Logo

पुनर्योगबाट ८६२ को नतिजा परिवर्तन



Spread the love

३१ साउन, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले पुनर्याेग (रिटोटलिङ)को नतिजा सार्वजनिक गरेको छ । गत असारमा सार्वजनिक गरिएको नतिजाप्रति चित्त नबुझाउँदै आठ हजार २४ परीक्षार्थीले पुनर्याेगका लागि आवेदन दिएका थिए । तीमध्ये ८६२ जनाको नतिजा परिवर्तन भई उनीहरूको ग्रेड वृद्धि भएको छ ।
सबैभन्दा बढी गणित विषयमा पुनर्याेगका लागि निवेदन परेको थियो । पनिकाका अनुसार गणित विषयमा २६ जना परीक्षार्थीको ग्रेड वृद्धि भई ए प्लस प्राप्त गर्न सफल भएका छन् । नतिजा परिवर्तन हुनुमा परीक्षा व्यवस्थापन र उत्तरपुस्तिका परीक्षणमा संलग्नहरूका साथै परीक्षार्थीको पनि लापरबाही हुने गरेको पाइन्छ । यस पटक गणित विषयका परीक्षकले प्राप्ताङ्क जोड्दा नै गल्ती गरेको भेटिएको छ ।
परीक्षा नियन्त्रक रामराज खकुरेलले गणित विषयका परीक्षकले नै प्राप्ताङ्क जोड्दा गल्ती गरेको घटनाप्रति आफूहरू निकै गम्भीर बनेको बताउँदै थप्नुभयो, “यो उनीहरूको चरम लापरबाही हो । उनीहरूलाई कारबाही गर्ने निर्णयमा पुगेका छौँ । ”
उहाँका अनुसार यस्ता परीक्षकहरू थुप्रै छन् । उनीहरूलाई यस पटक लिखितरूपमा सचेत गराइने र आगामी पटक पनि उनीहरूको लापरबाही नरोकिएमा कालोसूचीमा राखिनेछ । उहाँले भन्नुभयो, “यस्ता शिक्षकलाई एसइईका साथै कक्षा ११ र १२ को समेत उत्तरपुस्तिका परीक्षण गर्न प्रतिबन्ध लगाइनेछ । ”
उहाँका अनुसार कतिपय परीक्षार्थीहरूले ई ग्रेड प्राप्त गरेका थिए र पुनर्याेगपछि उनीहरूको नतिजा ह्वात्तै बढेर ए प्लस भएको छ । उत्तरपुस्तिका परीक्षण गर्नेहरूले प्राप्ताङ्क चढाउँदा गल्ती गरे नगरेको बारेमा पुनः हेर्न सम्परीक्षकको व्यवस्था रहन्छ तर सम्परीक्षकको समेत लापरबाही पुष्टि भएको छ । परीक्षा नियन्त्रक खकुरेलले परीक्षकले परीक्षणपछि अङ्क चढाउँदाबाहेक कोडिङ, डिकोडिङ, पोस्टिङ गर्दा पनि प्राप्ताङ्क गणनामा समस्या
देखिएको बताउनुभयो ।
“जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइलाई परीक्षाको व्यवस्थापन गर्न जिम्मा दिइएको छ तर त्यहाँ कर्मचारीको अभाव छ”, उहाँले भन्नुभयो, “कर्मचारी अभावका कारण एकाइले शिक्षक लगायतलाई प्रयोग गरी कोडिङ, डिकोडिङ लगायतका काममा संलग्न गराएको थियो । उनीहरूबाट गल्ती हुँदा समस्या बढी देखियो । ”
केही समयअघि मात्र पनिकाले गरेको अध्ययनले २९ प्रतिशत गल्ती परीक्षकले प्राप्ताङ्क जोड्दा हुने गरेको देखाएको थियो । परीक्षकबाट हुने गरेको लापरबाहीको प्रवृत्तिका बारेमा पनिका पूर्ण जानकार भए पनि हालसम्म कसैलाई कारबाही नगरिएकाले परीक्षकहरूले गल्ती दोहो¥याउँदै आएका छन् ।
पुनर्याेगका नतिजाप्रति चित्त नबुझाउने परीक्षार्थीले १५ दिनभित्र उत्तरपुस्तिका हेर्नका लागि निवेदन दिनसक्ने व्यवस्था छ । विगतमा त्यस्ता परीक्षार्थीलाई उत्तरपुस्तिकाको प्रतिलिपि उपलब्ध गराइने गरिएकोमा यस पटकबाट हेर्न मात्र दिइने व्यवस्था गरिएको छ । त्यसो गर्दा पनि चित्त नबुझाउन सक्ने परीक्षार्थीका लागि यस पटकबाट पुनः परीक्षणको व्यवस्था गरिएको छ । पुनर्याेगका लागि प्रतिविषय पाँच सय रुपियाँ बुझाएका परीक्षार्थीहरूले उत्तरपुस्तिका हेर्न साढे सात सय रुपियाँ र पुनः परीक्षण गराउन दुई हजार रुपियाँ शुल्क तिर्नुपर्ने हुन्छ । यो समाचार आजको गाेरखापत्र दैनिकमा प्रकृति अधिकारी लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्