Logo

धेरै विद्यार्थी गणित, अङ्ग्रेजी र विज्ञान विषयमा कमजोर



Spread the love

२८ साउन, काठमाडौँ l विद्यालय तहको परीक्षामा सबभन्दा धरै विद्यार्थी गणित, अङ्ग्रेजी र विज्ञान विषयमा कमजोर देखिएका छन् । ती विषयमा धेरै विद्यार्थीले कक्षा १० (एसईई) र कक्षा १२ को नतिजामा कम ग्रेड प्राप्त गरेका छन् ।

एसईई परीक्षामा गणितमा ‘सी’ भन्दा कम ग्रेड प्राप्त गर्ने परीक्षार्थीहरूको सङ्ख्या भने उच्च रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

गणित र अङ्ग्रेजीमा विद्यार्थी कमजोर शीर्षकमा प्रकाशित खबर अनुसार भदौ १ देखि सञ्चालन हुने कक्षा १० को ग्रेड वृद्धि/पूरक परीक्षामा गणित, विज्ञान र अङ्ग्रेजी विषयका परीक्षार्थी धेरै रहेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जनाए ।

उनले भने, ‘त्यसमा पनि गणित विषयमा कम ग्रेड ल्याएर पूरक परीक्षा दिने विद्यार्थीको सङ्ख्या बढी छ l’ विगतमा पनि यी विषयको नतिजा कमजोर थियो । कक्षा १२ को नतिजाअनुसार सबभन्दा बढी विद्यार्थीले अङ्ग्रेजी विषयमा ‘सी’ भन्दा कम ग्रेड प्राप्त गरेका छन् ।

‘सी वा डी प्लस’ भन्दा कम ग्रेड प्राप्त गरी पूरक परीक्षा दिन पाउने विद्यार्थीको सङ्ख्या १ लाख ६० हजार छ । ४ लाख ७५ हजार परीक्षार्थीले एसईई परीक्षा दिएकामा झन्डै ५० प्रतिशत विद्यार्थी नतिजा प्रकाशनको एक महिनापछि ग्रेड वृद्धि परीक्षामा उपस्थित हुन लागेका हुन् ।

कक्षा १२ मा २ लाख ९२ हजार परीक्षार्थीले परीक्षा दिएका थिए । ग्रेड वृद्धि परीक्षा दिन पाउने विद्यार्थी ५० प्रतिशतभन्दा बढी छन् । कक्षा १२ को पूरक परीक्षा भदौ २२ र २३ गते हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

सामुदायिक विद्यालयमा विषयगत शिक्षक अभावकै कारण नतिजामा असर परेको सरकारबाट गठित शिक्षक दरबन्दी मिलान कार्यदलका संयोजक महाश्रम शर्माले बताएका छन् ।

उनले भने, ‘९ कक्षाभन्दा माथि विषयगत शिक्षक अभाव छ, गुणस्तरीय शिक्षक अपुग हुँदा रिजल्टमा प्रत्यक्ष असर पर्ने गरेको छ ।’ सामुदायिक विद्यालयमध्ये अङ्ग्रेजी, गणित र विज्ञान विषयमा पुरै दरबन्दी भएका विद्यालय ७० वटा मात्र छन् ।

शर्माले भने, ‘सरकारले विगतमा विषयगत शिक्षक नियुक्ति गरेन, तल्लो तहका शिक्षकले माथिल्लो कक्षामा पढाइरहेका छन्, जसोतसो पढाइ चलिरहेको छ, त्यसरी नतिजा सुधार हुन सक्दैन ।’

विद्यालयहरूमा शिक्षक विद्यार्थीको अनुपात पनि असमान छ । कार्यदलले तराई, पहाड र हिमालमा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी तत्काल मिलान गर्न औँल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्