Logo

महिला हिंसा: अनपेक्षित मोडिएको एक बहस



मनिषा पौडेल

केहि समयअघि मैले एउटा लेख देखें (सल्लेरी खबरमा प्रकाशित श्रद्धा के.सी. द्वारा लिखित ‘मैले देखेको पुरुष हिंसा), जसमा पुरुष हिंसालाई समाजले नजरअन्दाज गरिरहेछ भन्ने भाव तेर्साइएको थियो । शिर्षक साह्रै रोचक लाग्यो किनकी शब्दहरु दैनिक जीवनमा समाचारमा अगाडी सारिने भन्दा बेग्लै थिए । वास्तवमा पढ्दै जाँदा मलाई उक्त लेखमा सामान्य कमेन्टमात्र गरेर ढुक्क बस्न पटक्कै मन लागेन, बरु प्रतिक्रिया दिने हुतहुती चल्यो ।

उक्त लेख एउटा अभिभावकका रुपमा पुरुषले निभाइरहेको भुमिकाभन्दा माथि गएर सामान्यीकरण गर्न मैले सकिनँ । पुरुषले निभाइरहेको उत्पादनमुलक भुमिकालाई भावनात्मक पैठेजोरी गरेर कम महान छैनन् भन्ने संवेदनासहित पुरुष हिंसामा लगेर जोड्ने प्रयास गरिएको जस्तो लाग्यो । यसरी एकाएक सामाजिक मुद्धा उठाएर भावनात्मक तर्क प्रस्तुत गरेर उदाहरणहरु पनि समाजका केहि अपवादसँग तुलना गर्दा कहिलेकाही पितृसत्तात्मक सोंचमा नतमस्तक महिला तथा पुरुषहरुमा, ए हो पो कि त भन्ने भ्रम फैलन सक्छ ।

सामाजिक विषयमा कलम चलाउँदा हामी पारिवारिक पृष्ठभुमिमा मात्र सिमित रह्यौ भने कहिलेकाहीं प्रस्तुतिकरण अपुरो हुन सक्छ । साथै व्यक्तिगत अनुभवलाई पनि समालोचनात्मक रुपमा सोंच्न सकेमा र अरुका अनुभवलाई विश्लेषणात्मक रुपमा प्रस्तुत गरिएमा भने त्यसले सामाजिक एजेण्डाको आवश्यकतालाई परिपुर्ति गर्न सक्छ । आवाज उसका निम्ति उठाइन्छ, जो दबिएको छ । कलम त्यसका निम्ति चलाउन सक्नुपर्छ, जसले कलम समाउने अवसर पाएनन्, कलम समाएर पनि लेख्ने अवसर पाएनन् अथवा भनौ लेखेर पनि पोष्ट्याउने हिम्मत गर्न सकेनन् । हिंसा भन्ने शब्द आफैमा सापेक्षित हुन सक्छ । विकसित मुलुकमा जुन धारसम्म पुगेर हिंसालाई जोडिन्छ, अविकसित र विकासोन्मुख मुलुक त्यहाँसम्म पुगेकै छैनन् ।

बलात्कार, हत्या, यौनशोषण, बेचबिखन, छाउपडी जस्ता जोखिमपूर्ण महिला हिंसाका घटना घटिरहँदा मानसिक र भावनात्मक हिंसामा बहस केहि सहरी क्षेत्रमा बाहेक अन्यत्र प्राथमिकतामा ल्याउन सकिंदैन । हप्तामा दुइ देखि तीन निर्मलाहरुले ज्यान गुमाइरहँदा, के भिडमा मौन उभिइरहेको पुरुषको भावनात्मक कठिनाइ र परिश्रमलाई जोडदार रुपमा ल्याउनु सान्दर्भिक होला त ? परिश्रमको विषय आजको आवश्यकता होइन तर भेदभावरहित वातावरणमा परिश्रम गर्न पाउनु चाहिं आजको विषय हो ।

म हुर्के बढेको समाजले रातभर रोएर बिहान मुसुक्क हाँसेर हिंड्ने पुरुषलाई असल नै भनेको छ । घरका सबै सदस्यलाई जीवनभर पकाएर खुवाउने महिला ३ दिन महिनावारी भएको बेला पुरुषले पालो दिँदा, त्यस्तो श्रीमान् पाउनु त भाग्यको कुरा हो भनेर सह्राएको छ । मैले त कहिल्यै देख्न परेन, छिमेकी अंंकलले आफ्नी श्रीमतिको लुगा धोएको, अनि कहिल्यै सुन्न परेन माइला दाजुले भाउजुलाई “तिमी” भनेर सम्बोधन गरेको । अझ मैले कहिल्यै कानुनी रुपमा साक्षी बस्नु परेन पल्लो घरकी दिदीलाई रक्सी खाएर उनको श्रीमानले कुट्दा, जबकि व्यवहारिक रुपमा हप्तामा एक दिनको लागि साक्षी बस्ने मै थिएँ ।

नेपाली समाजको व्यवस्था त एउटै गल्तीका लागि महिला र पुरुषलाई फरक–फरक सजाय दिने हो । बिहे गरेका पुरुषले विदेशमा गएर परस्त्रिगमन गर्दा सामान्य रुपमा लिने तर महिलाले कथमकदाचित उस्तै सम्बन्ध एउटा पुरुषसँग गाँस्दा चरित्रहीनताको ट्याग लगाउने हो । यहि समाज श्रीमानको मृत्युपश्चात् विधवा बस्नु सामान्य कुरा हो भने, श्रीमतीको मृत्युपश्चात् विदुर बस्नुचाहीं अचम्मको कुरो हो ।

सतिप्रथाको इतिहास बोकेको नेपाली समाज उम्केर आज छोरीलाई पनि पढाउनु पर्छ है भन्ने अवस्थामा आइपुगेको छ । कतिपय समुदायमा त छोरी पढाउने कुराका लागि मात्र पनि दशकौ कुर्नुपर्नेछ । नेपाली समाजले समानताको सोंच मात्र अभ्यास गरिरहेको छ, व्यवहारमा देखिन अझै लामो समय लाग्छ । यसैबीच सहरी र ग्रामिण महिलाका हिंसाका प्रकृतिमा पनि भिन्नता छन् । सहरी क्षेत्रमा पढेलेखेका महिलाका लागि “ग्राजुएट मेड” (पढेलेखेकी नोकर) भएर बस्नु पनि हिंसाको उदाहरण हो । हामीले पर जानुपर्दैन, आफनै वरिपरि हेर्यौं भने धेरै महिलाले बिहेपछि पढाई छोडेको देख्यौ, जागिर छोड्नुपरेको देख्यौ तर कुनै पुरुषले बच्चा भएको कारणले आफ्नो करियरको दागबत्ति दिन परेको सायदै सुनिन्छ ।

महिला र पुरुषको विभेद आमालाई महान देख्नु र बुवाको पिडा नबुझ्नु होइन । आमाका निम्ति कोसेली ल्याउनु र वुवालाई ल्याउन विर्सिनु पनि भेदभावको मुद्धा बनाउन केहि समय कुरौं न । भेदभावको गहिराईलाई केलाउनका निम्ति राजधानीमात्र पर्याप्त नहोला कि ।

एउटा वास्तविक घटनाले मलाई आजसम्म घोचिरहेको छ, जुन गतवर्ष घटेको हो । कामकै सिलसिलमा डोटीमा एउटी २६ वर्षकि बहिनीसँग भेट भएको थियो । उनी एउटा सर्वेक्षणका निम्ति गणकको काम गर्न आएकी थिइन् । म डोटीमै हुँदा उनले छसक्क भनेकी थिइन “घरमा दुइटी छोरी छन् अब एउटा छोरा पाउन पाए मलाई ढुक्क हुन्थ्यो ।”

म काम सकेर काठमाडौ फर्किसकेपछी उनले मलाई घण्टौ फोन गर्थिन् अनि सँधै एउटै कुरा गर्थिन्, “चाइनिज क्यालेण्डर हेरेर भनिदिनुस् न कुन डेटमा गर्भ रहँदा छोरा हुन्छ, मेरो बुढा अर्को महिना कतारबाट आउँदै हुनुहुन्छ” । उनको कुरालाई मैले गम्भिरतासँग नलिएको भान परेछ कि क्या हो, एकदिन उनले रुन्चे पारामा दुइपटकसम्म गर्भपतन गराइसकेको कुरा सुनाइन । त्यसपछि मलाई उनको अनुरोधको गहिराई महसुस गर्दा साह्रै पिडा भयो जबकी उनको स्तर डोटीका ७० प्रतिशत महिलाको तुलनामा धेरै राम्रो हो ।

महिलाका विषयमा लेख्नु र बोल्नु समयको माग हो, किनकी महिला र पुरुषको आर्थिक, सामाजिक र राजनितिक असमानताको खाडल ठुलो छ । यो परिस्थिति सधैं नरहला, कुनै दिन यस्तो आउला जतिबेला जेण्डर भन्ने बित्तिकै मुद्धाहरु पुरुषका विषयमा उठाइनेछन्, पुरुषको हकअधिकार हरेक क्षेत्रमा सुनिश्चित गर्नका निम्ति बहस चलाइनेछन् । महिलाको हकहितमा लेख्नु भनेको पुरुषको निन्दा गर्नु पक्कै होइन । अझ साहित्यिक भाषामा भन्नुपर्दा, सचेत वर्गले बुझ्नु आवश्यक कि धर्तीको सम्मान गर्नुलाई आकाशको निन्दा हो भन्न कदापी मिल्दैन ।

यो पनि पढ्नुहोस् !

मैले देखेको पुरुष हिंसा

समाजमा सकारात्मक परिवर्तनको लागि हरदम तत्पर माउण्ट बुद्ध मिडियाद्वारा सञ्चालित सल्लेरी खबर डट कम सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्