पाइन्ट राखेँ । हातमा हँसिया समातेर खेततिर निस्किएँ ।

तगारोमा के पुगेको थिएँ । बाख्रा खेद्दै जङ्गलबाट सानी आउँदै रहिछ । मलाई हेरेर मुस्कुराएर गई । सानीले बाटो काटेपछि आफूलाई हेरेँ एक पटक ।

आमाले किनिदिएका लुगा रहेछन् क्यारे मैले पहिरिएका ! तिनै पुराना लुगामा पनि कस्तो राम्रो देखिएछु म । सानी पनि मुस्कुराई । सस्तो मुस्कान कहाँ हो त नि उसको । सोच्दासोच्दै खेतमा पुगेछु ।

चैते धान । फाँटको उपल्लो लुङमा पाकेर पहेँलो भएको । माथि टाढाबाट हेर्दा त फाँट सर्वाङ्ग विकसित युवती जस्तो देखिन्थ्यो । हाम्रो खेत त्यही युवतीको शिरमा टाँसिएको सुनको चन्द्रमा !

हाsss गरेर आवाज निकालेँ । एक झुप्पा भँगेरा उडेर खेतबाट पर पुगे । पहेँला धानका बाला युवतीका कानमा झुम्काजस्तो हल्लिए ।

हाडेको हाँगा काटेर मैले खेतको आलीमा बुख्याचा बनाएँ । अघि झोलामा राखेका टिसर्ट र पाइन्ट लगाइदिएँ । एक छिन हेरिरहेँ । मजस्तै देखियो । हाँसे ।

कसले किनिदिएको हो ती लुगा सम्झें एक पटक । अन्तिम पटक त्यो मान्छेसँग कहिले कुरा भएको थियो त्यो पनि सम्झिएँ । उसले कति जनालाई दिएको होला त्यस्ता लुगा ? म कतिऔंमा परेँ हुँला ? अचेल भर्खरै उसको हातबाट उपहार कसले पायो होला ? उपहारका लुगा लगाएर साथीलाई भेट्न गएको ऊ, साथीले काँधनिर हात राखेर अङ्कमाल गर्दा छिटो छिटो अङ्गालोबाट छुट्टिन्छ होला । फोहोर लाग्छ कि भन्ने लाग्दो हो लुगामा !

म मान्छु, उपहार दिने मान्छेभन्दा उपहार बहुत मूल्यवान् हुन्छ कुनै बेला । उसको उपहार फिर्ता गर्न गएको म उसले त्यो सामान यत्तिकै फ्याँकिदिन्छ कि भन्ने डरले फिर्ता नगरेरै फर्किएको छु । बहुत धेरै प्रिय हुन्छ कुनै बेला उपहार ।

जुन बेला उपहार दिनेले तिम्रो मूल्य तोकिदिन्छ- दुई रुपैयाँ । तब च्यातूँ च्याँतु लाग्दो रहेछ मुटु पनि । यदि त्यही मान्छेले उपहार दिएको हो भनेँ । फोडौँ फोडौँ लाग्दो रहेछ टाउको पनि । कतै झुक्किएर भाग्यमा उसको नाम छ भनेँ फुटेको टाउकोको टुक्राटुक्रामा खोजेर चक्कुको चुच्चोले केर मेट गरौँ गरौँ लाग्दो रहेछ ।

ए ! अँ बुख्याचा मजस्तै देखियो । एक छिन हेरिरहेँ । हाँसो लाग्यो । खेतको कुनाबाट एक मुठ्ठी हिलो झिकेर उसलाई हानेँ । अब भोलि आमा आएर हेर्दा ती लुगा पुराना र फोहोर देखिने छन् । आमाको गाली खानु पर्ने छैन मैले ।

यसै गरेर कति भागियो समयसँग । जिन्दगीसँग । परिस्थितिसँग । हिलो छ्यापेर हिँडियो जिन्दगीमाथि । आली छेउको बुख्याचालाई जस्तो । सानोमा भोटे कुकुर भएको घरको टिनको छानोमा ढुङ्गा हानेर भाग्नु जस्तै रहेछ जिन्दगीसँग भाग्नु भनेको । कहाँनिर पुगेर चप्पल चुँड्ने हो भन्ने थाहा हुँदैन । कहाँनिर पुग्दा घुँडा ठोक्किने हो । कहाँनिर आफ्नै खुट्टामा अल्झेर लडिने हो । पछिपछि लखेट्न आउँदै नआएको भोटे कुकुरको भयले कहाँसम्म लखेट्ने हो थाहा हुँदैन ।

ooo

मोबाइलमा समय हेर्न सिकाइदे भनेको उसलाई त्यसैमा घोप्टिँदैमा फुर्सत छैन- आमाले भन्नुभो- किन उजेलो हुन्न भन्छु, छिमेकाँ किन कोही उठ्दैनन् भन्छु, हिजो मध्यरातमा उठेर गोठल्याँइ गरिचु ।

आमा हिजो राति नै उठ्नु भएछ बिहान भो भन्ने सोचेर । मोबाइलमा समय हेर्न नजानेकोमा खेद गर्नु भो ।

मैले घडी लगेर गोठको बिजुलीको बल्बनिर झुन्ड्याइदिएँ । आमालाई गोठमा बोलाएर भनेँ- बिहान चाँडो उठेजस्तो लागे यो घडी हेर्नू, जान्नुन्च नि यसमा समय हेर्न त ! पाँच बजे भन्दा अगाडि उठ्ने हैन त्याँ ।

– छि ! बौलाइस् क्या हो । त्यति राम्रो घडी त्याँ ल्याएर झुन्डा छ । कल्ले टिपेर हिंड्चन् र !

आमा घडी निकाल्न खोज्नु भो भित्ताबाट । बलियो गरेर राखेको हुनाले सक्नुभएन । कुन्नि के के फत्फताइरहनु भो गोठतिर आमा । म आँगनमा पुगिसकेको थिएँ ।

मैले यत्ति बुझेँ- जसलाई समय दिने मन हुँदैन, उनीहरूले घडी उपहार दिँदा रहेछन् ।

मलाई सम्झिन पनि अल्छी लाग्यो कसले दिएको हो त्यो घडी भन्ने । मैले यत्ति बुझेँ- जसलाई समय दिने मन हुँदैन, उनीहरूले घडी उपहार दिँदा रहेछन् ।

ooo

खुब आनन्द लागेको थियो त्यो फोटो निकालेर फ्रेममा राख्दाको दिन । मेरो रहर थियो । मैले सुनाएको थिएँ पुलचोकको ठुलो होडिङबोर्डमा स्याम्पुको विज्ञापनमा रहेको आलिया भाटको फोटो देखाउँदै दिनेशलाई – “ऊ त्यहाँ राख्ने हो तेरी भाउजूको फोटो ।”

दिनेशले सुटुक्क पुरा गरिदिएछ रहर । उसले त्यो फ्रेम सहितको फोटो मलाई दिँदा म धेरै खुसी भएको थिएँ । म केही बोल्न नसकेर उसको हात समातिरहेँ ।

फोटोको फ्रेम पछाडि कालो अक्षरमा ‘विशेष’ लेखिएको थियो । साच्चिकै विशेष नै थियो । तर अहिले शेष बाँकी छ । ‘वि’ कुन्नि कहाँ गयो ।

मेरो झोलामा त्यो फोटो कहिल्यै टुटेन । काठमाडौँ जाँदा होस् या घर जाँदा । दिनभरको यात्रामा पनि मेरो काखमा रहन्थ्यो झोला । म झोलालाई काखी च्यापेर भुसुक्क निदाउथें यात्रामा । कति सजिलोसँग आउँथ्यो निद्रा पनि । झोलाले पनि कुनै यात्रा बसको डिक्कीमा बसेर गर्नु परेन । न त छतमा नै फ्याँकिनु पर्‍यो ।

लामो समयपछि मलाई त्यो झोला बहुत गह्रौँ लाग्न थाल्यो । मैले बोकेर हिँड्न नसक्ने भएँ । मलाई कहिल्यै लागेको थिएन एउटा फोटोको वजन यति धेरै हुन्छ भनेर । म झोलाले च्यापिएर थला पर्न थालेँ । ऐना हेर्दा लाग्यो म धेरै बुढो भैसकेको छु उमेर अगाडि नै । मैले निर्णय गरेँ नयाँ झोला किन्ने ।

नयाँ झोला किनेपछि पुरानो झोलाले च्यापिनु परेन मलाई । तर मलाई राति ऐठन हुन थाल्यो । पुरानै झोला बोकेर म नदीको किनारै किनार उकालो हिँडिरहेको सपना देख्न थालेँ । मलाई धेरै गाह्रो भइरहेको हुन्थ्यो । झोलाको भारले मलाई तलतिर तान्थ्यो । कुनै कुनै दिन त म नदीमा खस्थेँ । नदीको बिच भागमा डुब्दै उत्रिँदै गर्थेँ म । ब्युँझिदा म लुझुप्प भिजेको हुन्थेँ पसिनाले ।

कहिले फेरि अर्कै सपना देख्थेँ म ।

सपनामा कुन्नि कसले त्यो झोला मेरो छातीमाथि राखिदिन्थ्यो । मलाई सास फेर्न गाह्रो हुन्थ्यो । जति कोसिस गर्दा पनि म छातीमाथिको झोला फ्याँक्न सक्दिनथें । सिरक जोडले फाल्दै म बिउँझिदिन । पसिनाले लुझुप्प भिजिरहेको हुन्थेँ । तर झोला भनेँ राखेकै ठाउँमा हुन्थ्यो ।

एक दिन साँझ पख नयाँ झोला बोकेर म कोठाबाट निस्किएँ । झोला रित्तो थियो । मलाई कुनै चीज पनि राख्ने साहस थिएन झोलामा । अझै रित्तो नै छ झोला पनि । तर त्यसपछि म त्यो कोठामा गएको छैन ।

अचेल पनि सपना देख्छु म । नयाँ झोला बोकेर नदी किनारै किनारै उकालो उकालो हिँडेको । कति कति बेला जोडले चलेको हावाले उडाउन खोज्छ मलाई । म साना साना दुई चार ढुङ्गा टिपेर झोलामा राख्छु । फेरि उसै गरेर उकालो उकालो हिँडिरहेको हुन्छु नदी किनारै किनार !

के भनौँ कि म मेरा रात कसरी काटिरहेको छु ।

अझै धेरै दुख त यो कुरामा लाग्छ कि आजसम्म कसैले सोधेको छैन मलाई- तँ रात कसरी काट्छस् ? भनेर ।

ooo

ooo

प्रतिक्रिया दिनुहोस्