Logo

ब्रेक्जिटपछिको अवस्था मध्यनजर गर्दै सामानको भण्डार गर्दै बेलायतीहरू



Spread the love

२८ साउन, लण्डन – बेलायतीहरूले पछिल्ला केही साता एता ब्रेक्जिटपछिको सम्भावित अन्योललाई मध्यनजर गर्दै अत्यावश्यक सामानहरूको भण्डारण गर्न थालेका एक सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षण अनुसार अक्टोबरमा बेलायत यूरोपेली संघ (इयू) बाट सम्झौताबिहीन अवस्थामा बहिर्गमन गर्ने सम्भावनापछि बेलायतीहरूले खाद्यान्न, औषधी तथा पेय पदार्थको भण्डारण गरेका छन् ।

बेलायतीहरूले ब्रेक्जिटपछिको अवस्थालाई हेरेर करिब चार अर्ब ८१ करोड अमेरिकी डलर थप रकम खर्चेर सामानहरूको भण्डारण गरेका बताइएको छ ।

वित्तीय संस्था प्रिमियम क्रेडिटले गरेको सर्भेक्षणमा हरेक पाँच बेलायतीमध्ये एक जनाले प्रतिदिन थप ४५८ अमेरिकी डलर खर्चिने गरेका पाइएको छ ।

सामान भण्डारण गर्नेमध्ये ७४ प्रतिशतले थप खाद्यान्न किनेर राखेका बताए भने ५० प्रतिशतले औषधीसमेत किनेर राखेको बताए । यस्तै ४६ प्रतिशतले पेय पदार्थको जोहो गरेको सर्भेक्षण रिपोर्टमा उल्लेख छ ।

प्रधानमन्त्रीमा कडा ब्रेक्जिट पक्षधर बोरिस जोनसन निर्वाचित बनेपछि उनले इयूसँग सम्झौता भएपनि नभएपनि निर्धारित अक्टोबर ३१ मा ब्रेक्जिटको कार्यान्वयन हुने बताएका छन् । यसपछि कैयौँ बेलायती नागरिकले यदि सम्झौताबिहीन अवस्थामा बेलायत इयू बाट बाहिरिए बेलायतमा कतिपय सामानजहरूको आपूर्तिमा कमी आउनसक्ने डर भएको बताएका छन् ।

बेलायतमा उपयोग हुने ५३ प्रतिशत खाद्यान्न मात्र स्वदेशमा उत्पादन हुने र बाँकी धेरै इयू सदस्य राष्ट्रहरूबाट आयत हुने गरेको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

खाद्यान्न तथा अतिआवश्यक खाद्यान्न बाहेक अन्य सामानहरूको पनि बेलायती बजारमा किनबेच बढेको छ ।

बेलायती कानून कम्पनी बुडल ह्याटफिल्डले भनेको छ, “बेलायतमा आरामदायी विदेशी कारको किनबेचमा पनि १६ प्रतिशतले वृद्धि आएको छ भने आरामदायी विदेशी कारको आयातमा ३२ प्रतिशतले वृद्धि देखिएको छ ।”

प्रतिक्रिया दिनुहोस्