Logo

पहिरो विस्थापित टहरामा



Spread the love

२८ साउन, पाँचथर – ८४ वर्षीय नरबहादुर राई राम्रोसँग देख्न र सुन्न सक्दैनन् । असार १० गते राति उनले अकस्मात जमिन हल्लिएको थाहा पाए । छोरा–बुहारीले राईलाई बाहिर निकालेर घरमाथिको डाँडोमा पुर्याए । राई परिवार डेढ महीनादेखि त्यही डाँडोमा त्रिपालमुनि बस्दै आएको छ ।

बुहारी जसमाया ससुरा नरबहादुर बिरामी परिरहने भएकाले त्रिपालमुनिको दैनिकी कष्टकर भएको बताउँछन् । “जङ्गलको बीचमा बस्नुपरेको छ, घर फर्किने अवस्था छैन”, उनले भने । चारैतर्फबाट घरलाई पहिरोले घेरेकाले घर फर्किन नसकिने जसमाया बताउँछन् । नरबहादुर पत्थरी र मधुमेहका रोगी हुन् । “रोगी छु, त्यहीमाथि चिसोमा कष्टकर जीवन बिताउनुपरेको छ”, उनले भने, “सरकारले हाम्रो व्यवस्था गरिदेओस् ।”

राई परिवारले जस्तै पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाको चिङ्मा र सेपी बस्तीका १७ परिवार अहिले कष्टकर दैनिकी बिताउन बाध्य छन् । उनीहरु पहिरोका कारण विस्थापित भएका हुन् । ती सबै परिवार जङ्गलको बीचमा त्रिपालमुनि बस्दै आएका छन् । उक्त बस्तीमा जताततै पहिरो गएपछि स्थानीयवासीले घर छाडेका हुन् । विस्थापित चन्द्रबहादुर राई बारी र अलैँची बगान पहिरोले बगाएपछि चिन्तित छन् ।

विस्थापितलाई तत्काल अन्यत्र सार्न सकिने अवस्था नभएको याङवरक गाउँपालिका–२ का वडा सदस्य प्रेमकुमार राई बताउँछन् । “अन्यत्र लैजान सकिँदैन, यहाँ झन समस्या आउछ । हिउँदमा बस्न सकिन्न”, उनले भने । यहाँका बालबालिकालाई अध्ययन गर्न समस्या भएको छ । उनीहरु हाल नारायणी माध्यमिक विद्यालय बेतेनीमा पढ्दैछन् । चिङ्मास्थित कृष्ण आधारभूत विद्यालयको खेलमैदान पहिरोले पुरेको छ । बालबालिकालाई विद्यालय पठाउन समस्या हुने गरेको विस्थापित धनमाया राईको भनाइ छ ।

याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले विस्थापितलाई एकीकृत बस्ती निर्माण गरी पुनःस्थापना गर्ने योजना रहेको बताए । वडा नं १ का अध्यक्ष मोहनकुमार ढुङ्गेलको संयोजकत्वमा तीन सदस्सीय जग्गा खोजी समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्