Logo

मेरो सोचका हरेक पूर्णविराम, अल्पविरामहरू कविता हुन् !



नेपाली चलचित्र क्षेत्रमा मात्रै नभएर नेपाली बौद्दिक वर्गभित्र पनि पटक पटक सुनिने नाम हो– राजवल्लभ कोइराला

चलचित्र ‘पर्खी बसे’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक कोइराला हलिउड चलचित्र ‘हाइवे टू धम्पुस’को छायाङ्कनका क्रममा अमेरिका पुगेका थिए । त्यसपछि उनले उतै बस्ने निर्णय गरे । हाल उनी पत्नी प्रतिमा बिमलीसहित स-परिवार म्यारील्यान्डमा छन् ।

विगतका कुरा :

३१ अगस्ट १९८२ मा कास्कीमा जन्मिएका कोइराला सानैदेखि सहनशील व्यक्तित्वका मानिस थिए । अर्कोको दुख पनि आफ्नो जस्तो लाग्थ्यो उनलाई । अर्काको खुसीमा आफू पनि रमाउँथे । घटनाहरूलाई फरक तरिकाले केलाइरहन्थे । उनलाई हर चिज रहस्यमय लाग्थ्यो, ती चिजहरूलाई खोतलिरहन्थे । स्कुलमा जति पनि अतिरिक्त क्रियाकलापहरू हुन्थे, उनको सहभागिता रहन्थ्यो । कक्षा अगाडी गएर कुनै पनि कुरा बोल्न धक लाग्दैन थियो उनलाई । सानै देखि एक्स्प्रेसिभ थिए उनी । क्यारिकेचर, नाटक गरेर क्लास मेट र शिक्षक-शिक्षिकाहरुलाई हँसाउँथे ।

“स्कुलका कविता प्रतियोगितामा प्रथम पनि भएको छु, कहिले सान्त्वनामा पनि परेको छु” उनी बताउँछन् । स्कुलको प्रतिनिधित्व गर्दै विभिन्न जिल्ला स्तरीय कविता प्रतियोगिताहरूमा पुगे उनी । यस क्रममा उनले नेपाली साहित्यलाई अझ नजिकबाट बुझेँ । अझ नजिकबाट भोगे । यो भोगाई आफ्नो जीवनको सुन्दर भोगाई भएको उनी बताउँछन् ।

उनले कुमुदिनी होम्सबाट एसएलसी सक्काए । एसएलसी सक्काउनेबित्तिकै उनले रेडियोमा काम पाए । त्यसबखत पोखरा एफएम (९५.८ मेगाहर्ज) पनि आफ्नो सुरुवाती क्षणमा नै थियो । उनले चार वर्षसम्म ‘ब्रेक फेल’ नामक प्रोग्राम चलाए । जुन प्रोग्राम सर्वाधिक हिट पनि भयो । तर उनी त्यति बेला अहिलेको जस्तो सामाजिक सञ्जालको पहुँच नभएको गुनासो गर्दै भन्छन्,“त्यति बेला सामाजिक सञ्जाल भएको भए अहिले भन्दा ४ गुणा, १० गुणा दर्शकहरूले चिन्नुहुन्थ्यो, श्रोताहरूले सुन्नुहुन्थ्यो ।”

कविता लेखेर विभिन्न पुरस्कारहरू प्राप्त गरे । सञ्चारकर्मी बनेर लाखौँ श्रोताहरूलाई हँसाए । तर त्यतिमा मात्र रोकिएनन् उनी । उनलाई मोडलिङमा निकै रुचि थियो । स्कुलका दिनहरूमा अभिभावक दिवसका दिनहरूमा नाटक गर्दै आइरहेका कोइरालाको फिल्मी करियर तब शुरु भयो, जब उनले गायक कर्ण दासको आवाजमा रहेको ‘भेटिएर छुट्नु भन्दा नभेटिएकै जाती हुन्थ्यो’ बोलको गीतमा अभिनय गरे ।

उनी फिल्म सिक्नका लागि काठमाडौं आए ।  पोखरामा मात्र सीमित उनको कला, दक्षता, क्षमता र प्रतिभा एक-एक गर्दै झाँगिँदै गयो । देशदेखि विदेशसम्म रहेका नेपालीमाझ पुगे उनी । एकपछि अर्को गर्दै उनले हिट फिल्म दिँदै गए । हाँसिदेऊ एक फेर, राघव, पहिलो पहिलो माया, दिवानापन, सम्झना, हे युवा, गुरुदक्षिणा, छाडिगए पाप लाग्ला, कोही त छ, कसम हजुरको, मसान, अपवाद, सो सिम्पल, ऋतु, लगायतका फिल्ममा उनले अभिनय गरिसकेका छन् ।

अन्य नेपाली कलाकारहरू भन्दा फरक सोच भएका, भिन्न तरिकाले जीवन बुझ्न खोजिरहने कोइराला ट्रेन्ड बाहिरका सिनेमामा बढी देखिए । ऋतु, अपवाद, राघव, उनका केही यस्ता फिल्महरू हुन्, जो नेपाली सिने जगतको लागि बेग्लै स्वादका छन् ।

कोइरालाको भोगाइमा जीवन र जगत के हो ? सल्लेरी खबरको सर्जक अफ द विकका लागि उनी यसरी प्रस्तुत भए ।

कविताका कुरा :

नेपाली चलचित्र क्षेत्रको अर्काइभमा एक समयको सुपरस्टार कलाकारको रूपमा पगरी गुथिसकेका कोइराला कविको रूपमा भने आम मानिस समक्ष पुग्न सकेका छैनन् । “कविको रूपमा म स्टाब्लिस नभएको हुन सक्छु, तर म कविता लेखिरहेको हुन्छु ।” उनी बताउँछन् । समयसमयमा एउटा/दुइटा पब्लिकेसनले पनि उनीसँग कविता मागे । तर उनले दिएनन् । पत्रिकाहरूले मागे- केहीलाई दिए पनि ।

केही कविता प्रिन्ट गरेर पनि राखेका छन् उनले । त्यसबाहेक उनी कविता लेखिरहेका हुन्छन् । लेखिसकेपछि सामाजिक सञ्जालमा राख्छन् । उनको कविता खोज्नेहरूले त्यही नै भेट्छन् उनलाई ।

तपाईँ कवि कि कलाकार ?

उनलाई आफूलाई अरूले कवि या कलाकार जे नाम दिए पनि हुने बताउँछन् । उनका अनुसार कलाकार/कवि मान्छेले दिएको नाम, उपनाम वा संज्ञा हो । “तपाईँसँग जिन्दगीको जिउने कला छ, जिन्दगीका पिडाहरूसँग जुध्न सक्नुहुन्छ भने तपाईँ आफै कलाकार हो” ।

उनले अहिलेसम्म २७  वटा फिल्म गरे । उनलाई कलाकार मान्नेहरू धेरै छन् । तर जब उनी आफ्ना भावनाहरूलाई अक्षर मार्फत पोखिरहेका हुन्छन्, नजिकका साथीहरूले उनलाई कवि भनिदिन्छन् । “कवि भनेको पनि मन पर्छ मलाई“, उनी बताउँछन् ।

मान्छेका विभिन्न पाटाहरू विभिन्न मान्छेहरूले मात्रै थाहा पाउँछन् । पोखरा एफएममा ४ वर्ष ठट्यौली गरेको, स्ट्यान्ड अप कमेडी गरेको, क्यारीकेचर गरेको, मिमिक्री गरेको थाहा पाउनेहरूलाई अहिले पनि उनी त्यही गरिरहेका होलान् भन्ने सोच्छन् ।

उनले आफूलाई कहिल्यै कवि हुँ भनेनन् । ज-जसले उनलाई कलाकार राजबल्लभ भनेर चिने, तिनका लागि उनी अहिलेसम्म पनि कलाकार राजबल्लभ कोइराला नै छन् ।  “जो फेसबुकमा थिए । फलो गरिरहेका छन् । उनीहरूले मेरा कविता पढेका होलान् । मलाई कवि देखेका होलान् । जसकहाँ गएर दुई चार पेग खाएर भावनामा बहकिदा सुनाइयो- तिनलाई थाहा होला ।“

संसार डुल्नका लागि हो र म डुल्दा डुल्दै अमेरिका आइपुगेको छु ।

उनलाई कलाकार र कवि मात्रै भनेको मन पर्दैन । कोही पनि मानिस एक/दुई थोकमा मात्रै सीमित रहँदैन भन्छन् उनी । उनलाई कवि र कलाकार मात्रै सिमित हुनु छैन । उनी त्यति मात्रै पनि होइनन् । उनी चिन्तनशील व्यक्ति हुन् । अध्यात्म उनको अर्को रुचिको विषय हो । जीवन दर्शनका कुरा गर्न पाउँदा रमाउँछन् उनी । उनी आफूलाई एक फकिर भन्छन् । संसार डुल्नका लागि  हो र अहिले आफू डुल्दाडुल्दै अमेरिका आइपुगेको बताउँछन् उनी ।

भन्नाले ?

कल्पना गरौँ यदि जिन्दगी हप्ता हो । हप्तामा सात वटा दिन हुन्छन् । कुन दिनमा के हुन्छ, के थाहा ? उनलाई पनि त्यस्तै लाग्छ– ‘यहाँ  कहिले के हुन्छ, के थाहा ?’ । उनलाई अलि बढी अप्ठ्यारा बाटामा हिँड्न मन लाग्छ । ‘थोरै अराजकता आवश्यकता छ जिन्दगीमा । म डीप थिन्कर, अब्ज्भर या क्रेजी पिपल हो । कलाकार या कवि भन्दा पनि ।“, उनी भन्छन ।

कविता सङ्ग्रह आउँदै छ र ?

उनको हालसालै कुनै पनि कविता सङ्ग्रह निकाल्ने सोच छैन । दुई किसिमबाट सङ्ग्रह निकालिने उनी बताउँछन् ।

पहिलो- कुनै पनि धाराबाट गाग्रीमा पानी थपिदा थपिदा पोखिन थालेपछि सम्हाल्ने क्रममा कहिलेकाहीँ एउटा कृति वा सङ्ग्रह निक्लिन सक्छ ।

दोस्रो- कहिलेकाहीँ कसैलाई वास्ता पनि हुँदैन । (यसमा पर्छन् रे उनी)

जिन्दगी आफैमा एउटा अनुभव र अभ्यास हो । जति भोग्यो उति बुझ्दै गइन्छ जिन्दगी । भावनाहरु असिमिति छन् । कल्पना, सम्झनाहरू उस्तै छन् । कहीँ कतै पुगेर टुंगिदैनन् । उनका अनुसार उनको भावना गाग्री अहिलेसम्म भरिएको छैन । जहिले भरिए जस्तो लाग्ला वा समेट्न पर्ला जस्तो लाग्ला अथवा गाग्री भरियो अर्को भाडा थाप्छु जस्तो लाग्ला त्यतिखेर सायद सङ्ग्रह निकाल्ने चाहना हुन सक्छ उनमा ।

“अहिले त्यस्तो केही छैन । कवि भनेर दुई चार वटा नमस्कार पाउनको लागि कविता लेखेका पनि होइन मैले । यसैले सङ्ग्रह नै निकाली हालु भन्ने लालसा/मोह पनि छैन ।“ उनी अझ पछाडि भन्छन्,“ खै थाहा छैन, गरिएला यार राजु । निकालिएला पनि कि कुनै सङ्ग्रह ।“

कविता किन लेख्न्हुन्छ ?

“जिन्दगी खुल्ला चौर होइन । प्रष्टसँग देखिनलाई । स्पष्टरुपमा यसो-यसो गर्छु भन्नलाई” भन्छन् उनी । खुल्ला चौर हुन्थ्यो भने उनी जहाँ पनि दगुर्थे । जिन्दगीले खोच्चाएको थियो उनलाई । त्यस बेला जे-जे आइपर्‍यो त्यही त्यही गर्दै गए । कहिले नाटक खेले । कहिले फिल्म खेले । कहिले कविता लेखे । कहिले यता (अमेरिका) आएर आइटिको जब गरेँ । “जिन्दगीमा अल्झी राख्ने कुरा हुन् यी भनेका । म अल्झिरहेको छु ।”, उनी भन्छन् ।

कति होलान् कविताहरू ?

“कविता भनेको स्कोरीङ गर्ने चिज नै होइन । कुनै पनि कला अभिव्यक्तिको माध्यम हो, त्यसलाई गणना गरेर सकिन्छ र ?“ उनी अझ थप्छन्,“कसैलाई यति वटा लेखेको छु भनेर रिपोर्ट बुझाउन पर्ने भएको भए आँकडा पनि राख्थे हुँला । राखिएन । होलान् । १००, २००, डेढ सय होलान् ।”

“वर्तमानमा रहेर भावनाको माथितिर तैरिदा ती भावनाहरू रङ्गिन भए भने कल्पना बन्दा हुन् ।

जुन सोचमा हामी थोरै चाहना राख्छौँ या हाम्रा कुण्ठाहरूसँग जोडिएका छन्- ती तिर्सनाहरू बन्न जान्छन् ।

यदि हामी विगततर्फ फर्किन्छौ भने ती सम्झनाहरू होलान् । यी सब चिजहरूको समष्टिगत भावना कविता हो”

कविता के हो  ?

कविता भनेको सोच हो भन्छन् उनी । सोचको पर्यायवाची शब्द भावना हो । सम्झना, कल्पना, तिर्सना यी सब सोचका मुडहरू हुन् । “वर्तमानमा रहेर भावनाको माथितिर तैरिदा ती भावनाहरू रङ्गिन भए भने कल्पना बन्दा हुन् । जुन सोचमा हामी थोरै चाहना राख्छौँ या हाम्रा कुण्ठाहरूसँग जोडिएका छन्- ती तिर्सनाहरू बन्न जान्छन् । यदि हामी विगततर्फ फर्किन्छौ भने ती सम्झनाहरू होलान् । यी सब चिजहरूको समष्टिगत भावना कविता हो”, उनी भन्छन् । उनको दिमागमा खेल्ने सुन्दर मिलेका अक्षरहरू नै कविता हो उनका लागि । उनी अझ प्रस्ट बनाउँदै भन्छन्,“मेरो सोचका हरेक पूर्णविराम, अल्पविरामहरू कविता हुन् ।”

 

जिन्दगीको कुरा:

जिन्दगी के रहेछ ?

जति जिन्दगी बुझ्यो या जति जिन्दगी बुझ खोजिन्छ उति गाह्रो भएको बताउँछन् उनी । हाम्रो यो संसारमा आगमन केका लागि हो ? प्रतिस्पर्धा केको लागि हो ? नामका लागि हो ? दामका लागि हो ? पहिचान बनाउनका लागि हो ? होइन । जिन्दगी भोगाई हो भन्छन् उनी । भोग्दै जाने क्रममा यी सब कुराहरू प्राप्त हुन्छ । उनका अनुसार जिन्दगी भनेको अभ्यास हो, भोगाई हो, अनुभूति हो ।

“जिन्दगीबाट एउटा एक्जिट त लिनु नै छ ।

जिन्दगीमा जति नै श्रीपेच लगाए पनि, टोपी फेरे पनि एक्जिट त लिनै पर्छ ।

सुन्दर जीवन बाचौँ । सकभर कसैलाई दुख नदिउँ । आफैलाई पनि ।”

जिन्दगीको सत्य यै हो- एक दिन मर्नु छ । मर्नु अघिसम्म राम्रो काम गर्ने हो, आफ्नो मन रमाउने काम गर्ने हो भन्छन् उनी । “जिन्दगीबाट एउटा एक्जिट त लिनु नै छ । जिन्दगीमा जति नै श्रीपेच लगाए पनि, टोपी फेरे पनि एक्जिट त लिनै पर्छ । सुन्दर जीवन बाचौँ । सकभर कसैलाई दुख नदिउँ । आफैलाई पनि ।”

सम्भव छ ?

काठमाडौँ र मुग्लिनको सडक खण्ड पटक पटक आवतजावत गर्नेहरूलाई थाहा छ, कहाँ पिसाब फेर्ने, कहाँ चिया खाने, कहाँ तेल भर्ने, कहाँ खाना खाने । जिन्दगीको हाइवेमा त पहिलो पटक छौँ हामी । “कहाँ के हुन्छ के थाहा ? जे आइपर्छ, जसरी भोग्नुहुन्छ गर्दै जाने हो ।“ उनी भन्छन् ।

तयारी अवस्थामा यात्रा गरिरहँदा (हातमा छाता बोकेर) पानी पर्‍यो भने छाता खोल्न सकिन्छ । तर छाता छैन भने त ओत लाग्नुको विकल्प नभएको उनी बताउँछन् । ओत लाग्दा पनि भिजिँदो रहेछ भनेर बुझेकाहरू स्याँखु, प्लास्टिक या वाटर रेजिस्टेन्ट केही बोकेर हिँड्छन् । यी चिजहरू बोकेर हिँड्नु भनेको कुण्ठा, सम्झना बोकेर हिँड्नु नै हो । तिनै सम्झना, कुण्ठा बिसाउँदै/फुकाउँदै जिन्दगी बिताउनु नै जिन्दगीको मज्जा हो भन्छन् उनी ।

तपाईँलाई अध्यात्म प्रति पनि झुकाव रहेछ…

“घण्टी बजाउने, धूप अगरबत्ती बाल्ने, त्यो म गर्दिन । तर मेरो इन्ट्रेस्टको अर्को विषय अध्यात्म र चिन्तन पनि हो ।”, उनी भन्छन् ।

हाम्रो जिन्दगी अनुभवको लागि हो । उनका अनुसार मानिस प्याज जस्ता छन् । विभिन्न पत्रहरू छन् जिन्दगीमा । हाम्रो सोचाइमा पत्रहरू भए जस्तै हाम्रो जिन्दगीका पनि पत्रहरू छन् । तिनै पत्रहरूलाई केलाउँदै जानु, फुकाउँदै जानु नै जीवन हो ।

मन डुलुवा छ । मानिस एक ठाउँमा या एक थोकको हुन नसक्ने उनी बताउँछन् । एउटा दाम्लोमा बाँधेर राखेको बाछोले कसैगरी दाम्लो फुकायो भने ४/५ दिनसम्म जहाँतहीं बुर्कुसी मार्छ । तर छैटौँ दिनदेखि उसलाई त्यही चौर/ त्यही ठाउँ उसको लागि गोठ साबित होइदिन्छ । उ आफैलाई दाम्लो लगाएर बाँधिन्छ त्यहाँ । “र, यी दाम्लोहरू भनेका कुण्ठा, सम्झना, विगत या कल्पनाहरू हुन् ।“, उनी बताउँछन् । यिनीहरूलाई फुकाउँदै/केलाउँदै जीवनको सुस्केरा लिनु नै जिन्दगीको मिठास हो भन्छन् उनी ।

अमेरिकामा के रहेछ ? नेपालमा के छैन ?

“अमेरिकामा नेपाल छैन ।“ र सँगसँगै यो पनि भन्छन् उनी,“वर्तमानमा नेपालमा म छैन ।” (हाँसो)

“एउटा भूगोलमा रेखा कोरेर अमेरिका र नेपाल भनिएको हो । आकाश त्यही हो, जमिन त्यही हो । अमेरिकामा म मेरो परिवारसँग छु । पत्नीसँग छु । तर त्यता (नेपालमा) मैले भोगेका/देखेका/सुनेका/भेटेका/भोगेका जीवन, ठाउँ, मानिस र जीवन छन् ।“

कुनै पनि मानिस कहीँ भएर वा कहीँ नभएर कुनै फरक नपर्ने बताउँछन् उनी । यसो भनिरहँदा उनी तीर्थ श्रेष्ठको कविता स्मरण गर्छन् ।

हिउँमा लेखिएका नामहरू

– तीर्थ श्रेष्ठ

हामीले लेखेर आएका छौँ,

हिउँमा आ–आ आफ्ना नामहरू।

एकछिनपछि हिउँ थपियो भने –

रहने छैनन् हाम्रा नामहरू।

एकछिनपछि घाम लाग्यो भने पनि –

बाँकी रहने छैनन् हाम्रा नामहरू।

हामी रहँदारहँदै

नरहने हाम्रा नामहरू

हामी नरहँदा

कसरी रहलान् हाम्रा नामहरू ।

नेपाल नफर्किने अब ?

“पशुपंक्षी पनि त सधैँ एकै ठाउँमा बाँधिएनन्, हावा पानीले उनीहरूलाई यदाकदा पुर्याईरह्यो ! म त झन् मान्छे हुँ ।”, उनी भन्छन्- “मान्छेलाई परिस्थिती, चाहना, खोज र कौतुहलताले दौडाइरहन्छ । बुद्ध पनि निस्केकै हुन् । साधु-महात्मा पनि डुलेकै हुन् । संसारका अरबौँ मान्छेहरू माझ म कसरी अपवाद हुन सक्छु ?”

उनी पनि उसैगरी उता (अमेरिका) पुगे । भौतिक रूपमा मात्रै नेपालमा रहनुलाई नेपालमा रहेको मान्दैनन् उनी । “मन डुलुवा छ । त्यसै पनि दिनमा हजारौँ पटक मेरो मन नेपालकै विभिन्न सहरका गल्लीहरूमा डुलिरहेको हुन्छ ।”, उनी भन्छन् ।

उनलाई थाहा छैन उनी त्यहाँ कसरी पुगे । र, त्यहाँ उनलाई केले बाँधेर राखिरहेको छ, त्यो पनि उनी पत्तो पाउँदैनन् । “जसरी आए त्यसरी नै फर्किन्छु कुनै दिन । आवत जावत त त्यसै पनि भै’राख्या छ ।”, उनी भन्छन् ।

यौनका कुरा

यौन एउटा उमेरको काउकुती हो । उमेरका हिसाबले हेर्दा यहाँ मनोरञ्जन पनि छ । सन्तुष्टिका कुराहरू पनि छन् । अर्कोतर्फले हेर्ने हो जीवनलाई बिथोल्ने चीज पनि यौन नै हो । भनिन्छ- यौन जैविक ड्रग्स हो । सबैभन्दा बढी मानिस यौनका बारेमा उत्सुक छ । यौन के हो बुझ चाहन्छ । तर यो व्यक्तिगत कुरा पनि हो । व्यक्तिगत कुरालाई दोस्रो कोहिसंग सुनाउने हामीसँग स्पष्ट भाषा छैन । नेपालमा मात्रै होइन विश्वका जुनसुकै धर्म, संस्कार या राष्ट्रहरू आजसम्म पनि यथेष्ट रूपमा यौनबारे खुलेका छैनन् ।

नेपालमा दैनिक दशौँ यौन हिंसा, बलात्कारका कुराहरू बाहिर आउँछन् । शब्द छैन । वाक्य छैनन् ।

किन छैन ? नेपाली समाजको लागि यौन किन हाउगुजी बनिरहेको होला ?

“तपाईँ आफ्नो नागरिकता हेर्नुहोस्, कस्तो छ ? आफ्नो लाइसेन्स हेर्नुहोस्, कस्तो छ ? समाज हेर्नुहोस्, कस्तो छ ? अध्यापन गराउने संस्थाहरू हेर्नुहोस्, कस्तो छ ? अध्यापकहरूको चेतना हेर्नुहोस् । कहाँ को बोलेको छ यसबारे ? या बोल्न मुखसम्म पनि खोलेको छ ?”

यौनका बारेमा मिडियाहरू चुप छन् । बोले पनि यौनका बारे अश्लीलताका बारे बोल्छन् । समाज पनि त्यस्तै छ । यौनजन्य गाली गर्न औधी रुचाउने यस समाजले यौन सम्भाव्य चीज हो भनेर बुझाउने प्रयत्न कहिल्यै गरेन । उनी बताउँछन्,“कुनै माध्यमबाट पनि कसैले यसबारे केही नबताइरहेको खण्डमा यौनका बारे मानिस उत्सुक किन नहुनु ? यौनका प्यासी किन नबनुन् ? त्यस्ता घटनाहरू किन नघटुन् ?”

नेपालमा दिनहुँ दशौँको संख्या बलात्कार, महिला हिंसा भएका खबरहरु बाहिरिने गर्दछन् । यस्ता दुर्घटनाहरु यौन जिज्ञासाहरु मेटाउने क्रममा भएका गतिविधिहरु हुन् भन्छन उनी ।

यौनलाई अमेरिकाले कसरी बुझेको रहेछ ?

बाल्यावस्थाबाट प्रौढतातिर लम्कने अवस्था किशोर अवस्था हो । यस अवस्था भनेको बाल्यावस्था र यौवनावस्थाको बीचको अवस्था हो । यो अवस्थामा शारीरिक, मानसिक एवं संवेगात्मक परिवर्तन तीव्र रहन्छ । किशोर-किशोरीहरुमा विपरीत लिङ्गी प्रति यौनको दृष्टिकोणले आकर्षण बढ्छ । यौनचाहना प्रकट हुन चाहन्छ । यस क्रममा उनीहरु यौनसम्बन्धी कुराको खोजीनीति बढी गर्ने हुन्छन् । बढी स्वतन्त्र हुने कोशिस गर्छन् । “यो एकदम प्राकृतिक र स्वाभाविक कुरा हो । साथी बनाउँछन् । रिलेसनसीपमा जान्छन् । अमेरिकाले यसलाई नर्मल रुपमा लिएको छ ।”, उनी बताउँछन् ।

अमेरिकन बावुआमाहरु आफ्नै हाइट बराबरको छोराछोरीसँग साथी सरह व्यवहार गर्दै यौन संवाद गरिरहेका पाउँछन् उनी । “अभिभावकहरु रिलेसनसीपको बारेमा खुलेर छोराछोरीसँग गफ गर्छन् । आफ्ना छोराछोरीहरु १८/२० वर्षको भएपछी सेक्स के हो बुझ्नु तर प्राटिक्स अ सेफ सेक्स  त भन्छन् । यो कति राम्रो कुरा हो ।“, उनी भन्छन् ।

नेपालमा यस्ता धेरै स्कुलहरू छन्- जहाँ कक्षा ७/८ को नेपाली पाठ्यक्रम अनुसारको जनसङ्ख्या विषयको एउटा च्याप्टर पढाइँदैन ।

कारण एक मात्रै छ- त्यहाँ यौनका/प्रजननका/यौन अभ्यासका कुराहरू लेखिएको छ । पढाउने शिक्षक पनि घोसेमुन्टो लगाएर पढाउँछन् ।

पढ्ने छात्रहरू पनि बेन्च मुनि घोप्टो परेर सुन्छन् । छात्राहरू त यस च्याप्टर पढाइ हुनुभन्दा एक दिन अघि देखि नै स्कुल आउन छाड्छन् ।

र, नेपालले ?

नेपालमा यस्ता धेरै स्कुलहरू छन्- जहाँ कक्षा ७/८ को नेपाली पाठ्यक्रम अनुसारको जनसङ्ख्या विषयको एउटा च्याप्टर पढाइँदैन । कारण एक मात्रै छ- त्यहाँ यौनका/प्रजननका/यौन अभ्यासका कुराहरू लेखिएको छ । पढाउने शिक्षक पनि घोसेमुन्टो लगाएर पढाउँछन् । पढ्ने छात्रहरू पनि बेन्च मुनि घोप्टो परेर सुन्छन् । छात्राहरू त यस च्याप्टर पढाइ हुनुभन्दा एक दिन अघि देखि नै स्कुल आउन छाड्छन् । यौनका बारेमा रहेको गलत बुझाइको भत्सर्ना गर्दै उनी भन्छन्- “हाछ्यु आउँदा सिँगान निस्कनु अस्वाभाविक कुरा हो र ? सिँगान आएन भने डाक्टरकोमा दौडाउन परेन ?”

एउटा बालिका जब रजस्वला हुन्छे तब उसले स्वत: प्राकृतिक रुपमा यौनबारे बुझ्न पाउनुपर्छ भन्छन् उनी । “रजश्वला भएपश्चात नै ऊ आमा हुन पाउँछे । सृष्टि शुरु हुन्छ । यो प्राकृतिक कुरा हो ।“ उनी भन्छन् । तर यसबारे आमा छोरी बीच या बाबुछोरा बीच कुरासम्म हुन नसक्नु दर्दनाक स्थिति रहेको बताउँछन् उनी । “यहाँ (नेपालमा) त्यस्तो केहि बताईदिन । बरु रजस्वला हुने बित्तिकै गोठमा लुकाइन्छ ।”

यौनिक विश्वासघात (लोग्ने-स्वास्नीबीच), अनिच्छित गर्भपतन, अप्रत्याशित गर्भपतन, मनोगत यौन समस्या, घरेलु हिँसा, डिभोर्स, बलात्कार र अन्य आपराधिक क्रियाकलापहरु बढ्नुमा यौन मनोभाव सहजै नजिकका मानिसहरुसँग व्यक्त गर्ने स्थितिको सिर्जना नहुनु प्रमुख कारण रहेको बताउँछन् उनी ।

यी हर्कतहरुले मानिसलाई यौन कुण्ठित बनाइरहेको छ । समाजलाई विकृत बनाइरहेको छ । “यी कुण्ठाहरु सेलाउने क्रममा कोहि आर्यघाटमा सेलाउछन्, कोहि आर्यघाटसम्म पुराउँछन्, उनी बलात्कारजन्य थुप्रै घटनाहरुलाई संकेत गर्दै भन्छन् ।

हामीले चाहँदा नचाहदै पनि हाम्रो शरीर परिवर्तन हुन्छ । केटिहरुको रजस्वला हुन्छ । केटाहरुको वेट ड्रिम्स हुन्छ । त्यतिबेला याँ यो हो, यस्तो हो भनेर बुझाइएन भने दुर्घटना बढ्छ । यौनकुण्ठाले सम्पूर्ण शरीर मात्रै होइन मस्तिष्क समेत गलाउँछ । “पिसाब च्यापनुभयो भने त तपाईंको शरीर गलेर तपाई हलचल गर्न नसक्ने हुनुहुन्छ । यो त सेक्स हो । बायोलोजिकल निड हो नि यार ।“, उनी भन्छन् ।

यौनका बारेमा बोल्न किन सकिएन ?

स्तनधारी जनावर एवम् योनी जीवात्माहरुको प्रमुख क्रिया यौन हो । अस्तित्वको रक्षा र प्रजातिको निरन्तरताको लागि गरिने प्राकृतिक क्रिया यौन हो । “यौन सामान्य विषय हो तर यसलाई हामीले ठूलो बनायौं । गोप्य बनायौं । जुन जरुरत थिएन ।“, उनी भन्छन् ।

नेपाली समाजले हालसम्म पनि यौनलाई अतिरंजनाको रुपमा लिएको बताउँछन् उनी । “कि त एकदम हलुकारुपमा लिइयो । कि एकदमै भारी चिज बनाइयो ।” कुण्ठित भावनाहरुको हालीमुहाली कै कारण नेपाली समाजमा यौन पराइ विषय बनेको बताउँदै विवाह पश्चात मात्रै सेक्स गर्नुपर्छ भन्ने किन छ ? मानिसको १६/१७ को हुँदा नै त्यसकिसिमका भावनाहरु आउँछन्, त्यसलाई के गर्ने ?” उनी प्रश्न गर्छन् ।

आज पनि यौन, विवाह प्रजनन क्रमिक रुपमा हुनुपर्दछ भन्छौ हामी । परिवेशगत, समाजगत र उमेरगत अभिव्यक्तिको अभाव/अनुपस्थितीकै कारण नेपालमा यौन हाउगुजी बनिरहेको बताउँछन् उनी । “बिहे गर्ने उमेर हुँदासम्म सेक्स एज अ सब्जेक्ट, सेक्स एज अ एजुकेशन, सेक्सस एज अ इन्ट्रेस्ट एण्ड सेक्स एज अ नलेज भनेर हामी बोल्न सक्देनौं । अनि बलात्कार बढ्यो भन्छौं । हिँसा भयो भन्छौं ।”

आज सम्म पनि हामी ‘यति औं दिसा मुक्त क्षेत्र’ बनेर घोषणा गरिरहेका छौं । “हामी अहिलेसम्म दिसाबाट मुक्त हुन सकीरहेका छैनौं । यौन कुण्ठा मुक्त कहिले हुने ?” उनी प्रश्न गर्छन् । परम्परा र लोकलाजको कारण पनि यौन हिँसाहरु बढीरहेको बताउँछन् उनी ।

कसरी हल गर्ने त ?

यौनका बारेमा ज्ञान आदानप्रदान हुन जरुरि देख्छन् उनी । त्यसबाहेक पनि यौनजन्य कुराहरुको एसेप्टेन्स र अन्डरस्टान्डीङ हुनु सबैभन्दा महत्वपूर्ण रहेको बताउँछन् उनी ।

छोराछोरीसंग कुनै पनि अभिभावकले यौनका बारेमा सहज गफ गरेर उनीहरुको न कुनै इज्जत जान्छ, न छोराछोरीले बाउआमासँग सोध्दा थप्पड खानु पनि हुँदैन । यो असमझदारीको पर्खाल तोड्न जरुरी छ । यो तोडिएको खण्डमा नेपाल धेरै सुन्दर हुनेमा उनी ढुक्क छन् ।

‘अभिभावकहरुले सानोमा आफ्ना बालबच्चालाई होमवर्क गर्दा सघाएजस्तै किशोरअवस्थामा पनि यौन या जीवनका तमाम उज्याला/अध्यारा पाटाहरु सघाउनु पर्छ । तब मात्र नेपाल यौन कुण्ठाबाट मुक्त हुन सक्ला ।” उनी बताउँछन् । आमाबुबा र छोराछोरी बीच सन्तुलित मनोविज्ञानको जग बसाएको खण्डमा यौन भविष्यमा कलंकित विषय बनिनरहने बताउँछन् उनी ।

अभिभावकहरुले आफ्ना छोराछोरीहरुको जैविक एवं मानसिक परिवर्तनको साक्षी हुनुपर्ने बताउँछन् उनी । “अभिभावकहरुसँग चेत छ । उनीहरुले यौन जिज्ञासा र तर्कानाहरुलाई बुझेका छन् भने आफ्ना छोराछोरीलाई त्यसै अनुरुपको शिक्षादिक्षा दिने गर्छन् ।” उनी अझ अगाडी भन्छन,“तपाइँ यदि केहि देख्नुहुन्छ भने केहि बोल्नुहोस् । बातचित शुरु गर्यौं । यो नै समस्याको हल हो ।”

साहित्यले सघाउला ? साहित्यलाई प्रगतिशील भन्छन् नि…

बढ्दो शहरीकरण, सहरी भागदौड, करियर बिल्ट, ढिलो विवाह, वैदेशिक रोजगार, व्यस्त जीवन जस्ता कारणहरुले पछिल्लो नेपाली पुस्ता यौनसुखबाट विमुख भइरहेको छ ।

उनका अनुसार यस समस्याको समाधानमा साहित्यले अग्रणी भूमिका खेल्न सक्दैन । “लिटरेचर मेन स्ट्रिम होइन । कुण्ठितहरुको लागि आफ्ना कुण्ठा अभिव्यक्त गर्ने प्लेटफर्म साहित्य होला तर त्यो सबैको निम्ति होइन । किनकि यो थोरै ठाउँमा सिमित मानिसकहाँ पुग्छ ।”

सिनेमाले कुनै हदसम्म यस समस्याको समाधान गर्न सक्ने बताउँछन् उनी । तर सिनेमा पनि सशक्त माध्यम लाग्दैन उनलाई ।

मानिसका जीवनमा हुने अन्य गतिविधिकै बराबरीमा समानान्तर रुपमा यौन गतिविधि हुने गरेमा मानिसले एउटा कुण्ठा बाट मुक्ति पाउने बताउँदै “आम मानिसको दैनिकी, भोगाई, शिक्षा र संगत नै सशक्त माध्यम हुन् । यसलाई स्वस्थ बनाऔं ।” उनी भन्छन् ।

प्रस्तुत छ, उनका तीन कविता:

 

पहिलो कविता

भ्रष्टाचारको प्रोटिन

श्रीमती भान्सामा उदास छे,

खोक्दै छे

छोरो कालो चिया र बासी भात खाँदै छ

प्रोटिन पुग्दैन रे,

हाम्रो सानो छोरालाई

पीर उसलाई छोरोको छ

पीर मलाई दुवैको छ

प्रोटिन उसको आङमा पनि कहाँ छ र ?

दर्पणलाई उसले ढाटे पनि

मेरो अगाडी उदांगो छ उसको अनुहार

अनुहार- मेरो बुढीको

प्रत्येक बिहान,

झ्यालबाट ठाडै भान्सामा हाम फाल्छ एउटा आवाज

“कुकुरलाई दुध र क्यानको बिस्कुट खुवाइस् रामे ?”

उही समयमा

नास्ता गर्छ मेरो छोरोले

स्कुल जान्छ, त्यसपछि

क्यान त हाम्रो भान्सामा पनि छ

चामल राख्ने; तर रित्तो

छोरोलाई आजको भाग साँचेर,

हिजै बेलुका बाडेर खाएको याद छ

मैले र मेरी बुढीले

मेरो छोरोले

सम्झाई रहन्छ, मलाई, मेरो देश

उस्तै लाग्छ;

मेरो छोरो र मेरो देश

सानो, अबोध तर उर्बर

लाग्छ दुवै उस्तै उस्तै हुन्

हुर्किदै छन्

र, मलाई राम्रैसँग थाहा छ

आवश्यकता

मेरो परिवारलाई प्रोटिनको छ

तर मलाई भ्रष्टाचारको प्रोटिन खुवाउनु छैन

मेरो परिवारलाई …

 

दोस्रो कविता

सिसाको माछा

सिसाको संसार

सानो संसार,

सिंगो संसार

एउटा संसार,

अनि एउटा माछा

सायदै खुशी छ

स्वतन्त्र छ सायद,

मात्र उसलाई थाहा छ

घुमी रहन्छ

दायाँबाट बायाँ

बायाँबाट दायाँ

भेट्दैन कोहि

भेट्टाउँदैन केहि

कहिले काँही टोलाउन्छ

सिसा बाहिर

एउटा अनुहार देखेर

अनुहार सिसाभित्र

खुशी खोज्दै छ

माछा सिसा बाहिर

संसार खोज्दै छ  !

 

तेस्रो कविता

हि हि हि हि

हिजो आज
इन्टरनेटमा हास्न सजिलो छ ..
दुई औलाले
हि हि हि टाइप गरे भो
लोल टाइप गरे भो
जति लामो हासे पनि भो
जति चोटी हासे पनि भो
मुख खोल्नै पर्दैन 
कसैलाई पत्तो पनि हुदैन
लाग्छ, आजकल
औला हास्छन्
मन भन्दा बढी
मनलाई थाह समेत नदिइ

०००

‘सर्जक अफ द विक’ सल्लेरी खबरआभा For Creativity को संयुक्त प्रस्तुति हो ।

प्रस्तुति: राजु झल्लु प्रसाद

०००

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्