Logo

अरु विधामा लेख्न सकिनँ, त्यसैले गजल मन पर्यो



पछिल्लो समय नेपाली साहित्यको गजल क्षेत्रमा र गजलप्रेमीहरूको मनमुटुमा आफ्नो स्थान सुरक्षित गरिसकेका स्वछन्द गजलकार ईश्वर दाहाल पिता गोबिन्दप्रसाद दाहाल र माता कमला दाहालको सुपुत्रको रुपमा २०५१ साल श्रावण २७ गते पाख्रिबास १, धनकुटामा जन्मिएका हुन् । २०७३ सालको मेची कोशी गजल प्रतियोगितामा प्रथम स्थान हासिल गरेका ईश्वरका गजलहरु कैफियत २ मा समेत संग्रहित भएका छन् ।

गजलकार दाहाल पाख्रिबास कला साहित्य समाजका सहसचिव समेत हुन् । प्रस्तुत छ, आफ्ना भावहरुलाई कलात्मक शैलीमा उन्न सिपालु दाहालसँग सल्लेरी खबरका लागि सबिता लामिछानेले गरेको कुराकानीः

सबिताः पछिल्लो समयमा गजल लेख्नेहरूको त बाढी नै आएको छ नि । कस्तो लाग्छ ?

ईश्वर: धेरै मान्छेहरूले गजल लेख्नु अत्यन्तै राम्रो कुरा हो । खुसीको कुरा हो । मैले गजल लेख्दा पूर्वमा गजल लेख्ने व्यक्तिहरू औँलामा गन्न सकिने मात्र हुनुहुन्थ्यो । साथी सर्कल पनि थिएन । अहिले राम्रो लेख्ने लेखकहरू पनि आउनुभएको छ । भविष्यमा गजल लेखेरै बाँच्छु भन्ने वातावरण निर्माणका निम्ति गजल लेखनको बाढी आउन जरुरत छ जस्तो लाग्छ ।

सबिताः गजल लेख्नको लागि के कुराले प्रेरित गर्‍यो अनि पढेर सिक्नुभयो या सिक्दै पढ्नुभयो ?

ईश्वरः मैले गजलको विषयमा केही अध्ययन गरेको छैन । केही पनि नपढी लेख्न थालेको । अलिकति लेख्ने भएपछि अमला अधिकारी, बाबु त्रिपाठी, सुधा शाही, आदिका गजलहरू युट्युबमा खोजेर पढेँ-हेरेँ । तर लेख्ने आफैले सुरु गरेको हुँ । आफ्नै प्रयास हो ।

सबिताः ईश्वर दाहाल भन्ने बित्तिकै गजलकार भनेर चिन्छन् । कस्तो लाग्छ ?

ईश्वर: खासमा गजल लेख्नेलाई धेरैले चिन्दैनन्, जति अरू फिल्डका मान्छेलाई चिन्छन् र मलाई चिनिनुपर्छ भन्ने पनि लाग्दैन । सुरुमा सन्तुष्टिका लागि लेखियो । त्यसपछि महफिलमा जान लोभ लाग्यो । अब एउटा कृति निकाल्ने रहर छ । एक पटक पढेपछि मान्छेहरूलाई गजलको प्यास मेटियोस् । जतिले मलाई चिन्छन्, गजलकै माध्यमबाट चिन्छन् ।

सबिताः स्थापित साहित्यकारहरूले गजल लेख्ने गजलकार हुन्छ, साहित्यकार होइन भनेको सुनिन्छ । तपाईँलाई के लाग्छ ?

ईश्वर: फर्केर हेर्दा देशमा आख्यान बढिरहेको छ । बुद्धि सागर, नवराज पराजुली गजलबाटै आएका हुन् । एक दिन सबैद्वारा गजललाई साहित्य मानिन्छ । म सपना देखेको छु, हाम्रो पुस्तामा नभए पनि ढुक्क छु एक दिन कसैले गजल लेखेरै मदन पुरस्कार प्राप्त गर्नेछ ।

सबिताः कार्यक्रमले कति सहयोग गर्दछ ? कस्तो छ अनुभव ? सुनाइदिनुस् न ।

ईश्वर: कार्यक्रमले लेख्न चाहना अभ्यास गर्ने वातावरण र लेखाइको स्तर बढाउन सहयोग गर्छ । सुन्दैमा पनि धेरै कुरा सिकिन्छ । नयाँ लेख्ने ऊर्जा प्राप्त हुन्छ ।

गजलको विकास ढिलो सुरु भएको हो तर तीव्र गतिमा अगाडि बढिरहेको छ ।

सबिताः बहरमा पनि लेख्नुहुन्छ कि स्वतन्त्र मात्रै ?

ईश्वर: बहरमा लेख्दिनँ, नितान्त स्वतन्त्र ।

सबिता: बहरमा लेख्ने रहर भएन ?

ईश्वर: कहिलेकाहीँ सामाजिक सञ्जालमा विवाद चल्दा झोक चल्छ । तर बहर अनिवार्य हो भन्ने लाग्दैन तर लय हुनुपर्छ । मेरो गजलको संगीतपक्ष कमजोर छ । बहरको विरोध गर्दिन ।

गजलसँग घनिष्ठ प्रेम छ मेरो ।

परिवारले आर्थिक अवस्थाबारे पटक पटक सम्झाउँदा पनि गजल नै प्यारो लाग्यो ।

सबिता: “घाइते पारेर छोडेको पनि काम आयो
             बैसाखी टेकेर साथी मलाम आयो”
             यो शेरको पृष्ठभूमि के होला ?

ईश्वर: भावना नै हो ।

सबिता: “म मर्नकै लागि भनेर काठमाडौँ आएको हुँ, आमालाई एक पटक पशुपति हेर्ने अवसर चाहिन्छ ।” ईश्वर मर्नकै लागी काठमाडौँ आएको भन्ने प्रश्न आएनन् ?

ईश्वर: युवावस्थामा आफू बल्लतल्ल काठमाडौँ आएको थिएँ । आमाको पशुपति दर्शन गर्ने रहर भएर पनि आउन सक्ने अवस्था थिएन । त्यति बेला काठमाडौँ आउने छिटो उपाय यहीँ हुन्छ जस्तो लाग्यो । भावनामा लेखेँ । यो भावनामा लेखेको गजल हो । अग्रज दाजुहरूले मजाकमा सोध्नुहुन्छ ।

सबिता: गजल नै लेख्छु भनेर लेख्न थाल्नुभएको कति भयो ?

ईश्वर: धेरै भएको छैन २०७१/७२ देखि बल्ल सुरु गरेको हुँ ।

सबिता: मन परेको गजल ?

ईश्वर: पुरै मन पर्दैन एक दुई शेर मन पर्छ ।

मलाई यस कारण पनि मलाई मृत्यु असाध्यै मन पर्छ
मेरो घाट जाने बाटोमा तिम्रो आँगन पर्छ ।

गाडी नदेखेका यी गाउँलेलाई पाखे नभनियोस्
हजुरको राजधानीले पनि ढाकर देखेको छैन ।

गाउँको होचो झुपडीमा बा आमा राखेको छु
जहाँ मृत्युले पस्दा पनि झुकेर जानू परोस् ।

सबैभन्दा घातक रोग के हो कसैले सोध्यो
प्रश्न नटुङ्गिँदै दिमागमा तिम्रो नाम आयो ।

तिमी एक क्यारेट सुन भएर बजारमा आयौ
म पनि एक खानी हुँ उत्खनन् नगरिएको ।

सबिता: सुरुको गजल ?

ईश्वरः

सपनीमा देखेँ तिमीलाई छेउमा साथी अर्को थियो 
मैले चुम्ने निधारमाथि सिँदुरको धर्को थियो !!

टाढैबाट हेरिरहेँ तिम्रो घरको चहलपहल,
शून्यताको सन्सारमा नौमतीको झर्को थियो !!

त्यति बेला यस्तै लेख्थेँ सुरुमा हँसाउने लेख्थेँ ।

धनकुटामा सबले चिन्छन् रुन्चे काइँलो भनेपछि 
धेरै गुणगान गर्दै हिन्छन रुन्चे काइँलो भनेपछि !!

सुरुमा सबैलाई हँसाउने सोख थियो । यसले त हँसाउँछ भनेर चिन्थे । वसन्त पोख्रेल गुरुले रुन्चे काइँलो नाम राखिदिनुभएको थियो ।

सबिता: ईश्वर दाहाल गजलै लेख्न जन्मेको हो या अरू विधामा नसकेर या गजलमा अल्झेको ?

ईश्वर: दुवै सत्य हो (हाँसो) । अरू विधामा सकिन र गजल मन पर्‍यो ।

सबिताः कतै नसुनाएको एउटा कविता छ ?

ईश्वर:

मलाई फुलहरू असाध्यै मन पर्छ
सूर्यमुखी मन पर्दैन,
सूर्य जता फर्कियो उतै सौन्दर्यको
प्रदर्शन गरिरहन्छ ।
मलाई पानी मन पर्छ पानीको आदत मन पर्दैन
ओरालो देख्नै हुन्न लम्पसार परेर पछि लागिहाल्छ ।
मलाई आगो मन पर्छ आगोको आदत मन पर्दैन
कमजोर र सुकिसकेका पातहरू माथि नै आफ्नो रवाफ देखाउँछ । 
सूर्यमुखी, आगो र पानी यी तिनै चिज मिसिएको
एउटा मन परेर पनि मन नपरेको

तिम्रो दिललाई खै कुन सुचीमा राखौँ !

सबिता: सोचेर या देखेर लेख्नुहुन्छ ?

ईश्वर: एकान्तमा लेख्छु ।
बा आमा..। चोभारमा एक्लै गएर लेखेँ।
राजधानीमा एकान्त छैन ।
गाउँमा भएको भए धेरै लेख्थेँ जस्तो लाग्छ ।

सबिता: पछिल्ला समयमा विभिन्न सङ्घसंस्थाले कार्यक्रमका साथै विभिन्न पुरस्कार समारोह आयोजना गर्दै आएका छन् । गजल विकासको निम्ति प्रयाप्त छ ?

ईश्वर: पहिलाको तुलनामा अहिले धेरै हो तर भोलि हेर्ने हो भने यो कमी छ । भोलि बढेरै जान्छ । यो छोटो समयमा आएको बाढी हो । यही क्रममा बढे प्रयाप्त छ ।

सबिता: प्रेम र गजल सम्बन्धित हुन् ?

ईश्वर: मेरो भोगाइ हेर्दा दुई किसिमका गजलकारहरु भेटे । एक भोगाइबाट लेखिरहेका । अर्को  रहर गरेर गजल लेखिरहेकाहरु ।

चोटमा परेर गजल लेख्न थालेकाहरूले चाहिँ राम्रो गजल लेखिरहेको पाउँछु । भोगाइले अब्बल गजलकार बनाउँदो रहेछ  । ज्यादा असर, ज्यादा चोट, ज्यादा भोगाइ, ज्यादा खुसी प्रेममा छ । यसैले गजल र प्रेम सम्बन्धित छन् भन्दा भयो । पहिलाको जस्तो प्रेमिकालाई खुसी पार्न गजल लेखिने चलन भने अहिले छैन ।(हाँसो)

सबिता: टिक्ने र बिक्ने दुई समूह छन् । यसमा तपाईँको दृष्टिकोण के छ ?

ईश्वर: आफ्नै दमले आफ्नै गजलको स्तरमा टिकेका पनि छन् । प्रशंसामा बिकेका पनि छन् । बिक्नेहरूको अस्तित्व लामो समय सम्म रहन्न, आफ्नो क्षमतामा उभिनेहरू टाढासम्म यात्रा गर्छन् ।

सबिता: नयाँ सिकारुहरूलाई तपाईँको सल्लाह के छ ?

ईश्वर: गजलै लेख्ने हो भने पुरानो कुरा, पुरानो विचार, पुरानो शैलीबाट उठ्न सक्नुपर्छ । नयाँ विचार, नयाँ शैलीमा पस्कन सके मात्रै देशलाई उपयुक्त गजलकार दिन सकिन्छ ।

सम्पादकीय नोटः साउन २७ गते पर्न गएको गजलकार ईश्वर दाहालको शुभ जन्मदिनको उपलक्ष्यमा सल्लेरी खबर परिवारको तर्फबाट असीम शुभकामना । जियो हजारो साल गजलकार साहेब !!!

समाजमा सकारात्मक परिवर्तनको लागि हरदम तत्पर माउण्ट बुद्ध मिडियाद्वारा सञ्चालित सल्लेरी खबर डट कम सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्