Logo

कथाः विवाह



वि.स. २०२५ साल फागुन १८ गते झापाको सुरुंगा भन्दा दक्षिण पश्चिमको लालपानी गा.वि.समा पिता डिल्लीराम भेटवाल र माता नरमाया भेटवालको कोखबाट जन्मिएकी हरिमाया भेटवालका पाँच कृति प्रकाशित छन् । उनको ‘दोस्रो दर्जा’ र ‘मैनका मान्छेहरू’-कथासंग्रह, ‘आहाल’ – नाटक सङ्ग्रह, ‘बाटो खोज्दै बाटोमा’– कविता सङ्ग्रह साथै ‘कल्ली’– उपन्यास प्रकाशित छन् ।

उनै भेटवालको ‘विवाह’ शिर्षकको कथा आजको सल्लेरी कोलाजमा :

विवाह 

“छि: नजिस्क न, मलाई मन पर्दैन क्या !”

“यो त मापाकी छ भन्या । त बारीको डिलमा फक्रक्क फुलेको लालीगुराँसभन्दा राम्री छस् नि त त्यसैले जिस्काएकी क्या !”

“को मोरो होला हगी यसलाई भोलि पर्सी बिहे गर्ने ? ती मोरासोराको कुरा नगर है मलाई मन पर्दैन । तिमीहरूलाई मन परे जाओ न आफैँ ।” मिनु र उरुको कुरा सुनेर सावित्री, अनिता र किरण मुखामुख गर्दै हाँस्छन् । “हैन त किन केटाजस्तो हुन मन पराउँछस् भन् त मिनु ? न नाक छेडेको छस् न कान, कपाल त्यस्तै केटाको जस्तो काट्छेस्, लुगा हेर्‍यो जहिल्यै सटपेन्ट, हैन तेरो छाती मात्रै नउठेको भए तँलाई केटी मान्छे भन्छ कसले यार ?”

अँ बल्ल ठेगानको कुरा गरिस् । मिनु बडो लोग्नेमान्छेको ढाडस दिँदै बेन्चमाथि उठेर भन्छे- “केटि हो, कोही छ यो मर्दलाई मनपराउने ? भनिहाल नत्र आउँदो असारमै झ्याइँ पारौँला ।” वा…वा…वा… सबै जना ताली पिट्दै हाँस्छन् । टिफिन टायम यसरी नै बित्छ उनीहरूको । “अब कति दिन पो छ र यार ! यसरी हाँसीमजाक गर्न पनि ? एस.एल.सी. पछि को कहाँ पुग्छ, को कहाँ तर पनि हाम्रो टिमले चाहिँ कसैले कसैलाई नबिर्सने ल !” मलिन अनुहार बनाउँदै आग्रह गरी उरुले सबैलाई । “मलाई हेर् न बिहे गर्दिने रे, भाउजूले केटा हेर्ने मान्छे बोलाएकी छन् रे ।” आफ्नै भाउजूसँग अलिकति रिसाउँदै अलि बढी खुसी व्यक्त गरी किरणले ।

“हो र भन्या !”

“के गर्छ रे त्यो केटोले ?” खै मलाई त्यो सब थाहा छैन क्या ।” उसले अलिकति नखरा पनि देखाई । “नसुर्ता यार तँलाई कसैले बिहे नगरे म छु नि नसुर्ता ।” मिनुले किरणको ढाडमा थमथमाउँदै दिएको अभिव्यक्तिले फेरी हाँसोको फोहोरा छुट्यो सबैको मुखबाट । यसरी नै त बित्छ उनीहरूको स्कुले जीवन । अलिकति मिहिनेत, अलिकति हाँसखेल, अलिकति झैझगडा, अलिकति प्रेम सबैले सबैलाई यसरी नै बुझ्दछन् उनीहरू । गाउँले जीवन, गाउँकै स्कुल सधैँ कहाँ पाउँथे र अब उनीहरूले गाउँकै कलेज पनि ।  हो कलेज पढ्नकै लागि एस.एल.सी. पछि काठमाडौँको उडान भर्ने तरखरमा मिनु लागिरहँदा उरु पनि उसैसँग जान अडान लिँदै अभिभावकलाई मनाउन हरप्रयासमा लागि पर्छे ।

हामी पैसा पेल्न सक्देनौं बाबै ! एस.एल.सी. सम्म पढाइदिएकै छौँ । अब आफैँ जागिर खोजेर खाने र पढ्ने पनि । अन्त्यमा घरपरिवारले सर्ट राखेरै मन्जुरी नामा  दिए उरुलाई मिनुसँगै काठमाडौँ गएर पढ्ने ।

मन खुसी छैन आज सहर जाने कुराले पनि उरुको । खै किन-किन बाबुको जाँड खाने बानीले हो वा आमासँग छुट्टिनुको पीडाले ऊ भावुक भएकी छे । लालटिनको मधुरो प्रकाशमा ऊ आमाले भनेका र बाले घरप्रति गरेको व्यवहार सम्झन्छे । ‘कति छिटोछिटो आउँछ यो रात बरु नआइदिए चौबिसै घण्टा काम गरेर बिताउँथे ।’ रातदेखि तर्सदै आमाले भनेका यी र यस्ता अरू थुप्रै कुराहरू उरुको मस्तिष्कमा खेल्न थाल्यो आज ।  साँच्चै रगतसँगको नाता भए पनि कति कुराहरू अभिव्यक्त गर्न कहाँ अभिव्यक्त गर्न कहाँ सक्दो रहेछ र मान्छे ? यस्तै अभिव्यक्त गर्न नसकेका उसकी आमाका यथार्थताहरू कति ऊ अड्कल गरेर बुझ्दथी त कति आमाको कुरा गराइबाट बुझ्दथी । साँच्चै मेरी आमाका लागि बिहा भनेको के होला ? र मेरा बाका लागि के ? बिहा गर्नु भनेको बाँधिनु हो वा वंशजको सुरक्षार्थ सन्तान मात्र जन्माउनु हो ? उसो त आमा र बाबीच कुनै कुरामा मेल छैन । दिनमा गरिने कामदेखि मान्छे र बस्तुभाउलाई गरिने प्रेम पनि अलग थियो । एउटै थियो त मात्र ओछ्यान । विवाह के ओछ्यान मात्र हो त ? जब ऊ आमालाई सम्झन्थी तब प्रत्येक पुरुषहरूप्रति यस्तै धारणा बनाउँथी । सानुसानु कुराले ठुलो असर पर्दथ्यो उसकी आमालाई झैँ उसलाई पनि । अझ रातमा त झन् चरा, मुसाले चिउँचिउँ कराए नि कति ठुलो आवाज सुनिन्छ । रात त रात न हो सबैलाई आफूमै समाहित गर्दै एकली बाँच्न खोज्छ । तर ऊ सुन्थी रातको सुनसानमा बाआमाको झगडा, अनि आमाले रोएको मसिनो आवाज । अब भोलिदेखि सुन्ने छैन उसले ती आवाजहरू, देख्ने छैन आमाको मलिन अनुहार ।

“हो, यो सत्य हो । मलाई र म जस्ता अरू कतिलाई प्रकृतिले ठगेको छ । नत्र किन शरीर स्वास्नीमान्छेको र हर्मोनचाहिँ लोग्नेमान्छेको बनाइदियो उसले हामीलाई ! शरीर देखिँदा स्वास्नीमान्छे छु म तर मभित्र दौडीरहेको रगतमा, मेरो फिलिङमा सबैमा म लोग्नेमान्छे छु भने बाहिर देखाउनका लागि मात्र मलाई किन स्वास्नीमान्छे बनाइदिनुपर्‍यो ? तब गरेन त उसले अन्याय मलाई ?”

छोडेर जानेहरूले छातीभित्र थुप्रै कुराहरू बोकेर लाने रहेछन् ।  त्यस्तै लाग्छ आज उरुलाई पनि । केही कुर्तासलवार अलिकति गुन्द्रुक, सातुको पिठो, चामलको बोरा बाँधिरहँदा घरका सदस्यहरू पनि सामानसँगै बाँधिए, आँगन बाँधियो, गोठका गाई भैँसी बाँधिए, बारीका बोटबिरुवा बाँधिए । यति धेरै कुरा बाँधिदा आँखाले भने बाँध्न सकेन आँसु । चरिकोटबाट ओरालो लागेको ठुलो गाडीमा कोचे उनीहरूले आफूलाई र भित्रिए कोचिएरै बसेको अभ्यस्त काठमाडौँमा । चिनेजानेको गाउँले दाइले खोजिदिएको एउटा कोठा, बिहानको सरकारी क्याप्स र बाँच्नको लागि रेस्टुरेन्टको जागिर एकै चोटि सुरु गरे उनीहरूले । कस्तो अचम्म ! उनीहरूले काठमाडौँलाई चिन्नुभन्दा अगाडी उनीहरूको लवाइखुवाइ र बोली सुनेर काठमाडौँले चिन्यो र प्रयोग गर्न लागिपर्‍यो काठमाडौँ उनीहरूलाई । आज आएका ग्राहकहरू कति मात्तिएका थिए, उरुको हातबाट समान लिने बहानामा उसको हात कोट्याउँदै आँखा झिम्काएको थियो एक अधबैँसेले । यो सबै नियालीरहकी मनु आएर उरुलाई अर्की काम लगाउँदै ठुलो स्वरमा त्यो ग्राहकसँग डिल गर्छे । फेरी आँखा झिम्काउने हिम्मत गर्दैन उसले । राति दुवै सँगै भित्रिए कोठामा, चुपचाप चुपचाप ।

तिमी किन रिसाएकी यसरी मसँग, मेरो के गल्ती थियो र ? मलाई थाहा छैन किन ! तिमीलाई कसैले छोयो भने पनि मलाई खै के हुन्छ, हुन्छ ? उरु प्लिज तिमी लोग्नेमान्छेको अगाडी त्यसरी सहेर नबस ल । यदि कसैले त्यसो गर्ने हिम्मत गरे मलाई मिस कल गर म आइहाल्छु । दुवैले एकअर्काप्रति अझ बढी प्रेम दर्साए र एकअर्कालाई खुट्टा बोकाएरै निदाए । एउटै काम, एउटै ओछ्यान, ओहो कहीँ छुट्टिनुको पीडा हुन थालेको छ उनीहरूलाई । एकअर्काको सुखमा र दु:खमा साथ दिन थालेपछि कति नजिक हुँदो रहेछ मान्छे ।

अविवाहित सुन्दर केटाहरू आउँछन् उसो त त्यो होटेलमा दिनहुँ तर मिनुको ध्यान कहिल्यै उनीहरूतिर आकर्षित भएर उरु कहिलेकाहीँ साउनमा उर्लिएको खहरेझैँ बहकिँदै बाटो बिराउन खोज्दथी तथापि मिनु जो थिई उसको हरेक कुरामा निगरानी गर्ने । बिहान, बेलुकाको खानामा, कलेजको पढाइमा, रातको जागिरमा र कुनै विषयको बहसमा उनीहरू एकअर्काका परिपूरकझैँ लाग्छन् । आज शनिवार छुट्टी, छुट्टीको दिन उरुको मीठो मासुसँग खाना बनाउने पालो । प्रायशः भान्साको काम उरुले नै गर्छे । मिनु लोग्नेले झैँ प्रेम र गाली गर्ने कुनै काम आइपरे लोग्नेले झैँ त्यो काम को बाँडफाँड गर्ने गर्छे र ती काम गराइहरूमा कुनै पर्दा हुँदैन । आज पनि मिनु टिभी अगाडी बसेर केही मिलाउँदै छे त उरु किचनमा पकाउँदै । मिनुले टिभी खोली, “यो एभिन्युज टेलिभिजनको खबरभित्रको खबरमा हामी देखाउँदै छौँ यस्तो एक जोडीलाई जुन जोडीले इतिहासका पानामा आफ्नो नाम दर्ता गराईसकेका छन् । समाजले हेर्ने दृष्टिकोण नराम्रो हुँदाहुँदै पनि यसरी खुलेर बाहिर आउनु र पहिलो पटक टेलिभिजनका अगाडी देखा पर्ने यो जोडीलाई म दर्शकअगाडी निम्ताउँछु ।” प्रस्तोताको आग्रहलाई स्वीकार्दै पातली जीउ डाल भएकी दुई केटी जो एउटा कुर्तासुरुवालमा र एउटी सर्टपेन्टमा स्टेजमा देखिन्छिन् । प्रस्तोता प्रश्नका पोकाहरूले उनीहरूलाई हिर्काउन थाल्छिन् ।

“अनि कसरी हेर्छ त घरपरिवार र समाजले यो जोडीलाई ?” सहज छैन तर आफैँ सहज भइदिनुपर्छ । मिनु हतारिँदै भित्र पस्छे र उरुलाई हातमा समाउँदै टेलिभिजन अगाडी ल्याउँछे र यसरी टिभी हेर्छे कि त्यहाँ बोलिरहेकी त्यो सर्टपेन्ट लगाउने केटी उसैको प्रतिबिम्ब हो । “समाजको  एक खालको परिपाटीलाई तोड्दै अहिलेसम्म बाहिर नआएको यो नौलो वैवाहिक जीवनले समाजलाई अप्ठेरोमा पार्दैन होला ? यो त प्रकृतिलाई नै चुनौती भएन र ?” प्रस्तोताको प्रश्न सुनेर भावुक हुँदै सर्टपेन्ट लगाएकी केटी बोल्ने थाल्छे- “बिचरा हामी मान्छेका चुनौती सामना गर्न धौ-धौ परिरहेकाहरूले प्रकृतिलाई के चुनौती दिनु ? बरु प्रकृतिले नै हामीलाई ठगेको छ ।” उसको उत्तरदियाइलाई बिचैमा रोकेर प्रस्तोता बोल्छिन् – “भनिन्छ, प्रकृतिले कसैलाई पक्षपात गरेको छैन र गर्दैन, मान्छे मात्र यस्तो प्राणी हो जो आफ्नो फाइदाका लागि अरूलाई पक्षपात गर्छ । अनि कसरी भन्दै हुनुहुन्छ तपाईँ प्रकृतिले तपाईँलाई ठगेको छ भनेर ?”

“हो, यो सत्य हो । मलाई र म जस्ता अरू कतिलाई प्रकृतिले ठगेको छ । नत्र किन शरीर स्वास्नीमान्छेको र हर्मोनचाहिँ लोग्नेमान्छेको बनाइदियो उसले हामीलाई ! शरीर देखिँदा स्वास्नीमान्छे छु म तर मभित्र दौडीरहेको रगतमा, मेरो फिलिङमा सबैमा म लोग्नेमान्छे छु भने बाहिर देखाउनका लागि मात्र मलाई किन स्वास्नीमान्छे बनाइदिनुपर्‍यो ? तब गरेन त उसले अन्याय मलाई ?” प्रस्तोता एक न दुई हुन् पुग्छिन् र सँगै बसेकी अर्की केटीलाई प्रश्न तेर्साउँछिन्, “अँ अनि तपाईँलाई पनि यस्तै फिलिङ आउँछ ?” “अहँ आउँदैन । म त उसकी श्रीमती हुँ नि त कसरी आउँछ र त्यस्तो फिलिङ ?” थोरै लजाउँदै केटी बोली, “हामी एकले अर्काको सन्तुष्टिको, आवश्यकताको ख्याल बराबर गर्ने गरेका छौँ । प्रेमको अगाडी अरू सबै कुराहरू गौण हुँदै जाँदा रहेछन् ।मैले उसलाई कुनै कुरामा शङ्का गर्नु पर्दैन, अरू स्वास्नीमान्छेलाई जस्तो टेन्सन छैन मलाई । कुनै केटीलाई जिस्काउने, फकाउने, आँखा लगाउने वा बलात्कार गर्ने काम आउँदैन ऊबाट । जुन अपहेलाना लोग्नेमान्छेहरूले स्वास्नीमान्छेहरूलाई गर्छन् । त्यो अपहेलना पनि हुँदैन हामीमा । हामी त काम बराबर र कामप्रतिको उत्तरदायित्व बराबर लिन्छौँ र सन्तुष्टि पनि बराबर ।महिला हुनाकै कारणले भोग्नुपरेका थुप्रै समस्याहरूबाट मुक्त छौँ हामी । अब यति धेरै फाइदा भएको ठाउँमा केही बेफाइदा  त हुन्छ नि ! कहिलेकाहीँ मन र मस्तिष्कलाई जितेर शरीरले केके भन्छ केके ? तर…शरीरको  त्यो भनाइलाई म दबाइदिन्छु र मनले जितिदिन्छु ।”

बिचैमा केटाजस्तो केटी बोल्छे, “उनको यस्तै कुरा मेरो विश्वासको कसी भएर होला हामीले हाम्रो घरसंसार बसाएका हौँ ।”

“तपाईँको कुरा सुन्दा त लोग्नेमान्छेसँग बिहा गर्नु गलत काम गर्नु हो जस्तो बनाइदिनुभयो नि त !” थोरै पछुताएझैँ प्रस्तोता बोलिन् ।

“हो यदि समझदारी, विश्वास, आदर, सद्भाव र प्रेम छैन भने त्यो वैवाहिक जीवन दुवैका लागि पछुताउँदै बिताउनु नै हो ।”

“तपाईकी आमाले पनि यस्तै सोचेर बासँग बिहा नगर्नु भएको भए के तपाईँ जन्मनुहुन्थ्यो र ?”

“कुनै कुरा जब अस्तित्वमा छैन भने त्यसको के अर्थ पनि हुन्छ ?”

बोल्दै झ्याप्प बत्ती गयो । छेवैमा बसेका मिनु र उरु अँध्यारोमै उठे ।

मिनुले छामेरै उरुलाई अँगालो हाली घुँक्क घुँक्क रुँदै भनी, “ऊजस्तै हुँ म पनि, के तिमी मसँग विवाह…” उसले अगाडी बोल्न सकिन ।

उरुले उसलाई थुमथुमाउँदै भनी, “ठिकै छ नि त ! म पनि शरीरको मागलाई मनले जितिदिउँला तिम्रा लागि ।”

उनीहरू एकअर्कामा बाँधिरहे निकै बेर …।

ooo

(प्रस्तुत कथा हरिमाया भेटवालको कथासंग्रह ‘मैनका मान्छेहरू‘ बाट साभार गरिएको हो । वि.स. २०६८ सालमा साझा प्रकाशनले यस कथा संग्रहलाई प्रकाशित गरेको हो ।)

ooo

प्रतिक्रिया दिनुहोस्