Logo

गुजारा चलाउन भारत पस्दै मुक्तहलिया



Spread the love

२८ साउन, डोटी – न्यायिक पुनःस्थापना हुने शर्तसहित मुक्त भएका सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीका अधिकांश मुक्तहलिया पुनःस्थापनाको कुनै मेलो नलागेपछि जीवन चलाउन छिमेकी मुलुक भारतका विभिन्न शहर पस्न थालेका छन् ।

जिल्लाको साविकको मुड्भारा गाविस–२ हाल शिखरन नगरपालिकाकी राइमती सार्कीले हलियामुक्त भएपछि खान लाउनमा समस्या भएकाले कमाउनका लागि पूर्वहलिया भारत जान थालेका बताए । श्रीमान् नरबहादुर सार्कीले लामो समयसम्म हलियाको कष्टपूर्ण काम गरेको दुःख सुनाउँदै राइमतीले हलिया काम छुटेपछि छोराछोरी पाल्न गाह्रो भएको दुःख सुनाए ।

सोही ठाउँका अर्का मुक्तहलिया बाँजी सार्कीकी श्रीमती परुलीदेवी सार्कीले हलियामुक्त भएपछि सामान्यतय खानाको जोहो गर्न र लुगाफाटो किन्नमा पनि धौधौ परेको बताए । यतिमात्र नभई भारतमा गई काम गर्नसक्ने अवस्था नभएका यहाँका कतिपय मुक्तहलियाले गाउँको पढाइ छुटाइ कामका लागि आफ्ना छोरा भारत पठाउन थालेका शिखर नगरपालिका–१ पचनालीका मुक्तहलिया कृष्ण विकले बताए ।

सरकारले तत्कालीन जिल्लाका ५० गाविसको १२ गाविसमा मात्रै गरेको तथ्याङ्क सङ्कलनमा ठूलो सङ्ख्यामा मुक्तहलियाको नाम छुटेको हलिया पुनःस्थापना कार्यदल समितिका पूर्वकेन्द्रीय समितिका सदस्य डम्बर विकले बताए । उनले भने, “सरकारी तवरबाटै मुक्तहलियाको तथ्याङ्क सङ्कलमा धेरै मान्छे छुटेका छन्, हामीले पुनः तथ्याङ्क सङ्कलन गरौँभन्दा पनि हाम्रो माग सुनुवाइ भएन ।”

प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललले तथ्याङ्क सङ्कलन गर्दा छुट भएका मुक्तहलियाका विषयमा सरकारी तवरमा गर्न सकिने कामका लागि आफूले पहल चाल्ने बताए । उनले भने, “मुक्तहलियाको तथ्याङ्क सङ्कलन गर्दा केही व्यक्ति छुट भए भन्ने कुरो आएको छ, त्यो विषयमा के गर्न सकिन्छ, हामी सम्बन्धित मन्त्रालयमा कुरा बुझेर यो विषयमा अगाडि बढाउने छौँ ।”

प्रतिक्रिया दिनुहोस्