Logo

शिक्षक सेवा आयोगले असोज दोस्रो साता अध्यापन अनुमतिपत्रको परीक्षा सञ्चालन गर्ने



Spread the love

२६ साउन, काठमाडौँ l शिक्षक सेवा आयोगले असोज दोस्रो साता अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ ।

प्राथमिक, माध्यमिक र निम्न माध्यमिक तहको परीक्षा क्रमशः असोज ९, १० र ११ गते हुनेछ । असार २ को विज्ञापनमा २ लाख ८३ हजार जनाले शिक्षक लाइसेन्स लिन आवेदन दिएका थिए ।

आयोगले पहिलो पटक तहअनुसार विषयगत रूपमा अध्यापन अनुमतिपत्रको परीक्षा लिन लागेको हो । आयोगका प्रशासकीय प्रमुख तुलसीप्रसाद थपलियाका अनुसार तीनै तहको ४० पूर्णाङ्क बराबरको उत्तर पुस्तिका समेत यस पटकबाट मेसिनबाट परीक्षण गरिनेछ l

आवेदकहरूको फारम रुजु गर्ने काम निरन्तर रहेकाले कति परीक्षार्थी हुन्छन् भन्ने यकिन भइसकेको छैन । भदौ १५ सम्म रुजु सकेर प्रवेशपत्र प्रिन्ट गर्ने व्यवस्था गरिने थपलियाले बताए ।

आयोगले २ लाख ५० हजार हाराहारीमा परीक्षार्थी हुने अनुमान गरेको छ । अनलाइनबाट आवेदन दिने व्यवस्था गरिएकाले परीक्षार्थीहरूले आफैँ प्रवेशपत्र प्रिन्ट गर्न सक्नेछन् ।

३ घण्टाको परीक्षामा ४० मिनेट वस्तुगत र ६० पूर्णाङ्क बराबर २ घण्टा २० मिनेट विषयगत परीक्षा हुनेछ । पहिले हुने ४० मिनेटको परीक्षाको उत्तर पुस्तिका मेसिनबाट परीक्षण गरिने हुँदा आयोगले परीक्षार्थीहरूलाई सचेत हुन समेत आग्रह गरेको छ ।

उनले भने, ‘मेसिनले परीक्षण गर्ने उत्तर पुस्तिका मोड्न वा कुच्याउन हुँदैन, वस्तुगत प्रश्नको गोलाकार चिहनभित्र सङ्केत गरेर निरीक्षकलाई बुझाउनुपर्छ ।’

यसअघि शिक्षा मन्त्रालयले चिकित्सा शिक्षाको परीक्षाका लागि ल्याएको ओएमआर मेसिन शिक्षक सेवा आयोगले प्रयोग गर्न लागेको हो । लोकसेवा र मेडिकल शिक्षाको स्नातक र स्नाककोत्तरको तहको परीक्षामा पनि यस्तो मेसिनको प्रयोग हुँदै आएको छ ।

प्राविमा ८३ हजार, निमाविमा १ लाख २७ हजार र मावि तहमा ७६ हजार जनाले शिक्षण अनुमतिपत्रका लागि आवेदन दिएका छन् । सामुदायिक विद्यालयमा शिक्षक थोरै रहेका विज्ञान, गणित र अङ्ग्रेजी विषयमै लाइसेन्सका लागि सबैभन्दा कम आवेदन परेको छ ।

प्रतिक्रिया दिनुहोस्