Logo

मृतकका परिवारलाई २५ लाख राहत



Spread the love

२८ साउन, नुवाकोट – बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर ज्यान गुमाएका दुई जनाको परिवारलाई क्षतिपूर्तिस्वरुप जनही रु २५ लाख उपलब्ध गराउने सहमति भएको छ । सहमति भएसँगै पीडित परिवारले शव बुझेका छन् ।

नुवाकोटको ककनी गाउँपालिका–१ कोल्पुखोला किनारमा अवैधरुपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेर सोमबार स्थानीइवासी १३ वर्षीया विनिता बलामी र उनलाई बचाउन गएकी सिन्धुलीको फिक्कल गाउँपालिका–३ की ३५ वर्षीया लक्ष्मी तामाङको डुबेर मृत्यु भएको थियो । पीडित परिवारले अवैध कार्यमा संलग्न व्यक्तिबाट उचित क्षतिपूर्ति भराउन माग राखेका थिए । प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार अवैध बालुवा झिक्न प्रयोग भएको स्काभेटर धनी धादिङको धाक्रे गाउँपालिका–२ का रामकृष्ण रेग्मी, बालुवा झिक्न प्रयोग भएको खेतका धनी ओखरपौवाका मोहनकृष्ण श्रेष्ठ र बालुवा झिक्ने सोही स्थानका राजेन्द्र बलामीबाट क्षतिपूर्ति रकम भराउने सहमती भएको हो ।

पीडित परिवारलाई रेग्मीबाट रु ३३ लाख, श्रेष्ठबाट रु ११ लाख र बलामीबाट रु छ लाख क्षतिपूर्ति भराउने सहमति भएको छ । क्षतिपूर्ति रकममध्ये पीडित परिवारलाई आज रु एक÷एक लाख उपलब्ध गराइएको छ । बाँकी रु २४ लाख ३५ दिनभित्र उपलब्ध गराउने सरोकारवालाबीच सहमति भएको ककनी गाउँपालिकाका उपाध्यक्ष सीता खतिवडा लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्