Logo

पाँच वर्षमा ११ पटक अनशन : माग जहाँको त्यहीँ



Spread the love

चिकित्सा शिक्षा सुधारको माग राख्दै शिक्षण अस्पताल महाराजगन्जका प्रा.डा. गोविन्द केसीको ११औँ आमरण अनशन छैटौँ दिन पनि जारी छ । केसीले राखेका मागमा सहमति खोज्ने प्रयासस्वरूप आइतबार पनि छलफल भएको खबर  आजको नयाँ पत्रिकामा छापिएको छ ।

पाँच वर्षदेखि निरन्तर चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशन बसे पनि आफूसँग गरिएका अधिकांश सहमति कार्यान्वयन नभएको भन्दै केसीले अनशन जारी राखेका हुन् । पाँच वर्षको अवधिमा उनी एघारौँपटक अनशन बसेका छन् ।

केसीले राखेका मागमध्ये अधिकांश पूरा भएका छन् । सरकारी वार्ता टोलीका संयोजक शान्तबहादुर श्रेष्ठका अनुसार अहिले केसीका माग बुँदागत रूपमा धेरै भए पनि छलफलमा दुईवटा मात्रै रहेको बताए ।

आफूहरूले दिएको सुझाबलाई समेटेर चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने र चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमलाई त्रिभुवन विश्वविद्यालयबाट स्वायत्तता गराउनुपर्ने डा.केसीका मागका विषयमा छलफल भइरहेको श्रेष्ठको भनाइ छ । उनका अनुसार केसीको मागका विषयमा सरकार सकारात्मक छ ।

केसी पक्ष र सरकारी वार्ता टोलीबीच चिकित्सा शिक्षा विधेयकलाई संसद्मा छलफल गराउन आग्रह गर्ने र आइओएमलाई त्रिभुवन विश्वविद्यालयबाट स्वायत्तता गराउने विषयमा सबै पक्षबीच बसेर छलफल गर्ने विषयमा मोटामोटी सहमति भएको संयोजक श्रेष्ठले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले समेत डा.केसीको माग सम्बोधन गरी तत्काल अनशन तोडाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्