Logo

छायाँनाथ धाम तीर्थयात्रा शुरु



Spread the love

२३ साउन, मुगु – देशका विभिन्न धाममध्ये छायाँनाथ धामको तीर्थयात्रा मुगुमा शुरु भएको छ । आज छायाँनाथ रारा नगरपालिका–२ चैन गाउँमा रहको छायाँनाथ मन्दिरमा रहेको शिवजीको मूर्ति पूजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित मुगुको मरोङ गाउँपालिका तथा साविकको डोल्फु गाविसमा रहेको छायाँनाथ मन्दिरमा लगेपछि छायाँनाथ धाम तीर्थयात्रा शुरु भएको हो ।

हरेक वर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथीका दिन जिल्लाको प्रसिद्ध देवता छायाँनाथ मन्दिरमा रहेको छायाँनाथ ठाकुरको मूर्ति पवित्र धाम छायाँनाथमा नुहाउन लगिएसँगै छायाँनाथ धाम तीर्थयात्र शुरु भएको मानिन्छ । आज लगिएको शिवजीको मूर्ति जनैपूर्णीमा सम्म छायाँनाथ मन्दिरमा रहने र दर्शनको लागि मुगुसहित जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, दैलेख, जाजरकोट, बाजुरा, अछाम, डोटीलगायत जिल्लाबाट तीर्थालु दर्शन गर्न छायाँनाथ धाममा आउने गर्दछन् ।

जनैपूर्णीमामा छायाँनाथमा–५ दिनसम्म पूजापाठ, होम व्रत हुने गर्दछ भने त्यसमा बरदान माग्न १५ जिल्लाबाट तीर्थालुको ओइरा लाग्ने गरेको मन्दिरका पूजारी भीमप्रसाद चौलागाईंले बताए ।

विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेकी सत्यदेवीको सम्पूर्ण अङ्ग छायाँनाथमा पतन भएको हुँदा त्यस ठाउँलाई छायाँनाथ तीर्थस्थलका रूपमा पुज्न थालिएको पूजारीको भनाइ थियो । मन्दिरमा जाने तीर्थालुले श्राद्ध, होम, व्रतबन्ध, र आफूले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन् ।

बिहीबार प्रस्थान गरेको टोली अबको नौ दिन पछाडि फर्किन्छ । यसैबीच शुक्रबार नवमीका दिन जिल्लामै रहेको अर्को धार्मिकस्थल कृष्णमोक्ष मन्दिरमा पनि छायाँनाथ मन्दिरमा रहेको अर्को मूर्ति लिएर तीर्थालु जाने भएका छन् । त्यहाँ पनि मुगुलगायत जिल्ला बाहिरका तीर्थालु दर्शन गरी आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्