Logo

लेखकको साधना भनेको धेरै पढ्ने, धेरै लेख्ने र थोरै छाप्ने हो



म:म खुब इन्जोय गर्छन्– लेखक बुद्धिसागर । पाटनढोका नेरको एउटी बुढी आमैको म:म पसलमा आफ्नो छोरी र पत्नी सहित पुगिरहन्छन् । भोक लागेको बेला रिस्क लिन सक्दैनन् उनी । नयाँ परिकार चाख्ने आँट गरिहाल्दैनन् । सधै गइरहने या खाइरहेको खाना नै खाइरहेका हुन्छन् ।

भान्छाका कुरा:

उनलाई भान्सा निकै मनपर्छ । खाना बनाउन सौखिन व्यक्ति हुन् । शुरुशुरुमा काठमाडौं आउँदा ९ वर्षसम्म आफैंले खाना बनाएर खाए । उनी बताउँछन्,“म रुममेटहरुसँग कम नै बसे । बस्दा पनि आफैँ खाना बनाउँथे ।” उनी खसीको मासु बनाइरहँदा निकै प्यासोनेट हुन्छन् । पिरो खाना अत्यधिक मनपर्छ उनलाई । “मलाई एकदम पिरो चाहिन्छ । मेरो वाइफले मसला धेरै हाल्दैन ।” उनी पत्नीको कुरा काट्छन् । “यस्तो झरी परेको बेला (बाहिर झरि परिरहेको हुन्छ) दुइटा डल्ले खुर्सानी राखेर मासु बनाउन मन लाग्छ ।” उनी जिब्रो स्वादिलो बनाउँदै थप्छन् ।

संसारमा धेरै चिज नियतवश गर्न सकिन्छ । खराब नियतवश । असल नियतवश । तर भान्छामा त्यस्तो हुन्न । भान्छामा कोहि पाहुना आएको छ र उनका लागि हामी खाना बनाइरहेका छौं भने खराब सोचका साथ हामी खाना बनाउँदैनौं । सकभर मिठो खुवाउने कोसिस हुन्छ । उनका अनुसार घरको सबैभन्दा पोजेटिभ ठाउँ भान्छा हो । “यहाँ कुनै रिस, द्वेष या कटुता हुँदैन ।” उनी बताउँछन् ।

उनी बजारबाट तरकारी ल्याएर खाँदैनन् । छतमा आफैँले तरकारी लगाएका छन् । उसो त उनको घर तरकारी बजार भित्र छ तर आफैले उब्जाएको खाँदा स्वाद भेटिने बताउँछन् उनी ।

घरका कुरा:

उनी हाल गोंगबु, काठमाडौं बस्छन् । काठमाडौंको व्यस्त ठाउँ हो गोंगबु । उनको स्वभावले नै हल्लाखल्ला निको मान्दैन । तर आफूले भनेर या सोचेर मात्रै केहि नहुने बताउँछन् उनी । “परेको हो मलाई यो ठाउँ । बस्न मन भएर होइन ।” उनी थप्छन् ।

बस्दै गएसी जुनसुकै ठाउँ पनि आफ्नै लाग्छ । प्यारो लाग्छ । संगत बढ्दै गएपछि प्रेमिका श्रीमतीमा बद्लिए जस्तो । पहिलेपहिले उनलाई शहरको आवाजले बिथोल्ने गर्थ्यो । तर अहिले तरकारी बजारको भिड र होहल्लाले पनि कुनै असर पार्दैन उनलाई । काठमाडौं बसेको १५ वर्ष लामो अनुभव शेयर गर्दै उनी बताउँछन्- “अब रिएलाइज हुन छाड्यो । बाहिरको साउन्ड आइराछ भन्ने नै थाहा हुन्न ।“ उनी गोंगबुप्रति आफ्नो छुटै लगाव बसिसकेको बताउँछन्,”जुन एरियामा बस्यो, त्यो एरिया आफ्नो लाग्दै जाँदो रहेछ ।”

उनीमाथि एउटा आरोप पनि छ– “जम्माजम्मी दुईवटा पुस्तकको रोयल्टी हो उनको अहिलेको घर ।”

तर उनी आरोप खण्डन गर्दै भन्छन्,“कहिँ कतै एक दुइवटा इट्टा पर्यो होला । त्यस्तो होइन ।”

उनीमाथि एउटा आरोप पनि छ– “जम्माजम्मी दुईवटा पुस्तकको रोयल्टी हो उनको अहिलेको घर ।” तर उनी आरोप खण्डन गर्दै भन्छन्,“कहिँ कतै एक दुइवटा इट्टा पर्यो होला । त्यस्तो होइन ।”

छोरीको कुरा:

उनको पाँच वर्षकी छोरी छिन् । छोरीको नजरमा आफू असल बाउ रहेको बताउँछन् उनी । उनी घर हुँदा केहि समय पनि एक्लै बस्न पाउँदैनन् । उनकै वरिपरी घुमीरहन्छिन् छोरी । “म घर हुँदा मेरो छोरी मसँगै तल गए तल, माथि गए माथि गरिरहन्छे ।” उनी छोरीको बखान गरेर थाक्दैनन् ।

घरमा हुँदा प्रयाश: किताब पढिरहन्छन् उनी । उनले पढेको देखेर छोरी पनि उनीसँग नारिएर बस्न आउँछिन् र किताब निकालेर पढ्न थाल्छिन् । यसैकारण पनि उनी आफू किताब किन्न जाँदा छोरीको लागि पनि बालकथाका किताबहरु किनेर घर लैजाने गर्दछन् । “मैले पढेको देखी भने पो उसले पनि पढ्ने हो । म चाहिँ मोबाइल थिचेर बस्ने अनि ऊ चाहिँ पढोस् भनेर सोचेर हुन्छ ?”, उनी प्रश्न गर्छन् । छोरीको लागि साइनपेन, कलरपेन्सिलहरु पनि बरोबर किनिरहेकै हुन्छन् उनी ।

घर हुँदा छोरीसँग क्रियटिभ्ली डिल गर्छन् उनी । उनीसँग छोरीलाई यस्तो बनाउँछु उस्तो बनाउँछु भन्ने कुनै भविष्यका योजनाहरु छैनन् । स्वभाविक रुपमा छाडिदिन्छन्  ।  घर पुगेसी मोबाइलसम्म चलाउँदैनन् उनी । “मेरो फोन अफ छ भने म घरमा छु भनेर बुझ्दा हुन्छ ।”, उनी बताउँछन् ।

जागिरका कुरा/लेखनका कुरा:

आफ्नो जागिरे जीवन सम्झन्छन् उनी । दिउँसो पेपर राइटिङ गर्थे । त्यतिबेला एक्लै बसिरहेका थिए । जागिरबाट घर फर्कन्थे । खानपिन गर्थे । र, रातभर लेखिरहन्थे । अहिले परिवार भयो । कुनै जागिर पनि छैन । ६ वर्ष पुग्न लाग्यो उनले जागिर छोडेको । अहिले पनि उनी लेखी मात्रै रहेका हुन्छन् । दिनमा दुई हजार भन्दा बढी शब्द लेख्ने आदत बसिसकेको छ उनलाई । परिवारको संख्या बढेसँगै आफ्नो लेख्ने समय फ्लिप भएको बताउँछन् उनी । पहिले रातमा लेख्थे, अहिले दिउँसो लेख्छन् । अहिले राती लेख्न नसक्ने बताउँछन्,“राती त बरु सिनेमा हेर्छुं । गीत सुन्छु । छोरीसँग खेलिरहन्छु।” लेख्न मन लाग्यो भने अफिस हिडेजस्तै गरेर झोला बोकेर नियमित आइरहने क्याफेमा आउँछन् । र, दुइ तीन घण्टा लगातार लेख्छन्  ।

उनी क्याफेमा बसेर लेख्न सक्नुको कारण खोल्दै भन्छन्,“म लगातार लेखिरहने गर्दिन । टाइम-टाइममा आँखालाई रेस्ट पनि दिन्छु ।“ क्याफेमा मानिसहरुको चहलपहल भइरहेको हुन्छ । दृश्यहरु चेन्ज भइरहेको हुन्छ । “तर घरमा एउटा भित्तो हुन्छ । त्यो चेन्ज हुँदैन ।” उनी बताउँछन् । ठमेलका क्याफेमा बसिरहँदा आँखाले विदेशीहरुलाई देखिरहन्छ । काम गर्दागर्दा थाकेर रिफ्रेस भएर वा रिफ्रेस भइरहेका मानिसहरुको छेउछाउमा बसेर लेखिरहँदा त्यो इनर्जी आफूमा सर्छ जस्तो लाग्छ उनलाई ।

“तपाई अन्त जानुहोस् ।” नेपालीहरूको चहलपहल रहने क्याफेहरूप्रति संकेत गर्दै उनी थप बताउँछन्,”सब फ्रस्टेट देखिन्छन् । मोबाइलमा घोप्टेका छन् । चुरोट खाइरहेका छन् । तपाइँ डिप्रेस हुनुहुन्छ ।“

एक्लै बसिरहँदा उनी नयाँ चीजहरुको रिसर्च गरिरहन्छन् । नयाँ गीतहरु सुन्छन् । युट्युबमा गएर लोकेशन चेन्ज गरेर विभिन्न देशका ‘कन्ट्री सङ’हरु सुन्छन् । त्यसबाट पनि दिक्क लाग्यो भने युट्युबमा गएर ‘डटपिनको बिर्कोको माथिपल्ट किन प्वाल हुन्छ ? पैसा कसरी छाप्छ ? कागज कसरी बन्छ ?’ जस्ता भिडियोहरु हेर्छन् । “यी कुराहरु थाहा पाएर तपाईंको जिन्दगीमा ठूलो परिवर्तन नै त आउने होइन तर जानकारी बाँडेर बेनिफिट पनि नहोला नि ?” साथिभाइहरुसँग रिपिट्ली एउटै कुरा सातपटक गर्नुभन्दा ५ मिनेटका यी-यस्ता भिडियोहरु निकै फलदायी हुने बताउँछन् उनी ।

इन्स्ट्रुमेन्टल म्युजिकका कुराः 

लेखिरहँदा म्युजिक आवश्यक पर्छ उनलाई । लेख्न बस्नु अघि लङ ड्युरेसनका गीतहरुको फोल्डर बनाउँछन् । विशेषत: तिब्बतियन वा चाइनिज इन्स्ट्रुमेन्टल म्युजिक(बुद्धिस्ट चान्ट) सुन्दै लेखिरहेका हुन्छन् उनी । एकडेढ वर्ष लगाएर कुनै संग्रह लेखीरहका छन् भने बढीमा ५ वटा गीतलाई उनी बारबार रिपिट गरिरहन्छन् । नयाँ गीत ट्राइ गर्ने उनको आदत छैन ।

“लेखिरहँदा ती गीतहरु मेरो कथाको ब्याकग्राउण्ड म्युजिक जस्तो भइसक्छन् ।” उनी बताउँछन् । कर्णाली ब्लुज लेखिरहँदा उनले ‘ओम् माने पद्मे ओम’ सुने । फिरफिरे लेख्ने बेला नि भनेर सोध्दा उनी बताउँछन्,“फिरफिरे लेख्ने बेलामा के गरौँ भन्ने भइरेहको थियो, त्यसैको सेकेन्ड एल्बम आएछ (हाँसो) । मलाई काइदा पर्यो ।”

उनले लेखनको समयमा लेख्ने गीतहरु भनेको चाइनिज या अफ्रिकन गीतहरु नै हुन्छन् । उनका अनुसार चाइनिजहरुको गीत नजिक-नजिक सुनिने खालका हुन्छन् । उसो त अफ्रिका फराकिलो भूभाग भएका कारण त्यताका गीतहरु पनि टाढा टाढा जाने गर्छन् । उनले गजबको कनेक्सन मिलाएका छन् । “जम्मा पारेका गीतहरूको ५/७ वटा फोल्डर बनाएको छु । ल्यापटप खोलेर टाउकोमा हेडफोन लगाएपछि म लेख्न सक्छु ।“,  उनी बताउँछन् ।

बुद्धिसागरका प्रकाशित कृतिहरूको कोलाज

लगाउने चीजका कुरा:

उनको अर्को पनि गजबको आदत छ । सकभर घरबाट ननिस्कने । निस्केपछि सिधै पुस्तकालय जाने । अनि सुरुक्क घर फर्किने । लगाइरहेको लुगा पुरानो भएको सम्म याद हुन्न उनलाई । “मेरो बुढीले पनि गाली गर्छ । यो ल्याउनै जान्दैन । ल्याउँदैन भन्छ ।” उनी बताउँछन् ।

उनले एकदिन आफ्नो फेसबुकका फोटोहरु नियालें । चार वटा फोटोहरुमा एउटै लुगा भेटे । “मचाहिँ सबैभन्दा ल्यांगफ्यांगे लुगा मै हुन्छु ।“ उनलाई चम्किला, भड्किला रङका लुगाहरु मन पर्दैन । “मलाई यस्तै फुंग (खैरो पाइन्ट र सर्टमा थिए उनी) उडेको कलर मन पर्छ ।”

“कोहि दरबारमार्ग पुग्यो । ४० % अफ देख्छ । अनि छिरिहाल्छ । किनिहाल्छ नि ! तर म त्यस्तो छैन । यो लुगा धेरै लाइयो अब त चाहिने नै भो नलागुन्जेलसम्म म एउटै लुगा घोटीरहन्छु ।” उनी बताउँछन् । उनी ठूला पसलहरुमा लुगा किन्न कहिल्यै छिरेनन् । ठुला पसलहरूमा लुगा किन्न जान पर्यो भने मरे जस्तै हुन्छन् अरे उनी । साना पसलहरु नै उनको लुगा किन्ने थलो हो । तर साना पसलहरूसँग पनि उनको गुनासो छ । “यी पसलहरुको चेंजिंग रुम सानो हुन्छ । भित्र छिर्ने बित्तिकै खलखली पसिना आउँछ । एउटा खोलेर अर्को ल्याउन्जेलसम्म पसिनाले नुहाईसक्छु म । त्यहि सम्झेर पनि मलाई लुगा किन्न जान मन लाग्दैन ।” उनी हाँस्दै भन्छन् ।

“कहिलेकाँही म एकदमै चम्किलो देखिन सक्छु ।

त्यो बेला यो बुझ्नु कि यो उसको बुढीले किनीदिएको रहेछ ।”

उनलाई फुस्रो रङको कपडा मनपर्छ । “कहिलेकाँही म एकदमै चम्किलो देखिन सक्छु । त्यो बेला यो बुझ्नु कि यो उसको बुढीले किनीदिएको रहेछ ।”, उनको ओठ फेरी हाँस्छन् । घडी उनले आजसम्म लगाएका छैनन् । बिहेको औठी भोलीपल्ट नै खोलें । “रातभर सुत्न असजिलो भयो । कसैले औलो समाईराछ जस्तो लाग्यो ।” उनी बताउँछन् ।

बिहेको दिन कसैले गिफ्ट दिएका थिए । यसैले उनले बिहेभर सिक्री लगाए । सिक्री पनि उनले भोलिपल्ट नै निकाले । “पर्स नबोकेको तपाईंको १२ वर्ष भइसक्यो ।” उनी बताउँछन् ।

बेल्ट चाँहि किन्छन् उनी । तर वर्षमा एउटा जस्तो मात्र । टुटेर, फुटेर थोत्रो नभएसम्म बेल्ट किन्ने होश आउन्न उनलाई । “बेल्ट छोपिन्छ । फेरी म बेल्ट टल्काउँदै हिड्ने मान्छे पनि होइन । चलिरहेकै हुन्छ ।“ बेल्टले पाइन्ट समाईराख्दा सम्म उनी एउटै बेल्ट लगाईराख्छन् ।

बेल्ट पछी उनले लगाउने अर्को थोक भनेको चस्मा हो । उसो त उनी पैदल यात्रा गर्न रुचाउँछन् । काठमाडौंलाई धुँवा धुलोले निलीसकेको छ । त्यहिँ धुँवा धुलोबाट जोगिन उनले चस्मा लगाएका हुन् । बाध्य भएरै लगाएको बताउँदै “राम्रो देखिन्छ, फेसनको लागि भन्दा पनि आँखाको सेफ्टीको लागि लगाउने गरेको हो” उनी बताउँछन् ।

अनुहारको कुराः 

उनले नजिकका साथीभाई एवं आफन्तजनहरुबाट उनले बारबार सुनिरहने कुरा भनेको उनको अनुहार मायालाग्दो भयो/छ भन्ने हो । पहिलेपहिले बाहलमा बसेका दिनहरु सम्झदै उनी बताउँछन्,“अनुहार त यस्तो मायालाग्दो छ नि तर के गर्नु नि भाँडा दिन्न भन्थ्यो घरबेटी ।”

पछिल्लोपटक कहिले ऐनामा आफ्नो अनुहार नियाले उनलाई याद छैन । उनी कपालमा तेल पनि लगाउँदैनन् । यद्दपी उनी सेल्फ क्रेजी व्यक्ति हुन् । “तर मेरो क्रेजीनेश लेख अलावा अन्त भएन ।”, उनी दुखेसो पोख्छन् । “असाध्यै भुडी बढ्यो, कुरूप भइयो भन्ने फिल भएपछी कहिलेकाँही वाकिङहरु गर्छु । वेट घटाउँछु । त्योबाहेक त्यस्तो अरु केहि छैन । केहि गर्दिनँ ।”

खराब आदतहरूः

मान्छे अरुको कमजोरी एकदम चाढो विश्वास गर्ने गर्दछन् । हरकोहीको हरकोहीसँग विश्वास नभईरहेको यस समयमा कोहि पनि कसैको कमजोरी भने चाढै विश्वास गर्ने आँट गर्दछ । तर राम्रा कुरा कसैले सुन्दैन । सुने पनि विश्वास गर्दैन । “संसार किन यति अविश्वासको लायक छ मलाई थाहा छैन ।” उनी चुपचाप अमेरिकानो सिप गर्छन् ।

उनको खराब आदत छ- चाँडो विश्वास गर्ने । “कसैले केहि कुरा बतायो भने म एकदम चाँडो लल्याक लुलुक हुन्छु । शेयर गर्नै नपर्ने कुरा पनि शेयर गरिरहेको हुन्छु ।“ यसले आफ्नो जीवनमा ठूला समस्याहरू निम्त्याएको बताउँछन् उनी ।

उनको ९ वर्ष एकलकाँटे काठमाडौं बसाईंको जीवनकालमा कोहि साथी भएनन् । कोहि नजिक थिएनन् । काठमाडौं  हेर्ने, देख्ने, चिन्ने, र भोग्ने समयमा उनले भोकसँग स्ट्रगल गर्न सिके । “आज के खाने, भोली के खाने, अनि पर्सि के खाने ? भनेर नै सोच्थें ।“ त्यतिबेला आफू भोक म्यानेजमेन्टमा ज्यादा लागेको असर अहिले देखिएको छ उनमा । त्यतिबेला कसैलाई साथी बनाएनन्, बन्न सकेनन् । “सेकेन्ड पर्सनलाई के भन्ने, के नभन्ने भनेर म आजसम्म जान्दिनँ । अहिले चाहिँ मलाई मानिसहरु म्यानेजमेन्ट गर्न समस्या छ ।” उनी बताउँछन् ।

फेरी लेखनकै कुराः

उपन्यास लेखिरहेका छन् भने तीन चार च्याप्टर पढीसकेपछी त्यसलाई प्रिन्ट गर्छन् उनी । प्रिन्ट आउट पढ्दा गल्ती थाहा पाउन सजिलो हुने बताउँछन् उनी । “कम्प्युटरमा म मिस्टेक भेट्दिनँ ।“ उनले यसो गर्नुका पछाडी अर्को कारण पनि रहेछ । प्रिन्ट आउट निकाल्दै राख्दै गएपछि लेख्न मोटीभेट हुँदा रहेछन् उनी । “ए यत्रो भइराछ है ! ए मैले लेखिरहेको रहेछु है भन्ने हुन्छ । लेख्ने जोश झन् बढ्छ ।” उनी बताउँछन् ।

उनले फिरफिरे विमोचनको दिन माघ ९, २०७२ मा फिरफिरेलाई आफ्नो तेस्रो कृति बताएका थिए । कर्णाली ब्लुज लेखिसकेपछी एउटा अर्को किताब पनि लेखेर राखेको बताउन भ्याएका थिए उनले । तर अहिले आफूसँग त्यस संग्रहको नामोनिशान बाँकी नरहेको बताउँछन् उनी । “प्रिन्ट गरी हेर्दाखेरि त्यो एउटा लास जस्तो लाग्यो । लासमा आत्मा हाल्न सकिन्न भनेर छोड्दिए ।” उनी निकै अप्ठ्यारो कुरा सजिलोसँग भनि भ्याउँछन् । अहिले उनीसँग त्यसको एक अक्षर पनि छैन । कम्प्युटर देखि दायाँबायाँ हर ठाउँबाट उनले त्यसलाई हटाइसकेका छन् ।

“कुनै पनि राइटिङमा तपाईं जति लेख्नु हुन्छ, त्यसलाई एक्सर्साइजको रुपमा लेख्नुहोस् । सबै पब्लिस गर्नु पर्दैन ।” उनी थप बताउँछन्,“एउटा असल लेखकको साधना भनेको धेरै पढ्ने, धेरै लेख्ने र थोरै छाप्ने हो ।”

उनलाई १५/२० वटा किताबको लेखक हुन मन छैन । “राम्रो लेखिओस्, आफूलाई सन्तुष्टि होस्, धेरै किन लेख्न पर्यो र ?” उनी प्रश्न गर्छन् । उनका अनुसार ५० वर्ष पछि कसैले उनलाई उनको एउटा किताबले सम्झन्छ भने त्यो ठूलो कुरा जीवनभरको उपलब्धी हो । “मलाई लाग्छ, पाँच वटा लेखे पनि पुग्छ मलाई । धेरै लोभी हुनुहुन्न ।” उनी थप्छन् ।

“हाम्रोमा अझै पनि कभरमा डिस्कस हुन्छ । यसले कथा कसरी भन्या छ ?

यसले कथा बाहेक के-के नयाँ चिजहरु ल्यायो ? कथा कसरी विल्ड अप गर्यो ?

कथा विल्ड अप गर्न केके युज गर्यो ? यसमा त कसैलाई चासो नै छैन ।”

समकालीन साहित्यिक सेरोफेरोको कुराः 

नेपाली साहित्य जगतमा एउटा वाक्य कालजयी बनेको छ, ”नेपाली साहित्य अझै लेखिन बाँकी छ ।” उनलाई पनि थाहा छैन- नेपाली साहित्यमा के चाहिँ लेखिन बाँकी छ भनेर । “मलाई चाहिँ थाहा छ, के लेख्न बाँकी छ ? लेखीरहिएकै छ त । ”, उनी बताउँछन् ।

हालसालै घटेका किताबको कभर सम्बन्धि विवादको कुरा झिक्दै उनी अलि लामो समय निरन्तर बोलिरहन्छन् । “हाम्रोमा अझै पनि कभरमा डिस्कस हुन्छ । यसले कथा कसरी भन्या छ ? यसले कथा बाहेक के-के नयाँ चिजहरु ल्यायो ? कथा कसरी विल्ड अप गर्यो ? कथा विल्ड अप गर्न केके युज गर्यो ? यसमा त कसैलाई चासो नै छैन ।”

एउटा किताब भित्र भएको विभिन्न प्रयोग, विम्ब, प्रतिक, स्टोरी टेलिंग लगायतका कुराहरु कथा भन्दा पनि महत्वपूर्ण हुने बताउँछन् उनी । जसले पहिले अंग्रेजी पढे र पछी नेपाली पढे । वा जो अन्य देशको साहित्य र नेपाली साहित्य बरोबर पढ्छन् । तिनले थाहा पाउँछन्, एउटा किताब कथा मात्र नभएर अरु इलिमेन्ट्स पनि हो । “सर्रर पढ्न सकिने कथा भएको मात्रै किताब होइन ।”, उनी भन्छन् । तर जसले नेपाली साहित्य मात्रै पढेको छ, त्यसको समालोचनामा थोरबहुत त्रुटी भेट्छन उनी । “हाम्रोमा त कथा के छ भन्ने मात्रै भयो । कथामा नयाँपन चाहियो भन्छन् तर लेखकले कसरी कथा विल्ड अप गरिरहेको छ हेक्का राख्दैनन् ।”, उनी गुनासो पोख्छन् ।

मानौं कुनै किताब साच्चै राम्रो छ । सबैको कोणबाट । सबै दृष्टिकोणबाट । तर पनि त्यस किताबको बारेमा इन्टलेक्च्युयल गफ नहुने गरेको भेट्छन् उनी । लेखक-लेखकबीच होइ राख्ने समकालीन इर्श्या, समकालीन द्वेष, समकालीन रिसले पनि नेपाली साहित्यलाई केहि हदसम्म नोक्सान पुर्याइरहेको देख्छन् उनी ।

पाउलो कोएलोका कुराः

उनी पाउलो कोएलोको ठूलो फ्यान हुन् । कोएलोले सामाजिक सञ्जालमा लेखेका पोस्टदेखि किताबसम्मको अनुयायी हुन् उनी ।

कोएलोसँग आफ्नो कनेक्सन के हो र कोएलोलाई उनले यत्ति मरिहत्ते गर्नुका पछाडी आफ्नो छुट्टै कथाव्यथा रहेको बताउँछन् उनी । एकताका अंग्रजी पढ्न नजानेर सकसमै थिए उनी । अंग्रेजी किताब पढ्ने अठोट सहित लाइब्रेरी जान्थे तर सुमसुम्याएर फर्किन्थे । भाषा, समस्याको जड थियो । यसै क्रममा उनले कोएलोको ‘एल्केमिस्ट’ उठाए । पढ्दै गए । पढ्दै जाँदा पढेर सकियो । विश्वसाहित्यया अंगेजी साहित्य पढ्ने आँट र ट्रस्ट तीनै पाउलो कोएलोको एल्केमिस्टले दिएको बताइरहँदा उनका मुहारमा चमक छाउँछ । “त्यो पढीसकेपछी म यति इन्स्पायर भएँ कि पाउलो कोएलोको सब किताब पढेर सकाइदिए ।” उनी बताउँछन्।

त्यस समय भर्खर भर्खर फेसबुक आएको थियो । सुरुक्क गएर उनले कोएलोलाई फ्लो गरे, सस्क्राईभ गरे । कोएलोको ब्लग प्रत्येक दिन भिजिट गर्दथे/गर्दछन् उनी । कोएलोका स्टाटसहरु पढ्थे/पढीरहन्छन् । “पाउलो कोएलोको होल सिरिज पढीसकेपछी मलाई आँट आयो कि म अरु लेखकका किताब पनि पढ्न सक्छु ।” त्यसपछि उनले हारुकी मुराकामीका किताबहरु पढे । यो क्रम चलिरह्यो । (उनले पढेको पहिलो नेपाली किताब भने लीलाध्वज थापाको ‘मन’ हो । जसले २०१४ सालको मदन पुरस्कार पनि पाएको छ ।)

पाउलो कोएलोलाई मरिहत्ते गर्नुको पछाडी अर्को कारण पनि बताए उनले ।

“जब लेखक डाउन हुन्छ तब कर्नर किक हान्ने स्वभाव छ हाम्रो ।”

तर पाउलो कोहेलोसँग त्यस्तो केहि नहुने बताउँछन् उनी,“उनलाई केहि लिनुदिनु छैन हामीलाई ।

यसकारण उनी त्यसो गर्दैनन् ।”

मानौं यदि यहाँ कुनै लेखक डाउन भएको छ भने अर्को लेखकले कोखामा हान्ने परिपाटी रहेको उनी बताउँछन् । “जब लेखक डाउन हुन्छ तब कर्नर किक हान्ने स्वभाव छ हाम्रो ।” तर पाउलो कोएलोसँग त्यस्तो केहि नहुने बताउँछन् उनी,“उनलाई केहि लिनुदिनु छैन हामीलाई । यसकारण उनी त्यसो गर्दैनन् ।”

हाल कोएलोसँग उनको राम्रो सम्बन्ध छ । उनीहरुको यस सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा बहस एवम् गुपचुप टीका-टिप्पणी होइरहने गर्दछ । सोहि सम्बन्धको जगमा टेकेर फाइन प्रिन्टले लिगल्ली रुपमा पाहुलो कोएलोको किताब ‘हिप्पी’को ट्रान्सलेसनको प्रोसेस शुरु भएको गर्यो । “मैले पाहुलो कोहेलोसँग जुन लिंक बनाए, त्यसले एउटा सेलिब्रेटी राइटरलाई नेपालको एउटा पब्लिकेसनसँग लिगल्ली सम्झौता गर्यो । यो राम्रो कुरा होइन ?” यस सम्झौताले नेपाली बजारको पहुँच बढाउन कुनै हदसम्मको भूमिका खेलेको बताउँछन् उनी ।

उपहारका कुराः

पछिल्लो समय किताब उपहारस्वरूप  दिने परम्परा बसेको छ । स्मृतिमा लामो समयसम्म बस्ने साथै आर्थिक रुपमा पनि भार कम हुने हुँदा यस ट्रेन्ड विस्तारित हुँदै गइरहेको छ । “लगाउने कुरा लगाउँदासम्म सम्झिएलान्, खानेकुरा खाँदासम्म सम्झिएलान् । तर किताब पढी सकेर हरायो भनेपनि तपाईंको स्मृतिमा रहिरहन्छ ।”, उनी बताउँछन् । उनी अझ थप्छन्,“कसैको दिमागमा बसी रहने गजबको आइडिया हो यो !” (हाँसो)

उनी आफैं पनि कसैलाई खुसी बनाउन पर्यो भने कसैलाई सरप्राइज दिनु छ भने किताब नै रोज्छन् । किताब उपहार दिने चलनबारे उनी अर्को किस्सा खोल्छन् । उनका अनुसार पहिलोपटकको भेटमा किताब उपहार बन्न सक्दैन । यदि कसैले कसैलाई किताब गिफ्ट दिँदैछ भने उनीहरुले एकअर्काको स्वभाव राम्रोसँग बुझेका छन् भनेर बुझ्नुपर्छ भन्छन् उनी । “नितान्त व्यक्तिगत सम्बन्ध नभईकन किताब गिफ्ट स्वरूप दिन नसकिएला नि  !” उनी बताउँछन् ।

दोस्रो मान्छेको पठन स्वभाव साथै वैचारिक स्वभाव नबुझिकन किताब गिफ्ट सायदै दिइँदो हो भन्छन् उनी । उनका अनुसार स्वभाव बुझीसकेपछी गिफ्ट पाउनेले पनि आफूले नपढेको किताब गिफ्ट स्वरूप पाउने सम्भावना रहन्छ । तर पहिलो/दोस्रो भेटमा किताब गिफ्ट दिँदा पढिसकेको पनि पर्न सक्छ । उनको अनुसार पढिसकेको किताब गिफ्ट आउनु भनेको सबैभन्दा काम नलाग्नी गिफ्ट हो ।

पोखराको फर्स्ट लिट्रेचर फेस्टिभलमा उनी अगाडी स्टेजमा थिए । उनको कुनै पाठकले दर्शकदिर्घाबाट उनलाई नेपालीमा उल्था गरिएको ‘गोर्कीको बाल्यकाल’ उपहार स्वरूप दिएका रहेछन् । त्यस क्षण सम्झँदै उनी थप्छन्,“त्यस्तो भिडमा पनि तपाईंको लागि ल्याएको भनेको सम्झना छ । फिर्ता गर्नुहोला है भनेको पनि सम्झना छ ।” तर उनलाई त्यो मान्छे को हो सम्झना छैन ।  त्यो किताब अहिले पनि  उनीसँग छ । (उनले त्यसबाहेक उपहारस्वरूप पाएका किताबको नाम सम्झन सकेनन् ।)

नाटकका कुराः

शहरमा नाटक चलीरहेका हुन्छन् । नाटक उनलाई मनपर्छ । नाटक सकभर छुटाउदैनन् उनी । “ड्रामा सकेसम्म नछुटाउ झैं लाग्छ ।”, उनी बताउँछन्। उनले अनुप बरालको नाटक अहिलेसम्म छुटाएका छैनन् ।

पेन्टिङका कुराः

शहरमा पेन्टिङ एक्जिभिसनहरु पनि भइरहेका हुन्छन् । यसमा पनि उनको उत्तिकै उपस्थिति रहने गर्दछ । ५/६ वर्ष अगाडी एउटा एक्जिभिसन पनि छुताउँदैन थिए उनी । यसैकारण आर्टिस्टहरुसँग सुमधुर सम्बन्ध छ उनको । तर पछिल्लो समय उनी आर्ट एक्जेभिसनहरूमा जान भ्याएका छैनन् । समय अभावको किस्सा सुनाउँदै उनी भन्छन्,“पहिले पहिले त खुब जान्थें । पछिपछि बिस्तारै कम हुँदै गा’छ ।”

उनी आफै चित्र कोर्न भने जान्दैनन् । उनको शब्दमा उनी एकदम झुर पेन्टर हुन् । “मेरो ५ वर्षकी छोरीले बरु राम्रो गर्छ ।” उनी बताउँछन् ।

उनलाई गीत सुन्न मनपर्छ तर गाउन सक्दैनन् । उनको शब्दमा नै भन्नुपर्दा उनी सबभन्दा रद्दी सिंगर हुन् । “साथीभाइको एउटा-दुइटा ग्रुपमा गायो भने ब्याण्ड गर्दिन्छ ।” उनी बताउँछन् ।

०००

प्रस्तुति: राजु झल्लु प्रसाद

०००

यी पनि पढ्नुहोसः

स्वतन्त्रता गुमाएको सिर्जनाले समाजलाई हित गर्न सक्दैनः दिनेश अधिकारी

मेरो सोचका हरेक पूर्णविराम, अल्पविरामहरू कविता हुन्ः राजवल्लभ कोइराला

देवकोटाको पालामा यदि युट्युब हुन्थ्यो भने ‘पागल’ कविता स्योर ट्रेण्डिङमा पर्थ्योः नवराज पराजुली

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्