Logo

जाऊँ हिँड कालिञ्चोक (फोटो फिचर)



Spread the love

कालिञ्चोक भगवती नेपालको दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटरको दुरीमा अवस्थित यो मन्दिर ३८४२ मिटरको उचाईमा छ । कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ । कालिञ्चोक डांडाबाट मनोरम रोलवालिङ हिम श्रृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ । जनैपुर्णिमा, दशैं, चैते दशैंमा भक्तजनको भिड लाग्ने गर्दछ । कालिञ्चोक चरीकोट देखि ६ घण्टाको पैदल दूरीमा छ । यो हिन्दूहरूको लागि एक प्रसिद्ध तीर्थ स्थल हो ।

चरिकोटदेखि करिव १७ किलोमीटर दुरीमा रहेको कुरी बजार सम्म कच्ची मोटरबाटो बनेको छ । जुन बाटोमा जीप गाडी र मोटरसाइकल चलाउन सकिन्छ । सुख्खा याममा यदाकदा मिनीबस पनि चलाउन सकिन्छ । यद्यपि यस बाटोमा नियमित सार्वजनिक सवारी साधन उपलब्ध छैन । कुरी बजार देखि उकालो करिव १ घण्टा पैदल यात्रा गरी कालिञ्चोक भगवती स्थानमा पुग्न सकिन्छ ।

कसरी पुग्ने कालिन्चोक ?

काठमाडौंबाट चरीकोटसम्म अरनिको यातायातमा बस चढेर जान सकिन्छ । चरीकोटमा केहीबेर चियापान र आराम गरी पैदल बाटो लाग्नुपर्छ । चरीकोटबाट करीब एक घण्टाको हिँडाइपछि देउराली भञ्ज्याङ पुगिन्छ ।

देउरालीमा ३/४ वटा पसल मात्रै छन् । त्यहाँबाट माथि उक्लिएपछि कुरीबजार नपुगेसम्म बाटोमा पसल भेटिँदैनन् । त्यहाँबाट घना जंगलको बाटो हिँड्नु पर्छ ।

करीब ५ घण्टाको उकालो चढेपछि बल्ल कुरीबजार पुगिन्छ । कुरीबजार बास बस्ने ठाउँ हो । यहाँ धेरैवटा होटलहरु खुलिसकेका छन् । यहाँ प्राय काठका घरहरु रहेका छन् । यहाँको आतिथ्य सत्कार र खानाको मिठास केहि बेग्लै छ । कुरीबजारमा बास बसेपछि बिहान ५/६ बजे कालिन्चोक डाँडा उक्लिन सकिन्छ । घाम लागेपछि ठाडो उकालो चढ्न गाह्रो हुन्छ ।

मोटरसाइकल वा गाडी रिजर्भ गरेर पनि यहाँसम्म जान सकिन्छ । तर, बाटो निकै जोखिमपूर्ण छ । ढुंगा बिछ्याएको बाटो धेरै ठाडो छ । गाडीबाट पनि ३ घण्टा लाग्ने भएकाले यो ठाउँमा हिँडेरै जानुको बेग्लै मज्जा छ ।

करीब आधा घण्टाको बसाइपछि तल झर्दा २० मिनेटमै कुरी पुगिन्छ । त्यहाँ खाना खाएर ९ बजेतिर तल झर्न सकिन्छ । बाटामा बास बस्नका लागि चौंरीगोठ जस्तै छाप्रा भेटिन्छन् ।

धेरै हिँड्ने बानी नभएकाहरुका लागि काठमाण्डौं र्फकने बेलामा निकै थकान महसुस हुन थाल्छ । तर, कालिन्चोक माताको आँगनदेखिने मनोरम दृश्यले त्यो थकान बिर्साउँछ ।

समग्रमा काठमाडौंदेखि कालिञ्चोकसम्मको धार्मिक एवं पर्यटकीय छोटो यात्रा रमणीय त छँदै छ, साहसिक पनि छ ।

हेर्नुहोस्, सल्लेरी खबरको साप्ताहिक विशेषांक सल्लेरी कोलाजका लागि शंकर भुजेलले खिचेका कालिञ्चोकका मनोरम तस्बिर :

भुजेल सल्लेरी खबरका फोटो पत्रकार हुन् ।

प्रतिक्रिया दिनुहोस्